काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंक (World Bank) ले विश्वको व्यवसायिक वातावरणको मूल्यांकन गर्न नयाँ पद्दति ल्याउने घोषणा गरेको छ । सोमबार बैंकले विश्वका १८० ओटा देशका व्यवसायिक सहजता मूल्यांकन गर्न नयाँ पद्दतिको घोषणा गरेको हो ।
पुरानो पद्दतिमा एक पछि अर्को गर्दै डेटामा चलखेलका घटनाहरु बाहिरिएको अनि चीनलाई सहुलियतपूर्ण व्यवहार गरेको भन्दै बैंकको इज अफ डुइङ विजनेश (Ease of Doing Business) प्रतिवेदनले निकै आलोचना खेप्नु परेको थियो ।
बैंकका अनुसार विजनेश रेडी (Business Ready) नामक नयाँ वार्षिक प्रतिवेदन सन् २०२४ को बसन्तमा सार्वजनिक हुनेछ । यो विजनेश इन्डेक्सको परीक्षण संस्करण हुनेछ । शुरुमा यस प्रतिवेदनले एशिया, ल्याटिन अमेरिका, यूरोप, मध्य पूर्व र उप–साहारा अफ्रिकाका ५४ ओटा अर्थतन्त्रलाई समेट्नेछ ।
त्यसपछिका अर्को दुई वर्षभित्र आउने प्रतिवेदनको संस्करणहरुमा विस्तारै अरु देशहरुलाई समेटिदैं लगिनेछ । यस अवधिमा बैंकले आफ्नो पद्दतिलाई पनि परिस्कृत गर्नेछ । बैंकले विकासलाई तीव्रता दिन देशहरुलाई लगानी आकर्षित गर्न र रोजगारी सृजना बढाउन सजिलो होस् भनेर हरेक वर्ष डुइङ विजनेश प्रतिवेदन सार्वजनिक गर्ने गरेको थियो ।
तर बैंकका शीर्ष अधिकारीहरुले चीनलाई लाभ हुने गरी डेटामा चलखेल गर्न कर्मचारीहरुलाई दबाब दिएको घटना बाहिरियो । डुइङ विजनेशमा साउदी अरब, संयुक्त अरब इमिरेट्स र अजरबैजान लगायत अन्य देशको वरियता बढाउन पनि चलखेल भएको देखियो । यी घोटालका कारण बैंकले सन् २०२१ मा सो प्रतिवेदनको प्रकाशन नै बन्द गरेको थियो ।
बिजनेश रेडीले डुइङ विजनेश परियोजनालाई विस्थापित गर्ने अनि यो डुइङ विजनेशभन्दा सुधारिएको भएको बैंकले एक विज्ञप्तिमा भनेको छ । पुरानो प्रतिवेदनभन्दा यो थप सन्तुलित भएको अनि देशहरुको व्यवसाय र लगानीको वातावरणको मूल्यांकनमा पनि यसमा पारदर्शी तरिका अपनाइएको बैंकको दाबी छ ।
नयाँ एप्रोचले देशहरुको लगानी वातावरणमापन गर्न पूर्ण अनि तिख्खर उपायहरु अपनाउन बैंकलाई सक्षम बनाएको विश्व बैंकका प्रमुख अर्थशास्त्री इनदरमिमत गिलले भनेका छन् । अहिले समग्र अर्थतन्त्रमा सुस्ती छाइरहेको समयमा यो अति नै अति नै जरुरी भएको गिलको भनाइ छ ।
विजनेश रेडी विश्व बैंकका विज्ञहरु, सरकार, निजी क्षेत्र, नागरिक समाज समूह, कामदारका लागि आवाज उठाउनेहरुको सुझावमा तयार पारिएको बताइएको छ । डेटामा चलखेल भयो भनेर डुइङ विजनेश निकै आलोचित बनेको थियो । नयाँ शृङ्खलालाई डेटाहरुको शुद्धता मुख्य विषय रहेको छ ।
अबदेखि बैंकले प्रतिवेदनका क्रममा निजी क्षेत्रका साथसाथै उद्यमी, कम्पनी मालिक र व्यवस्थापकहरुमाझ गरिएको सर्वेक्षण समेत सबै कच्चा डेटा, अंक, अनि अंक निकाल्न गरिएको हिसाब समेत सबै कुराहरु सार्वजनिक गर्नेछ । डुइङ विजनेश विवादको केन्द्रमा रहेको व्यवसायिक वातावरण सूचकलाई ब्यूताउने कि नब्यूताउने भन्ने विषयमा भने विश्व बैंकका अधिकारीहरुले अझै पनि बहस गरिरहेका छन् ।
पहिलो प्रतिवेदन ल्याउनु अघि यसबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ । विश्व बैंक २ दशकसम्म डुइङ विजनेश प्रतिवेदन सार्वजनिक गर्यो । वैदेशिक लगानी गर्दा व्यवसायहरुले बैंकको डुइङ विजनेश प्रतिवेदनलाई एउटा भरपर्दो आधारको रुपमा हेर्दै आएका थिए । यस क्रममा विश्वका विकासोन्मुख र विकसित अर्थतन्त्रहरुमा झन्डै ४ हजार नियामक सुधारहरुमा समेत प्रतिवेदनले सधाएको थियो । एजेन्सी