काठमाडौं (अस) । जावा मोटरसाइकलले अग्निमोटोइंक प्रालिसँगको साझेदारीमा नेपालमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा आयोजना गरेको छ । क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालक, पत्रकार र अन्य व्यक्तिसँग यात्रा गरेका थिए ।
जवा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जावा पेराक मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ । ‘हामी नेपालमा उपस्थित भएको एक वर्षभन्दा बढी भएको छ । यहाँ मोटरसाइक्लिङ गर्ने समुदायबाट प्राप्त स्नेह साँच्चिकै उत्साहजनक छ’, क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक थरेजाले भने, ‘नेपालमा सवारी यात्रा गर्न पाउँदा रोमाञ्चित भयौं । नेपाल साँच्चिकै रमणीय देश रहेछ ।’
साझेदार अग्निमोटोइंकले स्थानीय रूपमा जावा ब्रान्डको प्रतिनिधित्व गरेको उनले बताए । क्लासिक लेजेन्ड्सले तीन वर्षदेखि भारतमा जावा ब्रान्डका मोटरसाइकललाई बिक्री गर्दै आएको छ । यो ब्रान्डले नेपालका प्रमुख सहर काठमाडौं, पोखरा, बिर्तामोड, विराटनगर, इटहरी, धरान, लहान, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बाग्लुङमा डिलरसिप स्थापना गरिसकेको छ ।