विश्व अर्थतन्त्र मन्दीमा जाने चिन्ताबीच विश्व शेयर बजार राताम्मे, तेल र सुनको भाउमा कमी

टोकियो (जापान) । सोमबार विश्व शेयर बजार ओरालो लागेको छ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन कसिलो बनाएपछि विश्वको अर्थतन्त्र मन्दीतर्फ जाने हो कि भन्ने भय लगानीकर्ताहरुमा बल्झिँदा शेयर बजार रक्ताम्मे बनेको हो । गएको हप्ता अमेरिका, बेलायत, अष्ट्रेलिया र भारत लगायत देशका केन्द्रीय बैंहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाएका थिए । शुक्रबार नै अमेरिकी शेयर बजारमा तीव्र कमी आएको थियो । सोको प्रभाव हप्ताको पहिलो दिनको कारोबारमा पोखिँदा पनि एशिया र यूरोपका अधिकांश शेय रबजार सोमबार ओरालो लागेको हो ।  चीनले शाङ्हाईमा शून्य कोभिडको नीति कसिलो बनाउँदा पनि यसको असर शेयर बजारमा देखिएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध युद्धको घोषणा गर्ने अड्कलबाजीले पनि लगानीकर्ताहरुमा त्रास देखिएको हो । केही लगानीकर्ताहरु चाँडै नै मन्दी आउने भन्दा पनि अहिले महँगी बढ्नुको वास्तविकतालाई बढी ध्यान दिएको पनि देखिएको छ । सोमबार अमेरिकी शेयर बजार थप ओरालो लाग्न सक्ने शेयर फयूचर्सले देखाएका छन् ।  सोमबार यूरो स्टोक्स शून्य दशमलव ५६ प्रतिशतले घटेको छ । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ः१५ बजे बेलायतमा फूट्सी १ दशमलव ८४ प्रतिशतले घटेर ७ हजार २५१ दशमलव ७३ अंकमा आएको छ । फ्रान्समा क्याक ४० १ दशमलव ९८ प्रतिशतको कमीसहित ६ हजार १३४ दशमलव ५२ अंकमा झर्दा जर्मनीमा डीएएक्स पनि १ दशमलव ७२ प्रतिशतले घटेर १३ हजार ४३८ दशमलव ८६ अंकमा झरेको छ ।  सोमबार एशिया क्षेत्रका अधिकांश क्षेत्र बजार रातोमा आएर बन्द भएको छ । एमएससीआई विश्व परिसूचक शून्य दशमलव ५ प्रतिशतले घट्दा एशिया प्रशान्त क्षेत्रमा जापान बाहिरको एमएससीआई बृहत परिसूचक १ दशमलव २७ प्रतिशत तल आएको थियो । बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक २ दशमलव ५३ प्रतिशत अंकले घटेर २६ हजार ३१९ दशमलव ३४ अंकमा आएको थियो ।  दक्षिण कोरियामा कोस्पी १ दशमलव २७ प्रतिशतले घटेर २ हजार ६१० दशमलव ८१ अंकमा आउँदा सिंगापुरमा सेट कम्पोजिट १ दशमलव ५४ प्रतिशतले घटेर १ हजार ६०४ दशमलव ४९ अंकमा ओर्लिएको थियो । इन्डोनेशिया, थाइल्यान्ड, भारत, लगायत अधिकांश शेयर बजार रातोमा आएर बन्द भएका थिए । हङकङमा भने शेयर बजार बन्द थियो ।  चीन सोमबार उकालो लाग्ने एकमात्र एशियाली शेयर बजार बन्यो । अष्ट्रेलियामा पनि एएसएक्स २०० परिसूचक १ दमशलव १८ प्रतिशतले घटेर ७ हजार १२० दशमलव ७ अंकमा झरेको थियो । उक्त दिन शाङ्हाई कम्पोजिट इन्डेक्स शून्य दशमलव शून्य ९ प्रतिशत माथि आएर बन्द भएको थियो ।  २० वर्षकै ताजा उचाईमा अमेरिकी डलर पछिल्लो समय लगानीकर्ताहरु अनेक कुराले चिन्तित छन् । यस्तोमा सबैले लगानीको सुरक्षित साधनको रुपमा डलरलाई हेरिरहेका छन् । सोमबार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राको तुलनामा डलर सूचक शून्य दशमलव ४ प्रतिशतसम्म बढेर १०४ दशमलव १९ अंकमा उक्लिएको छ । लगानीकर्ताहरुमा जोखिमयुक्त सम्पत्तिप्रतिको रुचि कमजोर भएको र अमेरिकी ऋणपत्रको प्रतिफल निरन्तर बढ्ने संकेत बीच डलरको भाउ झनै बढ्न सक्ने फरेक्स रणनीतिज्ञहरु बताउँछन् । डलर सूचक बढेर १०७ माथि सम्म उक्लिने सक्ने प्रक्षेपण विश्लेषकहरुले  गरेका छन् । महँगी नियन्त्रण गर्न फेडले आक्रामक रुपमा ब्याजदर बढाउने अनुमानले पनि पछिल्लो समय डलरको भाउलाई टेवा दिइरहेको छ ।  सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने ओरालो लागेको छ । सात औद्योगिक देशहरुको समूह जी–सेभेनले क्रमिक रुपमा रुसी तेल आयातमा प्रतिबन्ध लगाउने वा आयात बन्दै गर्नेबारे आइतबार प्रतिबद्धता गरेपछि तेलको भाउ दबाबमा आएको हो । उक्त दिनको कारोबारमा ब्रेन्ट क्रुडको भाउ १ दशमलव शून्य ७ प्रतिशतले घटेर प्रतिब्यारेल १११ डलर २१ सेन्टमा आएको थियो । यूस क्रुडको भाउ पनि १ दशमलव १६ प्रतिशतले घटेर १०८ डलर ५१ सेन्टमा झरेको थियो । पछिल्लो समय सुरक्षित लगानीको साधनको रुपमा लगानीकर्ताको ध्यान खासै खिच्न नसकेको सुनको भाउ सोमबार शून्य दशमलव ७ प्रतिशतले घटेर प्रतिऔंस १ हजार ८६९ डलरमा आएको छ ।