बैंकमा निक्षेप र कर्जाको वृद्धि सुस्त

काठमाडौं  । सरकार र नेपाल राष्ट्र बैंकको कसिलो नीतिले अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सहज भए पनि आन्तरिक गतिविधि भने शिथिल भएको पुष्टि भएको छ । आन्तरिक आर्थिक गतिविधिमा कमी आउँदा बैंकमा निक्षेप तथा कर्जाको वृद्धि सुस्ताएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ‘देशको आर्थिक तथा वित्तीय स्थिति’सम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२ दशमलव ३ प्रतिशतले वृद्धि हुँदा कर्जा भने ३ दशमलव ८ प्रतिशतले मात्रै बढेको छ । नेपाल राष्ट्र बैंकले गत आवमा १२ दशमलव ६ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो ।  कोभिड–१९ महामारीको असर बाँकी नै रहेका बेला रूस–युक्रेन तनावका कारण विश्वव्यापी रूपमा आर्थिक मन्दी शुरू भएपछि त्यसको असर नेपालमा पनि पर्न थालेको थियो । त्यसपछि राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति जोगाउन आयात कर्जामा कडाइ गर्नुका साथै कसिलो मौद्रिक नीति जारी गर्‍यो । त्यसले गर्दा अघिल्ला वर्षहरूको तुलनामा बैंकमा निक्षेप र कर्जा वृद्धिदर सुस्ताएको हो ।  राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ भने अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम भएकाले आन्तरिक अवस्था पनि विस्तारै सहज हुने बताउँछन् । बैंकमा तरलता पर्याप्त रहेको र ब्याजदर घट्दै गएकाले आगामी दिनमा कर्जा प्रवाह वृद्धि हुने उनले दाबी गरे ।  राष्ट्र बैंकका अनुसार कोभिड–१९ महामारीले आव २०७६/७७ मा कर्जा विस्तार घटे पनि महामारी कम भएपछि आव २०७७/७८ मा उच्च भएको थियो । विस्तारकारी र लचिलो मौद्रिक नीतिले त्यसलाई बढावा दिएको थियो । तर, वित्तीय क्षेत्रको लगानी आयातलगायत अनुत्पादक क्षेत्रमा गएको र त्यसले नकारात्मक असर पर्न थालेपछि गत आवमा भने कसिलो मौद्रिक नीतिमार्फत नियन्त्रण शुरू गरेको थियो । चालू आवमा भने राष्ट्र बैंकले सजगतापूर्वक केही लचिलो नीति अघि सारेको छ, जसले गर्दा ब्याजदर घट्दै गएको र आन्तरिक अर्थतन्त्रसमेत चलायमान हुने केन्द्रीय बैंकका अधिकारीहरूको अपेक्षा छ ।  बाह्य क्षेत्र सहज  कोभिडपछि आव २०७८/७९ को शुरूदेखि नै बिग्रिँदै गएको बाह्य क्षेत्रका सूचकहरू आव २०७९/८० को अन्त्यमा सहज अवस्थामा छन् । रेमिट्यान्स (विप्रेषण) र भ्रमण आय वृद्धिसँगै देशको शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव २ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्ष विप्रेषण ४ दशमलव ८ प्रतिशतले बढेको थियो । गत आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १२ दशमलव १ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष डलरमा विप्रेषण आप्रवाह २ दशमलव २ प्रतिशतले बढेको थियो ।  विप्रेषणलगायतको आय वृद्धि र व्यापारघाटा कम हुँदा २०८० असारमा शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो । यस्तै अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत आवको अन्त्यमा २ अर्ब २१ करोड रुपैयाँले बचतमा छ । शोधनान्तर स्थिति सहज हुँदा देशमा विदेशी मुद्रा सञ्चिति पनि सहज अवस्थामा पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव ६ प्रतिशतले बढेर २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर पुगेको छ । यो हालसम्मकै उच्च हो । यस्तै अमेरिकी डलरमा सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असारमा २३ दशमलव १ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको छ ।  आव २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव ७ महीनाको वस्तु आयात र १० महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले बताएको छ । 

सम्बन्धित सामग्री

कर्जाको ब्याजदर घट्दै

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर घटाएसँगै कर्जा पनि सस्तो हुन थालेको छ । निक्षेपको ब्याजदर घटाएपछि बैंकहरूको लागतसँगै आधारदर कम भएर कर्जाको ब्याजदर घट्न थालेको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को असोजमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव ११ प्रतिशतमा झरेको छ । साउनमा कर्जाको औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत थियो । साउनमा १० दशमलव ११ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधारदर असोजमा ९ दशमलव ९४ प्रतिशतमा झरेको छ । आधारदर घटेपछि कर्जाको ब्याजदर घटेको हो ।  साउनको तुलनामा असोजमा विकास बैंकहरूमा भने ब्याजदर बढेको छ । साउनमा विकास बैंकहरूको कर्जाको औसत ब्याजदर १३ दशमलव ८८ प्रतिशत रहेकोमा असोजमा १३ दशमलव ९१ प्रतिशत कायम भएको छ । भदौको तुलनामा भने असोजमा ब्याजदर घटेको छ ।  यसैगरी फाइनान्स कम्पनीहरूमा पनि कर्जाको औसत ब्याजदर घटेको छ । फाइनान्स कम्पनीहरूमा साउनमा १४ दशमलव ६६ प्रतिशत औसत ब्याजदर रहेकोमा असोजमा १४ दशमलव ६१ प्रतिशतमा झरेको छ ।  तरलता अभाव भएसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि लागत बढेर कर्जा पनि महँगो भएको थियो । पछिल्लो समय विष्रेषण आप्रवाहमा सुधार र आर्थिक गतिविधि बढेपछि बैंकमा निक्षेप बढिरहेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेपछि कर्जा पनि सस्तो हुन थालेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी आधारदर सस्तो भएको र बैंकहरूले प्रिमियम पनि घटाएकाले कर्जाको ब्याजदर घटिरहेको बताउँछन् । ‘अहिले निक्षेप वृद्धिको तुलनामा कर्जाको माग छैन,’ उनले भने, ‘बैंकहरूले लगानी बढाउन प्रिमियम पनि घटाएकाले कर्जा सस्तो भइरहेको छ ।’ मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ ।  राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्न पाउँछन् । बैंकहरूले उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने प्रावधान छ । नयाँ कर्जा लगानी गर्दा पछिल्लो ३ महीनाको आधारदर लिनुपर्ने व्यवस्थाले कर्जाको ब्याजदर घटेको छ ।  यसैगरी मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ । तरलता सहज भएपछि बैंकहरूले ब्याजदर तथा प्रिमियम घटाएर भए पनि कर्जा प्रवाह बढाउन थालेका छन् ।  राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २१ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३१ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार अझै ५ खर्ब १४ रुपैयाँ थप कर्जा प्रवाह क्षमता रहेको छ ।  तरलता उच्च भएपछि बैंकहरूले ब्याजदर घटाएर कर्जा प्रवाहमा जोड दिएका छन् । यसले गर्दा कर्जा प्रवाह वृद्धि हुन थालेको छ । चालू आवको असोजसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ दशमलव ८ प्रतिशत र कर्जा प्रवाह २ दशमलव ३ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा निक्षेप शून्य दशमलव ४ प्रतिशत र कर्जा १ दशमलव ३ प्रतिशतले बढेको थियो ।

‘कर्जाको माग अझै ६ महिना बढ्दैन’

काठमाडौं– चालु आर्थिक वर्षको असोज दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थासँग ५७ खर्ब ७९ अर्ब निक्षेप पुगेको छ । आवको सुरुवातदेखि नै बैंकमा कर्जाको माग नहुँदा निक्षेप संकलन एकतर्फी रुपमा बढिरहेको छ । अर्थतन्त्रमा आएको संकुचन, ब्याजदर वृद्धि तथा उपभोक्ताको क्रयशक्तिमा ह्रास हुँदा बैंकमा कर्जाको माग बढ्न सकेको छैन । कर्जा मागको तुलनामा निक्षेप वृद्धि […]

कर्जाको ब्याजदर फेरि बढ्ने संकेत

काठमाडौं। उद्योगी व्यवसायीले ब्याजदर घटाउन लबिङ गरिरहेकै बेला बैंक, वित्तीय संस्थाको कर्जा अझै महँगो हुने देखिएको छ । बैंकहरूले निक्षेपको ब्याजदर वृद्धि गरेसँगै कोषको लागत बढेपछि कर्जाको ब्याजदर पनि बढ्ने देखिएको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार २०८० साउनमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर र आधारदर वृद्धि भएको छ । २०८० असारमा बैंकहरूको निक्षेपमा औसत ब्याजदर ७ दशमलव ८६ प्रतिशत रहेकोमा साउनमा ८ प्रतिशत पुगेको छ ।  नेपाल बैंकर्स संघले ब्याजदर तोक्ने प्रचलन हटाउँदै बैंकहरूले साउनदेखि आफूखुशी ब्याजदर तोक्न थालेका हुन् । बैंकहरूबीच प्रतिस्पर्धा हुन थालेपछि निक्षेपको ब्याजदर बढिरहेको छ । असोजमा पनि आठओटा बैंकले निक्षेपको ब्याजदर बढाएका छन् । वैशाखमा वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा झरेकोमा असोजको ब्याजदर तोक्दा ११ दशमलव ३५८ प्रतिशतसम्म पुगिसकेको छ ।  राष्ट्र बैैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महीना लागू हुने निक्षेपको ब्याजदर अघिल्लो महीना प्रकाशित गर्नुपर्छ । तर, ब्याजदर तोक्दा साविकको ब्याजदरमा १० प्रतिशत मात्र तलमाथि गर्न पाइने व्यवस्था छ ।  कर्जाको माग नबढे पनि वाणिज्य बैंकहरूलाई भएको निक्षेप जोगाउन ब्याजदर वृद्धि गर्नुपर्ने बाध्यता रहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘बैंकहरूबीच निक्षेप खोसाखोसको अवस्था छ,’ उनले भने, ‘भएको निक्षेप टिकाउन पनि ब्याजदर बढाउनुपर्ने बाध्यतामा छौं ।’ निक्षेपको ब्याजदर वृद्धिसँगै बैंकहरूको लागत महँगो भई आधारदर बढिरहेको छ । यसले गर्दा कर्जाको ब्याजदर बढ्ने सम्भावना उच्च हुन पुगेको हो ।  २०८० असारमा वाणिज्य बैंकहरूको औसत आधारदर १० दशमलव शून्य ३ प्रतिशत रहेकोमा साउनमा १० दशमलव ११ प्रतिशत पुगेको छ ।  बैंक, वित्तीय संस्थाहरूले लागतमा शून्य दशमलव ७५ प्रतिशत नाफा समेत जोडेर आधारदर तय गर्न पाउँछन् । बैंकहरूले मासिक रूपमा आधारदर गणना गरी महीना सकिएको ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने र वेबसाइटमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।  नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी केन्द्रीय बैंक र वाणिज्य बैंकहरूबीच एकअर्कालाई असहयोग गर्ने नीतिका कारण ब्याजदर वृद्धि भएको बताउँछन् । तरलता बढी हुँदा पनि राष्ट्र बैंकले मौद्रिक औजारबाट तरलता नतानेको र बैंकहरू पनि निक्षेप खोसिने डरले ब्याजदर बढाउन लाग्दा कर्जा महँगो भइरहेको उनले टिप्पणी गरे । बैंकहरूले पछिल्लो ३ महीनाको आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घटबढ हुँदा कर्जाको ब्याजदर स्वत: घटबढ हुन्छ । हाल वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् । तर, कर्जा सम्झौतामा तोकिएको प्रिमियम परिवर्तन गर्न नपाइने प्रावधान छ ।  राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८० असारको तुलनामा साउनमा कर्जाको औसत ब्याजदर भने घटेको छ । असारमा १२ दशमलव ३० प्रतिशत रहेको कर्जाको औसत ब्याजदर साउनमा भने १२ दशमलव २४ प्रतिशतमा झरेको छ । उच्च ब्याजदरका कारण पछिल्लो समय बैंकहरूको कर्जा बढ्न सकेको छैन । जसको कारण बैंक, वित्तीय संस्थामा ४ खर्ब रुपैयाँ तरलता थन्किएर बसेको छ । शनिवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात ८२ दशमलव ६८ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म कर्जा–निक्षेप अनुपात कायम गरेर कर्जा दिन पाउँछन् । शनिवारसम्म बैंक वित्तीय संस्थामा कुल ५७ खर्ब २६ अर्ब निक्षेप छ । कर्जा प्रवाह ४९ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ ।

सात महीनामा २ खर्ब निक्षेप वृद्धि : कर्जा १ खर्ब १५ अर्ब मात्रै

काठमाडौं । चालू आर्थिक वर्षको ७ महीनामा वाणिज्य बैंकहरूमा करीब २ खर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ । गत आर्थिक वर्षभर तरलता अभावको समस्या भोगेका बैंकहरूमा चालू वर्ष भने सुधार देखिएको हो । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार २०७९ असारमा वाणिज्य बैंकहरूसँग कुल ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तमा ४७ खर्ब ४१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको पहिलो महीना साउनमा निक्षेप घटे पनि त्यसपछि भने लगातार वृद्धि भएको देखिएको छ । गत आर्थिक वर्षभरमा वाणिज्य बैंकहरूमा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप वृद्धि भएकोमा ७ महीनामा १ खर्ब १० अर्ब रुपैयाँ मात्र बढेको थियो । यस वर्ष निक्षेप वृद्धि भए पनि बैंकहरूले कर्जा प्रवाह भने बढाउन सकेका छैनन् । चालू आर्थिक वर्षको ७ महीनामा वाणिज्य बैंकहरूले १ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले असार मसान्तसम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघ अन्त्यमा बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ पुर्‍याएका छन् । गत वर्षभरिमा ४ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका बैंकहरूले ७ महीनामा ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्षको पुसयता भने बैंकहरूले कर्जा प्रवाह घटाउन थालेका हुन् । पछिल्लो समय बैंकहरूको निक्षेपमा सुधार देखिए पनि कर्जा प्रवाहमा सुधार आउन सकेको छैन । पछिल्लो समय बैंकहरूमा कर्जाको माग नरहेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । ‘अर्थतन्त्रमा देखिएको सुधारसँगै बैंकमा निक्षेप पनि वृद्धि भएको छ,’ उनले भने, ‘तर, यतिबेला बैंकमा कर्जाको माग न्यून छ ।’ अहिले तरलताको अवस्था केही सहज देखिए पनि बैंकहरू पर्ख र हेरको अवस्थामा रहेको अध्यक्ष केसीले बताए । अर्थतन्त्रका सूचक केही सकारात्मक हुँदा सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाएको र यसबाट आयातमा दबाब पर्ने भन्दै मौद्रिक नीतिले समेत नीतिगत दरहरू यथावत राखेको उनको भनाइ छ । पछिल्लो समय बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेको र त्यसले विस्तारै कर्जा पनि सस्तो हुने अध्यक्ष केसीको दाबी छ । ‘निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्दै जान्छ,’ उनले भने, ‘तर, व्यवसायीले भनेजस्तो कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउन सम्भव देखिँदैन ।’

पर्यटन व्यवसायीको गुनासोः बढेको ब्याजदर धान्न सक्दैनौ, हात उठाउन मात्र बाँकी छ

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयले पर्यटन क्षेत्र समस्यामा परेको भन्दै पर्यटन व्यवसायीले उक्त निर्णय लागु नगर्न अनुरोध गरेका छन्। पर्यटन क्षेत्र कोरोना संक्रमण अघिको अवस्थामा फर्किन नसकेको भन्दै व्यवसायीले कर्जाको सा...

पर्यटन क्षेत्रको गुनासोः बैंकको ब्याज दोब्बर भयो, तिर्न सक्दैनौ

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति यहाँका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। कोरोना भाइरस महामारीकोको मारबाट उक्लिने प्रयासमा रहिरहँदा वित्तीय क्षेत्रले ब्याजदर बढाउँदा सकस परेको व्यवसायीको गुनासो छ। ब्याजदर वृद...

कर्जाको ब्याजदर दोहोरो अंकमा

वैशाख २, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर दोहोरो अंकमा पुगेको छ । निक्षेपको ब्याजदरसँगै बैंकहरूको लागत बढेपछि कर्जाको ब्याजदर महँगो भएको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार फागुनमा बैंकहरूको कर्जामा औसत ब्याजदर साढे १० प्रतिशत नाघेको छ । माघबाट बैंक, वित्तीय संस्थाको औसत ब्याजदर दोहोरो अंकमा पुगेको हो ।  चालू आर्थिक वर्ष (आव) को साउनमा बैंक कर्जामा औसत ब्याजदर ८ दशमलव ४८ प्रतिशत थियो । तरलता अभाव भएसँगै बैंकहरूले निक्षेप तान्न ब्याजदर बढाएपछि कर्जाको ब्याजमा पनि दबाब बढेको हो ।  यसैगरी निक्षेपको ब्याजदर पनि चालू आवमा झन्डै दोब्बर भएको छ । गत साउनमा बैंक, वित्तीय संस्थाले निक्षेपमा वार्षिक औसत ४ दशमलव ७६ प्रतिशत ब्याज दिन्थे । फागुनमा त्यो औसत ८ दशमलव ७३ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ ।  तरलता अभाव हुन थालेपछि असोजदेखि बैंक, वित्तीय संस्थाबीच बचतको ब्याजदर बढाएर निक्षेप तान्ने प्रतिस्पर्धा शुरू भयो । ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धा रोक्न कात्तिकमा केन्द्रीय बैंकले हस्तक्षेप नै गर्नुपर्‍यो । कात्तिक २ गते एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले एकपटकमा १० प्रतिशतभन्दा बढीले ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्‍यो ।  उक्त हस्तक्षेपका कारण बैंकहरूको ब्याजदर अनियन्त्रित हुन नपाएको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल दाबी गर्छन् । ‘राष्ट्र बैंकले निर्देशन जारी नगरेको भए यतिबेला कर्जाको ब्याजदर १८ प्रतिशत पुग्थ्यो,’ उनले भने, ‘राष्ट्र बैंकको निर्देशनकै कारण बचत र कर्जाको ब्याजदर संयमित अवस्थामा छ ।’  वाणिज्य बैंकहरूले आफ्ना प्रमुख कार्यकारी अधिकृतहरूको संगठन नेपाल बैंकर्स संघमार्फत भद्र सहमति गरी ब्याजदर स्थिर राख्ने प्रयास गरिरहेका छन् । राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार बैंकहरूले फागुनमा १० प्रतिशतले ब्याजदर बढाए पनि चैत र वैशाखमा सोही ब्याजदर कायम राखेका छन् । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । रेमिट्यान्स मुद्दतीमा भने थप १ प्रतिशत विन्दुले बढी ब्याजदर दिने गरेका छन् ।  बचतको ब्याजदर बढाएपछि बैंकहरूको आधारदर समेत वृद्धि भएको छ । वाणिज्य बैंकहरूको औसत आधारदर २०७७ फागुनमा ६ दशमलव ८४ प्रतिशत रहेकोमा २०७८ फागुनमा ८ दशमलव ९८ प्रतिशत कायम भएको छ । बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्ने भएकाले आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदरसमेत बढ्ने गरेको छ ।  चालू आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ दशमलव १ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह भने १२ दशमलव ८ प्रतिशतले बढेको छ । बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह उच्च भएकाले बजारमा तरलता अभाव हुँदै आएको छ । तरलता अभावकै कारण पछिल्लो समय बैंकहरूको नयाँ कर्जा प्रवाह ठप्प जस्तै छ । आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

ब्याजदर वृद्धि : अब कुन बैंकबाट ऋण लिँदा सस्तो ?

२७ वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले नयाँ महिनाका लागि प्रस्ताव गर्नुपर्ने निक्षेप र कर्जाको ब्याजदर महिनाको अघिल्लो दिन (मसान्तमा) नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर, यस पटक माघ महिनाको अन्तिम दिन अर्थात् माघ मसान्तका दिन सार्वजनिक बिदा परेकाले एक दिन ढिला गरी बैंकहरूले फागुन १ गते नै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । गत शुक्रबार बसेको बैंक छाता संगठन नेपाल बैंकर्स संघ बैठकले गरेको भद्र सहमति अनुसार २७ वटै वाणिज्य बै

तीन महिनामा बैंकहरूको निक्षेप ९८ अर्ब बढ्दा कर्जा तीन खर्ब २६ अर्ब बढ्यो

चालू आवको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप दुई प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी भने आठ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धिदर उच्च...

विकास बैंकले बढाउन थाले कर्जाको ब्याजदर

केही विकास बैंकहरूले कर्जाको ब्याजदर बढाउन थालेका छन् । पुँजी लागतमा वृद्धि नभए पनि निक्षेप र कर्जाको ब्याजअन्तर (स्प्रेड दर) अधिकतम सीमाभन्दा कम रहेकाले कर्जाको ब्याजदर वृद्धि गर्न थालिएको बैंकरहरूले बताएका...