चितवनमा महोत्सवै महोत्सव, ‘यसले आर्थिक गतिविधिलाई चलायमान गराउँछ’

चितवन : चितवनमा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन्। चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो। उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन…

सम्बन्धित सामग्री

आर्थिक क्रियाकलाप चलायमान बन्दै

आर्थिक मन्दीका कारण समस्या भोगिराखेका चितवनको व्यवसायमा तीन महिनायता सुधारोन्मुख अवस्था भएको पाइएको छ । अङ्ग्रेजी नयाँ वर्षदेखि चैत महिनाको अन्तिमसम्म जिल्लामा भएका गतिविधि र त्यसपछि भएका प्रभावले अर्थतन्त्रमा सुधारको अवस्था आएको चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिडअगाडिको अवस्था जस्तो भएको छैन, तीन महिनायता सुधारतर्फ गएको छ ।” चितवनमा राष्ट्रियस्तरका कार्यक्रमहरू आयोजना भएका छन्, मेला महोत्सव, प्रदेशस्तरीय खेलकुद, एक्स्पोलगायतका कारण चितवनका होटलहरू भरिएका छन् । यसले यहाँको बजारमा आर्थिक रूपले सकरात्मक प्रभाव पारेको हामीले पाएका छौँ, अध्यक्ष श्रेष्ठले भन्नुभयो । होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार भरतपुर क्षेत्रमा २० प्रतिशत र पश्चिम चितवनमा ६० प्रतिशत होटलको बुकिङ वृद्धि भएको छ । अध्यक्ष चुकेले भन्नुभयो, “होटलमा आएका पर्यटकले यहीको बजारमा आर्थिक प्रभाव पार्ने गर्छ । मेला महोत्सव तथा एक्स्पो नभएको अवस्थामा अहिले ती गतिविधि भएका छन् । होटल व्यवसायका लागि अहिले निराशा होइन आशा पलाएको छ । पर्यटक पाउन मुस्किल भएका होटलमा अहिले भरिन थालेको छ, यसले उत्साहित बनाएको छ ।

चितवनमा ‘नेपाली जुत्ता घर’ सञ्चालन

चितवन। चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरूको ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । बुधवार नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ताघरको औपचारिक रूपमा उद्घाटन गरेका हुन् । विगबजार नेपाली जुत्ताघरमा सातओटा उद्योगका जुत्ता विक्रीका लागि राखिएको छ ।  सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष श्रेष्ठले स्वदेशी उत्पादनले आर्थिक गतिविधि चलायमान हुनुको साथै रोजगारीमा समेत वृद्धि हुने बताए । नेपाली जुत्ता उद्योगीहरूले गुणस्तर वृद्धि गरी विदेशमा समेत निर्यात गर्नुपर्नेमा उनले जोड दिए । चितवन उद्योग संघका अध्यक्ष न्यौपानेले नेपाली उत्पादनले गुणस्तरमा प्रतिस्पर्धा गर्दै बजार प्रवर्द्धन गर्नुपर्ने बताए ।  सो अवसरमा फुटवेयर म्यानुफ्याक्चरिङ एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी उत्पादनको प्रवर्द्धन र विदेशबाट आयातित जुत्तालाई निरुत्साहित गर्ने उद्देश्यले चितवनमा शाखा विस्तार गरिएको बताए । घिमिरेले देशैभरी विक्री कक्ष सञ्चालन गर्ने उद्देश्यसहित शाखा विस्तार गर्दै लगिएको बताए । ‘यो विक्री कक्षमा एउटै छानामुनी ग्राहकले विभिन्न ब्राण्डका जुत्ता पाउँछन्,’ उनले भने, ‘यसबाट थप जुत्ताको बजारीकरण हुनुका साथै रोजगारीमा पनि वृद्धि हुन्छ ।’

चितवनमा भोलिदेखि ‘पर्व विशेष मेला’

चितवन  । चितवनमा भोलि (बुधवार)देखि एक महीनासम्म ‘पर्व विशेष मेला २०८०’ हुने भएको छ । चितवन उद्योग संघको आयोजना र नेपाली जुत्ता घरसँगको सहकार्यमा भोलिदेखि कात्तिक २ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो ।  आयोजकले पत्रकार सम्मेलनमार्फत स्वदेशी उत्पादन र व्यवसायलाई प्रवर्द्धन गर्न मेला आयोजना गर्न लागिएको जनाएको छ । मेलामा जुत्ताचप्पल, खाद्यान्न, लत्ताकपडा, खसीबोका राखिनेछन् ।  यसअघिको जुत्ताचप्पल प्रदर्शनी उपलब्धिमुलक भएकोले यस वर्ष ‘पर्व विशेष मेला’ आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।  ‘मेलाले रोजगारी सिर्जना, राजस्वमा योगदान, आयात प्रतिस्थापन आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास गरेका छौं,’ अध्यक्ष कँडेलले भने, ‘राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केही गर्छु भन्दै स्वदेशमै गरी खान्छु भनी लागेका उद्यमीहरूलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरेका हौं ।’  मेलामा जुत्ताचप्पलका मात्रै १३ ओटा उद्योगको स्टल रहने उनले जानकारी दिए । खसीबोका र खाद्यान्न भने दशैंअगाडि (असोज अन्तिम साता) मात्रै राखिने उनले बताए ।  बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । जिल्लाभित्र र बाहिरका हजारौं अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने भएकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई सहयोग हुने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियशनका अध्यक्ष नानीराज घिमिरेले नेपालमा फुटवेयरको प्रचुर सम्भावना रहेको बताए । वार्षिक १६ करोड रुपैयाँको जुत्ताचप्पल उत्पादन गर्ने क्षमता भएका नेपाली उद्योगले १० करोड रुपैयाँको मात्रै उत्पादन गर्नुपरेको उनले बताए ।  मेलाबाट आर्थिक गतिविधि थप चलायमान भई पलायन हुन लागेका उद्योगी-व्यवसायीलाई उद्यमशीलतालाई निरन्तरता दिन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । मेलामा विदेशीसहित २ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।  मेलामा गुणस्तरीय उत्पादन र सहुलियत दरमा विक्री वितरण गर्नुका साथै केही अत्यावश्यक खाद्यवस्तुको मूल्यमा एकरूपता गरिने आयोजकको भनाइ छ ।

व्यवसायी पलायनले अर्थतन्त्रमा समस्या

मुलुकभित्र देखिएको मन्दीका कारण व्यवसाय चल्न गाह्रो भएपछि व्यवसायीहरू विदेश पलायन हुने र अन्य विकल्प खोज्ने क्रम चितवनमा देखिएको छ । चितवनमा मात्रै होइन, मन्दीका कारण मुलुकका प्रमुख क्षेत्रमा व्यवसायहरू बन्द हुन थालेको र उद्योगहरूले उत्पादन कटौती गरिरहेको समाचार आइरहेका छन् । अर्थतन्त्रमा देखिएको यस संकटको घडीमा केही व्यावसायिक घरानाप्रति लक्षित गरी सार्वजनिक घृणा फैलाउने काम पनि भइरहेको छ । व्यवसाय गर्ने वातावरण बिग्रँदै गइरहेको बेला दुर्गा प्रसार्इंले खुलेयाम निश्चित समुदायको नामै किटान गरेर दोष थुपारिरहेका छन् । कानूनले उद्योग, व्यवसाय गर्ने सुविधा सबैलाई समान रूपले दिएको छ । खुला बजार अर्थतन्त्रको मूल मर्म नै यस्तो हो कि प्रतिस्पर्धामा जो खट्न सक्छन्, तिनै टिक्छन् । खुलेयाम अनर्गल प्रचार गर्दा यसले व्यवसायी र उद्योगीहरूमा चिन्ता बढेको छ । उनीहरू पनि पलायन हुन थाले भने मुलुकको अर्थतन्त्र डुब्ने सम्भावना बढ्छ ।  बुझाइ आआफ्नै होलान् । तर, मुलुकको अर्थतन्त्र निर्माणमा मारवाडी समुदायको योगदान उच्च रहेको छ । पुस्तौंपुस्तादेखि नेपालमा व्यवसाय गरेका यिनीहरूका विरुद्ध केही तप्काका मानिस खुलेर लागेका छन् । सांसदहरूले समेत अर्थतन्त्रको वास्तविकता नबुझी गलत सन्देश फैलाउने काम गरेको पाइन्छ । यस्ता अभिव्यक्तिले अर्थतन्त्रमा थप समस्या आउने देखिन्छ । यही कारण उद्योग व्यवसाय र रोजगारी सृजनामा योगदान दिएका व्यापारिक घरानाहरू अहिले निकै तनावमा रहेका छन् । कतिपय उद्योगपतिले त असुरक्षित हुनु परेको गुनासो गरिसकेका छन् । उद्योगपति नै असुरक्षित भएपछि उद्योग, व्यवसाय कसरी सञ्चालन हुने ? उद्योग नै सञ्चालन नभए सबल अर्थतन्त्रको के कुरा गर्ने ? बाह्य क्षेत्र खुकुलो भएको अहिलेको अवस्थामा सरकारले आन्तरिक लगानी बढाई उद्योगी व्यवसायीलाई विश्वासमा लिएर काम गर्ने हो भने डिलमा पुग्नै लागेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन त्यति गाह्रो पनि नहुन सक्छ । यदि सरकार यस्ता कुरामा संवेदनशील नहुने हो भने त्यसले मुलुकभित्रै निकै ठूलो आर्थिक उथलपुथल ल्याउने निश्चित नै छ । अहिले जनताको क्रयशक्ति घटेको छ । क्रयशक्ति भए पनि उनीहरू खर्च गर्न डराइरहेका छन् । मुलुकमा व्याप्त निराशाका कारण सन्ततिहरू विदेशतिरै जान लालायित भइरहेको सन्दर्भमा नेपालमा अचल सम्पत्तिमा लगानी गर्नसमेत डराइरहेको अवस्था छ । त्यसैले उपभोग्य वस्तुदेखि विलासिताका वस्तुसम्मको कारोबार सुस्ताएको छ । उपभोक्ता र उद्योगीको मनोबल नउकासेसम्म अर्थतन्त्रले गति लिन सक्दैन । संकटको अर्थतन्त्रमा बढी कर लगाउनु प्रत्युत्पादक हुन्छ भन्ने यथार्थ सरकारले नबुझेको हो वा बुझेर पनि राजस्व बढाउनुपर्ने बाध्यताले हो करमा सरकार निकै अनुदार देखिएको छ । यसको मारमा उद्योगी व्यवसायी परेपछि उनीहरूले व्यवसाय बन्द गर्नु नै उपयुक्त देखेको हुन सक्छ । त्यही भएर कुनै बेला खोसाखोस हुने सटरहरू अहिले खाली छन् । महीनौंदेखि सटर खाली भएपछि घरधनीहरू तनावमा छन् । यस अवस्थाको अन्त्यका लागि सकारात्मक र आशावादी सन्देश प्रवाह गर्नु जरुरी छ ।  त्यसैले अहिले अर्थतन्त्रको उपचारमा सरकारले विशेष नीति ल्याउन आवश्यक छ । मुलुकलाई थप आर्थिक समस्यामा नलैजाने हो भने केही न केही नयाँ नीति ल्याउन आवश्यक भइसकेको छ । अर्थतन्त्र उपभोक्ताको आत्मविश्वासमा बढी चलायमान हुने हो । यो आत्मविश्वास जगाउने काम निकै चुनौतीपूर्ण देखिन्छ । किनभने समाजका हरेक पक्ष अहिले निराशाको अवस्थामा छ । यस्तो निराश जनतालाई घृणात्मक सन्देश दिएर उचाल्ने काम भइरहेको छ । यसले भोलिका दिनमा समाजमा अर्को द्वन्द्व ननिम्त्याउला भन्न सकिँदैन । वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले मात्र अहिले विपे्रषण आय बढिरहेको हो । यही विप्रेषणलाई देखाएर अर्थतन्त्र सुधारोन्मुख छ भन्न मिल्दैन । विप्रेषणमा जुनसुकै बेला समस्या आउन सक्छ । धेरै नेपालीहरूले काम गर्ने खाडी मुलुक र मलेशियामा कुनै समस्या आयो भने नेपालीहरू स्वदेश फर्कनुपर्ने हुन्छ । अन्तरराष्ट्रिय राजनीतिका कारण ती मुलुकमा समस्या नआउला भन्न सकिँदैन । त्यसैले दीर्घकालीन र बलियो अर्थतन्त्रका लागि स्वदेशी उद्योग, व्यवसायको प्रवर्द्धन गर्नु अनिवार्य छ । बाह्य क्षेत्र खुकुलो भएको अहिलेको अवस्थामा सरकारले आन्तरिक लगानी बढाई उद्योगी व्यवसायीलाई विश्वासमा लिएर काम गर्ने हो भने डिलमा पुग्नै लागेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन त्यति गाह्रो पनि नहुन सक्छ । तर, अहिलेको जस्तो नीतिहीनता रहिरहे अर्थतन्त्रको आगामी दिशा र दशाबारे यसै होला भनी आकलन गर्न सकिँदैन ।

चितवनका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा !

चितवन – आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक ब्याजदरका कारण चितवनमा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र बढ्दो ब्याजदरको विरोधमा आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मागमा ठूलो मात्रामा गिरावट आउँदा उद्योग व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताइएको हो । बैंकको ब्याजदर बढ्दा व्यवसायीले ऋण तिर्न नसकी व्यवसाय बन्द गर्नुपरेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । जिल्लामा यसको प्रभाव प्रत्यक्षरूपमा पोल्ट्री व्यवसाय, खाद्यान्न...

‘आर्थिक मन्दी र ओमिक्रोन त्रासले चितवनमा आएनन् पर्यटक’

पुस १४, चितवन । हरेक नयाँ अंग्रेजी वर्षको पूर्व सन्ध्यामा चितवनका होटल भरीभराउ भएपनि यसपटक भने पर्यटकको न्यून उपस्थिति रहेको छ ।  सौराहा तथा चितवनका अन्य पर्यटकीय गन्तव्यमा पनि पर्यटकको उपस्थिति पातलो छ । विगतका वर्षहरुमा थलिएको पर्यटनलाई सिजन शुरु भएसँगै उकासिने आशा गरेपनि पर्यटकको न्यून उपस्थितिले उत्साहमा कमी आएको पर्यटन व्यवसायी बताउँछन् ।  अहिले देखिएको बैंकिङ तरलता अभाव र ओमिक्रोन भाइरसको त्रासका कारण पर्यटक आगमन कम हुन पुगेको पर्यटन व्यवसायीको निचोड छ । क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष दिपक भट्टराई गत वर्षको तुलनामा यस अंग्रेजी वर्षको पूर्व सन्ध्यामा आधाभन्दा कम पर्यटकको उपस्थिति रहेको बताउँछन् । ‘पोहोरको जस्तै यसपटक पनि पर्यटक भरीभराउ हुने आशा गरेका थियौं उनले भने, हालसम्म ४५ प्रतिशत पनि रुम अकुपाई छैन । कति होटल त खाली जस्तै छन् ।’ अहिले पर्यटकको संख्या कम भएपनि अंग्रेजी नयाँ वर्षबाट भने पर्यटक आउनेमा आशावादी रहेको उनी बताउँछन् ।   हुनत चितवनको पर्यटन बाह्य पर्यटक र जंगल सफारीमा आधारित पर्यटन हो । युरोप लगायत अन्य देशहरुमा ओमिक्रोन प्रभाव बढेको र अझैपनि सहज रुपमा पर्यटक नेपाल आउन नसकेकोले पर्यटकको संख्यामा कमी देखिएको हो ।  अर्कोकुरा केही महीनादेखि बैंकमा तरलताको अभाव कारण हरेक क्षेत्र सुस्त र आर्थिक गतिविधि कम भएका कारण पनि यसको असर पर्यटन क्षेत्रमा परेको हो ।  रेष्टुरेण्ट एण्ड बार एशोसियन (रेवान) सौराहाका निर्वतमान अध्यक्ष दिपेन्द्र खतिवडा हाल सौराहामा केही भारतीय र चाइनिज पर्यटक देखिएपनि आन्तरिक पर्यटकको आगमननै अत्यन्त सुस्त भएको बताउँछन् । देशभर अधिवेशनको माओल, पर्यटकहरु छरिनु, विद्यार्थीहरुको परीक्षा लगायतका कारण परिवारसँगै घुम्न आउने पर्यटक पनि कम भएको उनको भनाइ छ । ‘ओमिक्रोन त्रास बाहिरी देशमा बढेपछि नेपालमा पनि यसको प्रभाव पर्छ नै उनले भने, पछिल्लो समय सौराहामा जस्तै सेवा सुविधा भएका होटलहरु पनि प्रशस्त हुन थाले ।  सौराहामा मात्रै होइन चितवनका अन्य पर्यटकीय गन्तव्यहरुमा पनि पर्यटकहरुको चहलपहल अत्यन्त न्यून छ । अंग्रेजी नयाँ वर्ष शुरु भएपछि रुम बुकिङ हुन थाले पनि हाल भने रुम बुकिङको अवस्था दयनीय रहेको छ । चितवनको दोस्रो प्रमुख पर्यटकीय गन्तव्य मानिएको पटिहानीमा पनि पर्यटकको संख्या अत्यन्त न्यून छ ।  ‘अहिले अकुपाई कति छ भनेर भन्दा पनि भन्नै नहुने अवस्था छ । कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेल भन्छन्, नयाँ वर्ष शुरु भएपछि भने केही रुम बुकिङ हुँदै गएका छन । हेरौं के हुन्छ ।’ पर्यटकको अहिलेको अवस्थाका कारण आफूहरु सिजनमा समेत अन्यौल हुने अवस्था रहेको उनले बताए ।  लकडाउन र निषेधाज्ञा खुलेपछि हरेक आर्थिक गतिविधि चलायमान देखिएपनि सबै क्षेत्रमा त्यति धेरै उत्साह छैन । आर्थिक मन्दीकै सानादेखि ठूला व्यवसाय, घरजग्गा कारोबार, अटोमोबाइल क्षेत्र तथा अन्य क्षेत्रपनि सुस्तनै देखिन्छ ।  ‘पर्यटन क्षेत्र सुस्त हुनुमा मुख्य कारण दुईओटा देखिन्छ, पर्यटनविद् डाक्टर विश्व सुबेदी भन्छन्, एक तरलताको अभाव अर्को ओमिक्रोनको त्रास । अर्कोकुरा मौसमले पनि साथ दिएको छैन ।’ चितवनमा हरेक क्षेत्रमा सानादेखि स्तरीय होटलहरु र पर्यटकीय गन्तव्य संख्या बढी भएकोले पनि सौराहा लगायत अन्य प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको संख्या कम देखिएको डा. सुवेदीले बताए ।  ‘अहिले होटलहरुको संख्या पनि चितवनमा तीव्र रुपमा वृद्धि हुँदै गएको छ । होटलको अनुपातमा पर्यटकको संख्या कम भयो ।’ उनले भने । कोरोना कहरकै कारण पछिल्लो समय अधिकांश पर्यटकहरु शान्त, कम भीडभाड र फरक फरक ठाउँमा घुम्न जाने बानीको विकास भएकोले पनि पर्यटकको आगमन कम देखिएको उनको भनाइ छ ।

पुस २ गतेदेखि चितवनमा छैटौं अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु

मंसिर २९, चितवन । उद्योग संघ चितवन र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा यहाँ अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।  आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको संघद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौं संस्करण हो । संघका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित २०० स्टल रहने छन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहने छन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवर्द्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए । प्रदर्शनी सम्पन्न गर्न रू. दुई करोड ५० लाख हाराहारी खर्च हुने भन्दै संस्थागत रुपमा बचत रकम भने न्यून रहने उनको भनाइ थियो । उनले भने, ‘प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौँ ।’ यसबाट चितवन उद्योग संघलाई भन्दा पनि यहाँका अन्य आर्थिक क्षेत्रलाई मद्दत पुग्ने उनको भनाइ छ । यसपटकको प्रदर्शनीबाट रू. पाँच देखि सात लाखसम्म मात्र बचत हुने अनुमान गरिएको छ । प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्ने बताइएको छ ।  कोरोना भाइरस संक्रमणका कारण चीन, मलेसियाजस्ता देशबाट आउने प्रदर्शकहरु यसपटक आउन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । संघका उपाध्यक्ष एवं प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नवीनतम् प्रविधिको अनुशरणमार्फत औद्योगिक उत्पादकत्व वृद्धिसहित दिगो उद्यमशीलताका लागि उपयुक्त माध्यम बन्ने बताए ।  यसले स्वदेशी तथा विदेशी उद्योगी, व्यवसायीबीच भेटघाट तथा छलफल गर्नमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । भारतको च्याम्बर अफ कर्मसका प्रतिनिधिहरु समेत प्रदर्शनीमा सहभागी हुने कार्यक्रममा जानकारी गराइयो । सो अबसरमा संघका गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठाले प्रदर्शनीको महत्वका बारेमा जानकारी गराए । रासस

अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा हुुँदै, २०० भन्दा बढी स्टलहरू रहने

कात्तिक २८, काठमाडौं । आगामी पुस २ देखि ४ गतेसम्म चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजना एवम् मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा तीन दिने प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र तथा राष्ट्रिय आविष्कार केन्द्रको समेत सहभागिता रहनेछ । यसअघि दुई/दुई वर्षमा आयोजना हुँदै आएको प्रदर्शनी यस पटकदेखि वार्षिक रूपमा आयोजना गरिने भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने छन् । जसमध्ये लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सिफारिसमा लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० ओटा निःशुल्क स्टलको व्यवस्था गरिने छ ।  प्रदर्शनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवर्द्धन केन्द्रको तर्फबाट पुरस्कार तथा सम्मान समेत गरिनेछ । यसैगरी प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणहरूको समेत प्रदर्शनी हुनेछ । पत्रकार सम्मेलनमा परिसंघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले औद्योगिक प्रवर्द्धन, नवीनप्रविधि हस्तान्तरण र पर्यटन प्रवर्द्धनका लागि यो प्रदर्शनी महत्वपूर्ण हुने बताए । ‘कोभिड १९ का कारण औद्योगिक गतिविधि सुस्त भएको सन्दर्भमा बजारलाई चलायमान बनाउन यस प्रदर्शनी महत्वपूर्ण सावित हुनेछ,’ उनले भने ।  यसैगरी लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्रका निर्देशक ऋषिराम पंगेनीले उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेको बताए । यसैगरी राष्ट्रिय आविष्कार केन्द्रका प्रवर्द्धक एवं अध्यक्ष महावीर पुनले उद्यमशीलता र नवीन सोच प्रवर्द्धनका लागि आविष्कार केन्द्रले काम गरिरहेको गरे । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने रउद्योगीहरूको जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको बताए । ‘प्रदर्शनीमा निःशुल्कप्रवेशको व्यवस्था गरिएको छ भने स–साना औजार, मेशिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र उपकरणहरू र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणको प्रदर्शनी हुनेछ,’ उनले भने । प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नव उद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरू व्यवसायिक उत्पादकहरू, नेपाली उद्योगहरूका सञ्चालक, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमी तथा उद्यमीका व्यावसायिक परामर्शदाताहरू, वित्तिय सेवाप्रदायकहरू, निर्माणजन्य सामग्री उत्पादकहरू तथानिर्माण व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरूलगायत अवलोकनकर्ताको रूपमा रहनेछन् । उक्तप्रर्दशनी नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यम जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रूपमा रहनेछ । उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरको रूपमा रहने अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूबीच प्रत्यक्ष भेटघाट र छलफल हुनगई ब्राण्ड विस्तार तथा अनुभव आदान प्रदानसहित औद्योगिक ज्ञान अभिवृद्धिको महत्वपूर्ण अवसर हुनेछ । यसले स्वदेशी औद्योगिक उत्पादनको अन्तरराष्ट्रिय बजारीकरणमा समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ । औद्योगिक प्रवर्द्धनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने र औद्योगीकरणका लागि विश्वमा सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरूसँंग साक्षात्कारको अवसरसहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने उक्त प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सफल उद्यमीहरूको विशेष उपस्थितिमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ । प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्नेछ । यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, शिक्षा विकास तथा प्रविधि मन्त्रालय, बागमती प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, राष्ट्रिय आविस्कार केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, चितवनका स्थानीयतहहरूलगायत विभिन्न संघ संस्थाहरूको सहयोगी भूमिका रहेको छ ।

कोरोनाको असर घरजग्गा व्यवसायमा : बैंकको ब्याज बढ्दो, घरजग्गाको भाउ घट्दो

जेठ २४, चितवन । करीब तीन वर्षदेखि ओरालो लाग्दै गएको चितवनमा घरजग्गाको कारोबार कोरोनाको कहरले झनै थला परेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भएपछि घरजग्गा कारोबार ठप्प हुँदा व्यवसायी मारमा परेका छन् । निशेधाज्ञा अघि घरजग्गा कारोबारले बामेसर्न थालेपनि हाल निशेधाज्ञापछि भने कारोबार, कर्जाका काम तथा अंशवण्डाको काम रोकिएकाले यस क्षेत्रमा असर परेको हो । जसले गर्दा जग्गा व्यवसायीले  करौडौं रकम ब्याज तिर्न सकेका छैनन् भने  घरजग्गाको भाउमा पनि वृद्धि हुन नसकेको व्यवसायीले बताउँदै आएका छन् ।बिक्रमबाबा हाउजिङ्ग कम्पनीका अध्यक्ष लेखराज पन्त कित्ताकाट बन्द भएका कारण र कोरोनाको कारण घरजग्गा व्यवसायी घर न घाटको  अवस्थामा पुगेको बताउँछन् । ‘एक त कित्ताकाट बन्द छ, अर्कोकुरा कारोबार पनि छैन, भाउपनि छैन’, उनले भने ।  बैंकको ब्याजको तुलनामा जग्गाको भाउ कम हुँदा आफूहरु थप थलिंदै गएको उनले बताए । हाल जिल्लाका मालपोत कार्यालयमा अंशवण्डा, केही रजिष्ट्रेन पास र कर्जाका लागि जग्गा रोक्का गर्न नपाउँदा व्यवसायीलाई मात्र नभई सेवाग्राही र सरकारलाई समेत असर परेको छ ।  प्रभु हाउजिङ्ग कम्पनीका अध्यक्ष एवं नारायणी घरजग्गा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव कार्की घरजग्गा व्यवसायलाई सरकारले व्यवसायको रुपमा नहेर्दापनि यो क्षेत्र तहसनहस भएको बताए ।  ‘घरजग्गा क्षेत्रमा व्यवसायीको आकर्षण पनि छ, हरेक नागरिकको लागि आवश्यक क्षेत्र पनि हो’, उनले भने, ‘सरकारले यस क्षेत्रलाई व्यवस्थित र मर्यादित नबनाउँदा यस क्षेत्र धराशायी हुँदै गएको हो ।’ उनले सरकारले नेपालबाट गिटी बालुवा पैठारी गर्न  नीति बनाउंँछ तर भू–उपयोग नीति भने लागू गर्न नसकेको बताए ।  आर्थिक गतिविधि ठप्प हुँदा र  मानिसको क्रयशक्ति क्षमतामा ह्रास हुँदा पनि  घर जग्गा  कारोबारमा शिथिलता आएको हो । यो क्षेत्र करोडौंको रुपैयाँ लगानी हुने क्षेत्र र  अन्तरनिर्भर व्यवसाय पनि हो ।  घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र चलायमान बनाउँदैन यसले राजस्व संकलनको साथै अन्य व्यवसायलाई पनि गति दिनका लागि सहयोग गर्दछ । ‘घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र प्रभाव पार्देन चितवन गुराँस इन्भेष्टमेण्ट एण्ड डेभलपर्स प्रालिका प्रबन्ध सञ्चालक दिनेशकुमार चुके भन्छन, ‘यसक्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने होटल,यातायात तथा बैकिङ्ग क्षेत्रलाई पनि चलायमान बनाउँछ ।’ विगत केही वर्षदेखि सुस्ताएको घरजग्गा व्यवसायलाई कोरोनाका कारण मालपोत कार्यालय बन्द हुँदा थप समस्या परेको उनले बताए । यसक्षेत्रलाई उकास्न र घरजग्गामा सबै नागरिकको पहुँच बनाउन भूउपयोग नीति र सरल किस्ताबन्दी र सहुलियत ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने उनको बुझाइ छ । अघिल्लो वष भन्दा कोरोना कहरपछि झण्डै ८० प्रतिशतसम्म घरजग्गा कारोबारमा कमी आएको उनले बताए । निशेधाज्ञाले राजस्व संकलनमा पनि असर    चितवनमा निशेधाज्ञाका कारण   गत वैैशाख १७ गतेदेखि जिल्लाका मालपोत कार्यालय बन्द हुँदा राजस्व संकलनमा पनि असर परेको छ । प्राय दैनिक भीडभाड हुने सरकारी कार्यालय भित्र पर्ने यो कार्यालयमा निशेधाज्ञा कारण झण्डै डेढ महीनादेखि कार्यालय सञ्चालन आउन सकेको छैन । एकातिर राजस्व संकलनमा असर परेको छ भने अर्कोतिर सेवाग्राहीको काम समेत प्रभावित भएको छ । मालपोत कार्यालय भरतपुरका प्रमुख शेरबहादुर भण्डारी निशेधाज्ञाका कारण मालपोत कार्यालय बन्द हुँदा राजस्व संकलनमा ठूलो असर पुगेको बताउँछन् । ‘मासिक १८ करोड रुपैयाँसम्म राजस्व उठ्ने यो कार्यालयमा अहिले बन्द  हुँदा संकलन शून्य छ’, उनले भने ।   कार्यालयका अन्य आन्तरिक काम पनि हुन नसकेको र अन्य कर्मचारी पनि जोखिमका कारण कार्यालय जान नसकेको उनले बताए । आर्थिक वर्ष अन्त्यको समय आएकोले र यसलाई लयमा फर्काउन आंशिक रुपमा भएपनि कार्यालय सुचारु गर्नुपर्ने उनको भनाइ छ ।