राष्ट्रिय बीमा संस्थान ५५औं वर्षमा : आधुनिक प्रविधि भित्र्याउन र प्रतिस्पर्धी बन्न अर्थसचिवको सुझाव

काठमाडौं (अस) । सरकारी स्वामित्वको जीवन बीमाप्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५औं वर्ष प्रवेश गरेको छ । संस्थानको वार्षिकोत्सव अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रतिस्पर्धी बीमा बजारमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे । उनले सरकारी स्वामित्वको संस्था भएकाले बजार माग र समय सुहाउँदा नयाँ उत्पादन, आधुनिक प्रविधि एवं चुस्त व्यवस्थापनबाट कुशल र प्रतिस्पर्धी बन्न सुझाए । सरकारी स्वामित्वको बीमा संस्थानले आधुनिक प्रविधि प्रयोग र चुस्त व्यवस्थापनबाट सञ्चालित निजी क्षेत्रका बीमा कम्पनीसँग प्रतिस्पर्धी बनाउँदै जानुपर्ने चुनौती रहेको उनको धारणा छ । सचिव मरासिनीले भने, ‘अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासअनुरूप बीमा सेवाको विकास, विस्तार गरी आकर्षक बीमा योजना, सेवाको विविधीकरण, आधुनिक प्रविधि प्रयोगमार्फत कार्यकुशलतामा वृद्घि, आर्थिक अनुशासन, व्यावसायिक कार्ययोजनाको अवलम्बन गर्नुस् ।’ बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा भनेकै विश्वसनीयताको बजार भएकाले संस्थानले विगतका कार्यप्रगतिको समीक्षा गर्दै नेपालको जीवन बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न प्रयत्नशील हुनुपर्ने आवश्यकता औंल्याए । सरकार, बीमा समिति, महालेखा परीक्षकको कार्यालय, लगानीकर्ता, सरोकारवालाको चासोका रूपमा रहेको लेखा परीक्षण, बीमांकीय मूल्यांकन र वित्तीय विवरणलगायत कार्य छिटो सम्पन्न गर्न आग्रह गरे । निर्जीवन बीमा व्यवसायबाट सेवा थालेको संस्थानले पछि जीवन एवं निर्जीवन दुबवै बीमा व्यवसाय हुँदै हाल जीवन बीमा व्यवसाय मात्र सञ्चालन गरिरहेको छ । संस्थान सञ्चालक समिति अध्यक्ष वसन्तराज पाण्डेले बीमा क्षेत्रमा विश्वसनीय र भरपर्दो सेवा दिँदै आएको संस्थान दक्ष जनशक्ति र आधुनिक प्रविधिका माध्यमबाट उच्च स्तरको सेवा उपलब्ध गराउन प्रतिबद्घ रहेको बताए । संस्थानका प्रशासक कवि पाठकले संस्थानले जीवन बीमा क्षेत्रमा क्रियाशील अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचानलाई थप बलियो बनाउँदै लगेको जानकारी दिए । आगामी दिनमा नेपाली बीमा बजारमा आफ्नो हिस्सा बढाउन प्रयत्नशील रहने उनले बताए । चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिक अन्त्यसम्म जीवन बीमाप्रदायकको जीवन बीमा कोषमा रहेको ४ खर्ब ५२ अर्ब ७९ करोडमध्ये संस्थानको कोषमा ३८ अर्ब ७८ करोड रहेको उनको भनाइ छ । पाठकले भने, ‘यस अवधिमा संकलित बीमाशुल्क ७० अर्ब ९१ करोडमध्ये संस्थानको ६ अर्ब ५ करोड रहेको छ । यसरी कुल बीमा कोष र बीमाशुल्क संकलनमा संस्थानको हिस्सा करिब ८.५ प्रतिशत हुन आउँछ । संस्थानमा हाल कायम कुल बीमा लेख संख्या ६ लाख ३९ हजार रहेको छ ।’ कार्यक्रममा संस्थानमा बीमाशुल्कको आधारमा उत्कृष्ट १० अभिकर्तालाई पदकसहित प्रशंसापत्रद्वारा सम्मान र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मानित गरिएको थियो । ०२४ साल पुस १ गते प्राइभेट कम्पनीको रूपमा स्थापना भएको संस्थानले सोही वर्षको फागुन ११ गतेबाट निर्जीवन बीमा तथा ०२९ साल फागुन ७ गतेबाट जीवन बीमा कारोबार सुरु गरेको थियो । ०७१ मा निर्जीवन बीमा कारोबार राष्ट्रिय बीमा कम्पनीलाई हस्तान्तरण गरी हाल संस्थानले जीवन बीमाको मात्र काम गर्दै आएको छ ।