नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताए । गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने बताए ।उनले भने ‘मलाई कताकता लाग्छ हामी यस्तो बेला परिएछ संसार भरका अर्थशास्त्रीले निकालेका सिद्धान्तहरुका प्रयोग यतिबेला नै गर्न पाइने जस्तो भइरहेको छ । व्यवहारिक हिसावले त्यो अवस्था छ । सबैले अर्थतन्त्रका सबै सूचकको विषयमा जानकारी नै हुनुहुन्छ । उद्योग व्यवसायमा लाग्ने साथीहरुले दबाब र सहज दुवै महशुस गर्नुभएको छ । हामी मौद्रिक नीतिको तयारीमा छौं । मौद्रिक नीति असारको अन्त्यमा ल्याउँछौं नसके साउन महिनाको पहिलो साता ल्याउने तयारीमा छौं । मौद्रिक नीति सकेसम्म अहिले अर्थतन्त्रमा परेको प्रभावलाई निकास दिनेगरी कसरी ल्याउन सकिन्छ भन्ने हिसावले ल्याउने तयारी छ । मौद्रिक नीतिले करको विषयमा केही गर्दैन ।’गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै जाने अवस्था भइरहेको बताए । उनले पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताए । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गरे । उनले अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको बताए । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनको भनाई छ । उनले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने बताए । गभर्नर अधिकारीले सरकार,राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले मौद्रिक नीतिहरु सर्पपनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको बताए । गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गरे । उनले मौद्रिक नीति ल्याउँदा व्यक्ति व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज , समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायीत्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको बताए । गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै ११२÷१३ अर्बको रिफाइनान्स,झन्डै २५० को एससेलएफ सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताए ।उनले भने ,‘अहिले हाम्रो अर्थतन्त्रमा सेभिङमा कमजोर हुँदै जाने, खर्चहरु बढ्दै जाने अवस्था छ । व्यक्तिगत र समाजको खर्च गर्ने आनीबानीको सवालमा पनि सकारात्मक बदलाव आएको छैन । त्यसले आयातमुखी अर्थतन्त्र बनाएको छ । त्यसले गर्दा आयातमुखी अर्थतन्त्र रहेको र त्यसको असर स्वरुप हामीलाई वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढीरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएको,आयात निरन्तर बढेको अवस्था छ । निर्यातले नधानेको अवस्था छ । रेमिटेन्स बढेको भए पनि आयातले नधानेको अवस्था छ । त्यसको असर स्वरुप यो वर्ष देशबाट करिव करिव ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको छ । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने हुन्छ । त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने भैरहेको छ, जसले बैंकिङ प्रणालीमा तरलताको समस्या भयो । राष्ट्र बैंकले त्यस्तो सबै पैसा यहीँ राख्ने कुरा हुन्न, बाहिर लगानी पनि गरिरहेको हुन्छ । बैंक तथा वित्तिय संस्थाहरु अलिकति ‘टाइट’ हुँदै गएपछि मार्केटको सिद्धान्त अर्थात माग र आपूर्तिको सिद्धान्त अनुसार नै अघि बढ्ने हो । बेसरेट पनि अझै प्रि कोभिडको लेभलमा पुगेको छैन्, कर्जाको एभरेज रेट पनि प्रि कोभिडको अवस्थामा पुगेको छैन । कर्जाको एभरेज रेट प्रि कोभिडमा पुगेको छैन । तर संकेतहरु भने बेस रेट र कर्जाको रेट अझै यो भन्दा पनि माथि जाने खालको देखाइरहको छ । त्यसकारण अब सबैले कही सहनुपर्ने अवस्था बजारले ल्याइरहेको छ । अर्थतन्त्रले ल्याइरहेको छ । अब हामी सबैले मिलेर अर्थतन्त्रलाई ट्रयाकमा राख्नुपर्नेछ । हाम्रा नीतिहरु यस्ता हुन् जसले गर्दा सर्प पनि मरोस, लठ्ठी पनि नभाँचियोस भन्ने लाइनबाट हामी अघि जानुपर्नेछ । हामी मौद्रिक नीतिको तयारीमा छौं । नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा हो । हामीले गत वर्ष ल्याएका प्रत्येक मौद्रिक नीति अहिले प्रमाणित भइरहेका छन् । हामीले रिसोर्सलाई हेरेर जाऔं भनेका छौं । अगाडिको वर्ष देखि हामी कति माइक्रो लेभलसम्म जाने प्रत्येक व्यक्तिगत कर्जासम्म जाने,यहाँ मानिसहरु रिसोर्सलाई नहेरी माग गरिरहेका छन् । केहि व्यक्तिलाई हेरेर कारवाही नगरि उल्टै नीति बदल्ने काम भयो भन्ने पनि छ । हामी कति माइक्रो लेभलसम्म जाने भन्नेबारे पनि हेरिरहेका छौं । राष्ट्र बैंकले ल्याउने हरेक पोलिसीलाई ब्रोड लेभलमा हेरेर अघि सारेका हुन्छ । व्यक्ति व्यक्तिको पछि लागेर सम्भव पनि हुन्न । भोलि मार्केटलाई पनि एक किसिममा सहजता मिलोस् र समग्र अर्थतन्त्रलाई पनि सहित ट्रयाकमा राख्न सकियोस् । पूरै प्रणालीलाई स्थायीत्व दिन सकियोस, त्यस्तो मौद्रिक नीतिका लागि राष्ट्र बैंकले तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले झण्डै ११२÷१३ अर्बको रिफाइनान्स,झण्डै २५०को एससेलएफ सुविधा बैंकिङ क्षेत्रलाई उपलब्ध गराएको छ । तरलता सहजता बनाउनको लागि साढे ३ खर्बको रकम बैंकहरुलाई दिएको छ ।’गभर्नर अधिकारीले बैंकहरुमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताए । उनले राष्ट्र बैंक र बैंकहरुले त्यस्तो नीति नल्याएकाले १० लाख भन्दा बढी पैसा राख्नहुन्न भन्न नमिल्ने बताए । गभर्नर अधिकारी बैंकले टिटिआर रिपोर्ट अर्थात बैंकको ग्राहकले एक दिनमा १० लाख पैसा जम्मा ग¥यो भन्नको लागि कारण खुलाउनुपर्ने बताए । उनले अहिले १० लाख भन्दा बढी पैसा बैंकमा जम्मा गर्नहुन्न भनेर ९ लाख ९९ हजार तीन पटकसम्म गरेर जम्मा गर्ने अभ्यास कसैले नगर्न आग्रह गरे ।उनले भने ,‘बैंकमा पैसा जम्मा गर्दा सोर्स खोज्ने विषयमा बैंकले आएको पैसा जम्मा गर्छ । बैंकमा पैसा जम्मा गर्दा १० लाख जम्मा गर्दा बैंकले रिसोर्स खोज्न सक्छ । कसरी के काम गरेर धेरै पैसा जम्मा गर्नुभयो । पैसा जम्मा नगर्ने भन्ने हुँदैन । व्यवसायीहरुलाई कम्फयुजन हुनुभए जस्तो छ । १० लाख भन्दा बढी पनि जम्मा गर्न पाउनुहुन्छ । कारोबार गर्दा क्यासमा कारोबार हुन सक्छ । ५० लाख पनि जम्मा गर्न पाउनुहुन्छ । बैंकमा १० लाख भन्दा बढी जम्मा हुँदै गर्दा टिटिआर रिर्पोट भन्छ । त्यस्तै धेरै पैसा दिनैपच्छिे जम्मा गदै जाँदा टिटिआर रिर्पोटको आधारमा खोज्नसक्छ तर अहिले सम्म बैंकको टिटिआरको रिपोर्टको आधारमा कारबाही गरेको छैन । पैसा जम्मा गर्नु हुँदैन भन्ने विषय पनि होइन । १० लाख भन्दा बढी पैसा जम्मा गर्नुहुन्न भनेर ९ लाख ९९ हजार जम्मा गर्ने अभ्यास नै नगर्न होला । बैंकको टिटिआर रिपोर्टबाट एसटिआरमा जान सक्छ । शंकास्पद हुन्छ । १० लाख भन्दा माथि पैसा जम्मा गर्नुहुन्न भने कुरा बिल्कुल होइनन् । हामी के कुरामा शतर्क हुनुप¥यो भने इलिगल पैसा कमाउने कुरामा शतर्क हुनुपर्छ । कमाउनु भएन । त्यसलाई बैंकिङ च्यानलमार्फत बाहिर ल्याउँछु भन्ने कुरा सोच्नुभएन । जेन्युन कमाउनुस् ट्याक्स तिर्नुस् । त्यस्तो गर्दा जुनसुकै खालको छानबिन गर्दा पनि भ्याट तिरेको, अनि दुःख गरेर अरुलाई रोजगारी दिएर कमाएको कुरा कहाँ जान्छ । हामीले दुई नम्बरी कुरा नसोचौं ।’गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरु अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा शतर्क रहनुपर्ने भन्दै उद्योग खोलेर,अरुलाई रोजगारी र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताए । उनले अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर ल्याउँछु भन्ने सोच्न नहुने उल्लेख गरे ।