पुस २२, काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ पुस २३ गते शुक्रवारदेखि परिपक्व हुँदैछ ।
नेपाल धितोपत्र बोर्डबाट २०७१ साल कात्तिक ३० गते सञ्चालनको अनुमति प्राप्त गरेको उक्त योजना २०७१ साल पुस २३ गतेदेखि सञ्चालनमा आएको हो । सात वर्षे अवधिको बन्दमुखी योजनाका इकाईधनीहरु धितोपत्र दोस्रो बजारमा पनि खरीदविक्री गर्न सकिने गरी सूचीकृत भएको थियो ।
योजनाको इकाई खरीदविक्री गर्ने बिहीवार अन्तिम दिन रहेको छ । यसपछि योजनाको इकाई धितोपत्र दोस्रो बजारबाट खारेजी प्रक्रियामा जानेछ । योजना परिपक्व भएपछि योजना व्यवस्थापकले सार्वजनिक सूचना जारी गरी इकाईधनीहरुलाई पैसा फिर्ता गर्नेछ । योजना परिपक्व हुँदासम्मको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई आफ्नो इकाई बमोजिमको रकम फिर्ता हुनेछ ।
उक्त योजनाले प्रतिइकाई रू. १० अंकित दरको रू. १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको थियो । इकाई बाँडफाँट गरेको दोस्रो आर्थिक वर्ष २०७२/ ७३ देखिनै योजनाले प्रतिफल वितरण गरेको तथ्याङ्क रहेको छ । पहिलो वर्ष प्रतिफल प्राप्त नगरेका उक्त योजनाका इकाईधनीहरुले ६ वर्षमा भने कुल ९८ दशमलव ५ प्रतिशत प्रतिफल प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७२/ ७३ को मुनाफाबाट १५ प्रतिशत प्रतिफल वितरण गरेको योजनाले त्यसपछिको वर्ष क्रमश : १८ प्रतिशत, १२ प्रतिशत, ६ दशमलव ५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत प्रतिफल वितरण गरेको हो । योजना परिपक्क हुने वर्ष सर्वाधिक ३५ प्रतिशत प्रतिफल वितरण गर्न योजना सफल भएको हो ।
मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १२ दशमलव ६२ रहेको छ । त्यस अवधिसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य बैंक मुद्दती निक्षेपसहित रू. १ अर्ब १४ करोड ८ लाख ५१ हजार छ ।
उक्त योजनाले मंसिर मसान्तसम्म रू. १ करोड २२ लाख १६ हजार नाफा गरेको छ । योजनाको खुद सम्पत्ति मंसिर मसान्तसम्म रू. १ अर्ब २६ करोड १९ लाख ८ हजार रहेको छ ।