कालिन्चोक गाउँपालिका दोलखा जिल्लाको उत्तरी क्षेत्रमा रहेको छ । स्थानीय तहको नयाँ सीमाङ्कन गर्दा साबिकका ६ वटा गाउँविकास समितिहरू (कालिन्चोक, लापिलाङ, बाबरे, सुनखानी, लामिडाँडा र सुन्द्रावती) वडाका रूपमा कायम भई कालिन्चोक गाउँपालिका स्थापना भएको हो । यो गाउँपालिका भौगोलिक, जातिगत तथा सांस्कृति रूपमा विविधता बोकेको क्षेत्र हो । दोलखाको उत्तरी भागमा बसोबास गर्ने थामी जातिहरूको बाहुल्य रहेको यो क्षेत्र धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वको रूपमा प्रसिद्ध छ । धार्मिक आस्थाको केन्द्र कालिन्चोक भगवती यही गाउँपालिका भित्र रहेको छ । सदरमुकाम चरिकोटबाट करिव १७ किलोमिटर उत्तर कालिन्चोक गाउँपालिकामा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाइमा छ । कालिन्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमशृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । कालिन्चोक भगवतीको टाकुराबाट उत्तरतर्फ हिमालहरूको मनोरम दृश्य देखिन्छ ।
जनश्रुतिअनुसार कालिन्चोक कुण्डको पानी भीमेश्वर मन्दिरको जलकुण्डमा आउँछ । देवदेवीको प्रार्थनाको सम्झनामा रक्षा बन्धनको अघिल्लो दिन हिले जात्रामा बाजागाजासहित कालिन्चोक भगवती मन्दिरमा गई पूजा गरिन्छ । स्थानीय भाषामा यसलाई डापा खलक भनिन्छ । कालिन्चोक भगवती माताबाट दानवलाई बध गर्ने आश्वासन पाएपछि खुसी भई भजनकीर्तन गर्दै दोलखा सहरमा फर्कने चलन छ । माता भगवतीको पूजा गरी आश्वासन पाई फर्केर आउँदा फूलप्रसाद साथै फौजी सहायताको झण्डाको रूपमा केही देवदारुको रूखसमेत ल्याउने चलन छ । ती रूखहरू मुख्यमुख्य टोलमा स्थापना गरी पूजादलले (डापा खलक) दोलखा बजारमा सबै देवीदेवताको मन्दिर परिक्रमा गरी तीनधाराको पूर्वतर्फ यज्ञ गरी फूलप्रसाद बाँड्ने चलन छ । यसै सिलसिलामा कालिन्चोक देवी र दानवको रणस्थल कालिन्चोक टाकुराभन्दा तलको भिरालो मैदान हो भनी पुष्टि गर्न सकिन्छ ।
परापूर्वकालदेखि कालिन्चोक गाविसअन्तर्गत पर्ने गैरी, कटी, टुटान र थामिदेउराली गाउँहरूलाई खर्कमा राखी सोको आयस्ताबाट घण्टाकर्ण, भीमेश्वर, देवीकोटमा पञ्चोपचार पूजा गरिआएकोमा श्री ५ राजेन्द्र विक्रम शाहबाट दोलखा सहरका पिङ्गल, डोकलुङ्गा, डोक्छे, कोर्छे, बिहार्छे तथा गुर्काेट टोलका गुठियारहरूको नाममा वि.सं. १८८६ मा लालमोर जारी भएको भनाइ छ । यसबाट परापूर्वकालदेखि नै कालिन्चोक क्षेत्रका जग्गा जमिनको आयस्ताबाट कालिन्चोक भगवतीका साथै दोलखाका सहरबजारस्थित देवदेवीका पूजा गर्ने व्यवस्था रहेको पाइन्छ । जनैपूर्णिमा, नयाँ वर्ष, दशैं, चैते दशैंमा भक्तजनको ठूलो भिड लाग्ने गर्दछ । साथै अन्य समयमा पनि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो । कालिन्चोक भगवती धार्मिक आस्थाको केन्द्रविन्दुको रूपमा रहेको छ । यहाँ भगवतीको दर्शन गरे मनमा चिताएको कुरा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । कालिन्चोक क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय तथा जैविक विविधताको दृष्टिकोणले पनि महŒवपूर्ण रहेको छ । यस क्षेत्र अन्य क्षेत्रभन्दा बढी हिउँ पर्ने भएकाले सो खेल्न पर्यटकहरूको घुँइचो लाग्ने गर्दछ ।
धार्मिक सहिष्णुता तथा सांस्कृतिक विविधताको विशिष्ठ पहिचान बोकेको यस कालिन्चोक क्षेत्रमा जातजाति अनुसार चाडपर्व तथा मेलाहरूमा समेत अनेकतामा एकता देख्न सकिन्छ । आदिवासी जनजाति, ब्राम्हण क्षेत्रीहरूको बसोबास यस क्षेत्रभित्र रहेको छ । थामी जातिहरूको बसोबास यस क्षेत्रका विभिन्न स्थानहरूमा पाइन्छ । यहाँ दशैं, तिहार, तीज, रामनवमी, बुद्ध पूर्णिमा, शिवरात्री, माघे संक्रान्ती, कुशे औँशी, ल्होसार आदि मनाउने गरिन्छ । त्यसैगरी माघे संक्रान्तिमा साङ्वा मेला, कार्तिक एकादशीमा लापिलाङ मी पूजा, आदि जस्ता मौलिक संस्कृतिका पर्वहरू मनाइन्छन् । यस गाउँपालिका भित्र बसोबास गर्ने यी विभिन्न जातजाति र संस्कृति अँगाल्ने समुदायले विशेषपर्वको अवसरमा आआफ्नै मौलिक भेषभूषा समेत लगाउने गर्दछन् । तिथी र विशेष पर्वको अवसरमा यहाँ रहेको धार्मिक स्थलहरूमा विभिन्न धार्मिक तथा सांस्कृतिक जमघट समेत हुने गर्दछ ।
यस कालिन्चोक गाउँपालिक क्षेत्र पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको क्षेत्र हो । कालिन्चोक मन्दिर नेपालको उदयमान धार्मिक पर्यटकीय स्थल रूपमा रहेको छ । यसको प्रचारप्रसार र विकासको कारणले यस गाउँपालिकाको आर्थिक स्रोत उपार्जनको लागि ठूलो आधार रहेको छ । यसबाहेक गाउँपालिका क्षेत्रभित्र पहिचान भएका मुख्य पर्यटकीय क्षेत्रहरू कालिन्चोक भगवती देवी मन्दिर, कुरी पर्यटकीय स्थल, साततले गुफा, गुम्बाबेशी मन्दिर, भीमसेन स्थान मन्दिर, पोखरेचौर, कोशीखेत चौर, गुमुखोला दोभान, गुमुखोला दोभान, चौघेरा मन्दिर, श्रोङगेस्वा गुफा, सुन्द्रावती मन्दिर, छागाँ आदि हुन् । केहीसमय यता कुरीबाट केबुलकार सञ्चालन भएदेखि मन्दिर जान सहज भएको छ । साथै कुरी क्षेत्रमा बसोबास र खानपिनको आवश्यक व्यवस्था भएको पाइन्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले नेपाल विशिष्ट मानिन्छ । नेपालमा भएका विभिन्न भौगोलिक क्षेत्र तथा मन्दिरहरू पर्यटनका लागि सम्भावनायुक्त क्षेत्र मानिन्छ । धार्मिक क्षेत्रमा प्राकृतिक सुन्दरता पनि भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक मानिन्छ । कालिन्चोक पनि यस्तै हो । तर यहाँ बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकलाई लक्षित गरेर नै यहाँ केबल कार बनाइएको छ । यहाँ पर्यटकका होटलहरुको राम्रो व्यवस्था छ भने सडक यातायातबाट सहजै यस क्षेत्रमा पुग्न सकिन्छ । खासगरी हिउँ परेका बेलामा कालिन्चोकमा आन्तरिक पर्यटन थामिनसक्नुको हुन्छ । त्यतिबेला यहाँका होटलहरू अपुग हुने गरेका छन् र आन्तरिक पर्यटकहरूले वास बस्न नपाउने अवस्थासमेत हुन्छ । त्यसैले यस्तो मौसमका लागि पर्यटकको व्यवस्थापन गर्न विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
नेपालमा नयाँ पर्यटकीय स्थल, गन्तव्यहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न सकिन्छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गर्न सकिन्छ । कालिन्चोकमा दिगो पर्यटन विकास गर्न सके स्थानीय उत्पादनले समेत बजार पाई गरिबी न्यूनीकरणमा सहयोग मिल्छ । यसबाट कालिन्चोक गाउँपालिका क्षेत्र भित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानून र प्रक्रिया अनुरूप धार्मिक पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु आवश्यक छ ।
लेखक गुणस्तरीय जीवन विषयमा विद्यावारिधि हुन् ।