घरको भग्नावशेष पन्छाउँदै भगुदेवी बोहरा बिहीबार अन्नपात र लुगाकपडा खोज्दै थिइन् । मंगलबार रातिको भूकम्पले १३ वर्षीया नातिनी गुमाएकी उनी मध्याह्नसम्म पनि भोकै थिइन् । आफन्त गुमाएको शोकले तीन दिनदेखि खाना रुचेको छैन । रेडक्रस सोसाइटीले उपलब्ध गराएका त्रिपाल र अन्य सामग्री बेवारिसे छन् । ‘राहत पाएका सामान कहाँ लगेर राखौं,’ उनले भनिन्, ‘परलोक जानेबेला अन्नपातको जोहो गरौं कि लुगाफाँटो खोजौं ।’