रसुवा । कोभिड-१९ संक्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ ।
नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्केका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको टोली रसुवागढी नाका हुँदै रसुवा फर्केको थियो ।
कोरोना संक्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सीमा नाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए । आगामी मे १ देखि तातोपानी नाकासमेत पुनः सञ्चालनमा आउने उनले बताए । नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरूङ व्यापार संघका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए ।
रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक शनिवारै केरूङतर्फ पठाइएको छ । मालसामान आयातका लागि शनिवारै ६३ ट्रक केरूङ पठाउने तयारी भइरहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ ।
केरूङका लागि ८८७ ट्रक पालैपालो पठाइने भएको छ । कोरोना संक्रमणका कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरीपुल शनिवार बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो ।
नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरूङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । -रासस