बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि आयोगको स्वीकृति

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीलाई हाल कायम रहेको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजारको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासनका लागि आयोगले भदौ १० गते स्वीकृति प्रदान गरेको हो । आयोगको स्वीकृति पाएसँगै अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गर्नेछ । जलविद्युत कम्पनीहरूले सार्वजनिक निष्कासनका लागि बोर्डमा आवेदन दिनुपूर्व विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । सोही व्यवस्था बमोजिम बरुणले आयोगबाट स्वीकृति लिने प्रक्रिया पुरा गरेको हो । अब बोर्डले स्वीकृति दिएमा कम्पनीका शेयरधनीहरूले शतप्रतिशत हकप्रद शेयर खरीद गर्न पाउनेछन् । गत असार १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कम्पनीको साउन १४ गते सम्पन्न विशेष साधारण सभाले समेत पारित गरिसकेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. १ अर्ब ७ करोड १६ लाख ३० हजार पुग्नेछ ।

सम्बन्धित सामग्री

५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि पिपुल्स पावरलाई आयोगको स्वीकृति

५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि पिपुल्स पावरलाई आयोगको स्वीकृति

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक ऋण भुक्तानीको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ७० करोड रूपैयाँ रहेको छ । सोही पूँजीको अधारमा कम्पनीले ७० करोड रूपैयाँ बराबरकै हकप्रद विक्री गर्ने निर्णय गरेको हो । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रूपैयाँ कायम हुनेछ । कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेको हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृति पछि आगामी साधारण सभाबाट पारित भएपश्चात निष्कासन प्रक्रिया जानेछ ।

खानी खोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको जानकारी कम्पनीले दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । कम्पनीले बैंकको ऋण भुक्तानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको दिर्घकालिन कर्जा ८० करोड ८५ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनी २ करोड २८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ६३ लाख ६४ हजार रूपैयाँ खुद नाफामा रहेको कम्पनी गत वर्ष भने नोक्सानीमा गएको हो ।

दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रू. २६ करोड ४० लाख छ । प्रस्तावित हकप्रद शेयर निष्कासनको प्रस्ताव विद्युत नियमन आयोगको सहमतिपछि आगामी साधारणसभाबाट पारित गर्नुपर्नेछ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि मात्र हकप्रद शेयर विक्रीमा आउनेछ । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिममेवारी सञ्चालक समितिको अध्यक्ष दधिराम निरौलालाई दिने निर्णयसमेत कम्पनीले गरेको छ ।

हकप्रद शेयर निष्कासन गर्न अपि पावर कम्पनीलाई नियमन आयोगको स्वीकृति

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न फागुन २६ गते आयोगको स्वीकृतिपत्र पाएको हो । अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्न वार्षिक साधारण सभाबाट पारित गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि मात्रै कम्पनीले रू. १ सय अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

अपि पावरले ७.५ % बोनसपछि ४० % हकप्रद शेयर जारी गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । चुक्तापूँजी रू. ३ अर्ब ८४ करोडभन्दा बढी रहेको कम्पनीले गत वर्षको मुनाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति पाइसकेको कम्पनीले पूँजी वृद्धिका लागि थप ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ ।  कम्पनीले प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि पहिलो चरणमा विद्युत् नियमन आयोगको स्वीकृति लिई वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ ।  यी सबै प्रक्रिया पूरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोडभन्दा माथि पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

छ्याङदी हाइड्रोपावरले थप ४० % हकप्रद शेयर निष्कासन गर्ने

असोज १९, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पुन : ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि गत वैशाख १५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।  उक्त हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।  ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रियामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत गरेको छ । पहिलो चरणको ३० प्रतिशत हकप्रद शेयर निष्कासनको स्वीकृतिनै नपाई कम्पनीले दोस्रो चरणमा ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि विद्युत् नियमन आयोगबाट स्वीकृति लिन लागेको हो ।  विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ ।  सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । ३० प्रतिशत हकप्रदशेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ । सो पूँजीको आधारमा थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । कम्पनीले चार मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले बताएको छ ।