ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको छ । बैंकहरुले ११.६६ प्रतिशतसम्म ब्याजदर पुर्‍याएपछि राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर वृद्धिमा हस्तक्षेप गरेको हो । बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन नपाउने व्यवस्था गरिएको छ । यस्तै व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ । कात्तिका महिनाका लागि प्रकाशित ब्याजदर परिवर्तन गरी यही कात्तिक ३ गतेभित्र संशोधन गरी ५ गतेभित्र दैनिक पत्रिकामा प्रकाशित गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म पुर्‍याएपछि राष्ट्र बैंकलाई हस्तक्षेप गर्न दबाव बढेको थियो । सीडी रेसियोको व्यवस्था हटाउन माग गरे पनि राष्ट्र बैंकले त्यसलाई सम्बोधन नगरी ब्याजदर घटाउने नीतिगत व्यवस्था गरेको छ ।

सम्बन्धित सामग्री

मौद्रिक नीतिको उल्लंघन

आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक लचिलो बन्न नसकेको भनी आलोचना भइरहँदा उसले आफैले जारी गरेको मौद्रिक नीतिविपरीत हुने गरी अन्तरबैैंक ब्याजदर कम हुँदा पनि बजारमा हस्तक्षेप गरेको छैन । सरकारी दबाबका कारण अन्तरबैंक ब्याजदर घटेको छ । यस्तो अवस्था आउँदा राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण जारी गर्नुपर्नेमा त्यसो गर्न सकेको छैन ।  राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा औसत अन्तरबैंक ब्याजदर बैंकदरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून कायम राख्ने लक्ष्य लिएको छ । ब्याजदर कोेरिडोरको माथिल्लो सीमा ७ दशमलव ५ प्रतिशत र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर ४ दशमलव ५ प्रतिशत कायम गरिएको छ । तर, लक्ष्यभन्दा २ प्रतिशत कम ब्याजदर कायम हुँदा पनि उसले तरलता प्रशोचन गरेको छैन । मौद्रिक नीतिले अधिक तरलता हुँदा विभिन्न औजारमार्फत तरलता प्रशोचन गर्ने र तरलतामा दबाब परे बजारमा पैसा पठाउने नीति लिएको छ । तर, अहिले तरलता प्रशोचन गर्नुपर्ने बेला त्यसो नगरी अन्तरबैंक ब्याजदर घट्न दिएको छ । यसो गर्नुका पछाडि सरकारलाई सस्तो ब्याजमा आन्तरिक ऋणपत्र विक्री गर्न दिने वातावरण बनाउनु हो । राष्ट्र बैंकको चाहनाले भन्दा पनि अर्थ मन्त्रालयको दबाबले यसो गरेको पाइन्छ ।  कतिबेला कस्तो नीति आउने हो र कतिबेला तरलता हराउने हो भन्ने अनिश्चितता देखेर नै उनीहरूले एकातिर निक्षेपको ब्याजदर बढाएको देखिन्छ भने अर्कातिर ऋण लगानी गर्न डराइरहेको देखिन्छ । ब्याजदर निर्धारण गर्न बजारलाई छाडिदिने नीति सरकारले लिए पनि लक्ष्यभन्दा धेरै फरक भएमा उसले बजारमा हस्तक्षेप गर्न सक्छ । तर, अहिले सरकारले दबाब दिँदा राष्ट्र बैंकले आफैलै जारी गरेको मौद्रिक नीतिको बर्खिलाप काम गरेको छ । यसले राष्ट्र बैंकको काम पारदर्शी हुँदैन र अनुमान गर्न सकिने खालको हुँदैन भन्ने सन्देश दिएको छ । सबल अर्थतन्त्रका लागि नीति जहिले पनि अनुमानयोग्य हुनुपर्छ भन्ने मानिन्छ । विकसित देशहरूमा नीति अनुमानयोग्य मात्र नभई स्थिर हुने गर्छ, जसले गर्दा उद्योगी, व्यवसायीले योजनाअनुसार काम गर्छन् । तर, नेपालमा भने स्थिर नीतिको आवश्यकतामा जोड दिँदै गर्दा राष्ट्र बैंकको अस्थिर नीतिका कारण अनुमान गर्न नसकिने अवस्था आएको छ । यस्तो अवस्थाले अर्थतन्त्रलाई सुधार गर्नेभन्दा पनि झन् अप्ठ्यारो पार्ने सम्भावना रहन्छ ।  बैंकहरूसँग पर्याप्त तरलता भए पनि उनीहरू ऋण लगानी गर्न डराइरहेका छन् । बजारमा पैसा फालाफाल भए पनि बैंकहरूले निक्षेपमा ब्याजदर बढाएका छन् । कतिबेला कस्तो नीति आउने हो र कतिबेला तरलता हराउने हो भन्ने अनिश्चितता देखेर नै उनीहरूले एकातिर निक्षेपको ब्याजदर बढाएको देखिन्छ भने अर्कातिर ऋण लगानी गर्न डराइरहेको देखिन्छ । अहिलेको तरलता छोटो अवधिका लागि मात्र हो भन्ने विश्लेषण बैंक र राष्ट्र बैंकको समेत रहेको पाइन्छ ।  राष्ट्र बैंक स्वायत्त निकाय भएकाले सानातिना काममा समेत सरकारी हस्तक्षेप हुनुलाई सही मान्न सकिँदैन । तर, विद्यमान राष्ट्र बैंक ऐनले सरकारलाई राष्ट्र बैंकमाथि हस्तक्षेप गर्न सक्ने अधिकार दिएकाले अहिले ब्याजदरमा हस्तक्षेप भएको हो । यसले अर्थतन्त्रमा सकारात्मक वा नकारात्मक असर कस्तो पर्छ हेर्न केही समय लाग्नेछ । बजार बिग्रनुमा सरकार र राष्ट्र बैंक कति जिम्मेवार हुन्छन् भन्नेमा विमर्श आवश्यक देखिन्छ । मौद्रिक नीतिले लिएको लक्ष्यअनुसार काम गर्ने जिम्मेवारी राष्ट्र बैंकको हो । उसले आफूले लिएको नीतिअनुसार काम गर्नुपर्छ । त्यसो भयो भने उसको सबै काम र निर्देशन पारदर्शी हुन्छ । मौद्रिक नीतिमा कुनै लक्ष्य लिइन्छ भने त्यो पूरा गर्ने काम राष्ट्र बैंकको हो । तर, नीतिअनुसार काम भएको छैन भने त्यो व्यावहारिक छैन भन्ने हुन्छ । यदि मौद्रिक नीति व्यावहारिक छैन भने त्यसलाई परिवर्तन गर्न जरुरी हुन्छ । अव्यावहारिक भएका कारण वा अन्य कारणले नीति लागू भएन भने त्यो नियामक निकायको विफलता मानिन्छ जसले भोलिका दिनमा अन्य समस्या पनि निम्त्याउन सक्छ ।

ब्याजदरमा अझै चाप पर्छ : राष्ट्र बैंक

काठमाडौं । बैंकहरुको ब्याजदरमा अझै केही समय चाप पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । ब्याजदर वृद्धिविरुद्ध व्यवसायीहरु आन्दोलित छन् । तर, ब्याजदर वृद्धिको चाप कम नहुने नेपाल राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले एक कार्यक्रममा ब्याजदरको चाप अझै केही समय रहने बताए । ‘अहिले कर्जाको ब्याजदर औसतमा १२ […]

‘तरलता अभावको मुख्य कारण सरकार र राष्ट्र बैंकको अदूरदर्शी नीति’

विराटनगर । बैंकिङ प्रणालीमा तरलता अभाव सहज नहुनुमा सरकार र राष्ट्र बैंकको अदूरदर्शी नीति मुख्य कारण रहेको अर्थतन्त्रका विज्ञहरूले औंल्याएका छन् । मोरङ व्यापार संघको सभाहलमा मंगलवार आयोजित ‘बिज टक’ कार्यक्रममा अर्थशास्त्री डा. भेषप्रसाद धमलाले देशको जनशक्ति विदेश पलायन हुनुमा सरकार नै जिम्मेवार रहेको र जनशक्ति अभावका कारण उत्पादनमा असर पुगेको बताए । ‘बैंकको ब्याजदर अत्यधिक बढ्दा उत्पादनमा समेत असर परेको छ,’ उनले भने, ‘देशलाई चाहिने जनशक्तिलाई विदेश पलायन हुन बाध्य पारेर आर्थिक समृद्धिको सपना पूरा हुन सक्दैन ।’ अर्थतन्त्रलाई चलायमान राख्न करको दायरामा कटौती गर्नुपर्ने र नयाँ शीर्षक थपेर कर उठाउने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्राडा. पीके झाले नेपालको आर्थिक नीति कठोर बन्दै गएको टिप्पणी गरे । विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको भन्दै उनले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा धारणा राखे । बजारमा तरलता अभाव हुनुमा राष्ट्र बैंक पनि दोषी रहेको उनको भनाइ छ । दिगो विकासको मेरुदण्ड नै उद्यमशीलता रहेको भन्दै उनले नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै उद्यमशीलतालाई संस्थागत गर्नुपर्ने बताए । ‘फोस्रो नारा लगाएर मात्र बजेटको सही ठाउँमा कार्यान्वयन हुन सक्दैन, जेका लागि बजेटको घोषणा भएको हो, त्यसैमा बजेटको पूर्ण कार्यान्वयन हुनुपर्छ,’ उनले भने । उद्योग, व्यापार र व्यवसाय क्षेत्र कुन र कस्तो (संकटग्रस्त) अवस्थामा छ भन्नेबारे सरकार जानकार रहे पनि पुनरुत्थानका लागि ठोस काम गर्न नसकेको उनले बताए । ठूलाभन्दा साना उद्योगलाई प्राथमिकतामा राखेर प्रवद्र्धन गरे उद्यमशीलता स्थापित हुने उनको भनाइ छ । सरकारले उद्यमशीलता विकासका लागि उद्योग–उद्योगी र व्यापार–व्यवसायीको हित हुनेगरी नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा अर्का अर्थविद् प्राडा. वेदराज आचार्यले स्वदेशको रकम स्वदेशमै परिचालन गर्न स्थानीय स्रोतसाधनमा आधारित कच्चापदार्थको उपयोग र सोही अनुसारका उद्योग स्थापनामा प्राथमिकता दिनुपर्ने बताए । कुनै समय संसारकै गरीब र अतिविपन्न मुलुकको रूपमा रहेको इथोपियाले अहिले विकासोन्मुख राष्ट्रको दर्जा पाइसकेको उदाहरण दिँदै उनले अपार स्रोतसाधन हुँदाहुँदै नेपालको अर्थतन्त्र दुरवस्थामा पुग्नु खेदजनक रहेको बताए । नीति निर्माताले अर्थतन्त्रको वृद्धि र विकास हुने निर्णय लिनुपर्नेमा स्वार्थ अनुकूलको निर्णय लिँदा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक बन्न पुगेको उनको टिप्पणी थियो । देशको हरेक तह र तप्कामा सरकार संस्थागत सुशासनमा चुकेको आचार्यले बताए । शिक्षा, स्वास्थ्य जस्ता प्रत्यक्ष जनसरोकारका क्षेत्रको नियन्त्रण र नियमनमा सरकार निरीह बनेको उनको भनाइ छ । तरलता अभावले अर्थतन्त्रमा उत्पन्न भएको संकटको अवस्था र यसबाट पार पाउने उपायबारे गहन चिन्तन, छलफल हुनुपर्नेमा उनले जोड दिए । साथै त्यसबाट प्राप्त सुझाव समस्या समाधानको मार्गदर्शक बन्ने उनले बताए । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले तरलता अभावको कारण देखाउँदै  बैंकहरूले ऋण प्रवाह रोकेको र ब्याजदरमा वृद्धि गरेकाले उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा अप्ठ्यारो परेको बताए । जनशक्तिको कमी, बैंकको मनोमानी र सरकारको अदूरदर्शी नीतिले आर्थिक क्षेत्र धराशयी बन्दै गएको उनको भनाइ छ ।

उत्पादनमूलक क्षेत्रमा कर्जा

बैंकहरूमा तरलताको समस्या लम्बिँदै गएपछि नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा नियन्त्रण गर्ने उद्देश्यका साथ आफ्नो नीतिमाथि पुनर्विचार गर्न थालेको छ । बिहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै उसले अनुत्पादक क्षेत्रमा गइरहेको कर्जामा कडाइ गर्ने र उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाहका लागि प्रोत्साहन गर्ने बताएको छ । व्यापारघाटाको डरलाग्दो अंक र उत्पादनमूलक क्षेत्रको सुस्त प्रगतिका कारण राष्ट्र बैंक यस्तो निर्णयमा पुगेको देखिन्छ । तर, केन्द्रीय बैंकले लिएका धेरै नीति निस्प्रभावी देखिइरहेको अवस्थामा उसको नीतिबाट सकारात्मक परिणाम आउने अपेक्षा कमै गर्न सकिन्छ । उत्पादन बढाउन सस्तो कर्जा उपलब्ध गराएर मात्र पुग्दैन । अन्य औद्योगिक वातावरण पनि सँगसँगै आवश्यक हुन्छ । कृषिक्षेत्रका लागि ब्याजमा अनुदान दिने केन्द्रीय बैंकको नीतिपछि यस क्षेत्रमा ठूलो लगानी भइसक्दा पनि अपेक्षित लाभ नदेखिनु यसैको उदाहरण हो । कोरोना महामारीपछि बैंक तथा वित्तीय संस्थाले १ खर्ब ५९ अर्ब रुपैयाँ बराबर पुनर्कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराएका छन् । कोरोनाबाट थलिएको अर्थ अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पुर्‍याउन केन्द्रीय बैंकले यस्तो कर्जाको व्यवस्था गरेको थियो । कोरोनाबाट थलिएको अर्थतन्त्रलाई यस्तो सहयोग अझै आवश्यक रहेको निजीक्षेत्रको माग भए पनि राष्ट्र बैंकले आफ्नो नीतिमा पुनर्विचार गर्ने बताएको छ । उसको विचारमा यो कर्जाको दुरुपयोग भएको छ । उद्योग व्यवसाय जोगाउन लिएको रकमको ऋणीले थोरै हिस्सा यस क्षेत्रमा प्रयोग भएको र ठूलो अंश शेयर तथा घरजग्गामा लगानी गरेको निष्कर्ष राष्ट्र बैंकको देखिन्छ । घरजग्गामा देखिएको ठूलो कारोबार तथा वृद्धिले यसलाई पुष्टि गर्ने आधार दिएको छ । घरजग्गाको कारोबारबाट अनौपचारिक अर्थतन्त्र झनै बढेको विश्लेषण पनि अर्थशास्त्रीहरूको रहेको छ । मुलुकभरि नै जग्गाको भाउ बढेको र प्लटिङ गरेर जग्गा विक्री बढी नै हुन थालेपछि राष्ट्र बैंक सतर्क भएको अनुमान छ । घरजग्गाको भाउ अत्यधिक वृद्धिले नयाँ उद्योग खोल्नसमेत समस्या थपिदिएको छ । त्यसैले यस क्षेत्रमा कडाइ गरी उत्पादनमूलक उद्योगलाई तुलनात्मक रूपमा सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउँदा उत्पादन बढ्छ भन्ने अनुमान राष्ट्र बैंकको देखिन्छ । नेपालमा प्रभावकारी अनुगमन संयन्त्र नहुँदा तथा अनुगमन यथार्थपरक तथा पारदर्शी नहुँदा नीतिगत तथा कानूनी छिद्रको प्रयोग गरी छिटो लाभ लिने प्रवृत्ति पाइन्छ । कोरोना प्रभावितलाई राहत प्रदान गर्न दिएको यो सुविधाको दुरुपयोग भएको सन्दर्भमा नयाँ नीति पनि त्यस्तै नहोला भन्न सकिँदैन ।  साथै, शेयर, घरजग्गा, सवारीसाधन आदिमा जाने कर्जाले अर्थतन्त्रमा योगदान नपुर्‍याएको निष्कर्षसहित निक्षेपको ब्याजदर बढ्न दिने नीति लिइएको छ । राष्ट्र बैंकले १९ प्रतिशत कर्जा विस्तार गर्ने नीति लिए पनि कर्जा विस्तारको ६ महीनाको अवस्था हेर्दा २७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कर्जा विस्तार गर्नुको अर्थ अर्थतन्त्र विस्तार हुनु हो । तर, उत्पादन वृद्धि नहुँदा तरलतामा चाप परेको छ र आयात तीव्र बढेको छ । त्यसो त नेपालीहरूको हातमा पुगेको पैसा बचत र लगानी गर्नुभन्दा उपभोगमा बढी खर्च भइरहेको छ । उपभोग्य वस्तु स्वदेशी उत्पादन नभई विदेशी हुने गरेको छ । त्यही कारण व्यापार घाटाको आँकडा निरन्तर बढ्दो छ । विश्व अर्थतन्त्रको गति हेर्दा कृषि, उत्पादनमूलक उद्योग हुँदै सेवाक्षेत्र फस्टाएको देखिन्छ । तर, नेपालमा कृषिक्षेत्रको जनशक्ति सेवाक्षेत्रतर्फ लाग्दा कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान बढी देखिन थालेको छ । उत्पादनमूलक क्षेत्रमा प्रगति नगरी सेवा क्षेत्रमा प्रवेश गर्दा अर्थतन्त्रको गति अस्वाभाविक देखिन्छ । त्यसैले उत्पादन बढाउन आवश्यक छ । अर्धवार्षिक समीक्षामा उत्पादनमूलक क्षेत्रका लागि सस्तो ब्याजदरको कर्जा उपलब्ध गराउने नीति लिइएको छ । तर, उत्पादन बढाउन सस्तो कर्जा उपलब्ध गराएर मात्र पुग्दैन । अन्य औद्योगिक वातावरण पनि सँगसँगै आवश्यक हुन्छ । कृषि क्षेत्रका लागि ब्याजमा अनुदान दिने केन्द्रीय बैंकको नीतिपछि यस क्षेत्रमा ठूलो लगानी भइसक्दा पनि अपेक्षित लाभ नदेखिनु यसैको उदाहरण हो । नेपालमा प्रशासनिक, राजनीतिक र अन्य कारणले आद्यौगिक वातावरण बन्न सकिरहेको छैन ।   त्यसैले कर्जाका साथै अन्य औद्योगिक वातावरण पनि बनाइनुपर्छ । कानून संशोधन, लगानीकर्ताले बेहोर्नुपरेका विविध झन्झट हटाउने, कच्चा पदार्थ र औद्योगिक वस्तुको आयातमा रहेको करसम्बन्धी विवाद समाधन गर्नुपर्नेलगायत समस्या समाधान गरी उत्पादनमूलक उद्योगहरू खोल्न प्रोत्साहित गर्नु अहिलेको आवश्यकता हो ।

ब्याजदरमा अपेक्षित नीति

आर्थिक वर्षको अन्त्यमा सरकारले विकास निर्माणका काममा खर्च बढाएकाले बजारमा तरलता पर्याप्त भए पनि केही बैंकहरूले निक्षेपमा ब्याजदर बढाएका छन् । असारमा बैंकहरूमा थपिएको तरतलाले २ महीना जति धान्ने र त्यसपछि तरलतामा समस्या आउने गरेको विगतको अनुभवका आधारमा बैंकहरूले बढी ब्याजदर दिएर निक्षेप वृद्धितर्फ लागेको हुन सक्छ । अहिले बैंकहरूको कर्जा निक्षेप अनुपात कसिलो भएकाले कर्जामा ब्याजदर बढ्ने सम्भावना प्रबल भएको बैंकरहरूको भनाइ छ । ब्याजदर अन्तरलाई यथाशक्य कम गर्न राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विशेष व्यवस्था गर्न खोजेको र सकेको देखिँदैन । ब्याजदर अन्तरलाई यथाशक्य कम गर्न राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विशेष व्यवस्था गर्न खोजेको र सकेको देखिँदैन । अर्थतन्त्रलाई गति दिन तथा उद्योग व्यवसाय फस्टाउन कर्जाको ब्याजदर न्यून हुनु पनि आवश्यक मानिन्छ । अन्य विषयबाहेक ब्याजदरले पनि लगानीमा प्रभाव पार्छ । विकसित देशहरूमा ब्याजदर ज्यादै न्यून हुन्छ । सस्तो ब्याजदरले नै त्यहाँको अर्थतन्त्रलाई थप गति दिएको देखिन्छ । तर, नेपालमा व्यवसायीले बारम्बार कर्जाको ब्याजदर बढी भयो भन्ने गुनासो गरेको पाइन्छ । उदार अर्थतन्त्र अपनाएको हुँदा सरकार वा राष्ट्र बैंकले प्रत्यक्ष हस्तक्षेप गरेर ब्याजदर कम गर्न मिल्दैन । तर, उपयुक्त रणनीति अपनाउन सके ब्याजदर कम गर्न नसकिने भने होइन । त्यसका लागि विभिन्न उपकरण र रणनीति आवश्यक हुन्छ जसका लागि केन्द्रीय बैंकले विशेष भूमिका खेल्नुपर्ने हुन्छ । अर्थतन्त्रलाई गति दिन र स्वस्थ बनाउन निक्षेपमा ब्याजदर बढ्नुपर्छ र कर्जामा घट्नुपर्छ । यसले एकातिर बचतलाई प्रोत्साहित गर्छ भने अर्कातिर लगानीको अवसर दिन्छ । पैसा जति सस्तोमा पाइन्छ त्यति नै मुनाफा बढी पाउन सकिने भएकाले लगानी पनि बढ्छ । ब्याजदर कम गर्नका लागि यथाशक्य ब्याजदर अन्तरलाई शून्यको नजिकमा ल्याउनुपर्छ । निक्षेप र कर्जाको ब्याजदरमा अन्तर जति कम हुन्छ त्यति नै दुवै पक्ष लाभान्वित हुन सक्छन् । ब्याजदर अन्तरलाई शून्यको नजिक ल्याउनै नसकिने होइन । तर, कतिपयले, नियामकहरूले समेत, यसो हुन असम्भव भन्ने सोच राख्ने गरेको पाइन्छ । त्यो कसरी गर्न सकिन्छ भन्नेतर्फ खोजी खोजी गर्ने हो भने यसका उदाहरणहरू विभिन्न देशहरूबाट पाउन सकिन्छ । उद्योगी व्यवसायीले कर्जाको ब्याजदर घटाउन सरकारसँग हारगुहार गरेका छन् । तर, ब्याजदर अन्तर कम गर्न के गर्न सकिन्छ भन्नेबारे कुनै सुझाव दिएको चाहिँ पाइँदैन । त्यसैले अब राष्ट्र बैंक, बैंकर र व्यवसायीहरू सबैले मिलेर यस्ता उपायको खोजी गर्नुपर्छ । कोरोना संकटबाट प्रभावित अर्थतन्त्रलाई बिउँताउन अरू उपायका साथै ब्याजदर घटाउनु पनि आवश्यक छ । के गरेर ब्याजदर घटाउन सकिन्छ त्यतातिर राष्ट्र बैंकको ध्यान जानुपर्छ । राष्ट्र बैंक मौद्रिक नीतिका तयारीमा जुटेको छ । आगामी मौद्रिक नीतिले त्यसप्रति प्रयास गरेको छनक देखिनुपर्‍यो । कर्जा रासनिङ गर्ने, निर्देशित कर्जा नीति, ब्याजदरमा तल्लो र माथिल्लो सीमा प्रशासनिक आदेशबाट निर्धारण आदि जस्ता कुरामा नै मौद्रिक नीतिको ध्यान गइरहेको उदाहरण नेपालको मौद्रिक नीतिको इतिहासमा पाइन्छ । यही परम्परागत ढर्रालाई अझै अवलम्वन गरेर अहिलेका चुनौतीहरूलाई सम्बोधन गर्न सकिँदैन । हुन त नेपाल राष्ट्र बैंकले स्वतन्त्र रूपले मौद्रिक नीति ल्याउन पाएको छैन । यसमा सरकारी हस्तक्षेप हुने क्रम वर्षेनि बढिरहेको छ । त्यसैले पूर्वगभर्नरहरूले सरकारको छाया मौद्रिक नीतिमा देखिन नहुने बताएका छन् । राष्ट्र बैंकको यसको स्वायत्तता जोगाउन राष्ट्र बैंकका गभर्नरको भूमिका बढी हुन्छ । भर्खरै भएको सरकार परिवर्तनले यस वर्षको मौद्रिक नीतिमा ढिलाइ हुने संकेत पाइएको छ । यसको अर्थ वर्तमान सरकारले पनि यस्तो हस्तक्षेप जारी राखेको भन्ने हो । त्यसो नगरी राष्ट्र बैंकले स्वतन्त्र रूपमा मौद्रिक नीति ल्याउन पाउनुपर्छ । अहिलेका लागि ब्याजदर अन्तर कम गर्न सकिने उपायहरूको खोजीमै लागेर ती उपकरणमार्फत यो समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले हिम्मत गर्नुपर्छ ।

राष्ट्र बैंक मौद्रिक नीति तयार पार्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि मौद्रिक नीति तयारीमा जुटेको छ । साउन पहिलो सातातिर नीति सार्वजनिक गर्ने गरी तयारी थालेको राष्ट्र बैंकले दर्जनौं संघसंस्था र व्यक्तिगत तवरले प्राप्त रायसुझावमाथि अध्ययन गरिरहेको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले हालसम्म प्राप्त सुझावलाई अध्ययन गरेर प्रारम्भिक चरणको काम थालेको जानकारी दिए । ‘अहिले मौद्रिक नीतिको चटारो छ । सरकारी, निजी संघसंस्थाले लिखित सुझाव दिएका छन् र अझै दिँदै छन् । नीतिको तयारी शुरू भइसकेको छ तैपनि महŒवपूर्ण सुझाव आए समेटिन सकिन्छ,’ उनले भने । सरोकारवालाले दिएका सुझावलाई आर्थिक अनुसन्धान विभागले प्रारम्भिक ड्राफ्ट तयार गर्ने काम शुरू गरेको विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले जानकारी दिए । ‘अधिकांश सुझाव दोहोरिएका छन् र जस्तोसुकै माग राखे पनि मौद्रिक नीति विशेष कर्जा र ब्याजदरमा केन्द्रित हुनेछ,’ उनले भने । उनका अनुसार अधिकांश संघसंगठनले कोभिडको दोस्रो लहरबाट व्यवसाय प्रभावित भएको भन्दै पुनःसंरचना/पुनर्तालिकीकरणको व्यवस्था गर्न सुझाव दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले पनि यस्तो व्यवस्था गरेको थियो । यसपटक पनि पुनर्तालीकीकरण तथा पुनःसंरचनालाई समेट्ने सम्भावना अधिक भएको उनको भनाइ छ । चालू आवमा पनि कोभिडको दोस्रो लहरले समग्र उद्यम, व्यवसायमा प्रभाव पारेकाले आगामीे मौद्रिक नीतिमा तयारी गर्न विभिन्न अध्ययन तथा सर्वेक्षणलाई समेत समेट्ने कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । ‘आव २०७७/७८ मा झैं साउन पहिलो सातातिर सार्वजनिक हुने मौद्रिक नीतिमा सर्वेक्षण र अध्ययनबाट आएको नतिजालाई समेत प्राथमिकता दिएका छौं,’ उनले भने । पछिल्लो समय केन्द्रीय बैंकले विसं २०७७ असार, मङ्सिर र वैशाखमा ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’ सम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो । फरकफरक अवधिमा गरेको यस्तो अध्ययनले तुलनात्मक रूपमा उद्योग तथा व्यवसायको अवस्थाबारे चित्रण गरेको थियो । कोभिड–१९ शुरू भएदेखि यसले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणको निम्ति नेपाल राष्ट्र बैंकबाट विभिन्न प्रयास भएका छन् । बैंकिङ तथा वित्तीय सेवालाई सहज रूपमा सुचारु राख्न र कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरलाई केन्द्रीय बैंकले सूक्ष्म ढंगले विभिन्न अध्ययन गर्‍यो । मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै सम्बद्ध सबैलाई सहज हुनेगरी विभिन्न नीतिगत व्यवस्थासमेत कार्यान्वयनमा ल्याएको पनि छ । मौद्रिक नीति तयारीको प्रक्रिया सरोकारवालाले दिएको सुझावलाई आर्थिक अनुसन्धान विभागले ड्राफ्ट तयार गर्छ । यसपछि विभिन्न विभागसँग छलफल गर्छ । सम्बद्ध विभागबाट लिखित प्रतिक्रिया पनि माग्छ । यसपछि तयार पारेको मौद्रिक नीतिको खाकामाथि राष्ट्र बैंकको उच्च व्यवस्थापन समितिमा छलफल हुन्छ । उक्त छलफलपछि उच्च व्यवस्थापनले राष्ट्र बैंकको सञ्चालक समितिमा पठाउँछ । सञ्चालक समितिले बुँदागत रूपमा छलफल गर्दै अन्तिम रूप दिन्छ । यसपछि तयार भएको मौद्रिक नीतिलाई राष्ट्र बैंकका गभर्नरले सार्वजनिक गर्ने गर्छन् ।

ब्याजदरको किचलो र ऋणपत्र

राष्ट्र बैंकले बैंकहरूलाई आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरे पनि सबै बैैंकले यसको पालना गरेको पाइँदैन । राष्ट्र बैंकले यसका लागि दिएका समयसीमा बाँकी रहे पनि अहिले जति ऋणपत्र जारी भएको छ त्यो अपर्याप्त देखिन्छ । ब्याजदरमा स्थायित्वका लागि ल्याइएको यो उपकरण प्रयोगमा बैंकहरू किन उत्साहित हुन नसकेका होलान् ? ऋणपत्रबारे राष्ट्र बैंकको निर्देशन नै अपुरो छ । ब्याजदर घटाउन र ब्याजदर स्थायित्वका लागि ऋणपत्र निकाल्न भनेको हो । तर, चुक्ता पूँजीको २५ प्रतिशत मात्र उठाए पुग्ने भन्ने निर्देशनले त्यो उद्देश्य प्राप्त हुँदैन । बैंकले पैसाको कारोबार गर्ने हो । बैंकले गर्ने लगानीमा निक्षेपको अंश अत्यधिक रहेको पाइन्छ । तर, निक्षेपको रकम अल्प अवधिको हुन्छ । त्यसैले यसको ब्याजदर निकै चाँडो परिवर्तन हुन्छ । बजारमा तरलतामा दबाब पर्नेबित्तिकै निक्षेपको ब्याजदर बढाउन बैंकहरूबीच प्रतिस्पर्धा हुन्छ । यसबाट बैंकको कस्ट अफ फन्ड महँगो पर्छ र ऋणमा पनि ब्याज बढाउनुपर्ने बाध्यता हुन्छ । यही कारण नेपालको बैंकिङमा ब्याजदरको किचलो सधैंको समस्या बनिरहेको छ । यही समस्यालाई कम गर्न बैंकहरूलाई दीर्घकालीन स्रोतको जोहो गर्नका लागि ऋणपत्र अनिवार्य गरिएको हो । चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने भए पनि कतिपय बैंकले यो सीमा पुर्‍याएका छैनन् । चारओटा बैंकले त ऋणपत्र जारी नै गरेका छैनन् । राष्ट्र बैंकले दिएको समयसीमा बाँकी छ भन्ने तर्क गरिन्छ तर खासमा उनीहरू यस्तो दीर्घकालीन स्रोतका लागि अनिच्छुक भएका हुन् । जुन बैंकको आधार दर नै धेरै कम रहने गरेको छ त्यस्तो बैंक बजारमा चलेको ब्याजदरमा ऋणपत्र जारी गरेर रकम जुटाउन इच्छुक नहुनु स्वाभाविक हो । तर, जसको कस्ट अफ फन्ड बढी छ तिनले ऋणपत्र जारी गर्न किन नचाहेका हुन् ? कि नसकेका हुन् ? विचारणीय छ । यसमा राष्ट्र बैंकको मौनता पनि अचम्मलाग्दो छ । बैंकले ऋणपत्रका लागि क्रेडिट रेटिङ गराउन नसकेको हो वा बैंकको अवस्था राम्रो नभएकाले राष्ट्र बैंकले नै त्यसको स्वीकृति नदिएको हो आशंका गर्ने ठाउँ छ । ऋणपत्रबारे राष्ट्र बैंकको निर्देशन नै अपुरो छ । ब्याजदर घटाउन र ब्याजदर स्थायित्वका लागि ऋणपत्र निकाल्न भनेको हो । तर, चुक्ता पूँ“जीको २५ प्रतिशत मात्र उठाए पुग्ने भन्ने निर्देशनले त्यो उद्देश्य प्राप्त हुँदैन । बैंकसँग ऋण दिने फन्ड चुक्ता पूँजीभन्दा कैयौं गुणा बढी हुन्छ । जति निक्षेप छ त्यसको २५ प्रतिशत ऋणपत्रबाट उठाउन पर्ने भनेको भएचाहिँ ब्याजदर स्थायित्व हुन्थ्यो । त्यही पनि बैंकहरूले टेरेनन् । ब्याजदर स्थायित्वतिर बैंक जान नमानेको संकेत हो, यो । राष्ट्र बैंकले अब अर्को कुन उपाय ल्याएर ब्याजदर स्थायित्व गर्ला ? तरलतामा चाप नपरेकाले केही समय अघिसम्म ब्याजदर निकै तल झरेको थियो । यस्तो बेला ऋणपत्र जारी गर्दा बैंकको कस्ट अफ फन्ड सस्तो पर्न जान्थ्यो । त्यसैले त्योे ऋणपत्र विक्री गर्ने उचित समय थियो । तर, अझै पनि समय पूरै घर्किसकेको छैन । यस विधिबाट रकम उठाउँदा बैंकहरूलाई ८/१० वर्षका लागि स्थिर ब्याजदरमा लगानीयोग्य रकम प्राप्त हुन्छ । यसबाट ऋणपत्र किन्ने र बेच्ने दुवै लाभान्वित हुन सक्छन् । ऋणपत्र विक्री अनिवार्य गर्दा ऋणपत्रको बजारलाई चलायमान बनाउन पनि सहज हुन्छ । पूँजी बजारको विविधीकरणमा सहयोग पुग्छ । विकास बैंक र वित्त कम्पनीहरूले लगानीयोग्य रकम अपुग भएको भन्दै मौद्रिक नीतिमार्फत हकप्रद शेयर जारी गर्न दिनुपर्ने माग गरेका छन् । हकप्रद शेयर जारी गरेर पूँजी संकलन गर्नुभन्दा ऋणपत्रबाट लगानीयोग्य रकम जम्मा गर्नु पूँजीबजारका लागि बढी उपयुक्त हुन्छ । ब्याजदर घटेको बेलामा ऋणपत्र निकालेको भए कम ब्याजदरमा ऋणपत्र बिक्थ्यो । बैंकहरूलाई यही बेला नियामक निकायले दबाब दिनुपथ्र्यो । तर, राष्ट्र बैंक ब्याजदरमा स्थायित्व दिने यो अवसरको उपयोग गर्न आवश्यक ठानेको देखिएन । यस्तोमा राष्ट्र बैंकले ब्याजदरको विवाद समाधान गर्न कस्तो मौद्रिक नीति ल्याउला भन्ने चासो हुनु स्वाभाविक हो ।