माघ २९, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ६५ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
गत वर्ष रू. १७ अर्ब ४० करोड ६९ लाख भन्दाबढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. १८ अर्ब ३९ करोड ४ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।
कुल दाबी भुक्तानी रकम भने गत वर्षभन्दा २६ दशमलव ३५ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ५ अर्ब २४ करोड ५४ लाख कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ६ अर्ब ६२ करोड ७७ लाख कुल दाबी भुक्तानी गरेको छ ।
कम्पनीको खुद नाफा भने यस वर्ष ६९ दशमलव ६४ प्रतिशत कम भएको छ । गत वर्ष रू. ४२ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १३ करोड ४ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष गत वर्षभन्दा २३ दशमलव ४४ प्रतिशत कम रू. ४५ करोड ६ लाख आम्दानी गरेको कम्पनीले १०१ दशमलव ५९ प्रतिशत बढी रू. ३२ करोड १ लाख खर्च गरेको हो । खर्च रकम बढ्दा कम्पनीको खुद नाफा यो वर्ष कम हुन पुगेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १९ करोड ९९ लाख ७० हजार छ । आर्थिक वर्ष २०७६÷७७ सम्मको सञ्चित मुनाफाबाट यहि पूँजीको आधारमा कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष हालसम्मकै कम लाभांश प्रस्ताव गरेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब ७५ करोडभन्दा बढी र जीवन बीमा कोष रकम रू. १ खर्ब २४ अर्ब ८३ करोडभन्दा बढी रहेको छ । गत वर्षभन्दा जगेडा कोष रकम ६६ दशमलव ३६ प्रतिशत र जीवन बीमा कोष रकम २३ दशमलव २५ प्रतिशत बढी कायम भएको हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६३ र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ३४ रहेको छ ।