सलहेश फूलबारीको पर्यटकीय सम्भावना

लहान नगरपालिकामा विभिन्न ऐतिहासिक एवं पर्यटकीय सम्पदाहरू जस्तै : सलहेश फूलबारी, पकडियागढ, देवीथान, ब्रह्मथान गोर्छारी जंगल, वासुकीनाथ मन्दिर आदि छन् । तीमध्ये सलहेश पुरातात्त्विक, धार्मिक, ऐतिहासिक र पौराणिक फूलबारी हो । सलहेश फूलबारी आजसम्म केही सुरक्षित अवस्थामानै छ । यसलाई राजा फूलबारी पनि भनिन्छ । यो फूलबारी करीब २५ बिगाह जतिमा गोलाकार भई फैलिएको छ । यस फूलबारीभित्र धेरै दीर्घजीवी रूखहरू छन् । जुन रूख ६०० देखि ९०० वर्ष पुरानोका छन् । परापूर्वकालमा राजा सलहेशले मनोरञ्जन एवं कुस्ती खेल्ने ठाउँका रूपमा पनि प्रयोग गर्दथे । त्यस समयमा यसको नाम शिलहट अखडा थियो । जुडशीतल पर्वको पावन अवसरमा अर्थात् नयाँ वर्ष वैशाख १ गते यहाँ ठूलो मेला लाग्छ । फूलबारीमा प्रत्येक साल चैत मसान्तको दिन फूल फुल्न शुरू गरि वैशाख १ गते फक्रिसक्ने गर्छ अर्थात् नयाँ वर्षको दिन वैशाख १ गते फुल्ने फूलले पूर्ण रूप लिन्छ र भोलिपल्टदेखि ओइलाउँछ । हारमको बोटमा सेतो रंगको माला आकारको फूल फुली नयाँ वर्षको स्वागत एवं प्रेमी प्रेमिकाको जीवन सार्थक बनाइरहेको छ, यस सलहेश फूलबारीले । यहाँ १ दिनका लागि फूल्ने गरेकाले यसलाई हेर्न हजारौंको संख्यामा युवायुवती, पर्यटक तथा दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ, प्रत्येक नयाँ वर्षमा । यस फूलबारीलाई योजनाबद्ध रूपमा विकास गरी प्रचारप्रसार गर्न सकेमा स्थानीय सरकारलाई आर्थिक संकलन गर्नमा ठूलो टेवा मिल्नेछ । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमी छ । त्यसैले यहाँ पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि त्यो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । व्यापारिक, औद्योगिक तथा सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण लहान नगरपालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटनको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो । यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय, धार्मिक तथा ऐतिहासिक आकर्षणहरूको महत्वलाई पहिचान गरिनुपर्छ । त्यसमा भौतिक पूर्वाधारको निर्माण गरी योजनाबद्ध ढंगले पर्यटनको विकास गर्न सकिन्छ । तराई क्षेत्रमा रहेका यस्ता थुप्रै ऐतिहासिक एवं पर्यटकीय तथा सांस्कृतिक महत्वमा धरोहरहरूको प्रचार गरी उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । तराई अन्नको भण्डार भन्ने गरिन्छ । यहाँ उद्योग कलकारखाना खोल्न सहज मानिन्छ । तर, यहाँ रहेका सांस्कृतिक स्थलहरूको संरक्षण गरेर तिनलाई पर्यटकीय क्षेत्र बनाउन सके आर्थिक विकासका लागि थप अवसरसमेत प्राप्त हुन्छ । मुलुक संघीयतामा गइसकेको अवस्थमा प्रदेश सरकार र स्थानीय सरकारले दूरगामी सोचका साथ यहाँका धरोहर संरक्षण गर्नुका साथै त्यसलाई आर्थिक समृद्धिमा सहायक हुने गरी विकास गर्नु आवश्यक छ । यस्तो सम्भावना यहाँको सलहेस फूलबारी क्षेत्रमा रहेको छ । पर्यटन एवं ऐतिहासिक धरोहरका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना वोकेको अधिकांश स्थलहरू नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रस्त रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, लाहान नगरपालिका क्षेत्रको लागि पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलको सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसूस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यस क्षेत्रको समग्र आम्दानीमा व्यापारीक, औद्योगिक तथा पर्यटन व्यवसायलाई पनि एक दीगो स्रोत सृजना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ लहान नगरपालिकामा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । नगरपालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस लहान नगरपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । कमल दहजस्ता पर्यटकीय स्थलमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुनेछ । लेखक गुणस्तरीय जीवनसम्बन्धमा विद्यावारिधि हुन् ।