घरजग्गामा ‘प्यानिक सेल’ ले फागुनमा बढायो कारोबार, फिल्डमा भने मूल्य घटाउने प्रतिस्पर्धा !

चैत्र १, काठमाडौं । लामो समयसम्म सुस्ताएको घरजग्गा कारोबार फागुनको तथ्याङ्कमा भने बढेको छ ।  तर मालपोत कार्यालयको तथ्याङ्कमा कारोबार बढेपनि फिल्डमा भने अहिले पनि सुनसाना नै रहेको घरजग्गा व्यवसायीहरूले बताएका छन् । ‘प्यानिक सेल’ बढ्दा केही संख्यामा कारोबार बढेको देखिए पनि घरजग्गा क्षेत्रको अवस्था राम्रो छैन । ‘बरू अहिले घरजग्गाको मूल्य घटाएर बेच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ’, एक ब्रोकरले भने । बुढानिलकण्ठमा प्रतिआना ४५ लाख रुपैयाँ दिने मान्छे आउँदा पनि विक्री नगरेको जग्गा अहिले कसैले प्रतिआना ४० लाख दिएपनि बेच्ने मनस्थितिमा जग्गा धनी पुगेका छन् । त्यस्तै अवस्थामा भेटिएका छन् गोंगवुका जग्गा धनी । प्रति आना ८० लाख रुपैयाँ भनेर बसेको जग्गा अहिले भने प्रतिआना ७० नै पाए पनि बेच्न चाहन्छन् ।  काठमाडौंमा महँगो जग्गाको किनबेच ठप्प जस्तै भएकाले व्यवसायीहरू समस्यामा छन् । तर सस्तो जग्गाहरू (प्रतिआना १० देखि १५ लाख मूल्य भएका) को किनबेच भने चलिरहेको घरजग्गा व्यवसायी एमके राउतले बताए । ‘पहिले - पहिले महिनामा कम्तिमा ८/१० ओटा घर/घडेरी मेरै कम्पनीबाट किनबेच हुन्थे ।’ चुकेले भने, ‘फागुनमा त एउटा घडेरी पनि विक्री हुन सकेन ।’ यी प्रतिनिधि उदाहरण मात्रै हुन् । अहिले देशैभर घरजग्गाको मूल्य घटाएरै बेच्ने प्रतिस्पर्धा चलेको छ । हेटौडामा जग्गा प्लटिङ गरेका एक व्यवसायीले प्रति धुर ५० हजार देखि एक लाख रुपैयाँ घटाएर ७ दिने अफरमा जग्गा विक्रीमा राखेका छन् । त्यस्तै अफर काठमाडौं उपत्यका भित्र पनि दिइएको छ । जग्गा किन्न चाहने व्यक्तिलाई व्यवसायीले घरबाटै पिकअप गरेर अपडाउनको सुविधा सहित जग्गा देखाउन लगिरहेका छन् ।  एक पटक जग्गाको वारेमा बुझ्न फोन गरेपछि व्यवसायीले दिनमै १० पटक फोन गर्ने गरेको एक दरीदकर्ताको गुनासो छ । कहाँ कहाँ बढ्यो कारोबार ? माघमा ५९ हजार ५०० घरजग्गा मात्रै किनबेच हुँदा तीन अर्ब ३० करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । फागुनमा भने कारोबार संख्या ७४ हजार पुग्दा रजिष्ट्रेशन शुल्क ३ अराब ७८ करोड रुपैयाँ संकलन भएको छ । माघको तुलनामा कारोबार संख्यामा १४ हजार ५०० र रजिष्ट्रेशन शुल्क ४८ करोड रुपैयाँ बढी हो । सर्वाधिक कारोबार गर्ने कार्यालयहरूमा सुनसरी, मोरङ, झापा, जनकपुर र नेपालगञ्जमा २ हजार ५०० देखि ३ हजार ५०० सम्म घरजग्गा किनबेच भएका छन् । समग्र राजस्व संकलन भने फागुनमा ६ अर्ब २६ करोड रुपैयाँ संकलन भएको छ । माघमा सबैखाले राजस्व गरी ५ अर्ब ५० करोड रुपैयाँ संकलन भएको थियो । माघको तुलनामा फागुनमा ७६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ । सर्वाधिक कारोबार गर्ने कार्यालयहरूमा सुनसरी, मोरङ, झापा, जनकपुर र नेपालगञ्जमा २ हजार ५०० देखि ३ हजार ५०० सम्म घरजग्गा किनबेच भएका छन् ।  त्यस्तै ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कलंकी र चितवनमा २ हजार हाराहारी घरजग्गा किनबेच भएका छन् । सर्वाधिक राजस्व संकलन गर्ने कार्यालयमा भने लगनखेल, डिल्ली बजार, चाबहिल, भक्तपुर र कलंकीले २५ देखि ३८ करोड रुपैयाँ सम्म राजस्व संकलन गरेका छन् । चितवन, काभ्रे, पोखरा, शाँखु र मनमैजु कार्यालयले १० करोड रुपैयाँ हारहारी राजस्व संकलन गरेका छन् । व्यवसायी भन्छन्- फागुनमा एउटा पनि जग्गा किनबेच भएन  चितवनका घरजग्गा व्यवसायी दिनेशलाल चुकेले मालपोतको तथ्याङ्क बढेको देखिएपनि फिल्डमा भने झनै बिजोग अवस्था रहेको बताए । ‘पहिले पहिले महिनामा कम्तिमा ८/१० ओटा घर/घडेरी मेरै कम्पनीबाट किनबेच हुन्थे ।’ चुकेले भने, ‘फागुनमा त एउटा घडेरी पनि विक्री हुन सकेन ।’ नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष विधुर धमला अर्थतन्त्रका सबै सूचक खराब भएको बेला घरजग्गा क्षेत्र चलायमान हुन नसक्ने बताउँछन् । देशको अर्थतन्त्रको अवस्था झन झन विग्रीदै गएका कारण तत्काल यो क्षेत्रमा सुधारको अपेक्षा पनि नगरेको उनले बताए । नियमित कारोबार मात्रै हो, चलायमान हुने आधार छैनन् नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष विधुर धमला अर्थतन्त्रका सबै सूचक खराब भएको बेला घरजग्गा क्षेत्र चलायमान हुन नसक्ने बताउँछन् । ‘शेयर बजारमा बजार घटेपनि, बढेपनि किनबेच हुन्छ । घरजग्गा क्षेत्र पनि त्यस्तै हो । नियमित कारोबार भइ नै रहन्छ ।’ धमलाले अभियानलाई भने, ‘अहिले साना तिना टुक्रा जग्गा किनबेच भए भन्दैमा कारोबारमा सुधार भएको भन्न मिल्दैन । ठूला प्लटहरूको किनबेच हुनै सकेको छैन ।’ घरजग्गा व्यवसायी एमके राउत अहिलेको अवस्थामा पनि ९० प्रतिशत खरीदकर्ताले घर बनाउने उदेश्यले नभइ लगानी गर्ने उदेश्यले नै जग्गा किन्न खोजीरहेको बताउँछन् । राष्ट्र बैंकले घरजग्गा क्षेत्रलाई थप कडाइ गरेको र बैंकले पनि घरजग्गामा गरिएको लगानी फिर्ता ल्याउन जोडबल गरिरहेकाले यतिबेला प्यानिक सेल भएको हुन सक्ने यस क्षेत्रका जानकाहरू बताउँछन् । ९० प्रतिशत खरीदकर्ता लगानी गर्ने उदेश्यले नै आउँछन् घरजग्गा व्यवसायी एमके राउत अहिलेको अवस्थामा पनि ९० प्रतिशत खरीदकर्ता घर बनाउने उदेश्यले नभइ लगानी गर्ने उदेश्यले नै जग्गा किन्न खोजीरहेको बताउँछन् । घरजग्गा क्षेत्रमा आएको मन्दी र कोरोनाको तेस्रो लहरका कारण लामो समयदेखि रोकिएका घरजग्गाहरू फागुनमा किनबेच भएको हुन सक्ने राउतको भनाई छ । ‘३/४ आना जग्गा किन्नेहरूले अहिले पनि किनबेच गरिरहेकै छन् । ठूलो प्लट होल्ड गर्नेहरूलाई मात्रै समस्या छ ।’ उनले आर्थिक अभियानलाई भने, ‘अहिलेको अवस्थामा पनि ९० प्रतिशत खरीदकर्ताहरू घर बनाउन नभइ लगानी गर्ने उदेश्यले नै खरीद गरिरहेका छन् ।’  तर फागुनमा २/४ हजार बढी घरजग्गा किनबेच हुँदैमा यो क्षेत्र चलायमान भइहाल्यो भन्ने अवस्था नरहेको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

महँगो ब्याजदरको प्रभाव : १० मध्ये एक क्रेता घर जग्गा बजारबाट बाहिरने अवस्था

माघ २३, काठमाडौं  । बेलायतमा केन्द्रीय बैंकको ब्याजदर बढेर १ दशमलव २५ प्रतिशतसम्म पुग्यो भने पहिलो पटक घरजग्गा किन्न लागेका क्रेताहरुमध्ये एक तिहाईसम्मको खरीद शक्ति घट्ने छ । यस वर्ष बेलायतमा एक पछि अर्को गर्दै ब्याजदर बढ्ने अनुमान गरिएको छ । यस्तो भएमा हरेक १० मध्ये एक जना सम्भावित क्रेता घरजग्गा बजारबाट बाहिर रहनेछन् । यसले घरजग्गाको मूल्यमा पनि दबाब सृजना गर्ने अनुमान विश्लेषकहरुले गर्न थालेका छन् ।  बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई) ले गत हप्ता मात्रै ब्याजदर दोब्बर बनाएर शून्य दशमलव ५ प्रतिशतमा पुर्याएको थियो । यस वर्ष बैंकले चार पटक ब्याजदर बढाउने अनुमान गरिएको छ । यो यस वर्षको पहिलो ब्याजदर वृद्धि हो । सन् २०२२ को अन्त्यसम्ममा बीओईको ब्याजदर नै १ दशमलव २५ प्रतिशतमा पुग्ने परामर्शदाता कम्पनी क्यापिटल इकोनोमिक्सको प्रक्षेपण छ । तर महँगो बन्दै गइरहेको कर्जाले धितोमा ऋण लिएर घर किन्नेबारे विचार गरिरहेकाहरुमा प्रतिकूल प्रभाव पार्नेछ । बीओईको ब्याजदर नै १ दशमलव २५ प्रतिशतमा पुग्यो भने यस अघि कर्जा लिन सकेका झन्डै ६० हजार क्रेता ‘उधारो दबाब परीक्षण’मै असफल हुने अनुमान क्यापिटल इकोनोमिक्सले गरेको छ ।  सन् २०२० मा बैंक कर्जा प्रयोग गरेर घर किन्नेको संख्या बेलायतमा ६ लाख  १४ हजार रहेको यूके फाइनान्सले बताएको छ । यस वर्ष पनि यस्तै प्रवृत्ति दोहोरियो भने हरेक १० मध्ये एउटा खरिदारी पूरा हुनेछैन । बढ्दै गइरहेको ब्याजदर त घर जग्गाका लागि समस्याकारी छ नै । यस माथि क्रेताहरुमाथि लाँदिएको कठोर खालको ‘सामथ्र्य परीक्षणहरु’ले पनि विक्री सीमित बनाउने र घरजग्गाको मूल्य घटाउने साभिल्सका इस्टेट एजेन्ट लुसियान कूक बताउँछन् ।  बैंकको ब्याजदर बढेर १ दशमलव २५ प्रतिशतमा पुग्यो भने यसले घर जग्गामा पहुँच हुन सक्ने क्रेताको संख्या प्रभावित बनाउँनेछ र मानिसहरुको क्रय क्षमता पनि सीमित बनाउन सक्ने उनको भनाइ छ । यसले आगामी वर्षमा घरजग्गाको मूल्यमा नाटकीय प्रभाव सृजना गर्न सक्ने अर्थशास्त्रीहरुले बताएका छन् । घरजग्गा बजारमा निकै ठूलो मन्दी आउन सक्ने प्रक्षेपणमा विश्लेषकहरु एकमत देखिएका छन् । तर बेलायती बैंकिङ ब्रान्ड हालिफ्याक्सले भने सन् २०२२ मा घर जग्गाको मूल्य १ प्रतिशतले मात्रै बढ्न सक्ने अनुमान गरेको छ । सन् २०२१ सम्मको १२ महीनामा घरको मूल्य १० प्रतिशतले बढेको बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय ‘एनबीएस’को तथ्यांकले देखाएको छ ।  कर्जाको पुनः भुक्तानी गर्ने सामथ्र्य ऋणीहरुमा छ भनेर सुनिश्चित गर्नका लागि कर्जादाताहरुले ‘दबाब परीक्षण’ गर्छन् । यसमा धितोमा लिइएको कर्जाको पुनः भुक्तानी दर बैंकको चलेको ब्याजदर भन्दा तीन प्रतिशत माथि राखिन्छ । महँगी नियन्त्रण गर्न केन्द्र बैंकले अचानक ब्याजदर बढायो भने पनि ऋणीहरुले आफूले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्छन् भन्ने सुनिश्चित गर्न यसो गरिएको हुन्छ । नोभेम्बरमा स्ट्यान्डर्ड भ्यारिएबल रेट (एसभीआर) ३ दशमलव ६ प्रतिशत थियो । यस्तोमा बैंकहरुले ‘दबाब परीक्षण’मा कर्जाको पुनः भुक्तानी दर ६ दशमलव ६ प्रतिशत कायम गरेका थिए । अर्थात् त्यति बेला ब्याजदर ६ दशमलव ६ प्रतिशत पुग्दा समेत कर्जाको पुनः भुक्तानी गर्न सक्ने सामथ्र्य भएका क्रेतालाई मात्रै ऋण पाए । ऋणीहरुले पाउने कर्जा उनीहरुको वार्षिक तलबको पाँच गुणामा सीमित गर्न पनि यसो गरिएको थियो । यो डिसेम्बरमा बीओईले ब्याजदर बढाउनु अघिको कुरा हो ।  तर बीओईको ब्याजदर नै बढेर १ दशमलव २५ प्रतिशतमा पुग्यो भने एसभीआर  ४ दशमलव ७५ प्रतिशतमा पुग्ने क्यापिटल इकोनोमिक्सको विश्लेषणले देखाएको छ । यसको अर्थ सम्भावित घरधनीहरुको दबाब परीक्षण धितोको ७ दशमलव ७५ प्रतिशतसम्म  ब्याजदरमा पुग्नेछ । उनीहरुको तलब अनुरुप पाउने कर्जा घटेर वार्षिक तलबको ४ दशमलव ५ गुणमा झर्नेछ । यसको अर्थ हरेक १० मध्ये  एक जना अर्थात् १० प्रतिशत भावी क्रेताले कर्जा पाउने छैनन् । दबाब परीक्षण कम गर्नेबारे आफूले परामर्श शुरु गर्न लागेको बीओईले बताएको छ ।  तर परामर्शको निस्कर्ष के निस्किन्छ र यो कति छिटै हुुन्छ भन्ने स्पष्ट छैन । उनीहरु सतर्क हुने अनि ऋणीहरुले थेग्नै नसक्ने ऋणको भारी नलिउन् भन्ने सुनिश्चित गरिने कूकले बताएका छन् । घरजग्गा बजार पछिल्लो समय उत्पन्न आर्थिक झट्काहरु सुरक्षित हुनुमा धितोमा दिइने ऋणसम्बन्धी नियम भएकोमा कूकले जोड दिएका छन् । नियमहरु परिवर्तन नै भएपनि कर्जादाताहरुले यसलाई सुरक्षित तवरले चलाउने र मौलिक नियममा अडिग हुने छन् । बीओईको दर स्थीर नभएरसम्म कर्जादाताहरु पनि नियम परिवर्तन गर्न हिच्किचाउनेछन् । ब्याजदर झनै तीव्रताका साथ माथि गयो, दबाब परीक्षणप्रति उदारता देखाउन बीओई पनि बढी इच्छुक हुन सक्ने कूकले बताएका छन् । -एजेन्सीको सहयोगमा

शेयर कारोबारमा गरिने गैरकानूनी क्रियाकलाप

शेयरबजार स्वाभाविक र अस्वाभाविक मूल्य वृद्धि र कमी हुन सक्छ । बोनस शेयर, लाभांश, हकप्रद शेयर जारी गर्ने, व्यवसायसँग सम्बद्ध ठूलो योजना, व्यवस्थापन परिवर्तन, नाफा नोक्सानको हिसाबका वित्तीय परिणामहरू, अन्य पक्षहरूसँग व्यावसायिक सम्झौताहरू, मर्जर तथा एक्युजेशन आदि सूचना अधारमा शेयरबजारमा मूल्य वृद्धि र कमी हुन सक्छ । उक्त कुरा चलखेल, अफवाह फैलाई शेयर मूल्य घटाउने वढाउने भएमा अस्वाभाविक मान्न सकिन्छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम उल्लेख गरी अस्वाभाविक चलखेल भएकोे ठहर गर्दै सार्वजनीक सूचना गर्‍यो । धितोपत्र बोर्डलाई शेयरबजारमा चलखेल गर्ने सामाजिक सञ्जालमा अफवाह फैलाउने, स्वघोषित विश्लेषकहरूले आकर्षक लाभांशको प्रचार गरी शेयर मूल्यमा अस्वाभाविक चलखेल गर्ने उपर दण्डसजाय गर्ने अधिकार कानूनीले दिएको छ । शेयरबजारमा केही टाठाबाठा समूहले सस्तोमा शेयर खरीद गर्ने र पछि सामाजिक सञ्जालमा अफवाह फैलाएर मूल्य बढाई अन्य लगानीकर्तालाई फसाउने दण्डनीय अपराध भइरहेका आधारमा लगानीकर्तालाई केही कम्पनीहरूका नाम तोकी सचेत गराउनु बोर्डको कानूनी दायित्व हो । अफवाह फैलाउनेहरूले बोर्डप्रति आपत्ति जनाएको भन्ने समाचार पनि आएको छ । ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गर्न नहुने व्यवस्था गरेको छ जसमा कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी/गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानी दण्ड सजायको व्यवस्था गरेको छ । शेयरबजारमा चलखेल, अफवाह फैलाई शेयर मूल्य घटाउने वढाउने उपर नेपालमा खास कार्वाही भएको नदेखिए तापनि भारतीय शेयरबजारमा राकेश झुनझुनवाला र उनकी श्रीमती रेखा झुनझुनवालासहित १० जनालाई त्यहाँको सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेवी) ले धितोपत्र कारोबारसम्बन्धी अपराध गरेका आधारमा ३७ करोड भारू जरीवाना तिराएको भन्ने समाचार आएको छ । त्यस्तै अर्को हर्षद मेहताले शेयरबजारमा मेनुपुलेट गरी भारत सरकारले जारी गरेको सेक्युरिटिज विभिन्न बैंकमा धेरैओटा नक्कली रसिद धितो राखी ३०० देखि ४०० करोड कर्जा लिँदै शेयरबजारमा लगानी गरे । कम मूल्यमा खरीद गरेका धेरै कम्पनीका शेयर विभिन्न मिडिया समूहमा रकम खर्च गरी त्यसमार्फत झूटा अफवाह फैलाई शेयर मूल्य बढाउन शुरू गर्‍यो । एशोसिएटेड सिमेन्ट कम्पनी लिमिटेडको शेयर रू. २०० खरीद गरी भिन्न अफवाह फैलाई शेयर मूल्य ९ हजार पुर्‍यो । यसरी धैरै नोक्सानीमा गएका कम्पनी शेयर खरीद गरी शेयर मूल्य बढायो । शेयर मूल्यमा वृद्धि भएका कारण धैरै व्यक्तिहरू शेयरबजारमा लगानी गरी मुनाफा खान झुम्मिए र शेयरबजार बियरबाट बुलको पिकमा पुग्यो । पछि एक पत्रकारले हर्षद मेहताले बैंकलाई ठगी गरी झूटा अफवाह फैलाई शेयर मूल्य बढाएको पर्दाफास गरिदिए । त्यसपछि शेयरबजार आरालो लागि धेरै लगानीकर्ता र बैंकसमेत डुबे । सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेवी)ले उसलाई पक्राउ गरी मुद्दा चलायो । नेपालमा हालका दिनहरूमा शेयरबजारमा (धितोपत्र विनियम बजारमा) सूचीकृत कम्पनी वा संस्थामा केही व्यक्ति वा समूह मिली आफू र आफ्नो समूहलाई फाइदा लिने उद्देश्यले धितोपत्र कारोबार वा धितोपत्रको मूल्यमा अनुचित प्रभाव पार्ने काम गर्न गराउन गलत वा भ्रामक सूचना प्रसारप्रचार गरेको पाइन्छ । विगतमा नेशनल फाइनान्स, गोरखकाली रबर उद्योग, बुटवल धागो, नेकोन एयर, शेयर मार्केट एन्ड फाइनान्स लगाएत धेरै कम्पनीमा अफवाह फैलाई मूल्य बढाइ सर्वसाधारण लगानीकर्ता डुबाएको छ । शेयरबजारमा अफवाह फैलाई बजार मूल्यलाई तलमाथि गर्नेलगायत धितोपत्रसँग सम्बद्ध अपराध गर्ने उपर धितोपत्रसम्बन्धी ऐन, २०६३ ले दण्ड सजायको व्यवस्था गरेको छ । धितोपत्रसम्बन्धी अपराध गर्नेलाई उक्त ऐनको दफा १०१ (१), (२),(३),(४),(५),(६),(७) बमोजिम देहायका सजाय हुन सक्छ । १) भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । देहायबमोजिम धितोपत्रसम्बन्धी कारोबार गरेमा ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानिनोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानिनोक्सानीसमेत भराई दिनुपर्ने व्यवस्था छ । क) कृत्रिम वा झूटो कारोबारमा हुने सजाय : ऐनको दफा ९४ अन्तर्गत शेयरबजारमा कसैले कृत्रिम वा झूटो कारोबार गर्न नहुने कानूनी व्यवस्था गरेको छ । ख) मूल्यमा उतारचढाव गरेमा : ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गर्न नहुने व्यवस्था गरेको छ जसमा कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतारचढाव गराएको मानी दण्डसजायको व्यवस्था गरेको छ । ग) धितोपत्र बजारलाई प्रभावित पार्न नहुने : ऐनको दफा ९६ बमोजिम कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिली कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरीद वा विक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, मूल्य घटाउने, स्थिर बनाउने कार्य गरेमा सजायको व्यवस्था गरेको छ । २) देहायका धितोपत्रसम्बन्धी अपराध गरेमा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरीवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने र त्यस्तो कारोबारबाट कसैलाई हानिनोक्सानी भएको रहेछ भने त्यस्तो हानिनोक्सानीसमेत भराई दिनुपर्ने व्यवस्था छ । क) झूटा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्वअनुमान बनाउन वा प्रकाशित गरेमा : ऐनका दफा ९७ बमोजिम झूटो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्वअनुमानसम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने काम गर्नेबाट नोक्सानी भराउने व्यवस्था छ । ख) जालसाजीयुक्त कारोबार गरेमा : ऐनका दफा ९८ बमोजिम जालसाजीयुक्त कारोबारसम्बन्धी व्यवस्था गरेको छ । कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा यस्तो कारबाही हुन्छ ।  ग) झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा : ऐनकोे दफा ९९ बमोजिम कुनै विवरण झूटो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरीद वा विक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा नोक्सानी तिराउने व्यवस्था छ । घ) लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झूटो बनाउन, लुकाउने कार्य गरेमा : ऐनको दफा १००.मा उल्लिखित ऐनको दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकारप्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम तथा विनियमबमोजिम आफूले राख्नुपर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झूटो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत गर्नेलाई नोक्सानी तिराउने व्यवस्था छ । नेपालमा शेयरबजार लाभांश राम्रो दिने वा नदिने वा आर्थिक विवरणका आधारमा उतारचढाव हुनुभन्दा पनि नाटकीय ढंगबाट हुने गरेको छ । शेयरबजारका खेलाडीको नक्कली हल्लाले घटबढमा मुख्य भूमिका हुने गरेको छ । यस्ता खेलाडीउपर खासै दण्डसजाय भएको पाइँदैन । लेखक अधिवक्ता हुन् ।