फागुन १, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९० र लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो ।
सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डूले गत मंसिर २९ गते सम्पन्न वार्षिक साधारण सभा मार्फत र लुम्बिनी विकास बैंकले पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेका थिए ।
बैंक अफ काठमाण्डूले बोनस शेयर कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । लुम्बिनी विकास बैंकले पनि यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यसर्थ, दुवै कम्पनीका शेयरधनीहरुले बोनस शेयरबापतको कर तिर्नुपर्ने छैन । बैंक अफ काठमाण्डूका शेयरधनीहरुले भने यस वर्ष कर बाहेक पनि नगद लाभांश पाएका छन् ।