मुस्ताङ । मुस्ताङी स्याउ र आलु बागलुङसहित धवलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायत जिल्लामा कोसेलीको रूपमा प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम शुरू भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि स्वादिलो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् । उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेर समेत उपभोक्ताले खरीद गर्ने गरेका छन् । दशैं, तिहारका याममा झण्डै चार हजार केजी स्याउ विक्री गरेको यहाँका फलफूल तथा तरकारी व्यापारी शंकर रेग्मीले जानकारी दिए । स्याउ मात्रै होइन, मुस्ताङको आलुको समेत बजारमा उच्च माग भइरहेको उनले बताए । उनले दशैं, तिहारकै बीचमा पाँच हजार केजी मुस्ताङी आलु विक्री गरिसकेका छन् । उनीजस्ता धेरै व्यापारीले मुस्ताङको आलु र स्याउको बागलुङ बजारमा आयात गर्दै आएका छन् । अहिले मुस्ताङी स्याउको प्रतिकेजी १७० र आलु प्रतिकेजी ८५ मा किनबेच भइरहेको छ । मुस्ताङको स्याउजस्तै आलुसमेत निकै स्वादिष्ट भएकाले महँगो भए पनि खरीद गरेर उपभोग गर्ने गरेको स्थानीय सुरेश आचार्यले बताए ।
रामरेखा होलसेल तरकारी पसलका सञ्चालक आर्यन जेरीले आलु खुद्रा र थोक दुवै तरिकाले व्यापार गर्दै आएका छन् । आलु बागलुङ झारेको एक हप्तामै गोदाम रित्तिने गरेको जानकारी दिए । ‘पहिले पैसा पठाएपछि मात्रै मुस्ताङको आलु आउँछ, अहिले दशैं अघिदेखि १० हजार केजी आलु मुस्ताङको मात्रै विक्री गरेँ, तराईको र बागलुङको ढोरपाटन र ताराखोलाको आलु पनि विक्री भइरहेको छ,’ उनले भने ।
ताराखोला र ढोरपाटनको आलुसमेत बागलुङबाट पोखरालगायतका क्षेत्रमा निकासी हुने गरेको छ । तर बागलुङ जिल्लामा मुस्ताङको आलु तथा स्याउ यती नै भित्रिन्छ भन्ने यकिन तथ्यांक नभए पनि जिल्लामा धेरै मात्रमा मुस्ताङको स्याउ र आलु ठूलो मात्रामा आयात हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकाल जानकारी दिए । बागलुङमा समेत ढोरपाटन आलु सुपरजोन कार्यक्रम सञ्चालित छ । हिमाली क्षेत्र मुस्ताङका साथै ६ महीना निकै चिसो हुने ढोरपाटन र ताराखोलाको आलु धेरै ठाउँमा चर्चित छ । रासस