म्याग्दी । रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती गरेका छन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रूपमा केराखेती गरेका हुन् ।
केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केराखेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार/पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केराखेतीमा लागेका हौं ।’ सो क्षेत्रमा यसअघि घरायसी उपभोगका लागि मात्रै केराखेती हुँदै आएको थियो । परीक्षणका लागि केही कृषकले धेरै संख्यामा लगाएको केराले राम्रो उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेराखेती गरिएको छ । यसअघि रघुगंगा वडा नं २ र ३ मा केराखेती गर्ने कृषकका दुई समूह थिए ।
दुईओटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरू गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । चालू आवमा गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् । ‘एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,’ सुवेदीले भने, ‘कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौं ।’ सिँचाइका लागि १ हजार ५०० मिटर पाइप खरीद गरेका समूहले ५ हजार ६०० नयाँ केराका बिरुवा रोपेका छन् । रासस