नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रक्रिया र ब्रोकर संख्या थप्न गरेको नयाँ व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएसँगै यो प्रक्रिया पूरा गर्न बोर्डलाई बाटो खुलेको छ । यसले नेपालको पूँजी बजार विस्तार गर्न सहयोग पुग्ने भएकाले शेयरबजारमा आशाको सञ्चार छाएको छ र यसले शेयरबजारमा सिनर्जी प्रभाव ल्याउने अपेक्षा गरिएको छ ।
नेपालमा सर्वसाधारणलाई लगानीको अवसर र उपकरण ज्यादै कम उपलब्ध हुँदा नै अनुत्पादक क्षेत्रमा लगानी र खर्च बढेको हो । यसलाई रोक्न बोर्डले लगानीका विविध औजार ल्याउने बाटो खोलिहाल्नुपर्छ ।
ब्रोकर संख्या थप्न, नयाँ एक्सचेन्ज स्थापना गर्न र कमोडिटी एक्सचेन्ज स्थापना गर्न प्रयास गरेको लामो समय भए पनि कानूनी प्रक्रिया पूरा गर्न समय लागेकाले विलम्ब भइरहेको छ । लगानीकर्ता, सूचीकृत कम्पनी, बजारको आकार आदि सबै बढ्दा पनि निश्चित संख्याका ब्रोकरमात्रै हुँदा शेयरबजारले अपेक्षित गति लिन नसकेको विश्लेषण भइरहेको छ । त्यसैले नयाँ एक्सचेन्ज र ब्रोकर थप्न लगानीकर्ताका संघसंगठनले समेत माग गरेका थिए । नयाँ ब्रोकर नथप्दा भएका ब्रोकरहरूले नयाँ प्रविधि भित्र्याउन नसकेको, मार्जिन कारोबारको सुविधा दिन नसकेको आदि समस्या थियो । यसलाई सम्बोधन गर्न बोर्डले प्रक्रिया पूरा गरेर आवेदन दिने सबैलाई ब्रोकरको अनुमति दिने व्यवस्था गरेको छ । विगतमा संख्या तोकेर ब्रोकरको लाइसेन्स खुलाइएको थियो तर अहिले बोर्डले तय गरेका शर्त र प्रावधान पूरा गरेका जुनसुकै कम्पनीलाई अनुमति दिने व्यवस्था गरेको छ । यसले प्रतिस्पर्धाको वातावरण सृजना गरेको छ । यसले गर्दा हितग्राहीले बढी सुविधा पाउन सक्छन् । साथै, ब्रोकरहरूले नयाँनयाँ सेवा दिन पनि थाल्नेछन् । चुक्ता पूँजीका आधारमा ब्रोकर कम्पनीको कार्यक्षेत्र पनि थपघट हुने भएकाले अब बढी सेवा दिने ठूला कम्पनी स्थापना हुने देखिन्छ । यसले गर्दा शेयरबजार थप विस्तार र परिपक्व हुँदै जानेछ ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफुलाई सुधार्न नसकेको भन्ने आरोप लाग्ने गरेको छ । प्रतिस्पर्धा नभएकाले उसको सेवाबारे लगानीकर्ताले बारम्बार प्रश्न उठाएका थिए । हुन पनि बजारमा तीव्र उतारचढाव आएका बेला सफ्टवेयरले काम नगर्ने, कहिले मुसा पसेर तार काट्यो भन्ने, सर्भर डाउन हुनेजस्ता समस्या बारम्बार दोहोरिँदा पनि नेप्सेले सुधार गर्न सकेको थिएन । त्यसैले लगानीकर्ताले प्रतिस्पर्धाकै लागि नयाँ एक्सचेन्जको माग गरेका हुन् । नयाँ एक्सचेन्जका लागि आवेदन नपरे पनि अब आवेदन खुलाउँदा निजीक्षेत्रबाट एक्सचेन्ज स्थापनाको प्रस्ताव आउन सक्ला । यदि दुईओटा एक्सचेन्ज भए नियामकले गर्नुपर्ने काम थपिन्छ । यसरी देखिने केही जटिलतालाई सहजीकरण गरे नयाँ एक्सचेन्जले पूँजी बजारलाई परिपक्व बनाउँछ ।
कुनै बेला नेपालमा कमोडिटी बजारले राम्रै गति लिएको थियो तर नियमनको व्यवस्था गरेपछि मात्रै सञ्चालन गर्न दिने भनी कमोडिटी बजार बन्द गरियो । यो बन्द गराएको दशक पुग्न लाग्दासमेत बोर्डले यसका लागि काम गर्न सकेको छैन । आवेदन खुलाउने, मुद्दा पर्ने, फेरि आवेदन खुलाउने प्रक्रियाकै वरिपरि यो समस्या घुमिरहेको छ । अब भने कमोडिटी बजार खोल्न तत्कालै एक्सचेन्ज स्थापनाको अनुमति दिनुपर्छ ।
बजारमा जति धेरै लगानीका उपकरण हुन्छन् त्यति नै सर्वसाधारणले लगानी गर्ने अवसर पाउँछन् । लगानीको अवसर पाउँदा उनीहरूको बचत पनि बढ्छ । नेपालमा सर्वसाधारणलाई लगानीको अवसर र उपकरण ज्यादै कम उपलब्ध हुँदा नै अनुत्पादक क्षेत्रमा लगानी र खर्च बढेको हो । यसलाई रोक्न बोर्डले लगानीका विविध औजार ल्याउने बाटो खोलिहाल्नुपर्छ । पूँजी बजारलाई कुनै पनि देशको अर्थतन्त्रको ऐना भन्ने गरिने भएकाले पूँजी बजारको राम्रो विकास हुनुपर्ने ठानिन्छ । त्यसैले पूँजी बजारको विकासका लागि हुने राम्रा निर्णय सधैं स्वागतयोग्य हुन्छन् र हुनुपर्छ । ५६ लाखभन्दा बढीले डिम्याट खाता खोलिसकेको सन्दर्भमा र अर्बांै रुपैयाँ सर्वसाधारणको लगानी भइसकेको बेला नियामक निकायले गर्ने यस्ता निर्णयको दीर्घकालीन प्रभाव महत्त्वपूर्ण हुन्छ ।