बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले हालै वित्तीय क्षेत्रको विद्यमान तरलता समस्यासम्बन्धी गरेको एक अध्ययन सार्वजनिक गरेसँगै यो अध्ययनले विगतका केही नीतिगत कमजोरीमाथि परोक्षरूपमा प्रहार भएको अनुभूत हुन्छ । त्यसमा अन्य विषयका अतिरिक्त खास गरेर अहिलेको यो तरलतासम्बन्धी भनिएको समस्याको मूल चुरो अर्थात् त्यस्तो समस्या ल्याउनमा मूलत: केन्द्रीय बैंकले विगतमा ल्याएको बैंक वित्तीय संस्थाहरूको पूँजी वृद्धिको नीतिमाथि नै ‘ब्याकफायर’ गरिएको चाहिँ केही असहज देखिन्छ । अध्ययनले भनेअनुसार मान्ने हो भने केन्द्रीय बैंकले २ वर्षको समयसीमा दिएर चार चार गुणाले पूँजी वृद्धि गर्नुपरेका कारण नै बैंक वित्तीय संस्थाहरूले त्यसयता कर्जा प्रवाहमा आक्रामक रणनीति लिँदा अहिलेको तरलता समस्या आएको हो भन्ने अर्थ लाग्छ । नेपालको वित्तीय क्षेत्रमा केही महीनायता देखिँदै आएको तरलता समस्या (समस्या नै त होइन, यो बैंकहरूसित तत्काललाई लगानीयोग्य रकमको अभाव हुनु मात्र हो) लाई केही अर्थमा सम्बोधन गर्ने उद्देश्यले आएको यो अध्ययनले कतिपय राम्रै सुझावहरू पनि सुझाएको देखिन्छ । तथापि, यस आलेखमा भने त्यसले औंल्याएको केन्द्रीय बैंकले ल्याएको पूँजी वृद्धिको नीतिबाट उत्पन्न वर्तमान जटिलताप्रति लक्षित भनिएका विषयमाथि मात्र केन्द्रित रहनेछ ।
वर्तमान तरलताको समस्या अहिले एकै दिनको उपज भने पक्कै होइन । यो बैंक वित्तीय संस्थाहरूको विगत केही वर्षयताकै निक्षेप र कर्जा परिचालनबीच तालमेल मिलाएर लैजान नसक्नुकै परिणति हो ।
नेपाल उद्योग परिसंघअन्तर्गत आबद्ध सिबिफिन जसको स्थापना, खास गरेर मौजुदा नेपाल बैंकर्स संघले बैंकका अध्यक्षलगायत सञ्चालकहरूलाई नसमेट्ने हुँदा बैंक र वित्तीय संस्थाहरूका केही अध्यक्षलगायत सञ्चालक मिली खोलिएको संस्था हो भनेर अहिलेसम्म बुझिने गरेको छ । तर, यसमा सबै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष छन् जस्तो लाग्दैन । उदाहरणार्थ : स्ट्यान्डर्ड चार्टर्ड बैंकले यसको सदस्यता लिएको छैन । मूलत: यी दुई संस्थामा सिबिफिनलाई बैंकका अध्यक्ष र सञ्चालकहरूको फोरम र बैंकर्स संघलाई सीईओहरूको फोरमका रूपमा बुझिँदै आएको पनि छ । संस्था जोसुकैका होऊन् मूलत: अहिलेको सान्दर्भिक विषयमाथि अध्ययन गरिनुलाई अन्यथा भन्न नमिल्ला । जसले गरेको भए पनि ती सार्वजनिक सरोकारका र खास गरेर मौद्रिक नीति निर्माताहरूका लागि उपयोगी हुने कुरा हो । तरलता समस्याको निदानमा अहिले केन्द्रीय बैंकका विभिन्न रणनीति र उपायहरू खासै प्रभावकारी बन्न नसकिरहेको परिप्रेक्ष्यमा यस खाले प्राज्ञिक अध्ययनले केही माने राख्दछ पनि । त्यसो त वर्तमान तरलताको समस्या अहिले एकै दिनको उपज भने पक्कै होइन । यो बैंक वित्तीय संस्थाहरूको विगत केही वर्षयताकै निक्षेप र कर्जा परिचालनबीच तालमेल मिलाएर लैजान नसक्नुकै परिणति हो । निक्षेपमा अनाकर्षक ब्याजदर त्यसमा धेरै कारक रह्यो, जसप्रति बैंकहरू कहिल्यै संवेदनशील रहेनन् । विकास खर्चप्रति सरकारकै उदासीनता अर्को मुख्य कारक रह्यो भने उपभोग संस्कृतिमा आएको परिवर्तन र त्यसमा देखिएका विकृतिलाई बेलैमा नियन्त्रणतर्फ सकारात्मक कदम नचालिनुले पनि विपे्रषणमुखी आयको समुचित उपयोग हुन नसकेकै हो । यसले तरलताका समस्यालाई झनै बल पुग्न गयो । बैंकहरू भनेका विश्वासमा चल्ने संस्था हुन् र निक्षेपकर्तालाई बैंककै ब्याजदरमाथि भरोसा र विश्वास रहेन भने त्यहाँ तरलताको समस्या ननिम्तिने प्रश्नै आउँदैन भन्ने मूल कुरो नै वित्तीय संस्थाहरूले बिर्सिए । यसका अतिरिक्त केन्द्रीय बैंकले त्यसबेला ल्याएको पूँजी वृद्धिको नीतिले बैंकहरूलाई आक्रामक कर्जा लगानीमा जानुपर्ने केही बाध्यता पर्यो होला । तर, त्यो नै सबै यथार्थ भने होइन । किनभने बैंकको पूँजी निक्षेपका तुलनामा धेरै थोरै अंश हुने गर्छ । अर्थात् अहिले नै पनि ४८ खर्ब ७५ अर्बको निक्षेप (२०७८ माघ २३, स्रोत : नेराबैंक) बैंक वित्तीय संस्थाहरूसित रहेको छ । हाल पूँजी भनेको जोखिम सम्पत्तिको ११ प्रतिशत राखे हुने (बफर पूँजीका लागि अतिरिक्त २ प्रतिशतबाहेक, कोभिडका कारण हाल त्यो स्थगन भएको छ) अवस्था हो । त्यसो भनिरहँदा बैंकहरू पूँजी थोरै भए पनि हुने र निक्षेप धेरै राखेर चल्ने, चलिआएका संस्थाहरू हुन् भन्ने बुभ्mनुपर्छ, बुझिँदै आएको पनि हो । पूँजी परिचालनभन्दा बचत परिचालन तिनका अभीष्ट हुनुपर्छ भन्ने नै हो । हो, सधैं त्यो प्रभावी हुनुपर्छ भन्ने छैन । तर, नेपालको सन्दर्भमा गैरनिक्षेपका प्रडक्ट उति सहज र प्रभावी देखिइसकेको छैन । उदाहरणका लागि ऋणपत्रलाई लिन सकिन्छ । यसैले ४ वर्ष (दिइएको समय २ वर्ष भए पनि कतिपयका हकमा ४ वर्ष लागेको) को समयमा कुनै अमुक बैंकको ५/६ अर्बको पूँजी बढेकै आधारमा बैंकहरू आक्रामक रूपले कर्जा विस्तारमा लाग्नुपर्ने अवस्था आयो र त्यसैका कारण अहिले तरलताको समस्या आयो भन्नु तर्कयुक्त हुँदैन ।
विगत ५/६ वर्षको अन्तरालमा बैंक वित्तीय संस्थाको कुल पूँजी रू. २ खर्ब १५ अर्ब ( २०७३ असार) बाट बढेर २०७८ पुससम्ममा रू. ६ खर्ब १९ अर्ब पुगेको छ । यसमध्ये चुक्ता पूँजीको अंश १ खर्ब ६३ अर्बबाट बढेर ३ खर्ब ७७ अर्ब पुगेको हो अर्थात् यसबीच करीब रू. २ खर्ब १४ अर्बको पूँजी वृद्धि भएको हो । निक्षेपको तुलनामा बैंकहरूको वर्तमान कुल पूँजीको अंश करीब १२ दशमलव ५ प्रतिशत रहेको परिप्रेक्ष्यमा बैंक वित्तीय संस्थाहरूले पूँजीभन्दा करीब ८८ प्रतिशत बढी निक्षेप परिचालन गरिआएकाले तिनको व्यवसाय अब पूँजीले चलेको भन्न नमिल्ला । प्रतिफल मात्र हेर्ने होइन, बैंकहरूले त लगानीको सुरक्षा पनि उत्तिकै हेर्नुपर्छ । यस्तो अवस्थामा पूँजीको प्रतिफलकै लागि बैंकहरू विगतमा आक्रामक कर्जा विस्तारमा लागे र त्यसको परिणति हालको तरलता अभावको समस्या हो भन्नेजस्ता तर्कलाई प्रतिवेदनले अगाडि सार्नु विवेकसम्मत लाग्दैन । केही हदमा त्यो नीति कारक बनेको हुनसक्छ । तर, बैंकहरूमा पूँजीको आधार बलियो भने हुनैपर्छ । त्यसका लागि हाल तोकिएको ८ अर्बको पूँजी धेरै होइन । हो, त्यो बेलामा पूँजी पुर्याउन दिइएको समयसीमा निर्धारणमा भने केन्द्रीय बैंक चुकेकै हो ।
कमसेकम केन्द्रीय बैंकले त्यो समयलाई हठात् र अल्प अवधिको नदिएर ५ वर्षको सीमा दिएको भए पनि कुनै पहिरो जानेवाला थिएन । एकातिर बैंकहरूबाट आक्रामक कर्जा विस्तार भयो पनि भन्ने अर्कातिर त्यस्तो आक्रामक कर्जा विस्तारमा बैंकका सञ्चालक समितिचाहिँ के रमिते मात्र बनेर बसेका थिए ? भन्ने अर्को प्रतिप्रश्न पनि योसितै जोडिएर आएको छ । बैंकहरूकै अध्यक्ष सम्मिलित यो अध्ययन प्रतिवेदनले सार्वजनिक गरेका कतिपय विषय हेर्दा के लाग्छ भने कतै यो प्रतिवेदनले बैंक व्यवस्थापनमाथि मात्र समस्या आउनुका कारकहरू थोपर्न खोजिएको त होइन ? अब त्यस्तो व्यवस्थापनलाई समयमै दिशानिर्देश गर्ने कामचाहिँ कसको थियो त ? यी प्रश्नहरू निरुत्तर नै छन् ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।