सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन २३ अर्ब ७९ करोड  रुपैयाँ

चैत २०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरूले फागुनसम्ममा कुल रू. २३ अर्ब ७९ करोड बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्ममा नेप्सेमा सूूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरूले उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।  १८ निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले आठ महीना अवधिमा अवधिमा कुल रू. ३ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेको हो । यस कम्पनीले फागुनमा मात्रै रू. ३३ करोड ७४ लाख कुल बीमाशुल्क आर्जन गरेको हो । त्यसैगरी दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले फागुुन मसान्तसम्म कुल रू. २ अर्ब २२ करोड बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले फागुनमा मात्र भने रू.२६ करोड ७९ लाख बीमाशुल्क आर्जन गरेको हो । फागुन मसान्तसम्ममा सूचीकृत १८ कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क आर्जन जनरल इन्स्योरेन्स कम्पनीले कुल रू. ६१ करोड १८ लाख बीमाशुल्क आर्जन गरेको छ ।