हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पर्खिँदै ११ कम्पनी

काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी नै सार्वजनिक निष्कासनका लागि अनुमति दिइरहेको हो । सार्वजनिक निष्कासनमा आउने धितोपत्रमध्ये साधारण शेयर नै बढी रहेको छ । बोर्डले धितोपत्रमा विविधीकरणका लागि साधारण शेयरसँगै ऋणपत्र, म्युचुअल फण्डको इकाई र हकप्रद शेयरलाई समेत प्राथमिकताका साथ स्वीकृति दिइरहेको छ । धितोपत्र दोस्रो बजार घटिरहेका कारण यतिबेला सार्वजनिक निष्कासनमा आएका साधारण शेयरबाहेक अन्यमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । यो अवस्थामा बोर्डमा ११ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।  नारायणी डेभलपमेन्ट बैंकसमेत ११ कम्पनी यतिबेला हकप्रद शेयर निष्कासनका लागि अनुमति कुरेर बसेको अवस्था छ । २६ करोड २४ लाख ६७ हजार चुक्ता पूँजी रहेको नारायणी डेभलपमेन्ट बैंकले २०७९ भदौ ९ गते नै बोर्डमा निवेदन दिएको थियो । हकप्रदका लागि आवेदन दिएका ११ कम्पनीहरूमध्ये नारायणी डेभलपमेन्ट बैंकले नै सबैभन्दा पहिला आवेदन दिएको हो । अझै पनि कम्पनीको हकप्रद शेयर आवेदन प्रक्रिया जवाफ र समीक्षाअन्तर्गत नै रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ छ । योबाहेक अन्य सबै कम्पनी जलविद्युत क्षेत्रका छन् । पछिल्लो व्यवस्था अनुसार जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने भएसँगै धेरै कम्पनी यो प्रक्रियामा गएका हुन् । हकप्रद शेयरमा मात्र हैन, साधारण शेयरमा समेत जलविद्युत कम्पनीको नै वर्चश्व रहँदै आएको छ । हकप्रद शेयर निष्कासनका लागि प्रतीक्षामा रहेका जलविद्युत कम्पनीहरूमा बरुण हाइड्रोपावर, आँखु खोला जलविद्युत्, ङादी ग्रुप पावर लिमिटेड, लिवर्टी इनर्जी, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, हिमालय उर्जा विकास, सिंगटी हाइड्रो इनर्जी, घलेम्दी हाइड्रो लिमिटेड र छयाङ्दी हाइड्रोपावर लिमिटेड छन् । घलेम्दी हाइड्रोले २०० प्रतिशत र आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । त्यस्तै रिडी पावर र लिवर्टी इनर्जीले ५० प्रतिशत र बरुण हाइड्रो, ङादी ग्रुप, छ्याङदी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।  हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्ये चार कम्पनीहरूको शेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । आँखुखोला जलविद्युतको १५० रुपैयाँ, लिवर्टी इनर्जीको १५१ रुपैयाँ १० पैसा, रिडी पावरको १९४ रुपैयाँ र घलेम्दी हाइड्रोको १९५ रुपैयाँ शेयर मूल्य छ ।

सम्बन्धित सामग्री

चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दिए निवेदन

काठमाडौं । चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।  लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले भदौ २१ गते र बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।  लिवर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  त्यस्तै ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  आँखुखोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड  छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  त्यस्तै बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गरिएपछि हाइड्रोपावर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि आयोगको स्वीकृति

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीलाई हाल कायम रहेको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजारको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासनका लागि आयोगले भदौ १० गते स्वीकृति प्रदान गरेको हो । आयोगको स्वीकृति पाएसँगै अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गर्नेछ । जलविद्युत कम्पनीहरूले सार्वजनिक निष्कासनका लागि बोर्डमा आवेदन दिनुपूर्व विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । सोही व्यवस्था बमोजिम बरुणले आयोगबाट स्वीकृति लिने प्रक्रिया पुरा गरेको हो । अब बोर्डले स्वीकृति दिएमा कम्पनीका शेयरधनीहरूले शतप्रतिशत हकप्रद शेयर खरीद गर्न पाउनेछन् । गत असार १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कम्पनीको साउन १४ गते सम्पन्न विशेष साधारण सभाले समेत पारित गरिसकेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. १ अर्ब ७ करोड १६ लाख ३० हजार पुग्नेछ ।

लिबर्टी इनर्जीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, आयोगले दियो स्वीकृति

काठमाडौं । विद्युत् नियमन आयोगले लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।  आयोगको साउन १५ गते बसेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिने निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको स्वीकृतिका लागि गत साउन ८ गते आयोगमा निवेदन दिएको थियो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद ल्याउन अनुमति पाएको छ । जसअनुसार कम्पनीले अब ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।

दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रू. २६ करोड ४० लाख छ । प्रस्तावित हकप्रद शेयर निष्कासनको प्रस्ताव विद्युत नियमन आयोगको सहमतिपछि आगामी साधारणसभाबाट पारित गर्नुपर्नेछ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि मात्र हकप्रद शेयर विक्रीमा आउनेछ । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिममेवारी सञ्चालक समितिको अध्यक्ष दधिराम निरौलालाई दिने निर्णयसमेत कम्पनीले गरेको छ ।

हकप्रद शेयर निष्कासन गर्न अपि पावर कम्पनीलाई नियमन आयोगको स्वीकृति

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते आयोगको स्वीकृतिपत्र पाएको हो । अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्न वार्षिक साधारण सभाबाट पारित गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि मात्रै कम्पनीले रू. १ सय अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

अपर तामाकोशीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पायो स्वीकृति

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ । आयोगको फागुन १६ गते बसकेको सञ्चालक समितिको बैठकले अपर तामाकोशीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिने निर्णय गरेको हो । कम्पनीको भदौ ३ गते शुक्रवार सम्पन्न १४औं वार्षिक साधारण सभाले समेत शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरिसके छ । अब नेपाल धितोपत्र बोर्डसँग अनुमतिको प्रक्रिया अघि बढ्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ । जलविद्युत कम्पनीहरूलाई कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपनि यस कम्पनीले भने हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत् आयोजनाहरु रोल्वालिङ खोला जलविद्युत् र तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणमा लगानी हुने जानकारी कम्पनीले दिएको छ । यो कम्पनी अझै नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी रू. ८२ करोड ४८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको हो । गत वर्ष यस अवधिसम्म रू. ३३ करोड ५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष वित्तीय खर्च बढ्दा खुद नोक्सानी बढेको हो । गत वर्ष रू. २ अर्ब २० करोडभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. ३ अर्ब ६४ करोडभन्दा बढी भएको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट ३६ दशमलव ७१ प्रतिशत बढी रू. ४ अर्ब ९८ करोडभन्दा बढी आम्दानी गरेको छ ।

बलेफी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेड हकप्रद शेयर निष्कासन गर्दै छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १ बराबर शून्य दशमलव ५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले  बैंक ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको जानकारी दिएको छ । अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति पाएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८२ करोड रहेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै छ ।