लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रशारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ। शुक्रबार भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्न लाग्नुभएको हो। नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो। प्रधानमन्त्रीको भारत भ्रमणमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी हुनुहुने कार्यक्रम छ। सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको यसअघि नै परीक्षण गरिसकिएको छ।