माघ १९, काठमाडौं। नेपाल र मरिससबीचको मैत्रीपूर्ण फुटबल खेलले दुई देश बीचमा व्यापार र पर्यटन प्रवर्द्धनका लागि कोशेढुङ्गा हुने विश्वास गरिएको छ ।
मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएको मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा आयोजित रात्री भोजमा नेपाल-मरिसस बिजनेश काउन्सिलका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
नेपालका लागि मरिससका अवैतानिक महावाणिज्यदूत गणेश कार्कीले नेपालको इतिहासमा पहिलोपटक कुनै अफ्रिकी मुलुक नेपालले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा सहभागी भएकोले यो पर्यटन प्रवर्द्धनको लागि कोशेढुङ्गा हुन सक्ने बताए । आगामी दिनमा अन्य व्यापार र विदेशी लगानीका लागि समेत यो महत्वपूर्ण हुने उनको भनाई छ ।
मरिससका खेलाडी र प्रतिनिधिलाई स्वागत गर्दै काउन्सिलका अध्यक्ष बटु लामिछानेले यो खेलबाट दुई देशबीच जनस्तरमै सम्बन्ध राम्रो हुने बताए ।
यो खेलबाट नेपाल र मरिससबीच व्यापार तथा पर्यटन प्रवर्द्धनको लागि निकै महत्वपूर्ण शुरुवात भएको पनि लामिछानेले बताए ।
नेपाल-मरिसस बिजनेश काउन्सिलको पहलमा नेपाल र मरिससबीच दुई ओटा मैत्रीपूर्ण फुटबल खेलको आयोजना भएको थियो । दुवै खेल नेपालले समान १-० गोल अन्तरले जितेको थियो । मरिससलाई हराउँदै घरेलु मैदानमा आयोजना भएको अन्तर्राष्ट्रिय फुटबलमा नेपालले १० वर्षपछि जित हात पारेको थियो ।