५ दिनमा बैंकहरुको २० अर्ब निक्षेप घट्यो, कर्जा प्रवाह शुन्य

५ दिनको अवधिमा वाणिज्य बैंकहरुको २० अर्ब निक्षेप घटेको छ  । कार्तिक १ गतेदेखि कार्तिक ५ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप २० अर्बले घटेको हो  ।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज ३१ गते बैंकहरुको निक्षेप ४२ खर्ब ६९ अर्ब रहेकोमा कार्तिक ५ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप २० अर्बले घटेर ४२ खर्ब ४९ अर्बमा सिमित भएको छ  ।  जस मध्ये विदेशी मुद्राको निक्षेप मात्रै १६ अर्बले घटेको छ  ।  यस अवधिमा बैंकहरुले थप कर्जा प्रवाह गरेका छैनन् ।  असोज ३१ गते बैंकहरुको कुल कर्जा प्रवाह ३९ खर्ब ९८ अर्ब रहेकोमा कार्तिक ५ गतेसम्मको कर्जा पनि ३९ खर्ब ९८ अर्ब नै रहेको छ  ।  निक्षेप बढाउँनको लागि बैंकहरुले मुद्दती खाताको ब्याज बढाएर दोहोरो अंकको डिजिट कायम गरेका थिए । तर राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र बढाउँन निर्देशन दिएपछि अहिले ब्याजदर एकल अंकमा आएको छ ।  

सम्बन्धित सामग्री

तरलता बढी भएपछि ३ दिनमा ६६ अर्ब प्रशोचन

काठमाडौं। वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो ३ दिनमा ६६ अर्ब रुपैयाँभन्दा बढी रकम बजारबाट उठाएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत मंगलवार, बुधवार र बिहीवार गरी उक्त तरलता प्रशोचन गरेको हो ।  राष्ट्र बैंकले १४ दिन अवधिका लागि मंगलबार २० अर्ब, बुधवार र बिहीवार ३०/३० अर्ब गरी कुल ८० अर्ब रुपैयाँ तरलता प्रशोचनका लागि निक्षेप संकलन बोलकबोल गरेको थियो । त्यसमध्ये मंगलवार र बुधवार लक्ष्यअनुसार नै निक्षेप उठाए पनि बिहीवार भने १६ अर्ब ३० करोड रुपैयाँ मात्र संकलन गरेको छ । बैंकहरूले मंगलवार ३२ अर्ब ३० करोड र बुधवार ३१ अर्ब ८० करोड रुपैयाँ निक्षेपका लागि बोलकबोल गरेका थिए । बिहीवार भने १७ अर्ब ४० करोड मात्र बोलकबोल परेको राष्ट्र बैंकले बताएको छ । यस्तै मंगलवार ३ दशमलव शून्य २ प्रतिशत औसत ब्याजदर कायम भएकोमा बुधवार ३ दशमलव शून्य ३ र बिहीवार ३ दशमलव १८ प्रतिशत ब्याजदर कायम भएको छ ।  चालू आर्थिक वर्ष (आव) मा बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि अधिक तरलता देखिँदै आएको छ । यसले गर्दा अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि राष्ट्र बैंकले मङ्सिरयता निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । बिहीवारसम्ममा राष्ट्र बैंकले ४ खर्ब ६८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।  राष्ट्र बैंकका अनुसार मंगलवारसम्ममा बैंक, वित्तीय संस्थाहरूले ६१ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । मंगलवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ४ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार उनीहरूसँग थप ६ खर्बभन्दा बढी कर्जा विस्तारको क्षमता छ । यस्तै मंगलवार दैनिक औसत अन्तरबैंक ब्याजदर पनि २ दशमलव ९३ प्रतिशत कायम छ । ब्याजदर कोरिडोरको प्रावधानअनुसार यो ब्याजदर न्यूनतम ३ प्रतिशत कायम हुनुपर्छ ।  राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल निक्षेप र कर्जाको वृद्धिदर असन्तुलित हुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको बताउँछन् । ‘अहिले कर्जाभन्दा निक्षेपको वृद्धिदर बढी छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरूले ब्याजदर घटाउँदै लगेकाले आगामी दिनमा कर्जा प्रवाह वृद्धि भई तरलता व्यवस्थापन हुन्छ ।’ चालू आवमा बैंकहरूले ३ खर्ब ७० अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ३ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आर्थिक गतिविधि चलायमान नहुँदा अपेक्षाकृत कर्जा विस्तार हुने नसकेको प्रतिक्रिया दिए ।

निक्षेप संकलन बढाउँदै राष्ट्र बैंक

काठमाडौं । वित्तीय प्रणालीमा तरलता ज्यादै बढेपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन बढाएको छ ।  एक महीनामा २ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गर्दा पनि ब्याजदर कोरिडोरअनुसार औसत अन्तरबैंक ब्याजदर कायम नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन रकम बढाएको हो ।  राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बुधवार १४ दिनका लागि ३५ अर्ब रुपैयाँ उठाएको छ । यो तरलता प्रशोचनका लागि चालू आर्थिक वर्ष (आव) मा जारी गरेको हालसम्मकै ठूलो रकमको उपकरण हो । यसअघि १४ दिने अवधिको २५ अर्ब रुपैयाँसम्मको निक्षेप संकलन उपकरण जारी भएको थियो । बुधवार जारी निक्षेप संकलन उपकरणको बोलकबोलमा बैंकहरूले ३८ अर्ब ४० करोड रुपैयाँका लागि आवेदन गरेका छन् । यसमा बैंकहरूले न्यूनतम २ दशमलव ४९ र अधिकतम ३ दशमल १२ प्रतिशत ब्याजदर बोलकबोल गरेका छन् । राष्ट्र बैंकले केन्द्रीय बैंकले बिहीवार पनि ७ दिन अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दै छ ।  वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ महीनाको अवधिमा १४ पटक निक्षेप संकलन उपकरण जारी गरी २ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ उठाएको छ । त्यसमध्ये १ खर्ब ३५ अर्ब रुपैयाँ भने परिपक्व भई पुन: बैंकिङ प्रणालीमा फिर्ता भइसकेको छ ।  वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ महीनाको अवधिमा १४ पटक निक्षेप संकलन उपकरण जारी गरी २ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ उठाएको छ । अझै अन्तरबैंक ब्याजदर तोकिएको सीमाभन्दा तल कायम भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन बढाएको हो । शनिवारसम्ममा औसत अन्तरबैंक ब्याजदर २ दशमलव ५८ प्रतिशत कायम भएको छ ।  ‘ब्याजदर कोरिडोरसम्बन्धी कार्यविधि २०७६’ अनुसार कोरिडोरको माथिल्लो सीमा बैंकदर र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर तोक्दै अन्तरबैंक ब्याजदर यही बीचमा राख्ने व्यवस्था छ । यसका लागि राष्ट्र बैंकले तरलता प्रवाह र प्रशोचन गर्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्ने प्रावधान छ । केन्द्रीय बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत निक्षेप संकलनदर ३ प्रतिशतमा झारेको छ । यसअघि यो दर ४ दशमलव ५ प्रतिशत थियो । निक्षेप संकलन ब्याजदर नै कोरिडोरको तल्लो सीमा तोकिएकाले केन्द्रीय बैंकले अन्तर ब्याजदर यसभन्दा तल आएमा तरलता प्रशोचन गर्नुपर्छ ।  चालू आवमा भदौ अन्तिमबाटै अन्तरबैंक ब्याजदर कोरिडोरको सीमाभन्दा तल कायम भए पनि राष्ट्र बैंकले मङ्सिरसम्म त्यसलाई बढाउन कुनै उपकरण प्रयोग गरेन । सरकारले धमाधम सस्तो ब्याजदरमा आन्तरिक ऋण उठाइरहेकाले केन्द्रीय बैंकले बेवास्ता गरेको थियो । सरकारको ऋण उठाउने योजना पूरा भएपछि पनि अन्तरबैंक ब्याजदर तोकिएको सीमाभित्र कायम नभएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट धमाधम तरलता प्रशोचन गरिरहेको छ । मौद्रिक नीतिमा भने ब्याजदर लक्ष्यभन्दा कम वा बढी भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गर्ने उल्लेख छ ।  पछिल्लो समय बैंकमा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसक्दा अधिक तरलता देखिएको हो । गत शनिवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव १७ प्रतिशतमा झरेको छ । बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार उनीहरूसँग थप ५ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा विस्तारको क्षमता छ । पुसमा बैंकहरूले ब्याजदर घटाएर कर्जा विस्तारमा जोड दिए पनि बढ्न सकेको छैन । शनिवारसम्ममा बैंकहरूले ६० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवमा बैंकहरूमा २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप बढ्दा कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ मात्र विस्तार भएको छ ।

दशैंमा घटेको निक्षेप फेरि बैंकमा फर्किंदै

काठमाडौं । बैंक, वित्तीय संस्थाबाट दशैंअघि बाहिरिएको निक्षेप पुन: प्रणालीमै फर्किन थालेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थाको कुल निक्षेप आइतवारसम्म ५९ खर्ब रुपैयाँ पुगेको छ । असोज मसान्तमा बैंकहरूको कुल निक्षेप ५९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि कात्तिक ९ गतेसम्ममा घटेर ५८ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको निक्षेप दशैंपछि लगातार बढिरहेको छ । दशैंपछि मात्र बैंकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।  दशैंंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको थियो । असोज १६ गते बजारमा ६ खर्ब २० अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेकोमा कात्तिक ९ गतेसम्ममा बढेर ६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको थियो ।  पछिल्लो समय विप्रेषण आप्रवाह उच्च भएसँगै बैंकमा निक्षेप बढिरहेको छ । यसै गरी बैंकको कर्जा लगानीमा पनि सुधार देखिन थालेको छ ।  कर्जाको तुलनामा निक्षेप वृद्धि उच्च भएपछि बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ ।  आइतवारसम्ममा बैंक, वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । शनिवारको तुलनामा आइतवार २ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको हो ।  असोज अन्तिममा बैंकहरूको कुल कर्जा प्रवाह ५० खर्ब रुपैयाँ पुगेको थियो । कात्तिक ९ गतेसम्ममा घटेर ४९ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएकोमा पुन: बढ्न थालेको हो ।  नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी अर्थतन्त्रको बाह्य अवस्थामा आएको सुधारसँगै आन्तरिक अवस्थामा पनि सुधारको संकेत देखिएको बताउँछन् । यसले गर्दा बैंकमा निक्षेप र कर्जाको विस्तार गतवर्षको तुलनामा सुधार देखिएको उनको भनाइ छ । ‘पछिल्लो समय निक्षेप र कर्जाको विस्तार केही बढेको छ,’ उनले भने, ‘यसबाट आन्तरिक आर्थिक गतिविधि सुधार हुन थालेको संकेत मिलेको छ ।’ चालू आर्थिक वर्षको कात्तिक २० गतेसम्ममा वाणिज्य बैंकमा मात्र १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप बढ्दा ९२ अर्ब रुपैयाँले कर्जा विस्तार भएको बैंकर्स संघले बताएको छ । जब कि गत आर्थिक वर्षको यसै अवधिमा ८४ अर्ब निक्षेप बढ्दा ४७ अर्ब रुपैयाँले कर्जा विस्तार भएको थियो ।  कर्जाको तुलनामा निक्षेप वृद्धि उच्च भएपछि बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । आइतवार बैंकहरूको औसत सीडी रेसियो ८१ दशमलव ५३ प्रतिशत कायम भएको छ । असोज मसान्तमा यो ८१ दशमलव ७४ प्रतिशत कायम थियो । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्नुपर्ने प्रावधानअनुसार करीब ५ खर्ब ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह क्षमता उनीहरूसँग रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  बैंकमा निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घट्न थालेको छ । कात्तिक १० मा ४ दशमलव ५८ प्रतिशत कायम भएको अन्तरबैंक ब्याजदर आइतवार ३ दशमलव २२ प्रतिशतमा झरेको छ ।

एकै दिन बैंकिङ प्रणालीमा १० अर्ब निक्षेप थपियो

काठमाडौं । दशैंमा बाहिरिएको पैसा पुन: बैंकिङ प्रणालीमा फर्किन थालेको छ । दशैं बिदापछि एकै दिन १० अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।  राष्ट्र बैंकका अनुसार कात्तिक ९ गते बिहीवारसम्म बैंक, वित्तीय संस्थामा कुल ५८ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिक १० गते शुक्रवार ५८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । असोज मसान्तमा वित्तीय प्रणालीमा ५९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थियो । दशैंमा बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकमा फर्किन थालेको हो ।  दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको थियो । असोज १६ गते बजारमा ६ खर्ब २० अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेकामा कात्तिक ९ गतेसम्ममा बढेर ६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । दशैंमा राष्ट्र बैंकले नयाँ खुद्रा नोट सटहीको सुविधासमेत दिएको थियो । यसबाहेक सर्वसाधारणले दशैंका लागि बैंकबाट पैसा निकाल्दा निक्षेप घटेर चलनचल्तीमा रहेको नगद बढेको थियो । चाडपर्वका अवसरमा हुने आर्थिक कारोबारका लागि बाहिरिएको रकम विस्तारै प्रणालीमा फर्किने र त्यसको लागि केही समय लाग्ने प्रवक्ता भट्टले बताए ।  बिहीवारको तुलनामा शुक्रवार वाणिज्य बैंकहरूमा कुल ८ अर्ब निक्षेप बढेर ५१ खर्ब ९२ अर्ब रुपैयाँ पुग्दा विकास बैंक तथा फाइनान्स कम्पनीमा पनि २ अर्बले बढेर ६ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढे पनि कुल कर्जा प्रवाह भने घटेको छ । बिहीवारसम्म बैंक, वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ४९ खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा शुक्रवार ४९ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ ।  असोज मसान्तको तुलनामा भने कर्जा प्रवाह बढेको छ । असोज अन्तिममा बैंकहरूको कुल कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ थियो । असोज लागेसँगै बैंकहरूबाट कर्जा प्रवाह बढ्न थालेको थियो ।  कर्जाको तुलनामा निक्षेप वृद्धि उच्च भएपछि बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । शुक्रवार बैंकहरूको औसत सीडी रेसियो ८१ दशमलव ७१ प्रतिशत कायम भएको छ । असोज मसान्तमा यस्तो अनुपात ८१ दशमलव ७४ प्रतिशत कायम थियो । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्नुपर्ने प्रावधानअनुसार अहिले उनीहरूसँग ४ खर्ब ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ । बैंकमा निक्षेप तथा कर्जा प्रवाह वृद्धि भएपछि अन्तरबैंक ब्याजदर पनि ह्वात्तै बढेको छ । लामो समयदेखि २ प्रतिशत हाराहारीमा रहेको अन्तरबैंक कारोबारको औसत ब्याजदर शुक्रवार ४ दशमलव ५८ प्रतिशत कायम भएको छ ।

बैंकमा निक्षेप र कर्जाको वृद्धि सुस्त

काठमाडौं  । सरकार र नेपाल राष्ट्र बैंकको कसिलो नीतिले अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सहज भए पनि आन्तरिक गतिविधि भने शिथिल भएको पुष्टि भएको छ । आन्तरिक आर्थिक गतिविधिमा कमी आउँदा बैंकमा निक्षेप तथा कर्जाको वृद्धि सुस्ताएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ‘देशको आर्थिक तथा वित्तीय स्थिति’सम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२ दशमलव ३ प्रतिशतले वृद्धि हुँदा कर्जा भने ३ दशमलव ८ प्रतिशतले मात्रै बढेको छ । नेपाल राष्ट्र बैंकले गत आवमा १२ दशमलव ६ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो ।  कोभिड–१९ महामारीको असर बाँकी नै रहेका बेला रूस–युक्रेन तनावका कारण विश्वव्यापी रूपमा आर्थिक मन्दी शुरू भएपछि त्यसको असर नेपालमा पनि पर्न थालेको थियो । त्यसपछि राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति जोगाउन आयात कर्जामा कडाइ गर्नुका साथै कसिलो मौद्रिक नीति जारी गर्‍यो । त्यसले गर्दा अघिल्ला वर्षहरूको तुलनामा बैंकमा निक्षेप र कर्जा वृद्धिदर सुस्ताएको हो ।  राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ भने अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम भएकाले आन्तरिक अवस्था पनि विस्तारै सहज हुने बताउँछन् । बैंकमा तरलता पर्याप्त रहेको र ब्याजदर घट्दै गएकाले आगामी दिनमा कर्जा प्रवाह वृद्धि हुने उनले दाबी गरे ।  राष्ट्र बैंकका अनुसार कोभिड–१९ महामारीले आव २०७६/७७ मा कर्जा विस्तार घटे पनि महामारी कम भएपछि आव २०७७/७८ मा उच्च भएको थियो । विस्तारकारी र लचिलो मौद्रिक नीतिले त्यसलाई बढावा दिएको थियो । तर, वित्तीय क्षेत्रको लगानी आयातलगायत अनुत्पादक क्षेत्रमा गएको र त्यसले नकारात्मक असर पर्न थालेपछि गत आवमा भने कसिलो मौद्रिक नीतिमार्फत नियन्त्रण शुरू गरेको थियो । चालू आवमा भने राष्ट्र बैंकले सजगतापूर्वक केही लचिलो नीति अघि सारेको छ, जसले गर्दा ब्याजदर घट्दै गएको र आन्तरिक अर्थतन्त्रसमेत चलायमान हुने केन्द्रीय बैंकका अधिकारीहरूको अपेक्षा छ ।  बाह्य क्षेत्र सहज  कोभिडपछि आव २०७८/७९ को शुरूदेखि नै बिग्रिँदै गएको बाह्य क्षेत्रका सूचकहरू आव २०७९/८० को अन्त्यमा सहज अवस्थामा छन् । रेमिट्यान्स (विप्रेषण) र भ्रमण आय वृद्धिसँगै देशको शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव २ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्ष विप्रेषण ४ दशमलव ८ प्रतिशतले बढेको थियो । गत आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १२ दशमलव १ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष डलरमा विप्रेषण आप्रवाह २ दशमलव २ प्रतिशतले बढेको थियो ।  विप्रेषणलगायतको आय वृद्धि र व्यापारघाटा कम हुँदा २०८० असारमा शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो । यस्तै अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत आवको अन्त्यमा २ अर्ब २१ करोड रुपैयाँले बचतमा छ । शोधनान्तर स्थिति सहज हुँदा देशमा विदेशी मुद्रा सञ्चिति पनि सहज अवस्थामा पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव ६ प्रतिशतले बढेर २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर पुगेको छ । यो हालसम्मकै उच्च हो । यस्तै अमेरिकी डलरमा सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असारमा २३ दशमलव १ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको छ ।  आव २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव ७ महीनाको वस्तु आयात र १० महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले बताएको छ ।

गत चौथो त्रैमाससम्म डिप्रोक्स लघुवित्तद्वारा २० अर्बभन्दा बढी कर्जा प्रवाह

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म डिप्रोक्स लघुवित्त वित्तीय सस्था लिमिटेडले २० अर्ब २३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १८ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १० दशमलव ४२ प्रतिशत बढी कर्जा प्रवाह भएको हो ।  अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ३२ दशमलव ७७ प्रतिशत कम ३७ करोड १९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ५५ करोड ३१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । सञ्चालन नाफा अघिल्लो वर्षभन्दा ३३ दशमलव ३० प्रतिशत कम ५३ करोड १३ लाख रूपैयाँभन्दा बढी भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६६ करोड २१ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज १० करोड ६५ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रूपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निग ६६ करोड २१ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम १ अर्ब १६ करोड रूपैयाँभन्दा बढी कायम छ । गत चौथो त्रैमाससम्म कम्पनीले ९ अर्ब ४ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने कर्जा सापटी ८ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी लिएको छ । अघिल्लो वर्ष १ दशमलव शून्य ३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर ४ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २३ रूपैयाँ ९८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१७ रूपैयाँ ८७ पैसा रहेको छ ।

९ दिनमा निक्षेप २२ अर्ब घट्यो

काठमाडौं । वैशाख लागेपछिका ९ दिनमा वाणिज्य बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत अन्तिममा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख ९ गतेसम्ममा घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ । वैशाख पहिलो साता १२ अर्ब निक्षेप घटेकोमा दोस्रो सातामा १० अर्ब रुपैयाँले घटेको छ । चैत अन्तिम साता बैंकको निक्षेप ५५ अर्ब रुपैयाँले बढेको थियो । यसैगरी चैत मसान्तको तुलनामा बैंकको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ । चैत अन्तिम साता २० अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको बैंकहरूको कर्जा प्रवाह वैशाख ९ गतेसम्ममा ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ । वैशाख पहिलो साता २ अर्ब र दोस्रो साता १ अर्ब कर्जा घटेको संघको तथ्यांकमा उल्लेख छ । चैत मसान्त बैंकहरूको तेस्रो त्रैमासिकको खाताबन्दी गर्ने बेला भएकाले निक्षेप र कर्जामा वृद्धि देखिएको हो । बैंकहरूले आफ्नो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएकाले यसलाई राम्रो देखाउन खाताबन्दीको बेला निक्षेप संकलन तथा कर्जा असुलीमा जोड दिने गर्छन् । वैशाख लागेसँगै चुनावी चहलपहलका कारण बैंकबाट निक्षेप झिक्ने क्रम बढेको विश्लेषण गरिएको छ ।

पाँच दिनमै २० अर्ब घट्यो निक्षेप, कर्जा प्रवाह स्थिर

दशैंलगत्तै पाँच दिनमै २७ वाणिज्य बैंकबाट २० अर्ब निक्षेप घटेको छ । निक्षेप घट्नुले लगानीयोग्य रकममा बैंकहरु झनै असहज अवस्थामा पुगेको संकेत गर्छ ।  नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ्कअनुसार असोज ३१ गतेसम्म २७ बैंकमा ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक ५ गते घटेर ४२ खर्ब ४९ अर्ब कायम भएको छ । स्वदेशी र विदेशी मुद्रामा संकलन हुने निक्षेपमध्ये विदेशी मुद्रा मात्रै १६ अर्ब घटेको संघले जनाएको छ ।

वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार, कुल निक्षेप ४१ खर्ब २९ अर्ब पुग्यो

भदौ २१, काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महीनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ६ अर्ब रुपैयाँले मात्रै बढेको हो । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ४१ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूले साउन मसान्तसम्म कुल ४१ खर्ब २३ अर्ब रुपैयाँ बराबर निक्षेप संकलन गरेका थिए ।            भदौ महीनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म ३८ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत साउनसम्म बैंकहरूले  कुल ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।            यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप ४० खर्ब ९ अर्ब रुपैयाँ रहेको छ भने कर्जा ३६ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । विदेशी मुद्रामा १ खर्ब २० अर्ब रुपैयाँको निक्षेप रहेको छ भने १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको कर्जा रहेको छ । रासस

कर्जा प्रवाह बढ्यो

माघ महिनाको सुरुवातदेखि बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढेको छ । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार गत एक हप्तामा बैङ्कहरूको निक्षेप सङ्कलन पाँच अर्ब रुपियाँले बढेको छ भने कर्जा लगानी २० अर्ब रुपियाँले बढेको छ । अघिल्लो साता पनि निक्षेप सङ्कलन १० अर्बले बढ्दा कर्जा लगानी २१ अर्ब रुपियाँले बढेको थियो । माघ १० गतेसम्ममा बैङ्कहरूको निक्षेप सङ्कलन ३७ खर्ब ८४ अर्ब रुपियाँ पुगेको थियो भने कर्जा लगानी ३२ खर्ब ८८ अर्ब रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा यस्तो कर्जा २०.१ प्रतिशतले बढेको छ । सोही अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले बढेको छ ।