पुस २२, काठमाडौं । नेपाल आयल निगमले ३ करोड ६७ लाख रुपैयाँको लागतमा नेपालगञ्ज अत्याधुनिक पेट्रोल पम्प बुधवारदेखि सञ्चालनमा ल्याएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले १ लाख ७ हजार लिटर भण्डारण क्षमता रहेको उक्त पम्पको उद्घाटन समेत गरेका छन् ।उक्त पम्पमा पाँच ओटा भूमिगत ट्याङक रहेका छन् । पम्पमा २५/ २५ हजार लिटर क्षमताको तीन ओटा र १६/ १६ हजार लिटर क्षमताका दुई ओटा ट्याङक रहेकोछ ।
निगमले नमूनाको रुपमा अत्याधुनिक पम्प सञ्चालनमा ल्याएको हो । निगमका कार्यकारी निर्देशक पौडेलले निजी क्षेत्रबाट पनि यही मोडलमा पम्प सञ्चालन हुन्छ भन्ने चाहना निगमको रहेको बताए । पम्पमा डिजेल विक्रीका लागि दुई ओटा र पेट्रोल विक्रीका लागि तीन ओटा डिस्पेन्सिङ मेसिन राखिएको छ ।
आगलागीबाट जोगाउने यो ‘केमिकल फोम’युक्त मुलुककै पहिलो नमूना पम्प हो। यसको भण्डारण क्षमता पनि सबैभन्दा बढी छ। निगमका अनुसार पम्पको अन्डरग्राउन्डमा १ लाख ७ हजार लिटर तेल अटाउने पाँच ओटा भूमिगत ट्यांकी राखिएको छ।
निगमले आफ्नै स्वामित्वमा सञ्चालन गरेको यो दोस्रो पम्प हो । निगमले रुपन्देहीको भैरहवामा पनि डिजिटल पम्प सञ्चालन गर्दै आएको छ ।