गाँजाको 'वन्डरल्यान्ड' बन्दै थाइल्यान्ड

थाइल्यान्डले बिहीवारदेखि कानुनी रुपमा गाँजा खेती गर्न र त्यसको उपयोग गर्न खुला गरेको छ। थाई जनस्वास्थ्य मन्त्रीले आजदेखि १० लाख गाँजाको बिरुवा वितरण गर्ने घोषणा गरेका छन्। योसँगै थाइल्यान्ड अब गाँजाको लागि ‘वन्डरल्याण्ड’मा परिणत हुने धारणा सुनिएका छन्। केही थाई अभियान्ताहरूले बिहीवार बिहान विभिन्न क्याफेहरुबाट गाँजा किन्दै उत्सव मनाएका थिए।…

सम्बन्धित सामग्री

घाम पर्यटनको सम्भावना: अफसिजनका लागि बन्न सक्छ विकल्प

नेपालमा घाम ताप्नुलाई दैनिक जीवनको अंग मानिन्छ । मानिसको शरीरलाई घाम आवश्यक पनि छ । तर, यही घाम ताप्न चाहने व्यक्तिहरूलाई सेवा दिने घाम पर्यटन अहिले चलनचल्तीमा आउन थालेको छ । समुद्रीकिनारमा बालुवामा पल्टँदै घामको सेवन गर्ने पर्यटन समुद्री मुलुकमा प्रचलनमा रहेको धेरै लामो समयदेखि नै हो । तर, अहिले हिमाली वा पर्वतीय क्षेत्रमा पनि घाम ताप्ने वा सेवन गर्ने पर्यटन बढ्न थालेको छ । गर्मी याममा तराई वा गर्मी प्रदेशका बासिन्दा पहाडी क्षेत्र अर्थात् हिलस्टेशनमा आउने पर्यटन पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो, नेपालका लागि । तर, अहिले यी हिलस्टेशन नै पनि घाम पर्यटनका लागि उपयुक्त थलो बन्न थालेको पाइन्छ ।  घाम पर्यटन भन्नेबित्तिकै सूर्य, बालुवा र समुद्र (सन, स्यान्ड र सी) भन्ने सामान्य बुझाइ छ । यो क्षेत्रले यूरोपेली पर्यटनमा ६० प्रतिशत अंश ओगटेको छ । अमेरिकामा ४३ प्रतिशत र चीनमा ६८ प्रतिशत रहेको छ । यसका लागि यूरोपेली पर्यटकमध्ये धेरैको रोजाइमा अहिले थाइल्यान्ड पर्न थालेको छ । तर, पहाडी भूभागमा जाडोका दिनमा न्यानो घाम ताप्न रुचाउने पर्यटन पनि शुरू भएको छ । खासगरी भारतमा अहिले हिमाचललगायत हिलस्टेशनमा यस्तो पर्यटन बढ्न थालेको छ ।  नेपाल पनि यस्तो पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । घामको किरणको बीचमा अग्ला चुचुरा अवलोकन गर्नुको छुट्टै आनन्द छ । त्यसैले घाम पर्यटन पर्यटन उद्योगमा लोकप्रिय प्रवृत्ति बन्दै गएको छ । सुन्दर परिदृश्य, प्रशस्त घामसहितको शान्त वातावरणमा रमाइलो गर्न राम्रो मौसम खोज्ने पर्यटकमाझ यो प्रचलन बढ्दो छ । र, नेपालमा यसको सम्भावना बढ्दो छ ।  घाम पर्यटनले हिमालका चुचुराहरूको अचम्मको सौन्दर्य पान गर्ने अवसर मात्र दिँदैन, घामको स्पर्श पाउने अचम्मको आनन्द पनि दिन सक्छ । घाम पर्यटनका कारण पर्यटक बढ्नुको फाइदा छ । नेपालको पर्यटनमा यसले विविधीकरण गर्न र अफसिजनमा पर्यटक बढाउन पनि मद्दत गर्छ । यसले स्थानीय बासिन्दाको आयस्रोत पनि बढाउँछ । त्यसैले सूर्य पर्यटनको बढ्दो लोकप्रियतासँगै यसले पर्यटकीय सिजनलाई विस्तार गर्न मद्दत गर्छ, जसले स्थानीयहरूलाई मद्दत गर्छ । सूर्यको उत्साहजनक न्यानोसँग मिलेर प्राकृतिक दृश्यहरूको मिश्रण खोज्ने पहाड हेर्न चाहने पर्यटकबीच सूर्य पर्यटन बढ्दो रूपमा लोकप्रिय हुँदै गएको छ । यसले हिमाल प्रेमीहरूलाई बाहिरी गतिविधिहरूको आनन्द लिन मात्र नभई पहाडहरूको घामले चुम्बन गरेको आभासलाई अँगाल्न अनुमति दिन्छ । पर्याप्त घामको आरामदायी अँगालोमा बेरिएर तिनीहरू चुचुरा, शान्त उपत्यका र रमणीय वनहरूको प्राकृतिक सौन्दर्यमा रमाउन सक्छन् । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । घमाइलो मौसम भएका पहाडहरूमा पर्यटक ल्याएर घाम पर्यटन गराउन सकिन्छ । परम्परागत रूपमा स्कीइङ, स्नोबोर्डिङ र ट्रेकिङजस्ता गतिविधिसँग यसलाई जोड्न पनि सकिन्छ । यसले पर्यटन सिजन विस्तार गरेर, पहिले जाडो गतिविधिहरूमा धेरै निर्भर हुने व्यवसाय, आवास र सेवा प्रदायकहरूका लागि आम्दानी प्रदान गरेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ ।  घाम पर्यटनले प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणको ग्यारेन्टी गर्दै संरक्षण प्रयास, पर्यावरण–मैत्री पूर्वाधार र जिम्मेवार पर्यटन अभ्यासजस्ता दिगो अभ्यासहरूलाई बढावा दिन्छ । यसले पहाडी क्षेत्रहरूमा पूर्वाधार विकासलाई अगाडि बढाउँछ, जसले यातायात, पहुँच र सुविधाहरूमा सुधार गर्छ । यसले पर्यटकीय अनुभवमा वृद्धि मात्र गर्दैन, रोजगारीका अवसरहरू सृजना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि बढावा दिन्छ । पछिल्लो समय यस्ता पर्यटकको संख्या बढेको छ । आफ्नो मुलुक छोडेर अन्य मुलुकमा घुम्न निस्कने पर्यटकमध्ये केही प्रतिशत घाम ताप्नकै लागि निस्कने गरेको पाइन्छ । समुद्रको किनारमा घण्टौंसम्म घाम तापेर बस्ने गरेका विदेशीहरू हामीले देख्ने गरेका छौं । विदेशीहरू घामलाई बढी नै मान्यता दिने भएकाले उनीहरू परिवारसहित घुम्न निस्कन्छन् । नेपालमा छत, आँगन, चउर आदिमा घाम ताप्न मजाले पाइन्छ । त्यसो हुँदा यस्तो पनि पर्यटन हुन सक्छ र भन्ने कुरा आउन सक्छ । तर, नेपालकै तराई क्षेत्रका बासिन्दा घामका लागि पहाड जानुपर्ने अवस्था विगत केही वर्षदेखि देखिँदै आएको छ । तराईमा हुस्सु र शीतलहर चल्न थालेपछि घाम ताप्नकै लागि नजिकको पहाडमा जाने प्रवृत्ति बढ्दो छ । यसलाई आन्तरिक पर्यटनका लागि अवसरका रूपमा प्रयोग गर्न सकिन्छ ।  हिउँदको घाम त्यसै पनि न्यानो र प्यारो हुन्छ । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठ्याङ्ग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भयो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । यस्तो बेला घाम बेचेरै व्यवसाय चलाउन सकिन्छ । भेडेटार तराईका लागि गर्मी छल्ने ठाउँमात्र होइन, पारिलो घाम ताप्नका लागि पनि उत्तिकै प्यारो बनेको देखिन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडामा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ । त्यतिमात्र होइन, कतिपय रिसोर्टहरू घमाइलो स्थानमा खोलिएका छन् जसको सम्बन्ध घाम पर्यटनसँग नै देखिन्छ । पहाडको थुम्काहरूमा रिसोर्ट खोल्नुको एउटा प्रयोजन घाम पर्यटन नै हो । तर, यसलाई सीधै घाम पर्यटन भन्ने गरिएको छैन । यही नामबाट पर्यटन प्रवर्द्धन गर्ने हो भने यसमा नयाँ प्याकेज बन्न सक्ने देखिन्छ ।  नेपाल बाह्रै महीना घुम्न मिल्ने गन्तव्य बनाउन सकिन्छ । नेपालमा जाडोमा घाम ताप्ने पर्यटक धेरै ल्याउन सकिन्छ । यो बेला चिसो हुने मुलुकका नागरिकलाई नेपालमा भित्त्याउन सकिन्छ । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानाडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । जाडो याम नेपालका लागि पर्यटनको अफ सिजन हो । यस्तो अफ सिजनमा छूटका प्याकेज ल्याउन सकिन्छ । यसमा नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन आवश्यक छ । त्यस्तै निजीक्षेत्रले पनि यस्ता प्याकेज बनाएर प्रचार गर्नु जरुरी छ । अहिले पनि घाम पर्यटन नभएको होइन तर त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण भने भएको छैन । यस्तो नयाँ प्रडक्टप्रति धनाढ्य पर्यटक आकर्षित हुन सक्छन् । त्यसमा घाम ताप्नुमात्र नभई आयुर्वेदिक मसाज र उपचार आदि पनि जोड्न सके अझ बढी प्रभावकारी हुन्छ । घाममा बस्नु शरीरका लागि आरामदायी मात्र होइन, स्वास्थ्यलाभका लागि पनि जरुरी छ ।  हिलस्टेशनलाई गर्मी छल्ने ठाउँका रूपमा मात्र प्रचार गर्ने गरिएको छ । त्यसो हुँदा जाडोमा यिनले कम व्यवसाय पाउँछन् । घाम पर्यटनको प्रचार गर्ने हो भने यिनले जाडो महीनामा पनि राम्रो व्यवसाय गर्न सक्छन् । यही जाडो महीनामा इलाममा प्रशस्त भारतीय पर्यटक देखिए तर भेडेटारमा भने खासै चहलपहल देखिएन । कारण भेडेटारले घामको प्रचार गरेको छैन । त्यसैले भारत र अन्य मुुलुकमा समेत घाम पर्यटनको प्रचारप्रसार जरुरी देखिएको छ । अहिलेसम्म घाम ताप्न नेपाल उत्कृष्ट छ भन्ने सन्देश प्रवाह गरिएको छैन ।  पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महीना जनवरीमा ७९ हजार १ सय पर्यटक नेपाल आएको देखिन्छ । यो संख्या अघिल्लो वर्ष जनवरीको तुलनामा २४ हजार बढी हो । बोर्डको तथ्यांकअनुसार सबभन्दा धेरै भारतबाट २४ हजार १ सय ३९ पर्यटक यो समय नेपाल आएका छन् । यो समय घाम पर्यटनको हो । आएका पर्यटक घाम ताप्नकै लागि वा घमाइलो वातावरणमा विभिन्न पर्यटकीय गतिविधि गर्नकै लागि आएका हुन् वा होइनन् भन्ने तथ्यांक पाइँदैन । त्यसैले नेपालले घाम पर्यटनलाई ब्रान्डिङ गर्न ढिला भइसकेको छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ । नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ । थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो । समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको […]

नेपाललाई लगातार तेस्रो उपाधि नजिक पुग्न बलियो काजाकस्तानको चुनौती

काठमाडौँ -सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्जकपको सेमिफाइनलमा नेपालले आज (शुक्रबार) एसियाकै बलियो प्रतिद्वन्दी काजाकस्तानको सामना गर्दै छ। समूहचरणको अन्तिम खेलमा भारतसँग पराजित भएपछि समूह ‘ए’ को उपविजेता बन्दै समूह ‘बी’ को विजेता बनेको काजकस्तानसँग नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। एसियाली महिला भलिबल बरियतामा काजकस्तान चिन, जापान, थाइल्यान्ड र कोरियापछि पाँचै वरियतामा […]

चीनमा खोलिएका कारखानाको विकल्प बन्दै भारत : एप्पल इंकको आगमनले थप उत्साही

काठमाडौं । अहिले पश्चिमी देशहरुले धमाधम चीनमा रहेको आफ्नो उत्पादन बेसको विकल्प खोज्न थालेका छन् । केहीले चीनमा रहेका आंशिक उत्पादनलाई अन्यत्र सारिरहेका छन् भने केहीले पुरै पनि सारे । यसलाई ‘चीन प्लस वन’ अर्थात् चीनको साथसाथै अर्कोलाई उत्पादन बेस बनाउने भनेर नामांकन गर्न थालिएको छ । यो एकमा धेरै कम्पनीले भारतलाई जोड्न थालेका छन् ।  चीनको श्रम बजारलाई टक्कर दिन सक्ने आकारको श्रम बजार विश्वमा भारत मात्र एउटा हो । अनि आन्तरिक खपत बजारको मामिलामा पनि भारत चीन जत्रै छ । भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने क्रममा छ । यस्तोमा धेरैले कारखाना खोल्ने र उत्पादन बेस बढाउने विकल्पको रुपमा भारत रोज्न लागेका छन् ।  हालैका वर्षहरुमा भारतले पनि आफ्नो व्यवसायिक वातावरणमा व्यापक सुधार गरिरहेको छ । आइफोन निर्माता कम्पनी एप्पल इंकले भारतमा आइफोनको उत्पादनमा उल्लेख्य विस्तार गर्ने निर्णय त्यसै गरेको होइन । भारतको औद्योगिक पार्कहरुमा समेत यसको झलक देख्न सकिन्छ । लामो समय देखि विदेशी म्यानुफ्याक्चररहरुले विदेशबाट ल्याएर भारतमा कार र एप्लायन्सहरु बेचिरहेका थिए । अब सोलार प्यानल देखि विन्ड टर्बाइन अनि खेलौंनादेखि जुत्तासम्म चीनमा बनाइने हरेक सामानको उत्पादन भारतमा गर्न लागिएको छ ।  सन् २०२१ मा डेनमार्कको भेष्टाजले श्रीपुरम्बुदुरमा विन्ड टर्बाइन बनाउन शुरु गर्यो । कम्पनीले ६ ओटा एसेम्बली लाइन चलाइरहेको छ । यहाँ हब सेल, पावर ट्रेन र अन्य पार्टपूर्जा बनाइन्छ । भेष्टाज आएपछि यसका कयौं आपूर्तिकर्ता पनि भारत आएका छन् । केही कम्पनीहरुले चीनको विकल्प खोज्दैमा उत्पादन केन्द्रको रुपमा चीनको उचाई घटेको छैन ।  विश्वको उत्पादनमा हरेक देशभनदा चीन अगाडि छ । सन् २००१ मा चीन विश्व व्यापार संगठनमा आबद्ध भएयता त्यहाँ बहुराष्ट्रिय कम्पनीहरु भेल झैं छिरे । तर चीनको बढ्दो श्रम लागत, चिनियाँ प्रतिस्पर्धीहरुलाई प्रविधिको प्रशारण गर्न त्यहाँको सरकारले दिने दबाब लगायत अनेकौं कारणहरुले गर्दा कम्पनीहरु ब्याकअप खोज्न बाध्य बने ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पालमा अमेरिका र चीनबीचको महसुल युद्ध, कोभिडका कारण सन् २०२० देखि गएको वर्षसम्मै चीनले गरेको लकडाउन अनि पश्चिमी देशहरुले चीनसँग आफ्नो अर्थतन्त्रलाई अलग्याउन गरेको प्रयास आदिले पनि आगोमा घ्यू थप्ने काम गर्यो । अहिले चीनमा रहेको केही उत्पादन बेसलाई कम्पनीहरुले भियतनाम, मेक्सिको, थाइल्यान्ड र मलेशिया जस्ता देशहरुतिर पनि सारिरहेका छन् ।  यसको सबै लाभ भने भारतले लिन सकिरहेको छैन । न त सक्ने अवस्था छ । भारतको श्रम बल अधिकांश गरीब अनि अदक्ष छन् । पूर्वाधार कमजोर छ । व्यवसाय गर्ने वातावरण पनि कहिले काँही बोझिलो बनेको पाइन्छ । भारतको अर्थतन्त्रको आकारको तुलनामा म्यानुफ्याक्चरिङ क्षेत्र निकै सानो छ । तर दशकौं सम्मको निराशालाई चिरेर अहिले भारतले केही प्रगति गरिरहेको छ ।  सन् २०२१ मा भारतको म्यानुफ्याक्चर्ड निर्यात चीनको १० प्रतिशत पनि थिएन । तर मेक्सिको र भियतनाम जस्ता उदीयमान अर्थतन्त्रहरुको भन्दा चाँहि धेरै छ । सबैभन्दा ठूलो उछाल म्यानुफ्याक्चरिङमा देखिएको छ। सन् २०१८ यता इलेक्ट्रोनिक्सको निर्यात तेब्बर हुँदै मार्चमा सकिएको आवमा २३ अर्ब डलरमा उक्लियो । सन् २०१६ मा विश्वमा उत्पादन हुने कुल हाते फोनमा भारतको अनुपात ९ प्रतिशत मात्रै थियो । तर यो वर्ष यो अनुपात बढेर १९ प्रतिशतमा उक्लिने बजार अनुसन्धाता संस्था काउन्टरप्वाइन्टको प्रक्षेपण छ ।  भारतमा प्रत्यक्ष विदेशी लगानी (FDI) ओइरिने क्रम बढेको छ । सन् २०२० देखि २०२२ को बीचमा औसत ४२ अर्ब डलर प्रत्यक्ष विदेशी लगानी भित्रिएिको थियो । एक दशक अधिको तुलनामा यो दोब्बर हो । चीनमा एप्पलको सबैभन्दा ठूलो कारखाना छ । विगत १५ वर्षमा कम्पनीले ल्यापटपदेखि आइफोन अनि एसेसरिजसम्म सबै सामान चीनमै बनायो । पछिल्लो समय भारतमा कम्पनीको लगानी बढिरहेको छ ।  सन् २०२५ मा कुलमध्ये २५ प्रतिशत एप्पलका आइफोन भारतमै बन्ने भनेर अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जे. पी. मोर्गनले प्रक्षेपण नै गरेको छ । एप्पलको उपस्थितिले अरुलाई पनि भारत बोलाउँछ भन्ने आश भारतीय अधिकारीहरुले गरेका छन् । एप्पलका लागि करारमा आइफोन बनाइदिने ताइवानी कम्पनी फक्सकोनले पनि भारतमा रहेको आइफोन कारखानामा उत्पादन विस्तार गरेको छ ।  सन् २०२४ देखि कम्पनीले भारतमा वार्षिक २ करोड थान स्मार्टफोन बनाउने लक्ष्य लिएको छ । कामदारको संख्या पनि तेब्बर बनाएर १  लाख पुर्याउँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अघिल्लो कार्यकाल देखि नै व्यवसायिक वातावरणमा व्यापक सुधार गरिरहेका छन् । कर र भन्सारमा छूट दिनेदेखि अन्य विविध खालको प्रोत्साहन अनि व्यवसाय स्थापनामा रहेका ढिलासुस्ती र अवरोधमा व्यापक सुधारको काम भएको छ ।  तर भारतमा अनेकौं समस्या छन् । दक्ष श्रमिक अभावको समस्या विस्तारै चर्किन थालेको छ । यहाँको कर्मचारी संगठन पनि टाउको दुखाईको अर्को कारण बन्न सक्छन् । चीनको अवस्था यस्तो अलि थिएन । मोदीको ‘मेक इन इन्डिया’ अभियानले आयातलाई विस्थापित गर्न खोजेकोे छ । घरेलु स्तरमा उत्पादित वस्तुलाई टेवा दिन अयात महसुल बढाइएको छ । यी महसुलहरुले कम्पोनेन्ट आयात गर्ने उद्योगहरुलाई निरुत्साहित गर्ने निश्चितप्रायः छ ।  मेक इन्डिया शुरु भएयता भारतको आर्थिक उत्पादनमा म्यानुफ्याक्चरिङ क्षेत्रको हिस्सा घटेर १४ प्रतिशतमा सीमित भएको छ । यो मेक्सिको, भियतनाम र बंगलादेशको भन्दा पनि कम हो । केही कम्पनीहरुको भारतमा अनुभव खराब छ । एमाजनले गएको वर्ष आफ्ना केही भारतीय भेञ्चर नै बन्द गर्यो । चीन एक्कासी विश्वको कारखाना बनेको होइन । कयौं देशको शीर्ष व्यापार साझेदार बन्ने यात्रा चीनले कयौं वर्ष लगाएर पूरा गरेको थियो । सन् २००१ को तुलनामा सन् २०२० मा चीनको निर्यात र आयात क्रमशः ८७० र ७४० प्रतिशतले बढी थियो । यो सोही अवधिमा विश्व व्यापारमा भएको वृद्धिको तुलनामा निकै धेरै हो । सो अवधिमा विश्वको व्यापार १८० प्रतिशतले मात्रै बढेको आंकटाडको तथ्यांकले देखाएको छ । अहिले विश्वको कुल व्यापारमध्ये १३ प्रतिशत चीनको पोल्टामा छ । तर विश्व व्यापारमा भारतको हिस्सा ३ प्रतिशतभन्दा पनि कम छ । भारतलाई चीनकै स्तरमा आउन अझैं कयौं वर्ष लाग्नेछ । अनेकन आन्तरिक समस्याहरु चिर्नु पर्नेछ । तर पश्चिमी देशहरुले उत्पादन बेसमा चीनको विकल्प खोजिरहँदा फ्याक्ट्री फ्लोरमा चीनसामु अर्को बलियो प्रतिस्पर्धी भारत बनिरहेको छ । चाइना वन प्लसमा आफूलाई अटाइरहन, आफ्नो पकड बलियो बनाउन भारतले थप ठोस कदम चाल्नु पर्ने देखिन्छ । एजेन्सीहरुको सहयोगमा

खाद्यान्न आयात किन घट्यो ?

चालू आर्थिक वर्षको ७ महीनामा खाद्यान्न आयात ३१ दशमलव ४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि माघ मसान्तसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको देखिन्छ । ती खाद्यान्नमा चामल, मकै, धान, गहुँ, जौ, कोदो आदि रहेका छन् । यसरी आयात कम हुनुका कारणमध्ये पहिलो धान उत्पादन वृद्धि हुनु हो । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र आयातमा एलसी अर्थात् प्रतीतपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेका कारण पनि खाद्यान्न आयात प्रभावित भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र एलसी खोल्दा जुन व्यवस्था गरियो त्यसकै कारण आयातमा कमी आएको भन्ने तर्क व्यवसायीहरूको रहेको छ । छिमेकी देश भारतले गहुँ निर्यातमा भन्सार शुल्क बढाएका कारण खाद्यान्न आयातमा कमी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत असोजमा भारतले धान र चामल निर्यातमा २० प्रतिशतसम्म भन्सार शुल्क लगाएको थियो । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा १० अर्ब ६६ करोड ८० लाख ७ हजार रुपैयाँको चामल आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९ अर्ब ९२ करोड ४३ लाख ५५ हजार रुपैयाँको चामल आयात भएको थियो । त्यसैगरी ७ महीनामा १० अर्ब ४० करोड ११ लाख रुपैयाँको मकै आयात भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा १३ अर्ब ४४ करोड ३६ लाख १ हजार रुपैयाँको मकै आयात भएको थियो । हाम्रो देशमा खासगरी कुखुरा पालन गर्ने व्यवसायीहरूले दाना बनाउन मकैको उपयोग गर्ने गर्छन् । यस वर्ष धान आयात भने सामान्य मात्रामा बढेको छ । चालू ७ महीनामा १३ अर्ब ४७ करोड ८४ लाख रुपैयाँको धान किनेको देखिन्छ । गतवर्ष सोही अवधिमा १२ अर्ब ४६ करोड ३४ लाख ११ हजार रुपैयाँको आयात भएको थियो । पहाड र तराईमा गहुँ उत्पादन भए पनि सामान्य घरायसी प्रयोजनका लागि मात्रै पुग्ने गरी उत्पादन भएकोले व्यावसायिक रूपमा स्वदेशी उत्पादनले धान्न सक्दैन । त्यसकारण यस वर्षको चालू आर्थिक वर्षको ७ महीनामा १० करोड १८ लाख ८५ हजार रुपैयाँको गहुँ आयात भएको छ । गतवर्षको सोही अवधिमा भने ४ अर्ब ६४ करोड ६१ लाख ८८ हजार रुपैयाँ बराबरको गहुँ आयात भएको थियो । विगत १ वर्षभन्दा लामो समय अगाडिदेखि थालनी भएको रूस र युक्रेन युद्धका कारण देखाउँदै भारतले गहुँ निर्यातमा कडाइ गरेको थियो ।   भारत सरकारले गएको जेठ महीनादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालयले ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको बताएको छ । चामल, मकै, गहुँ, कोदो र फापरको उपभोग प्रतिव्यक्ति प्रतिवर्ष करीब १८१ केजी हुने गरेको छ । चामलको उपभोग प्रतिव्यक्ति प्रतिवर्ष करीब १३७ केजी भइरहेको छ । चामलको आवश्यकता वार्षिक ४० लाख मेट्रिक टन रहेकोमा ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिएकाले वार्षिक ४ लाख ८० हजार मेट्रिक टन चामल कमी हुने मन्त्रालयले बताएको छ ।   हाल नेपालमा विभिन्न देशहरूबाट खाद्यान्न आयात हुने गरेको देखिन्छ । ती देशमा भारत, चीन, अर्जेन्टिना, दक्षिण अफ्रिका, इन्डोनेशिया, मेक्सिको, थाइल्यान्ड, मलेशियालगायत पर्दछन् । स्थानीय उत्पादनले माग धान्न नसकेकै कारण हरेक वर्ष ठूलो परिमाणमा खाद्यान्न आयात गर्न हामी बाध्य भइरहेको अवस्था छ । केही दशक अगाडि नेपालले भारतलगायत अन्य देशमा समेत धान निर्यात गर्ने गरेको विविध तथ्यांकले देखाएको छ । तर, पछिल्ला समय भने हामी हरेक उत्पादनमा परनिर्भर बन्दै गएका छौं । पहिले नेपालको वैदेशिक व्यापार भारतसँग मात्र सीमित रहेको थियो । वैदेशिक व्यापार तथा आयात र निर्यात विषयमा चर्चा गर्ने हो भने नेपालमा काजी भीम मल्लका पालामा नेपाल तिब्बत वाणिज्य सम्झौता भएपछि नेपाल र तिब्बतबीचमा वस्तु आयात र निर्यात हुन थाल्यो । त्यस बेला तिब्बतबाट नेपालमा भेडा च्याङ्ग्रा, सुन, उन, नुनजस्ता वस्तु आयात गरिन्थ्यो भने नेपालबाट चामल, पिठो, खुर्सानी, चिनीजस्ता वस्तुु निर्यात गरिन्थ्यो । विसं २०२० सालसम्म नेपालको वैदेशिक व्यापार भारतपछि चीनसँग मात्र सीमित रहेको थियो । विसं २०२१ देखि बल्ल नेपालले समुद्रपारका देशहरूसँग पनि आफ्नो व्यापार बढायो ।   आयात बढ्दा हामीलाई पर्ने असर भनेको विकास निर्माण कार्यमा बजेट अभावको समस्या हुनु हो । वस्तु आयातमा गरिने खर्चले गर्दा अत्यावश्यक निर्माणमा समेत बजेटको अभाव रहने गरेको दृष्टान्त नभएको होइन । अप्रशोधित र अर्धप्रशोधित कच्चा पदार्थभन्दा पनि प्रशोधित तयारी वस्तुको निर्यात गर्न सके वैदेशिक मुद्रा आर्जनमा ठूूलो टेवा पुग्ने देखिन्छ । हाल निर्यात भैरहेका उच्च कोटिका वस्तुहरूमा नेपाली कागज, गलैंचा, दाल, जडीबुटी, पिना, चिया, अलैंची, खयर, तयारी पोशाक, चाँदीका गहना, छालाका तयारी सामान, पश्मिना, हस्तकलाका सामान आदि रहेका छन् । देशको अर्थतन्त्र बलियो बनाउन स्वदेशमा नै खाद्यान्न उत्पादनमा जोड दिन जरुरी छ । खाद्यान्नमा आत्मनिर्भर बन्दा मात्र मासिक रूपमा विदेशिइरहेको करोडौं रकम बचत भई अर्थतन्त्र सबल बन्न सक्छ । यसका लागि राज्यले ज्यादा सजगता अपनाउन र आर्थिक जोखिमबाट बच्ने उत्तम उपायको खोजी गर्नु आवश्यक छ । त्यसैले खाद्यान्नसम्बन्धी नीति बनाउँदा नीति निर्माताले दूरदर्शिता अपनाउन अत्यावश्यक हुन्छ ।      लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

थीम रेस्टुराँमा विवाद

भैरहवामा सञ्चालनमा आएको जेल रेस्टुराँ जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बन्द गराएको र केही शर्तसहित सञ्चालन गर्न भनेको समाचार पढ्दा नेपालको प्रशासनिक क्षेत्रका मानिसले नयाँ सोचलाई स्वीकार गर्न नसक्ने तथ्य पुष्टि गरेको छ । जेलका कोठाहरू, हतकडी, बन्दुक, फाँसीको डोरीलगायत सामग्री राखेर जेलको थीममा सञ्चालनमा ल्याइएको रेस्टुराँमा खाना खाने ग्राहकले टिकटक र अन्य सामाजिक सञ्जालमा फोटो राखेपछि त्यो बन्द गराएको देखिन्छ । तर, व्यवसायीको विरोधपछि प्रशासन केही लचिलो त बनेको छ । तर, यसले थीम रेस्टुराँ के हो र किन यसप्रति आकर्षण छ भनेर प्रशासनिक संयन्त्रले नबुझेको देखिन्छ । डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो । विश्वकै प्रवृत्ति पन्छाउँदै नेपालमा पनि थीम रेस्टुराँ खोल्ने लहर चलेको छ । कोरोना शुरू हुनु अघि रेस नेपालले पार्टी बस सञ्चालनमा ल्याएको थियो । बसभित्रै पार्टी मनाउने गरी यो रेस्टुराँ शुरू गरिए पनि कोरोनाका कारण सञ्चालन भएन । खानाका परिकार, पस्कने तरिका, साजसज्जा, भाँडाकुँडा आदिमा नयाँपन दिने क्रम निकै बढेको छ । साथै नेपालीमा बाहिर खाने प्रवृत्ति पनि बढ्दो छ । यही क्रममा रूपन्देहीमा जेलको थीममा रेस्टुराँ बनेको देखिन्छ । तर, प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले रेस्टुराँको नाम परिवर्तन गर्नुपर्ने, त्यहाँ प्रयोग गरिएका ‘थिम’हरू परिमार्जन गरेर सञ्चालन गर्नदिने बताएका छन् । हतकडी, फाँसीको फन्दा, बन्दुकहरू राखिएको जेल नै देखिनेजस्तो वातावरण हटाउनुपर्ने प्रशासनको भनाइ छ । यो भनेको थीम रेस्टुराँ के हो भनेर थाहा नहुनु हो । भिन्न स्वभाव र रुचि नै मानिसको चिनारी हो । मानिस जहिले पनि नयाँपनको खोजीमा रहेको हुन्छ । पर्यटनको शुरुआत पनि यसैबाट भएको हो । डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो । थीम रेस्टुराँको इतिहास १९औं शताब्दीको प्रारम्भमा पेरिसबाट शुरू भएको मानिन्छ । त्यहाँको एउटा नाइट क्लब मृत्यु, स्वर्ग र नरकको थीममा सञ्चालन भएको थियो । त्यस्तै खालको रेस्टुराँ त्यसपछि न्यूयोर्कमा पनि त्यही समयमा खुलेको हो । यही बेलादेखि खाना खाने ठाउँ, खाना र खाना सर्भ गर्ने तरीकामा नयाँपनको खोजी हुन थालेको हो । डिज्नेल्यान्ड थीम पार्क खुलेपछि थीम रेस्टुराँ र होटलहरू खुल्ने क्रम झनै तीव्र भयो । स्पेनमा मेडियाभल टाइमको चेन रेस्टुँरा १९७० मा खुल्यो । हार्ड रक क्याफे, प्लानेट हलिवुड, रेनफरेस्ट क्याफे थीम क्यामेका उदाहरण हुन् । चीनको ताइपेमा शौचालय थीमको रेस्टुराँ छ । शौचालयमा बसेजस्तो गरी प्यान आकारको टेबलमा प्यान आकारको कटोरामा नै खाना पस्किइन्छ । त्यस्तै दक्षिण कोरिया एउटा यस्तो क्याफे छ जहाँ एक दर्जनभन्दा बढी जनावरहरू छन् । ती जनावरसँग जिस्किँदै खाना खाने व्यवस्था छ । सिंगापुरमा अस्पताल थीमको रेस्टुराँ छ । त्यहाँ अपरेशन टेबलमा खाना पस्किइन्छ । बिरामीले लगाउने लुगा लगाउनुपर्छ । सिरिन्जबाट सस लिनुपर्छ । स्टेथिस्कोप झुन्ड्याएका वेटरले सेवा दिन्छन् । न्यूयोर्कमा निन्जा थीमको रेस्टुराँ छ । निन्जाको पहिरन लगाएका कर्मचारी हुन्छन् । जापानको जेल थिमको अल्कार्टज रेस्टुराँ पनि विशेष छ । यसमा जेलको सेलमा ग्राहक थुनिन्छन् र टेबलमा हतकडी हुन्छ । एयरप्लेन थीमको रेस्टुराँ छ, ताइवानमा । विमानमा यात्रा गरेजस्तै गरी खाना खान सकिन्छ । ताइपेमा स्काइ रेस्टुराँ छ जहाँ आकाशमै रहेर खाना खाएको अनुभव गर्न सकिन्छ । यसमा वेटरले एयर होस्टेसको ड्रेस लगाएका हुन्छन् । यस्तै स्पेनको भूकम्पको थीममा बनेको रेस्टुराँ छ जहाँ खाना खाँदै अचानक ठूलो भुइँचालो आउँछ र अँध्यारो हुन्छ । लेबनानमा सेनाको थीममा बनेको रेस्टुराँ छ । यहाँका भित्ताहरू, गोलाबारुद, क्यामरुफेज जालका साथ सजाएका पर्खालहरू हुन्छन् । बन्दुक र हेलिकोप्टरका आवाज आइरहेको हुन्छ । भान्साको नाम पनि सैन्य संरचनाअनुसारका छन् । विश्वभरि नै मृत्युदण्ड, जेल, मृत्यु र नरकजस्ता थीम रेस्टुराँप्रति मानिस आकर्षित भएको पाइन्छ । तीमध्ये जेल थीमको रेस्टुराँ प्रायः मुलुकमा पाइन्छन् । भारतमा मात्रै जेलको थीममा सयौं रेस्टुराँ सञ्चालनमा रहेका छन् । नेपालमा पनि थीम रेस्टुराँ खुल्न थालेको केही समय भएको छ । थ्रीडी चित्र भएका, सांस्कृतिक झलक दिने, रूख जंगलको छनक दिने विविध खालका थीम रेस्टुराँ खोल्ने क्रम तीव्र बनेको छ । रेस्टुराँमा नयाँपन दिने क्रममा नै भैरहवामा जेल थीम रेस्टुराँ सञ्चालनमा आएको देखिन्छ जुन भारतमा भएको जेल रेस्टुराँबाट प्रभावित छ । अहिले प्रशासनले जेल थीम र नाममै आपत्ति देखेको पाइन्छ । त्यसैले नाम फेर्न र थीममा परिवर्तन गर्न दबाब दिएको हो । तर, यसमा आपत्ति देख्नुपर्ने र बन्देज नै लगाउनुपर्ने कारण नै छैन । विश्वभरि चलेको प्रवृत्ति नेपालमा किन अनुपयुक्त भयो भन्ने प्रश्नको जवाफ प्रशासनसँग देखिँदैन । भारतमा मात्रै सयौं रेस्टुराँ जेलको थीममा बनेका छन् । मानिसहरू हतकडी लगाएर खाना खाइरहेको फोटो सामाजिक सञ्जालमा हालिरहेका छन् । विश्वभरि यो अनुपयुक्त नहुने तर नेपालमा चाहिँ आकाशै खसेजस्तो गर्नुपर्ने कारण देखिँदैन । फरक अनुभव सँगाल्ने चाहने खानाका पारखीहरू यस्तो रेस्टुराँमा आउँछन् । अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफ्रिकादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुराँहरू खुलिसकेका छन् र यसको इतिहास निकै लामो छ । तर, ती देशमा सरकारले जेलको संरचना जस्तो देखिएको तथा खेलौना बन्दुक र डोरीजस्ता कुरा राख्दैमा बन्दै गरेको पाइँदैन । आमप्रवृत्तिभन्दा फरक खालका हुने भएकाले झट्ट हेर्दा र सुन्दा अनौठो लाग्ने यस्ता रेस्टुराँ चर्चामा रहेको पाइन्छ । नेपालमा पर्यटन व्यवसायलाई बलियो बनाउनु छ भने नयाँ थीम, नयाँ शैली र नयाँ खालका सेवासुविधा दिने होटल, रेस्टुराँ खोलिनु आवश्यक हुन्छ तर त्यसले अपराधलाई मलजल गर्नु हुँदैन । त्यसमा कडा नियमन चाहिन्छ । तर, व्यवसायको मर्म नबुझी कुनै व्यवसाय बन्द गराउन लगाउने प्रवृत्तिले व्यावसायिक वातवरण बिथोल्ने काम गर्छ ।

एसियामा लोकतन्त्रसमर्थकहरूको ‘दूध चिया साझेदारी’ बन्दै

लोकतन्त्र समर्थकहरूबीचको एक्यबद्धता विगत केही महिनादेखि एसियाभरि देखिन थालेको छ । साइबरस्पेस र सडक दुवै ठाउँमा यस्तो साझेदारी देखिएको हो । अनौपचारिक ‘दूध चिया साझेदारी’ ले हङकङ, ताइवान, थाइल्यान्ड र म्यान्मारका राजनीतिक अभियन्ताहरूलाई एकताबद्ध गरेको छ । उनीहरूका मुलुकमा भिन्नाभिन्नै एजेन्डा भए पनि म्य...

थाइल्यान्डमा सरकार विरुद्ध प्रदर्शन, आन्दोलनबीच हटाइयो आपतकाल

थाइल्यान्डको राजपरिवार र सरकारको विरोधमा भइरहेको प्रदर्शन नियन्त्रण गर्न लागू गरिएको आपतकाल हटाइएको छ।   प्रदर्शन उग्र बन्दै गएपछि थाइल्यान्ड सरकारले आपतकाल घोषणा गर्दै ४ जनाभन्दा बढी व्यक्ति भेला हुन र कुनै पनि प्रकारको प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो। तर सरकारको निर्देशनको उल्लंघन गर्दै सयौं प्रदर्शनकारी सडकमा ओर्लिएका थिए।