चैत १९, काठमााडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु करिडोरको प्रसारण लाइनको शनिवार उद्घाटन गर्नुभएको छ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले १३२ केभीको ९० किलोमिटर लामो प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।
सोलुखुम्बुमा उत्पादित जलविद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सोलु करिडोर विद्युत् प्रसारण लाइन बनाइएको हो ।सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३०२ ओटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो । लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो । निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न भई प्रसारण लाइन सञ्चालनमा आएको छ ।