भदौ २५, काठमाडौं । तीन ओटा अलग अलग कम्पनीको साधारण सभा शनिवार हुने भएको छ ।
अरुण काबेली पावर, राष्ट्रिय बीमा संस्थान र नेपाल फाइनान्सले साधारण सभा आयोजना गरेका हुन् । अरुण काबेली पावरको साधारण सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय ट्रेडटावर, थापाथलीमा हुनेछ ।
सभाले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले हाल कम्पनीको सञ्चालक समितिमा सात जना सञ्चालक रहेकोमा घटाएर पाँच जनामा सीमित गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्तापुस्तिका भदौ १५ गतेदेखि २५ गतेसम्म बन्द रहेको छ । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
त्यसैगरी राष्ट्रिय बीमा संस्थानले पनि शनिवार अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा गर्न लागेको छ । सभाले तीन ओटा आव २०६६/ ६७ ,२०६७/ ६८ र २०६८/ ६९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७२/ ७३,२०७३/ ७४ र २०७४/ ७५ को लेखापरिक्षकको लागि नन्दकेशोर शर्मा र सीए केशब प्रसाद न्यौपानेको संयुक्त नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै नेपाल फाइनान्सले २८औं वार्षिक साधारण सभा पनि केन्द्रीय कार्यालय कमलादीमा बोलाएको छ । सभाले ललितपुर फाइनान्सलााई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले साविकको ललितपुर फाइनान्सको आव २०७४/ ७५ ,२०७५ / ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।