भैरहवामा सञ्चालनमा आएको जेल रेस्टुराँ जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बन्द गराएको र केही शर्तसहित सञ्चालन गर्न भनेको समाचार पढ्दा नेपालको प्रशासनिक क्षेत्रका मानिसले नयाँ सोचलाई स्वीकार गर्न नसक्ने तथ्य पुष्टि गरेको छ । जेलका कोठाहरू, हतकडी, बन्दुक, फाँसीको डोरीलगायत सामग्री राखेर जेलको थीममा सञ्चालनमा ल्याइएको रेस्टुराँमा खाना खाने ग्राहकले टिकटक र अन्य सामाजिक सञ्जालमा फोटो राखेपछि त्यो बन्द गराएको देखिन्छ । तर, व्यवसायीको विरोधपछि प्रशासन केही लचिलो त बनेको छ । तर, यसले थीम रेस्टुराँ के हो र किन यसप्रति आकर्षण छ भनेर प्रशासनिक संयन्त्रले नबुझेको देखिन्छ ।
डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो ।
विश्वकै प्रवृत्ति पन्छाउँदै नेपालमा पनि थीम रेस्टुराँ खोल्ने लहर चलेको छ । कोरोना शुरू हुनु अघि रेस नेपालले पार्टी बस सञ्चालनमा ल्याएको थियो । बसभित्रै पार्टी मनाउने गरी यो रेस्टुराँ शुरू गरिए पनि कोरोनाका कारण सञ्चालन भएन । खानाका परिकार, पस्कने तरिका, साजसज्जा, भाँडाकुँडा आदिमा नयाँपन दिने क्रम निकै बढेको छ । साथै नेपालीमा बाहिर खाने प्रवृत्ति पनि बढ्दो छ । यही क्रममा रूपन्देहीमा जेलको थीममा रेस्टुराँ बनेको देखिन्छ । तर, प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले रेस्टुराँको नाम परिवर्तन गर्नुपर्ने, त्यहाँ प्रयोग गरिएका ‘थिम’हरू परिमार्जन गरेर सञ्चालन गर्नदिने बताएका छन् । हतकडी, फाँसीको फन्दा, बन्दुकहरू राखिएको जेल नै देखिनेजस्तो वातावरण हटाउनुपर्ने प्रशासनको भनाइ छ । यो भनेको थीम रेस्टुराँ के हो भनेर थाहा नहुनु हो ।
भिन्न स्वभाव र रुचि नै मानिसको चिनारी हो । मानिस जहिले पनि नयाँपनको खोजीमा रहेको हुन्छ । पर्यटनको शुरुआत पनि यसैबाट भएको हो । डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो ।
थीम रेस्टुराँको इतिहास १९औं शताब्दीको प्रारम्भमा पेरिसबाट शुरू भएको मानिन्छ । त्यहाँको एउटा नाइट क्लब मृत्यु, स्वर्ग र नरकको थीममा सञ्चालन भएको थियो । त्यस्तै खालको रेस्टुराँ त्यसपछि न्यूयोर्कमा पनि त्यही समयमा खुलेको हो । यही बेलादेखि खाना खाने ठाउँ, खाना र खाना सर्भ गर्ने तरीकामा नयाँपनको खोजी हुन थालेको हो । डिज्नेल्यान्ड थीम पार्क खुलेपछि थीम रेस्टुराँ र होटलहरू खुल्ने क्रम झनै तीव्र भयो । स्पेनमा मेडियाभल टाइमको चेन रेस्टुँरा १९७० मा खुल्यो । हार्ड रक क्याफे, प्लानेट हलिवुड, रेनफरेस्ट क्याफे थीम क्यामेका उदाहरण हुन् ।
चीनको ताइपेमा शौचालय थीमको रेस्टुराँ छ । शौचालयमा बसेजस्तो गरी प्यान आकारको टेबलमा प्यान आकारको कटोरामा नै खाना पस्किइन्छ । त्यस्तै दक्षिण कोरिया एउटा यस्तो क्याफे छ जहाँ एक दर्जनभन्दा बढी जनावरहरू छन् । ती जनावरसँग जिस्किँदै खाना खाने व्यवस्था छ । सिंगापुरमा अस्पताल थीमको रेस्टुराँ छ । त्यहाँ अपरेशन टेबलमा खाना पस्किइन्छ । बिरामीले लगाउने लुगा लगाउनुपर्छ । सिरिन्जबाट सस लिनुपर्छ । स्टेथिस्कोप झुन्ड्याएका वेटरले सेवा दिन्छन् । न्यूयोर्कमा निन्जा थीमको रेस्टुराँ छ । निन्जाको पहिरन लगाएका कर्मचारी हुन्छन् । जापानको जेल थिमको अल्कार्टज रेस्टुराँ पनि विशेष छ । यसमा जेलको सेलमा ग्राहक थुनिन्छन् र टेबलमा हतकडी हुन्छ । एयरप्लेन थीमको रेस्टुराँ छ, ताइवानमा । विमानमा यात्रा गरेजस्तै गरी खाना खान सकिन्छ । ताइपेमा स्काइ रेस्टुराँ छ जहाँ आकाशमै रहेर खाना खाएको अनुभव गर्न सकिन्छ । यसमा वेटरले एयर होस्टेसको ड्रेस लगाएका हुन्छन् । यस्तै स्पेनको भूकम्पको थीममा बनेको रेस्टुराँ छ जहाँ खाना खाँदै अचानक ठूलो भुइँचालो आउँछ र अँध्यारो हुन्छ । लेबनानमा सेनाको थीममा बनेको रेस्टुराँ छ । यहाँका भित्ताहरू, गोलाबारुद, क्यामरुफेज जालका साथ सजाएका पर्खालहरू हुन्छन् । बन्दुक र हेलिकोप्टरका आवाज आइरहेको हुन्छ । भान्साको नाम पनि सैन्य संरचनाअनुसारका छन् ।
विश्वभरि नै मृत्युदण्ड, जेल, मृत्यु र नरकजस्ता थीम रेस्टुराँप्रति मानिस आकर्षित भएको पाइन्छ । तीमध्ये जेल थीमको रेस्टुराँ प्रायः मुलुकमा पाइन्छन् । भारतमा मात्रै जेलको थीममा सयौं रेस्टुराँ सञ्चालनमा रहेका छन् ।
नेपालमा पनि थीम रेस्टुराँ खुल्न थालेको केही समय भएको छ । थ्रीडी चित्र भएका, सांस्कृतिक झलक दिने, रूख जंगलको छनक दिने विविध खालका थीम रेस्टुराँ खोल्ने क्रम तीव्र बनेको छ । रेस्टुराँमा नयाँपन दिने क्रममा नै भैरहवामा जेल थीम रेस्टुराँ सञ्चालनमा आएको देखिन्छ जुन भारतमा भएको जेल रेस्टुराँबाट प्रभावित छ ।
अहिले प्रशासनले जेल थीम र नाममै आपत्ति देखेको पाइन्छ । त्यसैले नाम फेर्न र थीममा परिवर्तन गर्न दबाब दिएको हो । तर, यसमा आपत्ति देख्नुपर्ने र बन्देज नै लगाउनुपर्ने कारण नै छैन । विश्वभरि चलेको प्रवृत्ति नेपालमा किन अनुपयुक्त भयो भन्ने प्रश्नको जवाफ प्रशासनसँग देखिँदैन । भारतमा मात्रै सयौं रेस्टुराँ जेलको थीममा बनेका छन् । मानिसहरू हतकडी लगाएर खाना खाइरहेको फोटो सामाजिक सञ्जालमा हालिरहेका छन् । विश्वभरि यो अनुपयुक्त नहुने तर नेपालमा चाहिँ आकाशै खसेजस्तो गर्नुपर्ने कारण देखिँदैन ।
फरक अनुभव सँगाल्ने चाहने खानाका पारखीहरू यस्तो रेस्टुराँमा आउँछन् । अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफ्रिकादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुराँहरू खुलिसकेका छन् र यसको इतिहास निकै लामो छ । तर, ती देशमा सरकारले जेलको संरचना जस्तो देखिएको तथा खेलौना बन्दुक र डोरीजस्ता कुरा राख्दैमा बन्दै गरेको पाइँदैन । आमप्रवृत्तिभन्दा फरक खालका हुने भएकाले झट्ट हेर्दा र सुन्दा अनौठो लाग्ने यस्ता रेस्टुराँ चर्चामा रहेको पाइन्छ ।
नेपालमा पर्यटन व्यवसायलाई बलियो बनाउनु छ भने नयाँ थीम, नयाँ शैली र नयाँ खालका सेवासुविधा दिने होटल, रेस्टुराँ खोलिनु आवश्यक हुन्छ तर त्यसले अपराधलाई मलजल गर्नु हुँदैन । त्यसमा कडा नियमन चाहिन्छ । तर, व्यवसायको मर्म नबुझी कुनै व्यवसाय बन्द गराउन लगाउने प्रवृत्तिले व्यावसायिक वातवरण बिथोल्ने काम गर्छ ।