काठमाडौं । पाकिस्तान (Pakistan)ले इरान (Iran)सँगको ग्यास पाइपलाइन परियोजना पूरा नगरे उसले ठूलो परिमाणमा जरिवाना तिर्नुपर्नेछ । पब्लिक एकाउन्ट कमिटिका अनुसार परियोजना अगाडि नबढे पाकिस्तानलाई १८ अर्ब डलरको जरिवाना लाग्नेछ ।
अमेरिकाले पाकिस्तान र इरानबीचको यो परियोजनालाई अनुमति नदिने हो भने जरिवानाको रकम उसैले तिर्नु पर्ने समितिका अध्यक्ष नूर आलम खान बताउँछन् । भारतको ऊर्जा मागप्रति उदार बन्ने अनि पाकिस्तानलाई भने दण्डित गर्ने द्वैध चरित्र अमेरिकाले त्याग्नु पर्ने उनको भनाइ छ ।
अहिलेको क्षेत्रीय अवस्थामा इरानसँगको ग्यास पाइपलाइन परियोजनाको पाकिस्तानलाई निकै महत्त्व छ । परियोजनालाई कसरी अगाडि बढाउने भन्ने तरिका र माध्यमबारे छलफल गर्न जनवरीमा पेट्रोलियम विभागको प्राविधिक समूह तेहरान गएका थिए । अमेरिकाले मञ्जुरी नदिँदा परियोजना अगाडि बढ्न सकेको छैन । एजेन्सी