असार २, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव आगामी असार २१ गते पारित हुने भएको छ ।
इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले पाचौं वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन् ।
इन्फिनिटी लघुवित्तले कम्पनीको केन्द्रीय कार्यायल गैडाकोटमा विहान ९ बजे सभा बोलाएको हो भने नेपाल एग्रो लघुवित्तले सिटिस्क्वेयर प्रालि, न्यूरोड, पोखरामा विहान ९ बजे सभा बोलाएको हो ।
नेपाल एग्रो लघुवित्तले प्राप्ति प्रस्तावसहित गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार को आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ४ लाख २१ हजार ८०१ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । दुबै कम्पनीको सभाबाट प्राप्ति सम्बन्धि सम्झौता लगायत सञ्चालक समितिबाट भएका निर्णयहरुलाई अनुमोदन गर्दै थप कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाईनै दिने निर्णयसमेत गर्नेछ ।
यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति पनि दुबै कम्पनी बीच भएको छ ।
दुबै कम्पनीले सभा प्रयोजनका लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।