काठमाडौं । दशैंमा बाहिरिएको पैसा पुन: बैंकिङ प्रणालीमा फर्किन थालेको छ । दशैं बिदापछि एकै दिन १० अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार कात्तिक ९ गते बिहीवारसम्म बैंक, वित्तीय संस्थामा कुल ५८ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिक १० गते शुक्रवार ५८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । असोज मसान्तमा वित्तीय प्रणालीमा ५९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थियो । दशैंमा बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकमा फर्किन थालेको हो ।
दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको थियो । असोज १६ गते बजारमा ६ खर्ब २० अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेकामा कात्तिक ९ गतेसम्ममा बढेर ६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । दशैंमा राष्ट्र बैंकले नयाँ खुद्रा नोट सटहीको सुविधासमेत दिएको थियो । यसबाहेक सर्वसाधारणले दशैंका लागि बैंकबाट पैसा निकाल्दा निक्षेप घटेर चलनचल्तीमा रहेको नगद बढेको थियो । चाडपर्वका अवसरमा हुने आर्थिक कारोबारका लागि बाहिरिएको रकम विस्तारै प्रणालीमा फर्किने र त्यसको लागि केही समय लाग्ने प्रवक्ता भट्टले बताए ।
बिहीवारको तुलनामा शुक्रवार वाणिज्य बैंकहरूमा कुल ८ अर्ब निक्षेप बढेर ५१ खर्ब ९२ अर्ब रुपैयाँ पुग्दा विकास बैंक तथा फाइनान्स कम्पनीमा पनि २ अर्बले बढेर ६ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढे पनि कुल कर्जा प्रवाह भने घटेको छ । बिहीवारसम्म बैंक, वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ४९ खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा शुक्रवार ४९ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ ।
असोज मसान्तको तुलनामा भने कर्जा प्रवाह बढेको छ । असोज अन्तिममा बैंकहरूको कुल कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ थियो । असोज लागेसँगै बैंकहरूबाट कर्जा प्रवाह बढ्न थालेको थियो ।
कर्जाको तुलनामा निक्षेप वृद्धि उच्च भएपछि बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । शुक्रवार बैंकहरूको औसत सीडी रेसियो ८१ दशमलव ७१ प्रतिशत कायम भएको छ । असोज मसान्तमा यस्तो अनुपात ८१ दशमलव ७४ प्रतिशत कायम थियो । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्नुपर्ने प्रावधानअनुसार अहिले उनीहरूसँग ४ खर्ब ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ । बैंकमा निक्षेप तथा कर्जा प्रवाह वृद्धि भएपछि अन्तरबैंक ब्याजदर पनि ह्वात्तै बढेको छ । लामो समयदेखि २ प्रतिशत हाराहारीमा रहेको अन्तरबैंक कारोबारको औसत ब्याजदर शुक्रवार ४ दशमलव ५८ प्रतिशत कायम भएको छ ।