काठमाडौं । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी बैतडीकी किशोरी भागरथी भट्टका लागि न्याय माग्दै अखिल (छैठौं) ले विरोध प्रदर्शन सुरु गरेको छ । ‘बलात्कारी हत्यारा’ लाई कारबाही गर्न दबाव दिन अखिल (छैठौं) ले राजधानीसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न लागेको हो ।
आइतबार दिउँसो तीन बजे काठमाडौंको माइतीघरमण्डलामा विरोध प्रदर्शन गरिने अखिल (छैठौं) का सचिव सुवाश जिसीले जानकारी दिनुभयो । यस्तै, बुटवल, प्युठानलगायतका स्थानमा पनि प्रदर्शनको तयारी भइरहेको उहाँले बताउनुभयो ।
प्रदर्शनका क्रममा अखिल (छैठौं) ले भागरथी भट्टको फोटोसहित ‘बलात्कारी हत्यारालाई कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्नेछ भने बलात्कार, हत्या र सरकारी उदासिनताबिरुद्ध नारा लगाउनेछ । देशैभरी जहाँ जसरी सम्भव हुन्छ, बलात्कारीलाई कारबाहीका लागि दबाब दिने अखिल (छैठौं) ले जनाएको छ ।
घरबाट विद्यालय जान हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको घर नजिकै जंगलमा शंकास्पद अवस्थामा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।
सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो ।
यो पनि :
‘बलात्कारी, हत्यारा’लाई कारवाही गर्न अखिल (छैठौं) को माग
बैतडीकी भागरथीलाई न्याय दिलाउन राजमोको माग