काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ८ कम्पनीहरुमध्ये ६ कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश दिएका छन् । युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई , नेपाल ल्युब आयल , हिमालयन डिष्टीलरी, शिवम सिमेन्ट्स र घोराही सिमेन्ट्स इन्ड्रष्टी लिमिटेडले गत आवको मुनाफाबाट लाभांश दिएका हुन । बोटलर्स नेपाल बालाजु र सोनापुर मिनरल्स एण्ड आयलले भने गत आवको मुनाफाबाट लाभांश दिएनन् ।
लाभांश दिएका कम्पनीमध्ये हिमालयन डिष्टीलरी र शिवम सिमेन्ट्सको बोनस शेयर सूचीकृत भइसकेको छ भने नगद लाभांश दिएका कम्पनीले पनि सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । त्यस्तै घाराही सिमेन्ट्स र नेपाल ल्युब आयलको लाभांश सूचीकृत हुन बाँकी छ ।
सबैभन्दा बढी लाभांश युनिलिभर नेपाल लिमिटेडको रहेको छ । यस कम्पनीले गत आवको मुनाफाबाट आफन शेयरधनीलाई १५८० प्रतिशत नगद लाभांश दिएको हो । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट भने १२१५ प्रतिशत नगद लाभांश दिएको थियो ।
त्यस्तै बोटलर्स नेपाल तराईले गत आवको मुनाफबाट यस वर्ष शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिएको हो ।
नेपाल ल्युब आयल लिमिटेडले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै हिमालयन डिष्टीलरीले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिएको हो त्यस्तै शिवम सिमेन्ट्सले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लाििग शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश दिएको हो ।
घोराही सिमेन्ट्सले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिएको छ । यस कम्पनीले पहिलो पटक आफ्ना शेयरधनीलाई लाभांश दिएको हो ।
स्रोत : कम्पनीको सूचनाबाट