भदौ १०, चितवन । भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजाको शिलान्यास गरिएको छ ।
बुधवार एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भवनको शिलान्यास गरेका हुन् ।
प्रमुख अतिथि समेत रहेका प्रचण्डले भरतपुर मेट्रो प्लाजा चितवन भरतपुरका जनताको चेतना, संस्कार र सभ्यतालाई प्रतिविम्वित गर्ने प्रोजेक्ट भएको बताए ।
यसले दिने सन्देश पनि बहुआयामिक हुने उनको भनाइ थियो । यसको निर्माणसँगै यसबाट चितवनको समग्र विकासमा एक कोसेढुंगा सावित गर्ने बताउँदै दाहालले यो मोडल देशकै लागि नमूना मोडलको रुपमा विकास हुने विश्वास व्यक्त गरे ।
विगतमा निजी क्षेत्रप्रति राज्य उदार नभएकाले विकास नभएको र अब राज्य नीजि क्षेत्रका हकमा धेरै उदार हुने भन्दै यसले गर्दा देशमा ठूला ठूला प्रोजेक्टहरु सञ्चालन हुने उनले बताए ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाले आधुनिक सहरको सोच बोकेर आफूहरु अगाडि बढेको भएको बताइन् । आफूहरु निरन्तर सधैँ निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको उनको भनाइ थियो ।
सार्वजनिक नीजि साझेदारी (पिपिपी) मोडलमा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता महानगरसँग भएको छ ।
भरतपुर महानगर र आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिबीच गत साउन २४ गते सम्झौता भएको थियो । आर्या बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ ओटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताए ।
उनका अनुसार यो भवनमा चिड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट क्यासिनोलगायतका संरचनाहरु रहने छन् । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाइको भवन बन्ने छ । उनले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा करीब २ अर्ब लगानीमा भवन निर्माण हुन लागेको हो ।