पर्यटनको सम्भावनाको पहिचान गर्नुपर्नेमा पर्यटन राज्यमन्त्री श्रीपालीको जोड

नेत्र मरासिनी : पौष २९,अर्घाखाँची , सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र रहेकोले पहिचान गर्नुपर्नेमा जोडदिनुभयो । रिपोटर्स क्लब नेपाल लुम्विनी प्रदेशले सन्धिखर्कमा गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले अर्घाखाँचीमा पर्यटनको सम्भावनालाई उजागर गर्दै प्रचार प्रसारका माध्यमबाट जिल्लालाई […]

सम्बन्धित सामग्री

बाँकेका पर्यटकीय गन्तव्यमा छैन चहलपहल

नेपालगञ्ज (बाँके) । मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छ । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल बढ्न नसकेको पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन प्रवर्द्धनमञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अहिलेको अवस्थामा पर्यटन क्षेत्रमा प्रभावकारी काम गर्न नसकिएको उल्लेख गर्दै व्यवसायी धरासायी हुने अवस्थामा पुगेकोमा गुनासो गर्नुभयो । “बाँकेमा पर्यटनको प्रचुर सम्भावना छ तर यसमा लगानी गरेर संरक्षण र सम्वद्र्धन गर्ने काम गर्न सकिएको छैन”, उनले भने ।  नेपालगञ्जका तारे होटेल क्यासिनोको भरमा मात्रै चलेको भन्दै अधिकांश होटेल पाहुनाको पर्खाइमा रहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवसायीले पर्यटन क्षेत्रमा सङ्गठित भएर काम गर्न नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा थप लगानी गर्ने वातावरण नभएको बताए । श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको बताउँदै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिए । निकुञ्जलाई हात्ती सफारी, चार सिङ्गे मृग, बाघलगायतका अन्य जन्तुको समेत बासस्थान भएको क्षेत्रका रुपमा प्रचार गर्नसके यसले पर्यटकीय आकर्षण बढ्नसक्ने उनको भनाइ छ ।  नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्ण स्थलका रुपमासमेत विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्जमा बिरयानी, घमन्जा, हलुवा, पराठा, चाट, समोसालगायतका खानाका परिकारलाई ब्राण्डिङ गरेर पर्यटकीय आकर्षण बढाउन सकिने श्रेष्ठको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको अध्ययन, अनुसन्धान र खोजी नभएको र त्यसका लागि बृहत् परियोजना निर्माणमा जोड दिए । उहाँले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताए ।  जिल्लाका राप्तीसोनारी, वैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रका रुपमा मानिन्छ । अध्यक्ष सिग्देलले यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना भए पनि त्यस्तो सोचको विकास हुन नसकेको बताए । केही घरबास र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिए पनि अहिले चहलपहल नभएको बताइएको छ । राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास र वैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सरोकारवालाको भनाइ छ । साथै महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात छन् । यसक्षेत्रमा आठ क्यासिनो, दुई पाँचतारे र १२ चारतारे होटेल छन् ।

धरान एक्स्पो सम्पन्न

धरान । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको ‘धरान एक्स्पो २०७९’ सम्पन्न भएको छ । आइतवार एक्स्पोको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले धरान व्यापारिक र पर्यटन केन्द्र भएको भन्दै यस क्षेत्रका अन्य सम्भावना समेत पहिचान गर्नुपर्ने धारणा राखे । धार्मिक स्थल र सप्तकोशी जलमार्ग उपयोग गर्दै स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासका लागि एकीकृत अवधारणा आवश्यक रहेको बताए । पर्यटनको विकासका लागि स्थानीय परिकारको समेत प्रवर्द्धन गर्नुपर्ने भन्दै उनले यसका लागि बोर्डले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यस क्षेत्रका व्यापारी, व्यवसायीले लगानी गरेर आर्जित पूँजी धरानबाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको बताए । एक्स्पोले धरान र यस वरपरको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले बताए । फागुन ११ गतेदेखि शुरू भएको एक्पोमा पर्यटनसँग सम्बन्धित १५ सहित विभिन्न १३० ओटा स्टल थिए ।

पर्यटन व्यवसायका विविध आयाम

नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको देश हो । भौगोलिक रूपमा सानो भएर पनि प्राकृतिक विविधताका कारण विश्वमा नै अग्र स्थानमा रहेको छ । नेपालमा पर्यटक आकर्षित हुनुका कारणहरू अनेक रहेका छन् । त्यस्तै नेपालमा पर्यटनका विविध आयात र क्षेत्र रहेका छन् । ती सबै आयामलाई उपयोग गर्न सके यसबाट समृद्धिको बाटो खुल्न सक्छ ।   ग्रामीण पर्यटन : आजभोलि ग्रामीण पर्यटनको महत्त्व ज्यादा बढेको देखिन्छ । शहरी वातावरणबाट अलिक मात्र उन्मुक्ति प्राप्त गर्ने ध्येयले स्वदेशी पर्यटक पनि आन्तरिक पर्यटकका रूपमा गाउँ घुम्न जान्छन् । यसले रोजगारी तथा आन्तरिक उत्पादनले बजारीकरणको अवसरसमेत प्राप्त गराउँछ । पर्यटकहरू स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरू नवीन स्थान तथा वनस्पति र जीवजन्तु आदिका बारेमा जान्न चाहेका हुन्छन् । यस्ता पर्यटकका लागि ग्रामीण पर्यटन उत्तम मानिन्छ । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किरहेको छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक अवलोकन भ्रमण गर्न होस् या बिदा मनाउन नै किन नहोस्, गाउँमा पुग्ने गरेका छन् । यसले नेपालको आन्तरिक बजारमा मात्र नभई विश्व बजारमा पनि प्रचार भएर पर्यटन व्यवसायमा थप टेवा पुग्छ । ग्रामीण पर्यटनले स्थानीय र रैथाने उत्पादनको स्वादको मजा मात्र नलिई उक्त उत्पादनको बजारीकरणसमेत हुन्छ । कोदो, फापर, करू, जौ, सिस्नुको पीठो, मार्सी चामल, सिमीको दाल, सिन्की, लप्सी, कागुनोजस्ता दर्जनौं उत्पादनले चर्चा पाउने र त्यसको बजारीकरणमा समेत प्रभावकारी रहने भएकोले गाउँ पर्यटनको महत्त्व ज्यादा रहेको छ । होमस्टे : होमस्टेले पर्यटकलाई भिन्न खालको अनुभूति गराउन सफल भएको छ । यसले स्थान विशेषको प्रचार गराउन सहयोग गर्छ । त्यस स्थानका श्रमिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँपनको अनुभूति गर्दै स्थानीय परिकारको स्वाद लिएर आनन्दित बन्दै फर्कन्छन् । यसैले हाम्रो देशको आर्थिक र पर्यटन विकासमा होमस्टे अवधारणा वरदान नै सावित हुन सक्छ । यस्ता होमस्टे सञ्चालन गर्ने सबै व्यवसायलाई थप सहज बनाउन स्थानीय सरकारले कर र अन्य कार्यमा सहजीकरण गरी प्रेरित गर्न सक्नुपर्छ । हस्तकला र पर्यटन : पर्यटन व्यवसायबाट हस्तकलाको विकासमा सहयोग पुग्छ । हस्तकला र पर्यटन एकअर्काका परिपूरक हुन्छन् । पहाडी क्षेत्रका विशेष हस्तकलाहरूमा चकटी, सानासाना कलात्मक मूर्तिहरू, टोपी, फेटा, पटुका, पन्जा, मुडाजस्ता सामग्रीको व्यापार प्रवर्द्धन गर्न सकिन्छ । यसले पर्यटनको विकासका साथमा हस्तकलाको पनि प्रवर्द्धन हुन्छ । यसले रोजगारी समेत सृजना गर्छ । त्यसैगरी मधेश प्रदेशमा ढक्की, माटाका आकर्षक भाँडाहरू, विभिन्न देवीदेवताका मूर्ति, मिथिला चित्रकला आदिले पनि बजार पाउन सक्छन् ।   साहसिक पर्यटन : आन्तरिक पर्यटकको प्रमुख रोजाइमा बञ्जी जम्पिङ परेको छ । नेपालमा यस्ता साहसिक गतिविधिहरू सञ्चालन गरेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । उत्तरी भेगबाट बग्ने तीव्र गतिका नदीमा र्‍याफ्टिङको सम्भावना ज्यादा रहेकाले यसमा थप लगानी र प्रचार आवश्यक छ । यसैगरी प्याराग्लाइडिङ, हिमाल आरोहणजस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ जसले हाम्रो देशको चौतर्फी विकासमा समेत सहयोग दिन्छ । सांस्कृतिक पर्यटन : नेपालमा १२५ जातजातिका मानिसहरूको आआफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्य मान्यता रहेका छन् । यी नै सांस्कृतिक विविधता अवलोकन गर्न पनि धेरै पर्यटक नेपालमा आउँछन् । यो हाम्रो विशेष पहिचान पनि भएकाले यसको संरक्षणमा समेत हामीले ध्यान दिन जरुरी हुन्छ । सम्पदा पर्यटन : नेपाल धार्मिक तथा ऐतिहासिक स्थलका लागि प्रसिद्ध रहेको छ । विश्व सम्पदा सूचिका सूचीकृत भएका दशओटा सम्पदा नेपालमै छन् । पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य, लुम्बिनी, हनुमान ढोका दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर विश्व सम्पदामा परेका छन् । यिनै सम्पदाहरूका कारण पनि नेपाल अवलोकन भ्रमणका लागि पर्यटक आउने गरेका छन् । यसले पनि आर्थिक विकास तथा पर्यटन व्यवसायमा बल दिएको अवस्था छ । हावापानीमा विविधता : हाम्रो देश नेपाल हावापानीका हिसाबले पनि विविधतायुक्त रहेको छ । यहाँको दक्षिणी भागमा उष्ण, मध्यभागमा समशीतोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । सबै खाले हावापानी रुचाउने पर्यटकलाई नेपाल भ्रमण उच्च रोजाइको देश बनेको छ । यसले नेपालको सबै क्षेत्रमा पर्यटन व्यवसायको विकासको सम्भावनासमेत बराबर रहेको देखिन्छ । वन्यजन्तु अवलोकन पर्यटन : नेपाल हावापानी र भौगोलिक विविधताले गर्दा वनस्पति र वन्यजन्तुको विविधितामा पनि अग्र स्थानमा रहेको छ । देशको विभिन्न भागलाई निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ । विभिन्न लोपोन्मुख प्रजातिका जनावर तथा चराचुरुङ्गीहरू प्रशस्त मात्रामा पाइने भएकाले यहाँ अध्ययन र अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् । यस्ता पर्यटक खर्चालु समेत हुने भएकाले पर्यटनले बढी लाभ लिन सक्छ । नेपाल प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै आकर्षक देश हो । यहाँको हिमाली शृंखलाहरू, मनोरम पहाडी स्थलहरू, विभिन्न प्रकारका भू–सतह, गुफा, ताल, झर्ना तथा नदीहरूले विदेशी पर्यटकहरूको मन लोभ्याउने गरेको वास्तविकता हामीसामु छिपेको छैन । अझ हामीले अन्य धेरै स्थानको पहिचान गर्न सकेमा यस क्षेत्रको विकासमा थप बल मिल्ने निश्चित छ । पर्यटकले चाहेअनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा मनग्य लाभ पर्यटन व्यवसायबाट लिन सकिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

पर्यटन प्रवर्द्धनमा स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करीब २६ किलोमीटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी क्षेत्रको भौतिक वातावरणको दृष्टिले हेर्दा असीम सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रको अविच्छिन्न पवित्रतालाई कायम राख्दै भौतिक वातावरण र आध्यात्मिक शान्तिलाई जनमानसमा फैलाउन सक्ने ठूलो सम्भावना छ । स्वर्गद्वारी क्षेत्रको जंगल यस्तो खालको छ, जसमा जैविक विविधताले भरिपूर्ण छ । यस जंगलमा देवदारु, गुराँस, बाँस, बाँझ, साज, साल, जामुनो, काफल, पाखरी, कमल, केसर, त्रिपत्री करबीरजस्ता पुष्पका बोट र अनेक प्रकारका लताकुञ्जद्वारा स्वर्गद्वारीको पुण्य जंगल सधैं भरिभराउ रहेको पाइन्छ । जंगलमा कृष्णसागर मृग, हरिण, सिंह, बाघ, चित्तल, भालु, दुम्सी, कयौं चराचुरुङ्गी र स्वर्गद्वारी आश्रममा हजारौं गाईहरू पाइन्छ । यी यहाँका वैभव हुन् । समतल टाकुराबाट हिमशिखरहरू र रमणीय दृश्य अवलोकन गर्ने स्वर्गद्वारीमा पुग्दा साँच्चै स्वर्गको अनुभूति गर्न सकिन्छ । आश्रमभित्र गणेश पञ्चांग, शिव पञ्चांग, देवीपञ्चांग, सूर्यपञ्चांग, विष्णुपञ्चांग गरी ५ कुण्डहरूमा वैदिकविधिपूर्वक दैनिक तीनपटक पूजा गरिन्छ भने आश्रमदेखि माथि पट्टिको डाडामा सिद्धबाबाको मन्दिर रहेको छ र त्यसमा महीनाको पहिलो आइतवार पूजा गर्ने प्रचलन रहेको पाइन्छ । स्वर्गद्वारी क्षेत्रमा मुख्य मेला वैशाख पूर्णिमा, ज्येष्ठ, भदौ, कात्तिक र माघे सक्रान्तिमा लाग्ने गर्छ र यहाँका मुख्य तीर्थयात्रीहरू भारतका उत्तर प्रदेश र विहारक्षेत्रका रहेका छन् भने नेपालका आन्तरिक तीर्थयात्रीहरू रहेका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङदेखि प्यूठान जिल्लाको भिंग्रीदेखि स्वर्गद्वारीसम्म नै सडकको राम्रो व्यवस्था रहेको छ । ऋाआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता हो । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्न सकिन्छ । तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक, सामाजिक विकास गरी गरीबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना स्पष्ट देखिन्छ । अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । यसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझा फूलबारी हो । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि उक्त स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण स्वर्गद्वारी क्षेत्र आन्तरिक एवं बा⋲य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु आवश्यक छ । यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ । स्वर्गद्वारी क्षेत्रमा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आएको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस स्वर्गद्वारी क्षेत्रभित्र देखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

साहसिक पर्यटन प्रवर्द्धनमा व्यवसायीको जोड

कास्की । गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्नेमा पर्यटन व्यवसायी र सरोकारवालाले जोड दिएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटन गर्न उपयुक्त ठाउँको पहिचान गरेर ‘एक जिल्ला : एक साहसिक खेलकुद गतिविधि’ विकास गर्नुपर्ने खाँचो उनीहरूले औंल्याएका छन् । गण्डकीका ११ ओटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यमा साहसिक खेलकुद गतिविधि सञ्चालन, अन्तरराष्ट्रिय स्तरमा त्यसको प्रचारप्रसार र भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याएर रोजगारी सृजना गर्नुपर्ने व्यवसायी बताउँछन् । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टरको निर्माणका गर्ने योजना भए पनि प्रक्रिया लम्बिएकाले काम अघि बढ्न नसकेको बताए । सांसद विष्टले मुस्ताङको ४ हजार ६४५ मिटरको उचाइमा गल्फ सेन्टरको निर्माणका लागि अध्ययन प्रक्रिया अघि बढाइने बताए । यस्तै पोखरालाई केन्द्र बनाएर प्रदेशका जिल्लाहरूमा साहसिक खेलकुद गन्तव्यको रूपमा विकासमा लाग्नुपर्ने उनले बताए । गण्डकीका ११ जिल्लामा फरक फरक विषेशता रहेकाले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन सरकारले योजनाबद्ध काम गर्नुपर्ने उनले औंल्याए । ‘एउटै प्रदेशमा हिमाल, पहाड र तराईको केही भाग समेटिएकाले यसलाई विषेश योजना बनाएर पर्यटन प्रवद्धन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि सरकारले साहसिक पर्यटन विकास लगायत अन्य योजना अगाडि बढाउन आवश्यक छ ।’ गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले ओलम्पिक खेलसँग सम्बन्धित खेल गतिविधिबारे धेरे चर्चा हुने गरेको भए पनि प्रदेशको समृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने साहसिक खेलकुदबारे ठोस रूपमा चर्चा नभएको बताए । परिषद्ले प्रदेशलाई साहसिक खेलकुदको गन्तव्यको रूपमा स्थापित गर्न सरोकारवाला निकायबीच आवश्यक परामर्श गरिरहेको उनको भनाइ छ । प्रदेशको मुख्य आधार नै पर्यटन भएको भन्दै उनले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन तीनओटै सरकारले विशेषगरी विभिन्न ठाउँहरूमा साहसिक खेल पर्यटनका पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले बताए । ‘पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ,’ उनले भने । राष्ट्रिय खेलकुद परिषद्का सदस्य गोविन्दप्रसाद भट्टराईले मुलुकको समृद्धिको प्रमुख आधार दिगो खेलकुद भए पनि राज्यले त्यसबारे नीति निर्माणमा समेत चासो नदिएको टिप्पणी गरे । साहसिक खेलकुदको छाता संस्था नेपाल माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष समेत रहेका उनले गण्डकी प्रदेशमा खेल पर्यटनको प्रचुर सम्भावना भएकाले यसको विकासमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । प्रदेशमा साहसिक पर्यटनसहित अन्य पर्यटकीय गतिविधिलाई योजनाबद्ध रूपमा सञ्चालन गर्न सके यसैबाट आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनको छ । पर्यटनविद् डा. रामजी शर्माले प्रदेशको साहसिक खेलकुदलाई स्थापित गराउन विशेषगरी एयर, वाटर, सर्फेस र अल्पाइन स्पोटर््समा ध्यान दिनुपर्ने बताए । खेलकुद आफैमा पर्यटनको क्षेत्र भए पनि यसको पूर्वाधार विकास र प्रचारप्रसारको खाँचो उनले औंल्याए । प्रदेशका हरेक जिल्लामा साहसिक खेलकुदको गन्तव्यको पहिचान गर्नुपर्ने भन्दै उनले त्यसको ब्राण्डिङ गर्न सरोकारवाला र राज्य लाग्नुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समग्र प्रदेशमा साहसिक पर्यटनको दिगो विकासका लागि स्पोर्टस भिलेजको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताए । पर्यटकको बसाइ लम्ब्याउन समेत साहसिक खेलकुदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले यसका लागि पर्याप्त बजेट र आवश्यक योजनासहित बढ्नुपर्नेमा जोड दिए । ‘गण्डकी प्रदेश पर्यटकीय हिसाबले महत्त्वपूर्ण ठाउँ हो । यहाँ साहसिकदेखि अन्य पर्यटकीय सम्भावना छन्,’ उनले भने, ‘सरकार, सरोकारवाला निकायबीचको समन्वयमा पर्यटकीय गतिविधि र साहसिक खेल पर्यटनको विकास गर्नुपर्छ ।

मौलाकालिकामा पर्यटन

मौलाकालिका मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिकाअन्तर्गत, पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणी पुलबाट उत्तरतर्पm करीब ४ किमी टाडा समुद्र सतहदेखि ५६१ मिटर उचाइ पहाडी वनको धुरीमा रहेको छ । १६औं शताब्दीमा पाल्पाली राजाले देवी कालिकाको नाममा प्रतीकात्मक प्रस्तुति स्थल सृजना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको थियो । मन्दिरलाई स्थानीय स्थानबाट धेरैपटक पुनःस्थापित गरिएको पाइन्छ । मौलाकालिका मन्दिर लोकप्रिय हुनुभन्दा अगाडि गैंडाकोटका स्थानीय मानिसहरूले मौलाकालिका मन्दिरको धेरै दशकदेखि नै पूजा गर्दै आएका थिए । हालको मन्दिर १९९० को दशकमा मात्र बनेको थियो । मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुकबाट हजारौं धार्मिक आस्था राख्ने मानिसहरू पूजा गर्न आउने गरेका छन् । साहसिक र रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीहरू १८८२ ओटा सिँढीहरू पार गरेर मात्र मन्दिरमा पूजा आर्चना गर्छन् । साथै सिँढीको दायाँबायाँको पर्खालहरूमा कुँदिएका विभिन्न मूर्ति, चित्र तथा वरिपरिको मनोरम प्राकृतिक रौनकले धर्मावलम्बी तथा पर्यटकलाई आकर्षित गरेको पाइन्छ । नारायणघाट बजारबाट पैदलयात्राको दूरीभित्र पर्ने र देवीको नियमित दर्शनका कारण व्यायाम हुने भएकाले पनि मानिसहरू मन्दिरमा जान्छन् । सामाजिक तथा धार्मिक संस्थाहरूको अभिभावक नै समाज हो । समाजको स्नेह, सद्भाव, ममता, अपनत्व र योगदान प्राप्त गर्न भगवतीको शक्ति नै मुख्य प्रभावकारी भई धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पूँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पूँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको शुरूदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पूँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि प्राप्त गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ । आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि संचालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । उक्त क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । उक्त कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । समृद्ध गाउँ तथा नगरको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भूधरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक, संस्कृतिक र पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि उक्त स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण मौलाकालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । नगर तथा ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवंम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस मौलाकालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । यस क्षेत्रमा, ट्रेकिङ स्थलको विकास गर्नु आवश्यक छ । यसले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुग्नेछ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । यसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमूनाका रूपमा मौलाकालिका क्षेत्रलाई विकास गर्न सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्ने थियो । लेखक डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

गति लिँदै पर्यटन व्यवसाय

हाम्रो देश प्राकृतिक दृष्टिले विश्वमा नै अतुलनीय सौन्दर्यले भरिपूर्ण भएकाले यहाँ पर्यटन व्यवसायको ज्यादा सम्भावना रहेको छ । हावापानीमा विविधता, उचाइमा विविधता, वनस्पति तथा जीवजन्तुमा विविधताजस्ता कारणले गर्दा नेपालमा पर्यटन व्यवसाय ज्यादा फस्टाउने क्षेत्र हो । यसले हाम्रो अर्थतन्त्रमा समेत महत्त्वपूर्ण टेवा दिँदै आएको छ । विश्वमा रहेका अग्ला चौधमध्ये आठओटा त नेपालमानै रहेका छन् । त्यसैगरी निकुञ्ज आरक्षणका दर्जनां क्षेत्र पनि रहेका छन् जसले पर्यटकलाई आकर्षित गरेको छ । कोरोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्वपूर्ण पनि छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नराम्ररी थलिएको यो व्यवसायले अब भने केही गति लिन थालेको सरोकारवालाहरू बताइरहेका छन् । अझै पनि हामीले पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन सकेका छैनौं । उनीहरूले चाहेअनुसारका सुविधा, सेवा र सुरक्षा दिनुका साथै अन्य नवीन गन्तव्यको खोजीमा समेत जोड दिनुपर्ने देखिन्छ । नेपालमा पर्यटक दृश्यावलोकन, पदयात्रा, मनोरञ्जन तथा साहसिक खेलका लागि आउने गर्छन् । मानव जाति स्वभावैले भ्रमणशील हुन्छ । उनीहरूले घुमफिर गर्दै अनेकौं चालचलन तथा रहनसहनसमेत अवलोकन गर्दै आएको वास्तविकता सबैका सामु छँदै छ । हाम्रा हिमनदीमा पर्यटक जलविहार गर्न औधी रुचाउँछन् । साथै बन्जिजम्पिङ, हात्तीपोलो जस्ता रोमाञ्चक खेलका लागि समेत पर्यटक नेपाल भ्रमण गर्न आउँछन् । यहाँको प्राकृतिक तथा जैविक विविधतामा आफूलाई भुलाउन पनि विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको तथ्यांकले देखाउँछ । खासगरी पदयात्राका लागि अन्नपूर्ण, धवलागिरि र खुम्बुक्षेत्र निकै चर्चित रहेका छन् । यसबाहेक काठमाडाैं उपत्यका नगरकोट धुलीखेलसहित पोखरा, चितवन, लुम्बिनी, जनकपुर, गोर्खा, पाल्पा आदि क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा पर्यटक ज्यादा रमाइरहेका हुन्छन् । नेपालमा मनाइने विविध खालका चाडपर्व जात्रा तथा महोत्सवका बारेमा विदेशी पर्यटक अध्ययन र अनुसन्धानसमेत गर्न रुचाउँछन् । हाम्रो जातीय संस्कृति वेशभूषा आदिले पनि उनीहरूको मन लोभ्याउने गरेको पाइन्छ । पर्यटन उद्योगले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करीब ५ प्रतिशत अंश ओगटेको पाइन्छ । पर्यटन व्यवसाय वा उद्योग नेपालीहरूका लागि वैदेशिक मुद्रा आर्जनको राम्रो माध्यम पनि हो । यति मात्र नभई रोजगारीको मुख्य आधारसमेत बनेको यस क्षेत्रको महत्त्व ज्यादा रहेको छ । पर्यटकलाई घुमाउने पथ प्रदर्शक, भरिया, होटेल तथा लजका कामदार, पर्यटक बोक्ने सवारीसाधन, उनीहरूलाई आवश्यक सामान बेच्ने व्यापारीलगायत हजारौंले रोजगारी प्राप्त गर्ने क्षेत्र पर्यटन नै हो । हस्तकला, चित्रकला, मूर्तिकला, काष्ठकला आदिबाट पनि धेरैले रोजगारी पाएका छन् । पर्यटन व्यवसायबाट घरेलु उद्योगलाई पनि टेवा पुगेको छ । पर्यटकलाई आकर्षित गर्ने कञ्चनजंघादेखि सैपाल हिमालसम्मका क्षेत्रलाई हिमालयन ट्रेल भनिन्छ । यसअन्तर्गत पूर्वी नेपालमा कञ्चनजंघा सरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्छन् । मध्यक्षेत्रका लाङटाङ, गोसाइकुण्ड र गौरीशंकर हिमाली क्षेत्रलाई पनि यसै ट्रेलअन्तर्गत समावेश गरिएको छ । यसैगरी पश्चिमका मनाङ, मुस्ताङ, मुगु, डोल्पाका पर्यटकीय क्षेत्रहरू यसअन्तर्गत पर्छन् । यस क्षेत्रको पर्यटनबाट ५ हजार मीटरमाथिको क्षेत्रमा हिमाली जनावर र वनस्पतिहरूको अवलोकन गर्न सकिन्छ । नेपाल पर्यटन बोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिश गरेको छ । नेपाल ऐतिहासिक तथा धार्मिक स्थलका लागि पनि प्रसिद्ध रहेको छ । लुम्बिनी, जनकपुर, मुक्तिनाथ, स्वर्गद्वारी, मनकामना, पशुपतिनाथ आदि मुख्य धार्मिक स्थलहरू हुन् । साथै काठमाडाैं उपत्यकाका प्राचीन दरबारहरू पर्यटकीय गन्तव्यका दृष्टिकोणबाट ज्यादै महत्त्वपूर्ण मानिन्छन् । यहाँ प्रयोग भएका काष्ठकला तथा वास्तुकला ऐतिहासिक र अतुलनीय रहेका छन् । यस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूले पर्यटकलाई सहजै आकर्षित गराउँछ । यहाँ भिन्न संस्कृति र परम्परा भएका १ सय २५ जातजातिका मानिसहरू बसोवास गर्छन् । प्रत्येक जातिको आफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्यमान्यता रहेका छन् । यही सांस्कृतिक विविधता अवलोकन गर्न ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गर्छन् । साहसिक पर्यटनअन्तर्गत र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जिजम्पिङ हिमाल आरोहण पर्छन् । पर्यटनबाट हामीले धेरै फाइदा लिन सफल पनि भएका छाैं । विदेशी मुद्राको आर्जन, रोजगारीको अवसर, घरेलु तथा साना उद्योगको विकास, राजस्वमा वृद्धि, व्यापार तथा कला संस्कृतिको प्रवर्द्धन र विश्वमा देशको प्रचारप्रसारजस्ता फाइदा हुन्छन् । हामीले थप गन्तव्य स्थलको पहिचान गरी यस क्षेत्रको विकासमा अझै प्रभावकारी पहल गर्नुपर्ने देखिन्छ । यो क्षेत्र हाम्रो आर्थिक विकासका लागि ज्यादै महत्त्वपूर्ण रहेको छ । निजीक्षेत्रको सहकार्यमा पर्यटन प्रवद्र्धनमार्फत पर्यटकको संख्या र राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्नुपर्छ । नेपालीका आत्मीयता, मैत्रीभाव, उदारता र विश्वास नै पर्यटकलाई पस्किने व्यञ्जन हुन् । पर्यटकहरूले अझै पनि आफू सुरक्षित अनुभूति गर्न सकेका छैनन् । उनीहरूले चाहेअनुसारका सेवासुविधा उपलब्ध गराउन पनि सकेका छैनाैं । सरकारी कार्यालयबाट प्राप्त गर्ने सेवा पनि झन्झटिलो र प्रक्रियामुखी हुँदा पर्यटकले समस्याको सामना गर्नु परेको वास्तविकता हामीले भुल्नु हुँदैन । पर्यटक लुटिने, ठगिने र उनीहरूका सामान हराउने घटनाहरू पनि यदाकदा घटने गरेका छन् जसले नकारात्मक सन्देश प्रवाह हुने खतरासमेत हुन्छ । नेपालमा धार्मिक पर्यटनको सम्भावना ज्यादा रहेको छ किनभने यहाँ अनेकौं देवदेवीका मन्दिर तथा देवस्थलहरू छन् । मूलतः भारतीय पर्यटक पशुपतिनाथको दर्शन गर्न हजारौंको संख्यामा आउने गर्छन् । त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देशबाट पर्यटक आउने गर्छन् । हाम्रो अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको पर्यटनको विकासका लागि सरकार तथा अन्य सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्छ । कारोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्त्वपूर्ण पनि छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

सलहेश फूलबारीको पर्यटकीय सम्भावना

लहान नगरपालिकामा विभिन्न ऐतिहासिक एवं पर्यटकीय सम्पदाहरू जस्तै : सलहेश फूलबारी, पकडियागढ, देवीथान, ब्रह्मथान गोर्छारी जंगल, वासुकीनाथ मन्दिर आदि छन् । तीमध्ये सलहेश पुरातात्त्विक, धार्मिक, ऐतिहासिक र पौराणिक फूलबारी हो । सलहेश फूलबारी आजसम्म केही सुरक्षित अवस्थामानै छ । यसलाई राजा फूलबारी पनि भनिन्छ । यो फूलबारी करीब २५ बिगाह जतिमा गोलाकार भई फैलिएको छ । यस फूलबारीभित्र धेरै दीर्घजीवी रूखहरू छन् । जुन रूख ६०० देखि ९०० वर्ष पुरानोका छन् । परापूर्वकालमा राजा सलहेशले मनोरञ्जन एवं कुस्ती खेल्ने ठाउँका रूपमा पनि प्रयोग गर्दथे । त्यस समयमा यसको नाम शिलहट अखडा थियो । जुडशीतल पर्वको पावन अवसरमा अर्थात् नयाँ वर्ष वैशाख १ गते यहाँ ठूलो मेला लाग्छ । फूलबारीमा प्रत्येक साल चैत मसान्तको दिन फूल फुल्न शुरू गरि वैशाख १ गते फक्रिसक्ने गर्छ अर्थात् नयाँ वर्षको दिन वैशाख १ गते फुल्ने फूलले पूर्ण रूप लिन्छ र भोलिपल्टदेखि ओइलाउँछ । हारमको बोटमा सेतो रंगको माला आकारको फूल फुली नयाँ वर्षको स्वागत एवं प्रेमी प्रेमिकाको जीवन सार्थक बनाइरहेको छ, यस सलहेश फूलबारीले । यहाँ १ दिनका लागि फूल्ने गरेकाले यसलाई हेर्न हजारौंको संख्यामा युवायुवती, पर्यटक तथा दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ, प्रत्येक नयाँ वर्षमा । यस फूलबारीलाई योजनाबद्ध रूपमा विकास गरी प्रचारप्रसार गर्न सकेमा स्थानीय सरकारलाई आर्थिक संकलन गर्नमा ठूलो टेवा मिल्नेछ । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमी छ । त्यसैले यहाँ पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि त्यो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । व्यापारिक, औद्योगिक तथा सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण लहान नगरपालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटनको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो । यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय, धार्मिक तथा ऐतिहासिक आकर्षणहरूको महत्वलाई पहिचान गरिनुपर्छ । त्यसमा भौतिक पूर्वाधारको निर्माण गरी योजनाबद्ध ढंगले पर्यटनको विकास गर्न सकिन्छ । तराई क्षेत्रमा रहेका यस्ता थुप्रै ऐतिहासिक एवं पर्यटकीय तथा सांस्कृतिक महत्वमा धरोहरहरूको प्रचार गरी उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । तराई अन्नको भण्डार भन्ने गरिन्छ । यहाँ उद्योग कलकारखाना खोल्न सहज मानिन्छ । तर, यहाँ रहेका सांस्कृतिक स्थलहरूको संरक्षण गरेर तिनलाई पर्यटकीय क्षेत्र बनाउन सके आर्थिक विकासका लागि थप अवसरसमेत प्राप्त हुन्छ । मुलुक संघीयतामा गइसकेको अवस्थमा प्रदेश सरकार र स्थानीय सरकारले दूरगामी सोचका साथ यहाँका धरोहर संरक्षण गर्नुका साथै त्यसलाई आर्थिक समृद्धिमा सहायक हुने गरी विकास गर्नु आवश्यक छ । यस्तो सम्भावना यहाँको सलहेस फूलबारी क्षेत्रमा रहेको छ । पर्यटन एवं ऐतिहासिक धरोहरका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना वोकेको अधिकांश स्थलहरू नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रस्त रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, लाहान नगरपालिका क्षेत्रको लागि पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलको सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसूस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस क्षेत्रको समग्र आम्दानीमा व्यापारीक, औद्योगिक तथा पर्यटन व्यवसायलाई पनि एक दीगो स्रोत सृजना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ लहान नगरपालिकामा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । नगरपालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस लहान नगरपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । कमल दहजस्ता पर्यटकीय स्थलमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुनेछ । लेखक गुणस्तरीय जीवनसम्बन्धमा विद्यावारिधि हुन् ।

पर्यटनमैत्री कानून र पूर्वाधार विकासमा जोड

मुलुकको अर्थतन्त्रको प्रमुख प्राथमिकतायुक्त क्षेत्रका रुपमा रहेको पर्यटन क्षेत्रको बृहतर विकास तथा वर्तमान कोभिड–१९ महामारीबाट सुरक्षित पर्यटकीय गतिविधि सञ्चालनका लागि नीतिगत सुधार तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।          संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र पर्यटनको रणनीतिक कार्ययोजना तथा दिगो पर्यटन विकासका लागि पर्यटनमैत्री नीतिगत व्यवस्थाका साथै पर्यटकीय पूर्वाधार विकासका साथै सेवा क्षेत्रलाई एकद्धार प्रणालीबाट सरलीकृत गरिनुपर्ने औँल्याउनुभयो ।           साथै उहाँहरुले मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डलगायत अन्तरनिकाय संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाएर पूर्ण क्षमताका साथ परिचालन गर्न आवश्यक व्यवस्थापनका लागि सरोकारवाला मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद दिव्यमणिराज भण्डारीले पर्यटन क्षेत्र अर्थोपार्जनका निम्ति मात्र नभई देशको पहिचान र इज्जतसँग जोडिएको विषय भएकाले पर्यटनमैत्री नीति र पूर्वाधार विकासका साथै पर्यटकीय सेवालाई एकद्धार प्रणालीबाट सेवा दिएर सरलीकृत गर्दै लैजानुपर्ने बताउनुभयो ।