वैशाख २७, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकाले कोभिड अस्थाई अस्पतालमा चौविसै घण्टा स्वास्थ्यकर्मी खटाएको छ । पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुवरको नेतृत्वमा एक डाक्टर सहित पाँच जना स्वास्थ्यकर्मी खटाएको छ ।
यसैगरी डिलासैनी गाउँपालिकाले पनि हेल्थ असिस्टेनटको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी खटाएको गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत पंख बहादुर शाहले बताए । ‘कोभिड अस्पतालमा चौविसै घण्टा स्वास्थ्यकर्मी खटाएका छौँ’ अधिकृत शाहले भने ।
डिलासैनीले गाउँपालिकाका अध्यक्ष उपाध्याक्ष चढ्ने गाडीलाई बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले ९ ओटा अक्सिजन सिलीन्डर सहितको १० बेडको कोभिड अस्पताल निर्माण गरेको डिलासैनी गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए ।
पुर्चौडीले नगरपालिका भित्र दिनहुँ संक्रमितको संख्या बढ्दै गएकाले कोभिड अस्थाइ अस्पतालमा चौविसै घण्टा डाक्टर सहित स्वास्थ्यकर्मी खटाएको नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुवरले बताए । ‘अहिले अक्सिजनको आवश्यकता पर्ने ४ जना कोभिडका बिरामी अस्पतालमा भर्ना भएका छन् हामी उनीहरुकै उपचारमा खटिएका छौ’ संयोजक कुवरले भने ।
नगरपालिकाको कोभिड अस्पतालमा अक्सिजन सहितका ५ बेड रहेका छन् । अहिले नगरपालिकाले दुई जीप भाडामा लिएर बिरामी बोक्न प्रयोग गरिरहेको नगरपालिकाकी उपप्रमुख जानकी बम ऐरले बताइन् । उनले भनिन् ‘नगरपालिकाको पुरानो एम्बुलेन्स मर्मत गर्न नसकिने गरि बिग्रेकाले तत्कालको समस्या समाधानको लागि गाडी भाडामा लिएर बिरामी बोक्न प्रयोग गरेका हौँ ।’
नगरपालिकाले ३० कोठे आइसोलेशन कक्ष पनि निर्माण गरेको छ । अहिले नगरपालिकाभित्र ३६ जना कोरोनाका सक्रीय संक्रमित रहेका छन् । बैतडीमा आइतवारसम्म ६०६ जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीले बताएको छ ।