बैशाख ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली कुलमान घिसिङविरुद्ध खनिएका छन् ।
ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत खरीद गरेको भन्दै कुलमानको आलोचना गरेका हुन् ।
ओलीले घिसिङको फोटो राखेर चुनावी प्रचार गरेको भन्दै नेकपा माओवादी केन्द्रको पनि चर्को आलोचना गरे ।
केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोष्ट गरेर तत्काल हटाएका थिए ।
सोही फोटोप्रति संकेत गर्दै ओलीले भने, ‘लोडसेडिङ अन्त्य गर्ने महान भनेर प्रचार गर्ने एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँडने लोगो बनाएको पनि देखियो । पछि त्यो कर्मचारीले आफै लाज मानेर मेरो फोटो हटाउ भने । किनभने लोडसेडिङ यस्तो छ । बोल्दै गर्दा तीन पटक बत्ति जान्छ ।'
चार रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँ युनिटमा किन्ने गरेको छ । ३४ रुपैयाँ प्रतियुनिट घाटामा । यस्ता व्यक्तिहरुको फोटो लिएर भोट माग्न हिँडने पार्टीहरु पनि गठबन्धन भित्र भएको भन्दै उनले आलोचना गरेका हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले आफ्नो पार्टीलाई पैसामा खरीद गर्न सम्भव नभएको पनि बताए ।
स्थानीय तह निर्वाचनको तयारी भईरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि गर्न नदिने दावी गरे ।
बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेहनती युवा वा ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनि प्रश्न गरेका थिए ।
सोही प्रश्नको जवाफ दिने क्रममा उनले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताए । राजनीति कसैको पनि ठेक्कापट्टाको विषय नभएको उनको भनाइ छ ।
'एक जना भाईले सोध्नु भयो । एक जना मेहनत गर्ने मान्छे र सात करोड लिएर आयो भने के गर्नु हुन्छ ? नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर चलाउँदै हिँडने पागल होईन यो । तर अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन ।' ओलीले भने, 'र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिँदैन । सात करोड होईन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न, खरीद गर्न सम्भव छैन ।’