वैशाख २९, दाङ । दाङमा एक नवविवाहित जोडिले विवाह खर्च कटाएर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ५१ ह्जार रुपैयाँ सहयोग गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर निवासी अविनाश राना र सिर्जना राना कँुवरले आफ्नो विवाहको खर्च कटाएर अक्सिजन सिलिन्डर खरीद गर्न लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उक्त रकम सहयोग गरेका हुन् ।
जिल्लामा हाल कोरोनाका संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था रहेका कारण यसमा केहि सहयोग पुगोस भनेर आफूहरुले विवाहको खर्च कटाएर सो रकम सहयोग गरेको ती नवदम्पतीले बताए ।
उनीहरु बीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विवाह भएको थियो । नवविवाहित जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारी, अस्पताल निर्देशक डा प्रज्ञा बस्नेत, कामु रजिष्टार झङ्कार लामिछानेलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
उपकुलपती भण्डारीले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरीदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिंदै वैवाहिक बन्धनमा बाँधिएकोमा सफल दाम्पत्य जीवनको बधाई तथा शुभकामना दिएकी छन् ।