यही फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको तिलागुफा नगरपालिका र महावै गाउँपालिकाभित्रका केही विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेको छ ।
पुसमा वार्षिक परीक्षा सम्पन्न भएका तिलागुफा नगरभित्रका ३३ वटा र महावै गाउँपालिकाका सातवटा गरी ४० विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगेर पढाइसमेत सुरु भइसकेको छ । सत्यदेवी माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा विनिता शाहीले पहिलेका वर्षभन्दा यस वर्ष समयमै पाठ्यपुस्तक पाएको बताउनुभयो । उहाँले गत वर्ष कक्षा ८ मा पढ्दा शैक्षिक सत्र सुरु भएको तीन महिनापछि मात्र नयाँ किताब पाएको भन्दै अहिले विद्यालय सुरु हुना साथ किताब हातमा पाएको खुसी व्यक्त गर्नुभयो ।
नयाँ किताब पाएसँगै विद्यार्थी पनि खुसी भएका छन् ।