निर्यातको दाँजोमा आयात निकै ठूलो अन्तरले बढिरहेको सन्दर्भमा निर्यात वृद्धिका लागि सरकारले उच्च प्राथमिकता दिएर कार्यक्रम र संयन्त्रहरूसमेत निर्माण गरेको छ । तर, तथ्यांकले के देखाउँछ भने नेपालबाट निर्यात हुन सक्ने वस्तु थुप्रै छन् तर तिनको प्रवर्द्धन गर्न सकिएको छैन । कतिपय वस्तुको त निर्यात घटेको समेत पाइन्छ । यही तथ्यांकलाई विश्लेषण गरेर निर्यात बढाउन सक्ने देखिन्छ ।
नेपालमा तथ्यांक लिने र त्यसको विश्लेषण गरेर व्यापार नीति बनाउने प्रचलन नै निकै कम छ । चाहे त्यो सरकार होस् वा निजीक्षेत्र, तिनले निर्यात आँकडाको विश्लेषण गरेको भए निर्यात बढ्ने थियो ।
आर्थिक अभियानले प्रकाशित गर्ने तथ्यांकोवाच स्तम्भका तथ्यांक हेर्दा नेपालबाट निर्यात सम्भावना बोकेको सम्भावित क्षेत्र प्रशस्त रहेको पाइन्छ । विश्व बैंकको अध्ययनले ५० मुलुकमध्ये सबैभन्दा धेरै सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ । उसको अध्ययनअनुसार नेपालले वार्षिक १० खर्बको निर्यात गर्न सक्छ । तर, अहिले २ खर्बको पनि निर्यात हुन सकेको छैन । भन्सार दरको अन्तरको फाइदा लिन भएका क्षणिक निर्यातमै नेपाल रमाएको पाइन्छ । त्यही कारण कतिपय वस्तुको निर्यात घट्दो समेत रहेको पाइएको हो ।
तथ्यांकोवाचले देखाएका केही तथ्यांक हेरौं । नेपालबाट १२ ओटा देशमा साढे २ करोड मूल्य बराबरको होजियारी उत्पादन निर्यात भएको पाइन्छ । यसको निर्यात घट्दै अहिले उकालो लागेको समेत देखिन्छ । त्यस्तै नेपालबाट २४ ओटा देशमा झन्डै साढे ७ करोड बराबरको जालीदार शल, स्कार्फ आदि निर्यात हुने गरेको छ । त्यसैगरी, १५ देशमा ७ करोडभन्दा बढी मूल्यको महिलाका टीशर्ट तथा ब्लाउज, २५ देशमा २५ करोड बराबरको पुरुषले लगाउने टीशर्ट निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालको प्रमुख व्यापारिक साझेदार भारतले पीना, मूलाको बीउजस्ता नौओटा वस्तु नेपालबाट मात्रै आयात गर्छ । ५० करोड बराबरको यस्तो वस्तु निर्यात भएको देखिन्छ । त्यसैगरी तयारी मसला ११ देशमा निर्यात भइरहेको छ । नेपालका पत्रपत्रिका र जर्नल नौओटा देशमा निर्यात भएको तथ्यांक पाइन्छ । नेपाली हाते कागजका विविध वस्तुहरूको निर्यात ठूलै परिमाणमा भएको पाइन्छ । पाँच देशमा त कागजका खामसमेत निर्यात भएको पाइन्छ । नेपालबाट ४ देशमा ४८ लाखभन्दा बढीको भोड्का निर्यात भएको छ ।
यी वस्तुको निर्यातमा अघिल्ला केही वर्ष घटेको देखिन्छ भने आव २०२१/२२ मा भने निर्यात बढेको छ । तथ्यांकोवाचमा नेपाली वस्तुको निर्यातको केही वर्षको प्रवृत्तिलाई समेत देखाइएको छ । कोरोनाका कारण निर्यात प्रभावित भएको देखिन्छ भने केही वस्तुको निर्यात घट्नुमा गुणस्तरको समस्या र उत्पादन बढ्न नसक्नु कारण देखिन्छ ।
नेपालमा तथ्यांक लिने र त्यसको विश्लेषण गरेर व्यापार नीति बनाउने प्रचलन नै निकै कम छ । चाहे त्यो सरकार होस् वा निजीक्षेत्र, तिनले निर्यात आँकडाको विश्लेषण गरेको भए निर्यात बढ्ने थियो । यी वस्तुको निर्यात बढाउन निर्यात नीतिमै परिवर्तन गर्नुपर्ने देखिन्छ । अहिले सरकारले निर्यातको अनुपातमा अनुदान दिने गरेको छ । तर, निर्यात वृद्धिका आधारमा अनुदान दिने हो भने बढी प्रोत्साहन मिल्छ । बरु यस्तो अनुदानको रकम बढाउनु उपयुक्त हुन्छ । त्यस्तै, निर्यात भइरहेका वस्तुको निर्यात थप बढाउन केके गर्न सकिन्छ भन्नेमा सरकारले विशेष ध्यान दिनुपर्छ । निर्यात गरिरहेका उद्यमी वा निर्यातकर्ताले केके समस्या भोग्नुपरिरहेको छ भनेर सरकारी अधिकारीहरू नै यस्ता वस्तुको उत्पादनकर्ता वा निर्यातकर्ताकहाँ पुग्नुपर्छ । तर, निर्यातकर्ताको माग र सुझावलाई समेत सरकारले बेवास्ता गरेको पाइन्छ । निर्यातकर्ताको मागलाई सम्बोधन नगर्ने हो भने निर्यातमा अनुदान दिने नीति प्रभावकारी नहुने निश्चित छ । अनुदान दिएकै वस्तुको निर्यात घटेको देखिएकाले पनि यो सरकारी नीति प्रभावकारी बन्न नसकेको हो भन्न सकिन्छ ।
अत: निर्यात प्रवर्द्धनका लागि स्थापना गरिएको सरकारी संयन्त्रले यी तथ्यांकको विश्लेषण गर्नु जरुरी छ । र, त्यसैअनुसार नीति बनाई सरकारलाई सिफारिश गर्नुपर्छ । राज्यको विशेष नीतिकै कारण अन्य देशको उत्पादन र निर्यात बढेको हो भन्ने तथ्य सरकारले बिर्सनु हुँदैन ।