पुराना जीवन बीमा कम्पनीको नाफा : राष्ट्रिय बीमा संस्थान बाहेक सबैको घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनाको अवधिमा पुराना सबै जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा संस्थानले मात्र खुद नाफा बढाएको छ । कम्पनीहरुले सार्वजनिक गरेका चालू आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा संस्थानको मात्र खुद नाफामा वृद्धि भएको देखिएको हो । यस वर्ष राष्ट्रिय बीमा संस्थानले लगानी कर्जा तथा अन्यबाट रू. ४ करोड ४६ लाख ५६ हजारभन्दा बढी आम्दानी गरेकाले खुद नाफामा वृद्धि भएको हो । संस्थानका प्रशासक कवि पाठले यस वर्ष संस्थानको खर्चको तुलनामा आम्दानी बढेकाले नाफा वृद्धि गर्न सफल भएको जानकारी दिए । संस्थानले यस वर्ष दोस्रो त्रैमाससम्म १ करोड ४६ लाखभन्दा बढी खर्च गरेको समेत उनले जानकारी दिए । यस वर्ष व्यवस्थापन खर्च बढेपनि कर्मचारी बोनस व्यवस्था कम गरिएको पाठकको भनाई छ । कम्पनीले यस वर्ष व्यवस्थापन खर्च रू. १ करोड २५ लाखभन्दा बढी गरेको छ भने कर्मचारी बोनस व्यवस्थाका लागि रू. २० लाख २६ हजार छुट्याएको थियो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ९७ लाखभन्दा बढी व्यवस्थापन खर्च गरेको थियो । कम्पनीले कर्मचारी बोनसका लागि रू. २० लाख ६९ हजार व्यवस्था गरेको थियो । यस वर्ष सर्वाधिक नाफा घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४२ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको यस कम्पनीले चालू आवको सोही अवधिमा रू. १३ करोड ४ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष नेपाल लाइफले नोक्सानी व्यवस्थाका लागि रू. १७ करोड ६६ लाखभन्दा बढी रकम छुट्याएकाले खर्च बढ्न गई खुद नाफा घट्न गएको देखिन्छ । गत वर्ष रू. १५ करोड ८८ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष नोक्सानी व्यवस्थाका कारण बढाएर रू. ३२ करोड १ लाखभन्दा बढी खर्च गरेको छ । यस वर्ष दाबी भुक्तानी रकम बढेकाले पनि पुराना जीवन बीमा कम्पनीहरुको खुद नाफा घटेको जीवन बीमक संघका अध्यक्ष एवम् मेट लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठले जानकारी दिए । कोभिडका कारण पनि यस वर्ष मृत्यु दाबी भुक्तानी गत वर्षभन्दा बढेको भनाई श्रेष्ठको छ । साथै पुराना कम्पनीहरुको दायित्व बढी भएकाले सोही बमोजिमको प्रोभिजनिङ गर्नु परेका कारण पनि यस वर्ष खुद नाफामा कमी आएको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

१० जीवन बीमा कम्पनीको पूँजी पुग्न बाँकी : हकप्रद र बोनस शेयरबाट पुर्‍याउने योजना

काठमाडौं। बीमा कम्पनीहरूको पूँजी वृद्धि अभियानले हालसम्म पूर्णता पाउन सकेको छैन । नेपाल बीमा प्राधिकरणले २०७८ साल चैतमै जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवनलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । त्यसबमोजिमको पूँजी कायम गर्न प्राधिकरणले २०८० साल असार मसान्तसम्मको समयसीमा तोकेको थियो । समयसीमा सकिएको ५ महीना बितिसक्दासमेत धेरैजसो कम्पनीहरूले तोकिएको चुक्ता पूँजी कायम गर्न सकेका छैनन् । प्राधिकरणका कानून विभाग प्रमुख साम्भराज लामिछानेले पूँजी वृद्धिका लागि तोकिएको समयसीमा सकिए पनि कम्पनीहरूलाई कारबाही नगरिएको जानकारी दिए । गत असार मसान्तसम्म समयसीमा दिएकाले उक्त अवधिसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने वार्षिक साधारणसभासम्म कम्पनीहरूले छूट पाउनुपर्ने धारणा उनको छ । कतिपय कम्पनीमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र मर्जर प्रक्रियाका कारण थप पूँजीको निर्णय लिन ढिलाइ भएको उनको भनाइ छ । जीवन बीमा कम्पनीमध्ये मेटलाइफ बाहेक १३ कम्पनीले ५ अर्ब रुपैयाँका दरले पूँजी कायम गर्नुपर्नेछ । तर, हालसम्म यी कम्पनीमध्ये तीनओटाको मात्र तोकिएको पूँजी कायम भएको छ । मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिई अघि बढेका कम्पनीहरू त्यसपछि अपुग रकमका लागि बोनस र हकप्रद शेयरको विकल्पमा अघि बढेका छन् । १० कम्पनीमध्ये राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) को चुक्तापूँजी सबैभन्दा कम छ । यो कम्पनीलाई थप २ अर्ब ९७ करोड ५१ लाख ३ हजार रुपैयाँ पूँजी आवश्यक छ ।  सर्वसाधारणमा शेयर निष्कासनका लागि राष्ट्रिय बीमा कम्पनीका रूपमा साविक राष्ट्रिय बीमा संस्थान गत कात्तिक २० गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले आगामी दिनमा संस्थापकतर्फबाट ३ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने र सर्वसाधारणमा आईपीओ बेचेर १ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने योजना अघि सारेको छ । यो कम्पनीलाई आईपीओमा जान अझै केही समय लाग्ने देखिन्छ । यो बाहेक रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस शेयरमार्फत ६४ करोड रुपैयाँ पूँजी थप गर्ने योजना बनाएको छ । पुस २४ गतेको कम्पनी सञ्चालक समिति बैठकले १६ प्रतिशत बोनस शेयरको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । रिलायबल नेपाललाई बोनस शेयरपछि पनि ३६ करोड रुपैयाँ पूँजी आवश्यक हुन्छ ।  ४५ करोड ४४ लाख २८ हजार पूँजी आवश्यक रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले सार्वजनिक सूचनामार्फत पूँजी वृद्धिको योजना सार्वजनिक गरेको छैन । मर्जरमा गइसकेको सूर्यज्योतिले पनि बोनस या हकप्रदलाई नै पूँजी वृद्धिको माध्यम बनाउने देखिन्छ । प्रभु महालक्ष्मी लाइफले अपुग पूँजी संकलन गर्न १७ प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले पनि थप २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ पूँजी हकप्रद शेयरमार्फत संकलन गर्न लागेको छ । कम्पनीले गत असोज २९ गते हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ । थप १ अर्ब २५ करोड रुपैयाँ पूँजी आवश्यक रहेको सिटिजन लाइफले ५ प्रतिशत बोनस शेयरमार्फत १८ करोड ७५ लाख जुटाउँदै छ । बोनसपछि पनि सिटिजन लाइफलाई थप १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी पूँजी आवश्यक पर्छ । उक्त पूँजी जुटाउने सम्बन्धमा कम्पनीले निर्णय गर्न बाँकी छ ।  सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स लाइफ र एशियन लाइफले पनि थप पूँजी जुटाउनुपर्नेछ । एशियन लाइफले १ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ८० करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले १ अर्ब रुपैयाँ थप पूँजी जुटाउनुपर्ने देखिन्छ । बोनस र हकप्रदलाई नै सहारा बनाउने निश्चित भए पनि यी कम्पनीले आधिकारिक रूपमा निर्णय गरेका छैनन् ।

पब्लिक कम्पनीमा परिणत भयो राष्ट्रिय बीमा संस्थान

काठमाडौं । राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा संस्थान कम्पनी रजिष्ट्रारको कार्यालयमा कात्तिक २० गते पब्लिक लिमिटेड कम्पनीकोे रूपमा दर्ता भएको हो ।  सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनका लागि कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति प्रदान गरेको थियो । हाल कायम चुक्ता पूँजीको आधारमा कम्पनीमा जान मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएसँगै संस्थानले प्रक्रिया अघि बढाएको थियो । लामो समयदेखि पूँजी वृद्धिका लागि संस्थानले पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन चाहिरहेको अवस्थामा सरकारी पूर्ण स्वामित्वका कारण प्रक्रिया लम्बिएको थियो । संस्थानले हाल कायम ५० करोड रुपैयाँ अधिकृत पूँजी र १८ करोड १० लाख चुक्ता पूँजी संरचना कायम राखी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।  बीमा कम्पनीहरूमा यतिबेला पूँजी वृद्धिको दबाब जारी छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमाका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्न दबाब दिइरहेको अवस्थामा पब्लिक लिमिटेडमा परिणत भइसकेको संस्थानलाई समेत पूँजीको दबाब कायमै रहनेछ ।  अब राष्ट्रिय जीवन बीमा कम्पनीले आगामी दिनमा संस्थापकतर्फबाट ३ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने र सर्वसाधारणमा आईपीओ जारी गरी १ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने योजना अघि सारेको छ । सर्वसाधारणमा आईपीओ जारी गर्न कम्पनीलाई केही समय लाग्ने देखिन्छ । कम्पनीको आईपीओका लागि सेवा निवृत्त कर्मचारीहरूले पनि दाबी गरेको अवस्थामा विवाद बढ्ने सम्भावना रहेकाले आईपीओ निष्कासन प्रक्रिया लम्बिने आशंका कम्पनीले गरेको हो । पब्लिक कम्पनीको प्रक्रिया पूरा गरिसकेको अवस्थामा अब सर्वसाधारणमा आईपीओ निष्कासन प्रक्रियाका लागि आवश्यक कामलाई निरन्तरता दिने जानकारी कम्पनीले दिएको छ । पब्लिक लिमिटेड कम्पनीमा परिणत भएसँगै बसेको पहिलो बैठकले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी महेश रिमाललाई दिइएको छ । रिमाल यसअघि संस्थानको नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए । संस्थानको प्रशासकका रूपमा कविराज पाठकले जिम्मेवारी सम्हालेका थिए । संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्दासम्म पाठकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसँगै प्रशासक पाठक भने बाहिरिएको जानकारी कम्पनीले दिएको छ ।

बीमा व्यवसायको विकास क्रममा बीमा प्राधिकरण

नेपालमा संगठित रूपमा बीमा व्यवसाय बैंकिङ व्यवसाय सँगसँगै स्थापित भएको पाइन्छ । विसं २००४ सालमा नेपाल बैंक लिमिटेडको अग्रसरता र स्वामित्वमा पहिलो बीमा कम्पनीका रूपमा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो । यो कम्पनीको स्थापनाभन्दा अगाडिको समयमा भारतीय बीमा कम्पनीमार्फत नेपालमा ल्याइने वस्तु वा सामानको बीमा गर्ने गरिन्थ्यो । व्यापारको विस्तार सँगसँगै बीमा व्यवसायको आवश्यकता बढ्दै जाने क्रममा २०२४ सालमा कम्पनीका रूपमा राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भयो । तर, यी कम्पनी स्थापना हुँदा कानून बनेको भने पाइँदैन ।  विसं २०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन ल्याई राष्ट्रिय बीमा संस्थानको संस्थापना भयो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ ले राष्ट्रिय बीमा संस्थान प्रालिलाई राष्ट्रिय बीमा संस्थानका रूपमा परिवर्तन गर्‍यो । राष्ट्रिय बीमा संस्थान प्रालिले १ वर्ष काम गरे पछि २०२५ पुस १ गतेदेखि राष्ट्रिय बीमा संस्थानका रूपमा कार्य गर्न थाल्यो । राष्ट्रिय बीमा संस्थान स्थापना गर्ने मुख्य उद्देश्य देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न तथा विदेशी मुद्राको व्ययभार रोक्नु रहेको छ । राष्ट्रिय बीमा संस्थानको संस्थापनापश्चात् बीमा व्यवसायको शुरुआत नेपाली कम्पनीबाट भई वर्षेनि लाखौं रुपैयाँ विदेशिने कार्य क्रमश: कम हुन पुग्यो ।  राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ सँगसँगै तत्कालीन सरकारले बीमा ऐन, २०२५ समेत जारी गरेको थियो । बीमा ऐन, २०२५ मा बीमा व्यवसायको व्यवस्था तथा नियन्त्रणका लागि श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अध्यक्षसहित बढीमा पाँचजना सदस्य भएको एक बीमा समिति गठन गर्न सक्ने व्यवस्था गरिएको थियो । बीमा समिति ऐन, २०२५ ले बीमा समितिलाई छुट्टै कानूनी व्यक्तित्वका रूपमा स्वीकार गरेको थिएन । बीमा समिति, अर्थ मन्त्रालयअन्तर्गतको एउटा शाखा वा एकाइका रूपमा रहेको थियो । मिति २०४९/१२/१७ देखि बीमा ऐन, २०४९ लागू भई बीमा ऐन, २०२५ लाई खारेज गर्‍यो । बीमा समितिलाई स्वशासित संगठित संस्थाका रूपमा गठन गरी बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्न बीमा ऐन, २०४९ ल्याइएको हो । बीमा ऐनले बीमा समितिलाई अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाका रूपमा मान्यता प्रदान गरेको छ । बीमा समितिलाई बीमा ऐन, २०२५ ले स्वशासित संगठित रूपमा मान्यता प्रदान गरेको थिएन ।  योग्य व्यक्तिमध्येबाट नेपाल सरकारले एक जना महिला सञ्चालक नियुक्त गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, महिलाको प्रतिनिधित्वका बारेमा उल्लेख भएको व्यवस्थालाई नेपाल सरकारले हालसम्म बेवास्ता गरेको छ ।  बीमा ऐन, २०७९ मिति २०७९ असोज २३ गते प्रमाणीकरण भई उक्त मितिले ३१ दिनदेखि लागू भयो । बीमा ऐन, २०७९ ले साविकको बीमा ऐन, २०४९ र राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ लाई खारेज गरेको छ । साविकको बीमा ऐन, २०४९ ले गरेको बीमा व्यवसायको नियमनकारी निकाय बीमा समितिको चल अचल सम्पत्ति वा दायित्व स्वत: प्राधिकरणमा परिणत भएको र पदाधिकारी, कर्मचारीहरू समेत प्राधिकरणमा सर्ने व्यवस्था गरेको छ । बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्नुका साथै बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे बीमासेवा उपलब्ध गराउन एवम् बीमा व्यवसायको प्रभावकारी रूपमा नियमन गरी बीमितको हकहित संरक्षण गर्नका लागि बीमा ऐन, २०७९ लागू गरिएको पाइन्छ । त्यस्तै, राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम गठन भएको राष्ट्रिय बीमा संस्थान बीमा ऐन, २०७९ लागू भएको १ वर्षभित्र पब्लिक लिमिटेड कम्पनीको रूपमा परिणत गरिने व्यवस्था रहेको र उक्त प्रावधानअनुसार परिणत भएपश्चात् सम्पत्ति, दायित्वलगायत कर्मचारीसमेत कम्पनीमा सर्ने व्यवस्था गरेको छ ।  बीमा ऐन, २०७९ ले नेपाल बीमा प्राधिकरण एक स्वशासित र सङ्गठित संस्था भई कानूनी व्यक्तित्व धारणा गर्ने व्यवस्था गरेको छ । बीमा ऐन, २०७९ ले बीमा व्यवसाय सञ्चालन गर्ने बीमकको दर्ता, दर्ताको नवीकरण, दर्ता खारेज गर्नेलगायत बीमकलाई बीमा व्यवसायमा रोक लगाउन सक्नेलगायत नियमनकारी अधिकार नेपाल बीमा प्राधिकरणलाई दिएको छ । नेपाल बीमा प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवाप्रदायक वा त्यस्तो बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवाप्रदायकसँग सम्बद्ध व्यक्ति वा संस्थाको कामकारबाहीको सम्बन्धमा नियमन, निरीक्षण वा अनुगमन गर्ने अधिकार दिइएको छ । यसरी नियमन, निरीक्षण वा अनुगमन गर्दा अन्तरराष्ट्रिय स्तरमा स्थापित सिद्धान्त, मान्यता, मापदण्ड तथा असल अभ्यास तथा प्रचलनलाई आधारको रूपमा लिनुपर्ने व्यवस्था ऐनमा गरिएको छ ।  नेपालको सम्पूर्ण बीमा व्यवसायको नियमन गर्ने अख्तियार प्राप्त निकाय बीमा प्राधिकरण रहेको छ । बैंकिङ प्रणालीको नियमन गर्न नेपाल राष्ट्र बैंकको स्थापना गरिएको छ । नेपाल राष्ट्र बैंकको नियमन, सुपरिवेक्षण, तथा स्वायत्तताको विषयमा अन्तरराष्ट्रिय मुद्राकोष, विश्व बैंकलगायत संस्थाले सूक्ष्म निगरानी गरी नेपाल सरकारलाई खबरदारी गर्ने गर्छन् । त्यस्तै बीमाक्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्न ढिलै भए पनि बीमा ऐन, २०७९ ल्याई बीमा प्राधिकरणको स्थापना गरिएको छ । बीमा ऐनमा बीमा प्राधिकरणमा पाँच सदस्यीय सञ्चालक समिति गठन हुने व्यवस्था गरेको छ । जीवन बीमा व्यवसाय वा निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिमध्येबाट एक/एक जना गरी दुई जनालाई नेपाल सरकारले बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यमा नियुक्त गर्ने प्रावधान रहेको छ । ऐनको दफा ६(२) मा स्पष्ट साथ यी दुई सदस्य नियुक्त गर्दा कम्तीमा १ जना महिला रहने गरी गर्नु पर्नेछ भनी उल्लेख गरिएको छ । त्यस्तै बीमा ऐन, २०७९ को दफा ८(१) मा बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष वा सदस्यका लागि योग्यता तोकेको छ । योग्य व्यक्तिमध्येबाट नेपाल सरकारले एक जना महिला सञ्चालक नियुक्त गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यसबारेमा थप उल्लेख गर्दै बीमा ऐनको दफा ७(५) मा नेपाल सरकारले ऐनको दफा ८(१) बमोजिम योग्यता पुगेका व्यक्तिमध्येबाट दफा ६ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यको नियुक्ति गर्नेछ । त्यसरी नियुक्त गर्दा कम्तीमा एक जना महिलाको प्रतिनिधित्व हुने गरी नियुक्ति गर्नु पर्नेछ भनी उल्लेख भएको छ । यसरी बीमा ऐन, २०७९ को दफा ६(२), ७(५) मा महिलाको प्रतिनिधित्वका बारेमा उल्लेख भएको व्यवस्थालाई नेपाल सरकारले हालसम्म बेवास्ता गरेको हो वा सञ्चालक बन्न योग्य महिला नभएको हो सो बारेमा स्पष्ट हुनुपर्छ । ऐनमा योग्यताका बारेमा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बद्ध क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको, उच्च नैतिक चरित्र भएको र ऐनको दफा ८ (३) बमोजिम अयोग्य नभएको महिला नेपाली नागरिकलाई नेपाल सरकारले हालसम्म फेला नपरेको हो वा अन्य कारणले त्यस सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनुपर्छ । नियमनकारी निकायको सञ्चालक समितिको गठन कानूनसंगत रहनुपर्छ अन्यथा नियमनकारीको अनुकरण अन्य बीमक कम्पनीलगायतले गर्न सक्ने हुँदा यस विषयमा नेपाल सरकारको धारणा सार्वजनिक हुनुपर्छ ।  अन्त्यमा बीमा ऐन, २०७९ लागू भएको १ वर्ष पूरा भइसकेको छ तर पनि उक्त ऐनले निर्दिष्ट गरेबमोजिम बीमा नियमावली हालसम्म बनाइएको छैन । बीमा प्राधिकरणको सञ्चालक समितिमा समेत महिलाको प्रतिनिधित्व हालसम्म पनि हुन सकेको छैन । बीमा ऐनको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, बीमा प्राधिकरणले समयमा नै चासो देखाउन जरुरी रहेको छ । बीमा प्राधिकरणले जारी गर्ने कार्यविधि, निर्देशन तथा आदेशहरू बीमकलगायत संस्थाले पालना गरी नेपालको बीमा व्यवसायलाई मर्यादित बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।  लेखक बैंकिङ अपराधसम्बन्धमा विद्यावारिधिप्राप्त अधिवक्ता हुन् ।

आधुनिक बीमा सेवामा फड्को : राष्ट्रिय बीमा संस्थानको ५६औं वार्षिकोत्सव विशेष

काठमाडौं । मुलुकको बीमा क्षेत्रमा साढे ५ दशकको योगदान रहेको राष्ट्रिय बीमा संस्थान आज (बिहीवार) ५६औं वर्षमा प्रवेश गर्दै छ । २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना एक निजी कम्पनीको रूपमा भएको थियो । स्थापनाकालमा संस्थानको अधिकृत पूँजी १ करोड मात्र रहेको देखिन्छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ जारी भइसकेपछि २०२५ पुस १ गतेदेखि यसले संस्थागत रूप लिएको हो । २०२४ फागुन ११ गतदेखि व्यवसाय शुरू गरेकाले संस्थानले फागुन ११ गतेलाई आधार मानेर वार्षिकोत्सव मनाउने गरेको छ । शुरुआतमा निर्जीवन बीमा गर्ने संस्थानले प्रथम बीमितको रूपमा नेपालका तत्कालीन शासक राजा महेन्द्रको बीमा गरेको थियो । संस्थानले २०२९ फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय शुरू गर्‍यो । त्यसपछि बीमा २०७१ सालसम्म निर्जीवन र जीवन दुवै बीमा गर्दै आएकोे थियो । तर दुवै प्रकारका बीमा एउटै कम्पनीबाट गर्न नपाइने निर्देशनपछि २०७१ सालमा निर्जीवन बीमाका लागि राष्ट्रिय बीमा कम्पनीको स्थापना गरियो । संस्थानले अहिले जीवन बीमा मात्र गर्छ । अहिले सबै प्रदेशमा गरी २३ शाखा कार्यालयबाट जीवन बीमाको व्यवसाय भइरहेको छ । बीमा अभिकर्ताका लागि अहिले धेरै सजिलो भएको संस्थानका अधिकारीहरू बताउँछन् । शुरूका दिनमा अभिकर्ताले बीमा गर्न शाखा कार्यालयमा गएर कागजपत्र बुझाइसकेपछि काठमाडौंमा पठाउनुपर्ने र काठमाडौंबाट बीमालेख प्रिन्ट गरेर पठाउनुपर्ने व्यवस्था थियो । तर अहिले कागजपत्र पूरा गरेर ल्याएको आधा घण्टाभित्र बीमालेख जारी गरिसक्ने व्यवस्था रहेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए । ‘गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन शुरू गरेका छौं,’ उनले भने, ‘यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसको माध्यमबाट गर्दै छौं ।’ उनका अनुसार संस्थानले प्रविधिको क्षेत्रमा ठूलो सुधार गरेको छ । बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ ईश्वर पौडेल अध्यक्ष, राष्ट्रिय बीमा संस्थान राष्ट्रिय बीमा संस्थानलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ? म यो संस्थामा आएको ५/६ महीना मात्र भएको छ । राष्ट्रिय बीमा संस्थान बीमा क्षेत्रको अग्रणी संस्था हो । यसले बीमालाई व्यवस्थित गर्न, बीमाको बारेमा चेतना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । संस्थान व्यावसायिक हिसाबले पनि सबल छ । पुरानो संस्था भएकाले पूँजी निर्माणमा संस्थान अग्रणी छ । हामीले बीमालाई अगाडि बढाउन कस्तो रणनीति लिने भनेर गहन छलफल गरेका छौं । लामो समयदेखि संस्थानको लेखापरीक्षण भएको छैन । त्यसलाई पूरा गर्नुपर्ने छ । समग्रमा संस्थानलाई अझै अब्बल बनाउन लागिपरेका छौं । संस्थानका शाखा पनि कम छन् । शाखा सञ्जाल विस्तारका लागि कस्तो योजना छ ? संस्थानका शाखा कम भयो भन्ने छ । तर जनशक्तिको स्थिति हेर्दा यो स्वाभाविक नै हो जस्तो लाग्छ । पहिले जीवन र निर्जीवन दुवै हेर्ने गरेको बीमा संस्थानबाट निर्जीवन बीमा हेर्नेगरी राष्ट्रिय बीमा कम्पनी बनेपछि जनशक्ति घटेका हुन् । पछि संस्थान निजीक्षेत्रका अन्य बीमा कम्पनी जसरी आक्रामक रूपमा विस्तार हुन नसकेको देखिन्छ । यसको एउटा कारण लेखापरीक्षण नहुँदा पूँजी बढ्न नसक्नु पनि हो । अहिले हाम्रा जति शाखा छन्, तिनबाट काम कारबाही अघि बढाउने, पछि पूँजी वृद्धि पनि गर्ने र शाखा बढाउने सोच छ । बीमा संस्थानमा सञ्चालक समिति र व्यवस्थापन समूहबीच कत्तिको समन्वय भइरहेको छ ? हिजो एउटा परिस्थितिमा यसको ऐन आयो । २०२५ सालमा अन्य कुनै बीमा कम्पनी नरहेको अवस्थामा संस्थानले आफ्नै संयन्त्र र स्रोतसाधनमार्फत यो व्यवसाय शुरू गरेको थियो । अहिलेको अवस्थामा व्यवस्थापनमा रहेका साथीहरू लामो समय बीमा क्षेत्रमा काम गरेका हुनुहुन्छ । साथै सर्वसाधारण शेयर धेरै नभएकाले व्यवस्थापनमा समस्या छैन । संस्थानका कर्मचारीले छाड्ने गरेको कुरा पनि आइरहन्छ नि । कारण के होला ? कर्मचारीले छाड्ने कुरा व्यक्तिगत कारण हो । कहाँ जाने, के गर्ने भन्ने भन्ने विषय कर्मचारीको योग्यता र क्षमतामा पनि भर पर्छ । सेवासुविधाको कुरा पनि होला । संस्थानमा सेवा सुविधा अलि अगाडिकै कायम छ । त्यसलाई अद्यावधिक गर्नुपर्ने छ । त्यसमा हामी लागेका छौं । सेवासुविधा बढाउन प्रस्ताव पनि गरिसकेको हो । तर अहिले आर्थिक मन्दीको जस्तो अवस्था भएकाले सबै कुरा समुचित तवरले हेर्नुपर्छ । संस्थानको ५५ वर्षको यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ? नेपालको समग्र बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ । जनसाधारणलाई बीमाका बारेमा जानकारी दिन र चेतना विकास गर्न संस्थानले अग्रणी भूमिका निर्वाह गरेको छ । अहिले निजीक्षेत्रका बीमा कम्पनीका कारण हाम्रो उपस्थिति अलि कमजस्तो देखिएको छ । यद्यपि हामो भूमिका उच्चस्तरको छ । हामी व्यावसायिक रूपमा सबल पनि छौं । चालू आवमै लेखापरीक्षण सम्पन्न गर्ने तयारीमा छौं कविप्रसाद पाठक प्रशासक, राष्ट्रिय बीमा संस्थान विगतको तुलनामा अहिले राष्ट्रिय बीमा संस्थानमा बीमाशुल्क तथा दाबी भुक्तानी सेवामा के कस्तो परिवर्तन आएको छ ? पहिला बीमाशुल्क तिर्न बैंकमै जानुपर्ने वा हाम्रो काउन्टरमै आएर तिर्नुपर्ने अवस्था थियो । गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन कार्य शुरू गरेका छौं । यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसमार्फत गर्दै छौं । क्रमशः अन्य भुक्तानी पनि अनलाइनबाटै गर्ने व्यवस्था गर्नेछौं । संस्थानले आफूलाई कसरी प्रविधिमैत्री बनाइरहेको छ ? संस्थानमा म आइसकेपछि वेबबेस्ड सफ्टवेयर लागू गरेका छौं । यसमार्फत काम गर्दा शाखा कार्यालयको कारोबार र प्रधान कार्यालयको कारोबार एकीकृत भएको छ । साथै बीमा गरिसकेपछि ग्राहकलाई जानकारी दिने हिसाबले एसएमएस सेवा पनि शुरू गरेका छौं । मोबाइल एपको पनि विकास गरेका छौं, जसमार्फत बीमाशुल्क बुझाउन सकिने सुविधा ल्याइएको छ । लामो समयदेखि संस्थानको लेखापरीक्षण हुन सकेको छैन । यो कहिले हुन्छ ? लेखापरीक्षण हुन नसक्नु ठूलो समस्याको रूपमा रहेको छ । सबै तिरबाट राष्ट्रिय बीमा संस्थानले लेखापरीक्षण गरेन, गर्न सकेन भन्ने कुरा आइरहन्छ । हामीले यसलाई मुख्य प्राथमिकतामा राखेर चालू आर्थिक वर्षमै सक्नेगरी कार्ययोजना बनाउन लागिरहेका छौं । त्यसका लागि अहिले चार्टर्ड एकाउन्टेन्ट, सेमिक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट कन्ट्र्याक्टमा लिन लागेका छौं । चुक्तापूँजी बढाउने सम्बन्धमा तपाईंहरूको योजना के छ ? आउँदो चैतभित्र चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन नेपाल बीमा प्राधिकरणको निर्देशन छ । हाम्रो विशेष ऐन, राष्ट्रिय बीमा ऐन २०२५ अनुसार हाम्रो अधिकृत पूँजी ५० करोड रुपैयाँ मात्र भए पुग्ने व्यवस्था छ । त्यसो हुँदा ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन हामीलाई कानूनी अड्चन थियो । प्राधिकरणको उक्त निर्देशन आइसकेपछि ५ अर्ब चुक्तापूँजी पुर्‍याउने गरी पूँजी वृद्धि योजना सञ्चालक समितिबाट स्वीकृत गरेका छौं । प्राधिकरणलाई पनि यसको जानकारी गराएका छौं । पूँजी थप गर्न हाम्रा तीनओटै संस्थापक नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडलाई पत्राचार गरिसकेका छौं । अहिले पूँजी वृद्धिका लागि बनाइएको मोडालिटी ७० प्रतिशत संस्थापकबाट र ३० प्रतिशत सर्वसाधारणबाट जुटाउने हो । पछिल्लो समय संस्थानको बीमा व्यवसाय कत्तिको प्रतिस्पर्धी छ ? प्रतिस्पर्धा बढेको छ । तर हाम्रो ६०–७० प्रतिशत कर्पोरेट व्यवसाय छ । नेपाल सरकारका सम्पूर्ण कर्मचारी, सरकारी बैंक र सरकारी निकायको सम्पूर्ण व्यवसाय हामीसँग छ । व्यक्तिगत बीमाका लागि मात्र प्रतिस्पर्धा गर्ने हो । त्यसका लागि सेवाको गुणस्तर बढाउनुका साथै नयाँ नयाँ प्रडक्ट ल्याउँछौं । व्यावसायिक सूचकमा अगाडि नै छौं कृष्णकुमार श्रेष्ठ सहायक प्रशासक, राष्ट्रिय बीमा संस्थान अहिले राष्ट्रिय बीमा संस्थानको व्यावसायिक अवस्था कस्तो छ ? संस्थानले गत आर्थिक वर्षमा २०७८/७९ मा बीमाशुल्क करीब ९ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा करीब साढे ५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो वर्ष १२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन हुने अनुमान छ । त्यस्तै गत आर्थिक वर्षमा २०७८/७९ मा करीब साढे ४ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको थियो । चालू आर्थिक वर्षको ६ महीनामा १ अर्ब ८० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । यसमध्ये मृत्यु दाबीतर्फ ३ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ । मृत्यु दाबी एकदम कम पर्नुको अर्थ हाम्रो कार्यसम्पादन राम्रो भएर पनि हो । संस्थानमा लगानीयोग्य रकम कति छ ? अहिलेको स्थितिमा संस्थानको लगानीयोग्य रकम ४५ अर्ब रुपैयाँ छ । हरेक वर्ष यसमा करीब ५ अर्ब रुपैयाँ बढिरहेको छ । अहिले बैंकले ब्याज पनि धेरै दिइरहेको छ । यसले गर्दा संस्थानको राम्रै आम्दानी भइरहेको छ । बीमितलाई शेयरको व्यवस्था गर्नुपर्छ भन्ने तपाईंको मान्यता देखिन्छ । त्यो किन हो ? जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउनैपर्ने बीमा प्राधिकरणको निर्णय कार्यान्वयन गर्न हामीले संस्थापक शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत गर्ने व्यवस्था गरेका छौं । सर्वसाधारण शेयरमध्ये ५ प्रतिशत कम्पनीका कर्मचारीलाई र केही प्रतिशत बीमितलाई दिनु उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो । यसबाट हाम्रो बीमालेखप्रति मानिसको आकर्षण बढ्छ । बीमितलाई शेयर दिँदा व्यवसाय तथा सरकारको राजस्व बढ्ने र बीमाको दायरा फराकिलो हुने देखिन्छ । संस्थानले आफ्नो व्यवसायका अतिरिक्त के कस्ता कार्य गरिरहेको छ ? बीमा संस्थानले व्यवसायका अतिरिक्त परोपकारी संस्थाका लागि सहयोग गर्दै आएको छ । हामीले अनाथ बालबालिकाका लागि खाद्यान्न वितरण गर्‍यौं । हामीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएका छौं । यस प्रकारका परोपकारी कार्यक्रम निरन्तर चलिरहेका हुन्छन् ।

चुक्तापूँजी वृद्धि अभियान : राष्ट्रिय बीमा कम्पनीलाई २ अर्ब २३ करोड आवश्यक

काठमाडौं । बीमा क्षेत्रमा अचेल चुक्तापूँजी वृद्धिको चर्चा व्यापक छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरूलाई दिगो बनाउने भन्दै चुक्तापूँजी बढाउन निर्देशन दिएसँगै चर्चा शुरु भएको हो । समितिले २०७४ सालदेखि बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउनुपर्नेमा जोड दिँदै आएको छ । त्यसबेला समितिले जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमाको १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न निर्देशन दिएको थियो । यस वर्ष जीवन बीमालाई ५ अर्ब र निर्जीवनलाई २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न निर्देशन दिएको छ । चुक्तापूँजी बढाउन आगामी २०७९ चैत मसान्तसम्मको समय दिइएको छ । समितिले चैत १० गते बीमा कम्पनीहरूलाई एक महिनाभित्र चुक्तापूँजी वृद्धिको कार्ययोजना पेश गर्न लिखित निर्देशन दिएको थियो । समितिको सोही निर्देशनबमोजिम बीमा कम्पनीहरू कार्ययोजना तयारीमा जुटेका छन् । सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी (निर्जीवन) र राष्ट्रिय बीमा संस्थान (जीवन) लाई भने एक वर्षभित्र समितिले तोकेको पूँजी पुर्‍याउनु निकै चुनौतीपूर्ण हुने जानकार बताउँछन् । साबिकको पूँजी पनि कायम गर्न नसकेका यी कम्पनीले अहिले भने पूँजी बढाउन विशेष चासो दिएको बताएका छन् । नियामक निकायको निर्देशनसँगै कम्पनीहरूको दिगो विकासका लागि थप पूँजी आवश्यक रहेको सम्बद्ध अधिकारीको भनाइ छ ।   आगामी वैशाख १० गतेभित्र समितिमा पूँजी वृद्धिको कार्ययोजना पेश गर्ने गरी व्यवस्थापकीय विभागले काम गरिरहेको राष्ट्रिय बीमा कम्पनीका सचिव निरञ्जन आचार्यले जानकारी दिए । बीमा समितिको निर्देशनबमोजिम चुक्तापूँजी कायम गर्न उसलाई थप २ अर्ब २३ करोड ३३ लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने सचिव आचार्यले बताए । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । सचिव आचार्यका अनुसार व्यवस्थापकीय विभागबाट तयार हुने कार्ययोजना सञ्चालक समितिबाट पारित गरी वैशाख १० गतेभित्रै समितिमा पेश हुनेछ । कम्पनीले हालको १ अर्ब चुक्तापूँजी कायम गर्न १२० प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाए पनि बीमा समितिको निर्देशनले त्यो रोकिएको थियो । राष्ट्रिय बीमा संस्थानबाट २०७१ सालमा अलग्गिएर छुट्टै निर्जीवन बीमा व्यवसाय सुरु गरेको यो कम्पनीलाई संस्थानको वास्तविक वित्तीय अवस्था सार्वजनिक नभएसम्म लाभांश वितरण गर्न नसक्ने भन्दै समितिले रोक लगाएको थियो । १२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव हटाएर बीमा समितिबाट उक्त वर्षको लेखापरीक्षण स्वीकृत गराएको कम्पनीले अब नयाँ कार्ययोजना तयार गर्ने सचिव आचार्यले बताए । राष्ट्रिय बीमा संस्थानले जीवन र निर्जीवन बिमा कम्पनी छुट्टिएको आर्थिक वर्ष ०७१/७२ सम्मको लेखापरीक्षण प्रतिवेदन बीमा समितिबाट स्वीकृत गराइसकेकाले राष्ट्रिय बीमा कम्पनीको पूँजी वृद्धि योजना स्वीकृतिमा समस्या नहुने सचिव आचार्यको विश्वास छ । गत पुससम्मको वित्तीय विवरणअनुसार राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोडभन्दा बढी र बीमा कोषमा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी छ । त्यस अवधिसम्म कम्पनीले १९ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १४५ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १ हजार ३१७ रुपैयाँ छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६ हजार ८८० रुपैयाँ छ । पछिल्लो एक वर्षमा कम्पनीको शेयर मूल्य उतारचढाव हेर्दा न्यूनतम १३ हजार ९०७ देखि अधिकतम २४ हजार ३७० रुपैयाँसम्म पुगेको देखिन्छ ।

बीमा संस्थान ५५औँ वर्षमा प्रवेश, यसै वर्ष २८ शाखा पु¥याउने उद्देश्य

काठमाडौं, ११ फागुन । राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थाबाट हालसम्म ६ लाख ३८ हजार ७९३ जनाले बीमा सेवा लिएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन गर्नुका साथै १९ जीवन बीमा कम्पनीमा संस्थानको बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत रहेको छ । […]

३५% ले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीले कति गरे बीमाशुल्क संकलन ?

असोज २९, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा जीवन बीमा कम्पनीहरूले २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट चालू आवको भदौ महीनासम्मको तथ्यांकले यस्तो देखाएको हो ।  हाल नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उक्त कम्पनीहरुले भदौसम्म उक्त बीमाशुल्क संकलन गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा ३५ दशमलव ४१ प्रतिशतले बढी हो ।  गत आवको भदौसम्म जीवन बीमा कम्पनीहरुले २० अर्ब ७८ कराड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालू आवको बीमा शुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. ७ अर्ब ६२ करोड बीमाशुल्क संकलन गरेको छ ।  यस्तै, दोस्रो नम्बरमा राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीले रु. ४ अर्ब ३४ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले रू. ३ अर्ब ३६ करोड बीमाशुल्क संकलन गरेको छ । कुन कम्पनीको कति बीमाशुल्क संकलन ?

बीमा संस्थानको कोषमा २६ अर्ब : बीमक सात लाख

काठमाण्डौ - राष्ट्रिय बीमा संस्थान ५३ औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थानकाे जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड रुपैयाँ जम्मा पुगेकाे छ । देशमा रहेका १९ वटा जीवन बीमा कम्पनीकाबीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको छ ।  चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्म...