काठमाडौं । अरुण काबेली पावर लिमिटेडले १३औं वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्
घटना – १ नेपाल हाइड्रो डेभलपर लिमिटेड र राधी विद्युत् कम्पनी लिमिटेडका शेयरधनी क्रमश: ज्ञानेन्द्रलाल प्रधान र अनिल रुंगटाले शेयर बेचे ।
घटना – २ अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अरुण काबेली पावर लिमिटेडमा रहेको शेयर विक्री गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति लिएर सूचना प्रकाशन गरे पनि नेपाल धितोपत्र बोर्डले विक्रीमा रोक लगायो ।
कम्पनी ऐन, २०६३ दफा २ (झ) मा ‘संस्थापक भन्नाले कम्पनी संस्थापना गर्न लागि प्रबन्धपत्र तथा नियमावलीमा लेखिएको कुरालाई मञ्जुर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनुपर्छ’ भनेको छ ।
चल सम्पत्ति मानिने शेयर विक्री गर्नु नेपालमा अपराध जत्तिकै हुन्छ । शेयर भनेको ‘कथित साना लगानीकर्ता’ भनिनेले मात्रै बेच्नुपर्छ र त्यस्ता शेयर संस्थापक वा ठूलाको उपमा भिराइएकाले दशौं गुणा तिरेर किनिदिनुपर्छ भन्ने भाष्य नै बनेको छ । घटना १ का शेयर विक्रेता कम्पनीका पूर्वअध्यक्ष पनि भएको हुँदा यी माथि प्रहार हुनु नौलो हुँदै भएन । अरुण भ्याली र अरुण काबेलीका गुरुप्रसाद नेउपाने त ‘कथित साना’ को दृष्टिमा महाअपराधी नै बनाइएका पात्र हुन् । नेउपानेले २० वर्षे अवधिमा सरकारले १ सय वर्षमा विकास नगरेको विद्युत् विकास गरेका छन् । तर, यथार्थ भने सधैं ओझेलमा छ । त्यही भएर नेउपाने र प्रधानजस्ता प्रवर्द्धक जहिले पनि तारो बनिरहेका छन् ।
कानूनमा संस्थापक
कम्पनी ऐन, २०६३ दफा २ (झ) मा ‘संस्थापक भन्नाले कम्पनी संस्थापना गर्न लागि प्रबन्धपत्र तथा नियमावलीमा लेखिएको कुरालाई मञ्जुर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनुपर्छ’ भनेको छ । दफा ६६ ले नाबालक र कानूनबमोजिम करार गर्न अयोग्य व्यक्तिलाई संस्थापक हुनमा बन्देज लगाएको छ । तर, अपुताली परी वा कानूनको परिचालनबाट संस्थापकद्वारा खरीद गरेको शेयरमा हक प्राप्त गर्न रोक लाग्दैन । संस्थापकले खरीद गर्न कबुल गरेको शेयरबापतको रकम चुक्ता नगरेसम्म पब्लिक कम्पनीले कारोबारको स्वीकृति पाउन सक्दैन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, (बाफिया) २०७३ को दफा २ (कध) मा ‘संस्थापक भन्नाले बैंक तथा वित्तीय संस्था संस्थापना गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा कम्तीमा एक शेयर लिन मञ्जुर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनुपर्छ’ भनेको छ ।
विक्रीमा शर्तबन्देज
कम्पनी ऐनको दफा ४२(१) ले ऐन, प्रबन्धपत्र र नियमावलीका अधीनमा रही कम्पनीको शेयर चल सम्पत्तिसरह विक्री गर्न सकिन्छ भने पनि बैंकिङ, बीमा र धितोपत्रसम्बन्धी कानूनले शेयर विक्रीलाई नियमन गर्नुको सट्टा नियन्त्रण गरेको छ । कम्पनी ऐनको दफा ४२(२) मा केही शर्तसहित प्रथम साधारण सभा नभएसम्म र शेयरबापतको रकम चुक्ता नगरेसम्म विक्री गर्न वा धितोबन्धक राख्न नपाउने व्यवस्था गरेको छ । बाफियामा कम्तीमा ५ वर्ष नपुगेसम्म संस्थापकले शेयर विक्री गर्न वा धितोबन्धक राख्न नपाउने व्यवस्था छ । दफा ११(३) मा राष्ट्र बैंकको सहमति लिई विक्री गर्दा पनि संस्थापक समूहमा नै रहन्छ । धितोबन्धक राख्न पनि राष्ट्र बैंकको सहमति चाहिन्छ । तर, चुक्ता पूँजीको २ प्रतिशतभन्दा कम शेयर धारण गर्ने संस्थापकले विक्री गर्दा वा धितोबन्धक राख्दा राष्ट्र बैंकको सहमति लिन आवश्यक पर्दैन ।
त्यस्तै, बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ अनुसार कारोबार इजाजत पाएको मितिले ५ वर्षसम्म संस्थापकले शेयर विक्री गर्न र धितोबन्धक राखी ऋण लिन पाउँदैन । १ प्रतिशतभन्दा बढी शेयर भएमा समितिको र त्यसभन्दा कम भए सञ्चालक समितिको स्वीकृति लिएर तोकिएको प्रक्रिया पूरा गरी विद्यमान संस्थापकलाई पहिलो प्राथमिकता दिई विक्री गर्न सकिनेछ । विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निर्गमनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ मा संस्थापक शेयरधनीमध्ये संस्थागत शेयरधनीले १५ दिनअगावै शेयर विक्री गर्ने सूचना जारी गर्नुपर्छ ।
शेयरकै नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले गरेका व्यवस्था झन् अन्योलपूर्ण छ । धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ को नियम ३८(१) मा विवरणपत्र प्रकाशन गरी निर्गमन गरिएको धितोपत्रबाहेक ‘अन्य समूह’ को धितोपत्र बाँडफाँट भएको मितिले ३ वर्ष पूरा नभई विक्री गर्न नपाइने व्यवस्था छ । यसमा ‘अन्य समूह’ भनेर दिएको स्पष्टीकरण नै अस्पष्ट छ । नियम ३८(२) मा तोकिएको समयावधिभित्र त्यस्तो शेयर विक्री वा हस्तान्तरण नभएको कारणले संस्था सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न हुन गएमा त्यस्तो शेयरवाला बीच शेयर विक्री वा हस्तान्तरण गर्न बोर्डले स्वीकृति दिनसक्छ । तर, नियम ३८(३) मा धारकको मृत्यु भएको अवस्थामा हकवालाको नाममा हस्तान्तरण गर्न बाधा छैन । नियम ३८(१क) मा कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म कम्पनी वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरीद विक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन ।
नियमन कि नियन्त्रण
संस्थापक शेयरलाई शेयर नै हैन र यस्ता शेयरधनी नै होइनन् भन्ने खालको नीति व्यवसाय र शेयरबजार नियामक दुवैको छ । दुवै नियामकको व्यवहारले संस्थापक र तिनका सन्तान दरसन्तान चिडियाखानामा थुनिएका जनावरझैं छन् । यस्ता कार्यले देशका पूँजीपति वर्ग निरुत्साहित हुँदै गएर पूँजी पलायनसम्मको स्थितिमा नपुग्ला भन्न सकिन्न । शुरूको अनुच्छेदमा उल्लिखित तीनैओटा कम्पनीले विकास गरेका जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर व्यावसायिक उत्पादन गरी लाभांशसमेत बाँडिरहेका छन् । निश्चित समयसम्म विक्री बन्देजमा राख्नुलाई न्यायोचितै मान्न सकिन्छ । एउटा व्यवसायीले व्यवसायलाई स्थापित गराएपछि जोसुकै आए पनि चलाउन सक्छ । संस्थापक बाहिरिनुको अर्थ उसले अवकाश लियो भन्ने हुन्न । उसले अर्को त्यस्तै व्यवसाय प्रवर्द्धन गर्छ । वर्षौंसम्म संस्थापक र सर्वसाधारणको तगारो लगाएर राख्नुको औचित्य छैन । व्यवसाय नियामकले व्यवसायजन्य विषयमा र शेयरबजार नियामकले व्यवसाय नियामकसँग समन्वय गरेर शेयर विक्री कार्यलाई नियमित गर्नुपर्छ ।
भारतमा सेक्युरिटिज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले प्रवर्द्धक वा संस्थापकको अवधारणालाई ‘व्यक्ति नियन्त्रक’ वा ‘नियन्त्रक शेयरधनी’ मा केन्द्रित हुनुपर्ने प्रस्तावसहित रिजर्भ बैंक अफ इन्डिया, कम्पनी मामिला मन्त्रालय, इन्स्योरेन्स रेगुलेटरी डेभलपमेन्ट अथोरिटी अफ इन्डियासँग परामर्शका लागि परामर्शपत्र सार्वजनिक गरेको छ । सेबीले प्राइभेट इक्विटी, पेन्सन कोष, भेन्चर क्यापिटल जस्ता संस्थागत र व्यक्तिलाई समेट्न खोजेको छ । त्यस्तै, शेयर जारी गरेपछिको लक इन पिरियड सम्बन्धमा २० प्रतिशतभन्दा कम र त्यो भन्दा बढी धारण गरेका संस्थापकका लागि क्रमश: १ वर्ष र ६ महीना कायम गर्न प्रस्ताव गरेको छ । सेबीको यस्तो प्रस्तावले ‘एकपटकको प्रवर्द्धक सधैंको प्रवर्द्धक’ भन्ने अवधारणालाई समाप्त पार्नेछ ।
नेपालमा पनि संस्थापक र सर्वसाधारणको तगारो हटाएर सबै शेयरलाई एकै नाम दिई धितोपत्र दर्ता तथा निर्गमन नियमावली, २०७३ को नियम ३८(१क) मा उल्लिखित व्यक्तिमध्ये सञ्चालक समूहलाई निज उक्त पदमा रहुन्जेल निश्चित प्रतिशत शेयर अनिवार्य धारण गर्न लगाउने व्यवस्था गर्नुपर्छ । सोही नियममा उल्लिखित अन्य व्यक्तिलाई स्वघोषण गरेर शेयर किन्न र बेच्न दिनुपर्छ । सञ्चालकलाई पनि तोकिएको प्रतिशत यथावत् राखेर थप शेयर किन्न र बेच्न दिनुपर्छ । शेयर बेच्न त्रैमासिक अवधि सकिनु १५ दिनअघि र किन्न वित्तीय विवरण प्रकाशन भएपछि एक्सचेन्जमार्फत स्वघोषणा गराउनुपर्छ ।
लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।
पुस ११, काठमाडौं । नेप्सेमा सूचीकृत ४६ ओटा हाइड्रोपावर कम्पनीमध्ये १३ ओटा कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
१३ ओटै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका १३ ओटा कम्पनी मध्ये ९ ओटा कम्पनीले लाभांश पारित समेत गरिसकेका छन् । अपि पावर कम्पनी, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रुरु जलविद्युत् परियोजना, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सिनर्जी पावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीले साधारण सभाबाट लाभांश पारित गरेका छन् ।
जसमध्ये ङादी ग्रुप पावर, अपि पावर कम्पनी, सिनर्जी पावर कम्पनी र अरुण काबेली पावर कम्पनीले बोनस शेयर सूचीकृत गराइसकेका छन् भने बाँकी कम्पनीको सूचीकरण प्रक्रियामा रहेको छ ।
त्यसैगरी लाभांश प्रस्ताव गरेका बाँकी ६ ओटा कम्पनी मध्ये चिलिमे हाइड्रोपावर कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्गमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी बुटवल पावर कम्पनीले पुस २६ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी नेपाल हाइड्रो डेभलोपरले लाभांश पारीतका लागि पुस २८ गते साधारण सभा आयोजना गरेको छ । सभा डिल्ली बजार स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु गर्ने जानकारी गराएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गतेबाट २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर १० चितवनमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ ।
सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस
कात्तिक २२, काठमाडौं । दोस्रो बजारमा सूचीकृतमध्ये हालसम्म ९ ओटा जलविद्युत् कम्पनीहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् ।
सिनर्जी पावर, अपि पावर, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रूरू जलविद्युत् परियोजना, अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले गत वर्षको मुनाफाबाट प्रस्तावित लाभांश वार्षिक साधारण सभा सम्पन्न गरी पारित गराएका हुन् ।
हाल दोस्रो बजारमा ४३ जलविद्युत कम्पनीहरु सूचीकृत रहेका छन् । पछिल्लो समय दोस्रो बजारमा थपिने नयाँ कम्पनीहरुमा जलविद्युत् कम्पनीहरुनै बढी रहेका छन् । हालसम्म पारित गरेका जलविद्युत् कम्पनीहरुको मात्र लाभांशलाई हेर्दा ङादी ग्रुप पावरको सबैभन्दा बढी रहेको छ ।
कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश असोज ३ गते नै वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरेको छ । सोही सभाबाट १ बराबर २ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले पारित गरेको छ ।
ङादी ग्रुप पावरले २० प्रतिशत बोनस पश्चात कायम हुने चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजारको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको हो ।
अरुण काबेली पावरले यसवर्ष कुल १७ दशमलव ८९ प्रतिशत लाभांश दिएको छ । कम्पनीले गत भदौ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
अरुण काबेली पावरले पनि १७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सोही सभाबाट पारित गरेको छ । लाभांश पारित गरेका ९ ओटा जलविद्युत् कम्पनीहरुमध्ये रिडी र रैराङ हाइड्रोपावरले भने एउटै अनुपातमा १२ दशमलव ६ प्रतिशत कर समेत नगद लाभांश दिएका छन् ।
यसवर्ष अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, रूरू जलविद्युत् परियोजना र सिजर्नी पावरले एउटै अनुपातमा अर्थात् १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश पारित गरेका छन् ।
अपि पावरले भने यो वर्ष १० दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश दिएको छ । सिनर्जी पावरले २:१ को अनुपातमा, अपि पावरले १:०.३९३६ को अनुपातमा र अरुणभ्यालीले १:०.५० को अनुपातमा हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।
जलविद्युत् कम्पनीहरुद्वारा पारित लाभांश :
स्रोतः कम्पनीहरुद्वारा जारी सूचनामा आधारित
भदौ २७, काठमाडौं । अरुण काबेली पावर कम्पनीले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभा शनिवार भदौ २६ प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै १७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ८५ करोड ५२ लाख पुग्नेछ ।
यही पूँजीको आधारमा शतप्रतिशत अर्थात् १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित भएको हो ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका भदौ १५ गते देखि २५ गतेसम्म बन्द गरेको थियो । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।
भदौ २५, काठमाडौं । तीन ओटा अलग अलग कम्पनीको साधारण सभा शनिवार हुने भएको छ ।
अरुण काबेली पावर, राष्ट्रिय बीमा संस्थान र नेपाल फाइनान्सले साधारण सभा आयोजना गरेका हुन् । अरुण काबेली पावरको साधारण सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय ट्रेडटावर, थापाथलीमा हुनेछ ।
सभाले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले हाल कम्पनीको सञ्चालक समितिमा सात जना सञ्चालक रहेकोमा घटाएर पाँच जनामा सीमित गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्तापुस्तिका भदौ १५ गतेदेखि २५ गतेसम्म बन्द रहेको छ । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
त्यसैगरी राष्ट्रिय बीमा संस्थानले पनि शनिवार अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा गर्न लागेको छ । सभाले तीन ओटा आव २०६६/ ६७ ,२०६७/ ६८ र २०६८/ ६९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७२/ ७३,२०७३/ ७४ र २०७४/ ७५ को लेखापरिक्षकको लागि नन्दकेशोर शर्मा र सीए केशब प्रसाद न्यौपानेको संयुक्त नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै नेपाल फाइनान्सले २८औं वार्षिक साधारण सभा पनि केन्द्रीय कार्यालय कमलादीमा बोलाएको छ । सभाले ललितपुर फाइनान्सलााई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले साविकको ललितपुर फाइनान्सको आव २०७४/ ७५ ,२०७५ / ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
भदौ ९, काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधवार अरुण काबेली पावर लिमिटेडको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
यो दिन कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. ४८ करोड ७१ लाख ५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७८८ दशमलव ९० कायम भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा ११ रुपैयाँले वृद्धि भएको हो । कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर, थापाथलीमा हुने छ । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ ।
साथै सभाले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका भदौ १५ गतेदेखि २५ गतेसम्म बन्द हुनेछ । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।