नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाहरुले विजय प्राप्त गरेको जितगढी किल्ला रहेको बुटवलमा युद्ध संग्रहालय निर्माण सुरु भएको छ ।
ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी निर्माण हुने संग्रहालयमा तत्कालीन नेपाल–अंग्रेज युद्धको झल्को दिने ऐतिहासिक वस्तु र संरचनाहरु हुनेछन् ।
बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुधबार एक समारोहका बीच उक्त संग्रहालयको शिलान्यास गर्नुभयो ।
राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै संग्रहालय निर्माण गर्न लागिएको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन प्रबर्धन अन्तर्गतको एउटा प्रमुख अभियानका रुपमा संग्रहालयलाई अघि बढाइएको उहाँले बताउनुभयो ।