आर्थिक क्रियाकलाप चलायमान बन्दै

आर्थिक मन्दीका कारण समस्या भोगिराखेका चितवनको व्यवसायमा तीन महिनायता सुधारोन्मुख अवस्था भएको पाइएको छ । अङ्ग्रेजी नयाँ वर्षदेखि चैत महिनाको अन्तिमसम्म जिल्लामा भएका गतिविधि र त्यसपछि भएका प्रभावले अर्थतन्त्रमा सुधारको अवस्था आएको चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिडअगाडिको अवस्था जस्तो भएको छैन, तीन महिनायता सुधारतर्फ गएको छ ।” चितवनमा राष्ट्रियस्तरका कार्यक्रमहरू आयोजना भएका छन्, मेला महोत्सव, प्रदेशस्तरीय खेलकुद, एक्स्पोलगायतका कारण चितवनका होटलहरू भरिएका छन् । यसले यहाँको बजारमा आर्थिक रूपले सकरात्मक प्रभाव पारेको हामीले पाएका छौँ, अध्यक्ष श्रेष्ठले भन्नुभयो । होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार भरतपुर क्षेत्रमा २० प्रतिशत र पश्चिम चितवनमा ६० प्रतिशत होटलको बुकिङ वृद्धि भएको छ । अध्यक्ष चुकेले भन्नुभयो, “होटलमा आएका पर्यटकले यहीको बजारमा आर्थिक प्रभाव पार्ने गर्छ । मेला महोत्सव तथा एक्स्पो नभएको अवस्थामा अहिले ती गतिविधि भएका छन् । होटल व्यवसायका लागि अहिले निराशा होइन आशा पलाएको छ । पर्यटक पाउन मुस्किल भएका होटलमा अहिले भरिन थालेको छ, यसले उत्साहित बनाएको छ ।

सम्बन्धित सामग्री

सरकारी वित्त नीतिमा संरचनात्मक सुधार आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारी वित्त नीतिमा संरचनात्मक सुधार आवश्यक रहेको बताउनुभएको छ । संघीय संसद्को संयुक्त बैठकलाई शुक्रवार सम्बोधन गर्दै उहाँले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक र बाह्य तत्त्वको समग्र अध्ययन गरेर सरकारको वित्त नीतिमा संरचनागत परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको हो । अर्थतन्त्रमा देखिएका तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान नखोजी गरिने कुनै पनि क्रियाकलाप सफल नहुने पनि उहाँले बताउनुभयो । अर्थतन्त्रका सूचकहरूमा पछिल्लो समय केही सकारात्मक संकेत देखापरे पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँका अनुसार बजारमा देखिएको तरलता अभावको समस्या, लगानीका लागि यथेष्ट स्रोत उपलब्ध हुन नसकेको र बाह्य कारणसमेतले गर्दा उत्पादन क्षेत्र कमजोर बन्दै गइरहेको छ । ‘कमजोर आर्थिक वृद्धिदर, बढ्दो दरको मुद्रास्फीति र विकराल बन्दै गएको अन्तरराष्ट्रिय व्यापार घाटाको स्थितिलाई सम्बोधन गर्ने प्रमुख पक्ष उत्पादन क्षेत्र कमजोर भएकोप्रति हामी सबै गम्भीर बन्नुपर्छ । हाम्रो अर्थतन्त्रको कतिपय समस्या बाह्य कारणबाट पनि सृजित भएका हुन् । तथापि अरुलाई कारण देखाएर अकर्मण्य बन्ने सुविधा हामीलाई छैन,’ राष्ट्रपति भण्डारीले भन्नुभयो ।   औपचारिक अर्थतन्त्रलाई बढावा दिन र संस्थागत गर्नेतर्फ वित्त नीति निर्देशित हुनुपर्ने सुझाव पनि राष्ट्रपतिले दिनुभयो । सरकारको वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्य कायम गरी एक अर्काको परिपूरकका रूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ । ‘दुवै नीतिको कार्यान्वयनबाट आर्थिक क्रियाकलाप चलायमान बन्ने हो । यसमा उपयुक्त सामञ्जस्य खोज्नुपर्दछ । केही समयदेखि बजारमा देखिएको मौद्रिक तरलता संकुचनका कारण बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको छ । यो समस्या हल गर्न तत्काल कदम चालिहाल्नु आवश्यक छ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले मुलुकका विकास पूर्वाधार आयोजनाको गति सुस्त रहेको भन्दै यससम्बन्धी समस्या सम्बोधनका लागि विद्यमान कानूनमा सुधारको खाँचो पनि औंल्याउनुभएको छ । रासस

असारअघि नै थप प्याकेज

दोस्रो विश्वयुद्धपछिको ठूलो चुनौतीका रूपमा अहिले कोरोना विषाणु आएको छ । सङ्क्रमणको त्रासले पछिल्लो समय विश्वका प्रायः सबै देशमा गरिएको बन्दाबन्दीपछि आर्थिक क्रियाकलाप ठप्पप्रायः छ । नेपालमा यसको सङ्क्रमण भयावह नदेखिए पनि पूर्वसावधानीका कारण गरिएको बन्दाबन्दीले जनजीवन र अर्थतन्त्र चलायमान छैन । प्रक्षेपित वृद्धिदर घटेको छ, उद्यमी व्यवसायी थप राहतको पर्खाइमा छन् । राजस्वमा आएको तीव्र गिरावटले सरकारको वित्तीय स्रोत परिचालन थप चुनौतीपूर्ण बन्दै गएको छ । प्रस्तुत छ, यसै सन्दर्भमा भर्खरै नेपाल राट्र बैङ्कका गभर्नरको जिम्मेवारीमा आउनुभएका महाप्रसाद अधिकारीसँग गोरखापत्र दैनिकका पत्रकार अच्युत अधिकारी र भेषराज बेल्बासेले गर्नुभएको कुराकानी :