रावाबेसी गाउँपालिका–१ कुभिन्डेका रामबहादुर राईलाई दिक्तेल–गाईघाट कालोपत्र सडकमा गाडीमा हुइँकिने रहर थियो । ट्र्याक निर्माण थालिएको २८ वर्षमा पनि सडक निर्माण पूरा नभएपछि उनको आशा मरेर गयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा गाईघाट–दिक्तेल सडक (सगरमाथा लोकमार्ग) निर्माण सुरु भएको हो । त्यतिखेर खोटाङकै अशोक राई यातायात राज्यमन्त्री थिए । छिट्टै सडक बन्ला र खोटाङवासीले सुख पाउलान् भनेर आशा गरे पनि व्यर्थ भएको राई बताउँछन् ।