विदेशको अनुभवले देशमा ल्याएको ऊर्जा

‘युवाहरू विदेशमा बिनापरिश्रम पैसा टिप्न पाइन्छ भन्ने सोच्छन्। विदेश जानका लागि ऋण काढेर लाखौंलाख रकम दलाललाई बुझाउँछन् तर उनीहरू त्यति रकममा व्यवसाय सञ्चालन गर्ने आँट गर्दैनन्। काम चिन्न सके स्वदेशमै अथाह पैसा छ,’ कृषि–उद्यमी सरोज कोइराला बताउँछन्।...

सम्बन्धित सामग्री

अर्थतन्त्र बलियो बनाउने सरकार कहिले आउला ?

नेपालको अर्थतन्त्र यसै पनि कमजोर हो । उद्योग व्यवसायको विकास नहुनु र कृषिमा निर्भर हुनु नै यहाँको अर्थतन्त्रको विशेषता हो । अहिले कृषिको योगदान घट्दो छ भने जनशक्ति पनि कृषिबाट अन्य क्षेत्रमा स्थानान्तरण भइरहेको छ । मुलुकको अर्थतन्त्र उत्पादनले बलियो हुने हो । तर, नेपालले उत्पादन गर्ने कृषिक्षेत्र नै कमजोर बनेको छ । उद्योगधन्दा नै नाममात्रकै छ भन्दा पनि हुन्छ । विदेशबाट आएको पैसाले यहाँ सबै थोक चलेको छ । बजारमा माग बढाएको छ । आपूर्ति पनि विदेशबाट नै भएको छ । त्यसैले जति पैसा विदेशबाट आउँछ करीब करीब त्यति नै विदेशिन्छ भन्दा पनि हुन्छ । जनशक्ति विदेशिएपछि खेतबारी बाँझो हुन थालेको छ । मान्छे शहरतिर सर्न थालेका छन् । शहरमा बस्नेको संख्या बढेको छ तर तिनले काम नपाउँदा अन्य समस्या थपिएको छ । यसरी देशको अर्थतन्त्र समस्यामा रहेको देखिन्छ । अर्थतन्त्रमा यस्तो समस्या देखिनुको एउटा प्रमुख कारण राजनीति हो । राजनीति स्वच्छ नभए पनि मुलुकका सबै थोक बिग्रिनु स्वाभाविकै हो । हाम्रो देशमा अझैं पनि केही यस्ता मानिसहरू छन जो सधैं मेहनत नगरी अर्काको कमाइ खान पल्केका छन् । यस्ता वर्गले नै समाजमा नकारात्मक सोच फैलाइरहेका छन् । यस्ता व्यक्तिहरू देशका लागि हानिकारक हुन् । यिनीहरू आफूमात्र बिग्रँदैनन् समाजलाई समेत बिगार्छन् । अहिले यही कारण नेपालमा जे पनि नकारात्मक प्रतिक्रिया दिने व्यक्तिको संख्या निकै बढेको छ । जे पनि कुरा काट्ने तर आफू सिन्को नभाँच्ने बानी बसेको छ । राजनीतिमा यस्तै व्यक्तिहरूको संख्या धेरै छ ।  यस्ता व्यक्तिहरूको सोच बदलिनु अति आवश्यक छ । हाम्रो देशमा दिनहुँ नसोचेको नयाँ नयाँ घटना वा काण्ड पनि सुन्नु परिरहेको छ । सिनेमा वा दन्त्यकथा जस्तो आभास हुन्छ । देश र जनताको सेवा गर्न भनेर उच्च ओहोदामा पुगेको मन्त्री, सचिव नै नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउनेजस्ता घिनलाग्दो काममा लागेका छन् । यसले देशको बेइज्जत हुने निश्चित छ । लोकतन्त्र सोझासाझा जनतालाई ठग्ने झुक्याउने प्रणाली जस्तो पो बनेको छ । चुनावमा पनि त्यस्तै र शासनमा पनि त्यस्तै देखिनु विडम्बना हो । नेताहरूले यस्तो ताण्डव नृत्य गर्लान् भनेर जनताले सोचेका थिएनन् । राजनीतिक क्षेत्रमा बढेको लालच, भ्रष्टाचार र मुलुकको सुस्त विकासले यहाँका मानिसहरू वाक्कदिक्क भएका छन् । सरकारलाई भने जनताको कुनै परवाह नै छैन । सत्ताको लुछाचुँडी र भ्रष्टाचार नै सरकारको काम जस्तो देखिन्छ । त्यसैले अब सरकारले शिक्षाको स्तरलाई बलियो बनाउनुपर्छ । कानून र शिक्षालाई खेलबाड र राजनीतीकरण गर्नु हुँदैन । हामीले ठूलो संर्घष गरेर पाएको लोकतन्त्रमा हाम्र्रो अवस्थामा सुधार नआउनु हामीले ल्याएको परिवर्तन खेर जानु हो । सरकारले अलिक कडाइका साथ विकास निर्माणका काममा ध्यान दिने हो भने विकासका काम मात्र अघि बढ्ने होइन, सेवा प्रवाहको गुणस्तर पनि बढ्छ ।  एक हिसाबले भन्ने हो भने यसो हुनुमा हामी सबै धेरथोर दोषी छौं । त्यसैले देशको अर्थतन्त्र सुध्रनको लागि एकपटक सबै बदलिनु जरुरी छ । अन्यथा देश पछि गएर के कसो होला भनेर पछुताउनु सिवाय कुनै विकल्प हुने छैन । देश चलाउनेहरूले पनि देश र जनतालाई धोका दिनु हुँदैन । राजाको ढुकुटीमा आफ्नै हिसाबमा रामराज्य गर्ने हो भने यो मुलुक सुध्रन गाह्रो छ ।  अर्थतन्त्रको उत्थान गर्न सर्वप्रथम सरकारले राम्रा विज्ञहरूलाई अपनाउने, आफ्नो परिवारलाई मात्र पोस्न रोक्ने, यिनीहरूको भत्तासुविधा घटाउने, संघीयतामा मितव्ययिता अपनाउने, बेरुजु रकम उठाउने र खाद्यान्न फलफूल र विदेशी रक्सीको आयात घटाउने जस्ता विषयमा ध्यान पुर्‍याउनुपर्छ । यति मात्र गर्न सकियो भने पनि राष्ट्रकोष बलियो हुनेछ । अब देशमा विदेशी लगानी भित्र्याउन गुरुयोजना तयार पार्नुपर्छ । यसका लागि सरकार हरसमय तत्पर रहनुपर्छ । हाम्रो मुलुकमा जलविद्युत्को यत्रो सम्भावना हुँदा पनि हामीले यस क्षेत्रमा अझैं पनि लगानी भित्र्याउन सकेका छैनौं । छिमेकी राष्ट्रसँग लचिलो हुनु, ऊर्जा विज्ञहरूलाई नमान्नु तथा कमिशनका आधारमा कुरा गर्नु यसको विकासका लागि अवरोध हुन् । जेसुकै होस् अब राज्यले जलविद्युत्बाट धेरै कमाउनेतिर सोच्नु जरुरी छ । यसका लागि सरकारले सकारात्मक नीति, राम्रा ऊर्जाविद्, छिमेकी देशका राजदूत तथा विद्युत् प्राधिकरणका प्रमुखहरूको एकपटक फेरि समन्वय गरेर अघि बढ्नु जरुरी छ ।  अब हामीले कमाउने भनेको नै पर्यटन र जलविद्युत्बाट हो । पर्यटकप्रति सकारात्मक सोच राख्नु जरुरी छ । यिनीहरूबाट हामीले डलर झार्ने सोच मात्र नराखी यिनीहरूलाई सुविधा सहुलियत कसरी दिन सकिन्छ भन्ने पनि सोच राख्नुपर्छ । तर, हरेक कुरामा कसरी धेरै शुल्क लिएर बढी फाइदा लिने भनेको काम भइरहेको छ । सुनका अण्डा दिने कुखुरालाई नै मार्नेजस्तो गलत सोच पाइन्छ । यिनीहरूलाई जति फाइदा सहुलियत शुल्क कम गर्न सकिन्छ उति पर्यटक धेरै आगमन भएर आर्थिक विकासमा टेवा पुग्छ । अहिलेको परिपे्रक्ष्यमा हामीले आफ्नो देशमा रहेका खाद्यान्न तथा फलफूल आदि बढी उत्पादन गर्नुपर्छ । विदेशबाट ल्याउन बन्द गर्नुपर्छ । हामीले यति मात्र गर्न सक्यौं भने पनि विस्तारै आर्थिक स्थिति सुधार हुँदै जानेछ । त्यसकारण सरकारले यी पक्षमा राम्रो नीति बनाउनुपर्छ । अधुरो राजमार्ग बनाउने, कृषकलाई भरपुर सहयोग गर्ने, सहुलियत सुविधा दिएर अघि बढ्ने हो भने पक्कै पनि आर्थिक परिवर्तन आउनेछ ।  अन्त्यमा सधैं लालच, कलह, खण्डन र आलोचनाले मात्र मुलुक सप्रने होइन । मैले गलत काम गर्दा मेरा भावी पुस्ता तथा परिवारको भविष्य कस्तो होला भनेर सोच्ने हो र त्यसअनुसार काम गर्ने हो भने पक्कै पनि देश राम्रो हुन्छ ।  रमेशकेशरी वैद्य, काठमाडौं ।

बोष्टन कलेज र व्यवसायीबीच व्यवसायिक प्रगति र वित्तिय क्षेत्र विषयक अन्तरक्रिया

चितवन । भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजले चितवनका व्यवसायीसँग ‘व्यावसायिक प्रगति र वित्तीय क्षेत्रको भविष्य’ विषयमा अन्तरक्रिया गरेको छ । कलेजले एमबीए र बीबीएका विद्यार्थीहरूमा व्यावसायिक क्षमता र शीपको विकास गर्न शनिवार उक्त कार्यक्रम गरेको हो ।  कार्यक्रममा भारतको बहुर्राष्ट्रिय कम्पनी हिरो इन्टरप्राइजेजका वित्तीय अध्यक्ष जोगेन्द्र सिंहले आफ्नो ३० वर्षे व्यावसायिक अनुभवका आधारमा आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए । उनले भारतलगायत अन्य विकसित देशमा उद्यमशीलताले ल्याएको व्यावसायिक हलचल र नेपालका उद्योगीहरूले त्यसबाट लिनसक्ने शिक्षाका बारेमा विस्तृत चर्चा गरेका थिए । कार्यक्रममा उद्योग क्षेत्रलाई प्रतिनिधित्व गर्दै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले संघले गरेका कामहरू र नेपालको उद्योग व्यावसायको अहिलेको अवस्थाबारे जानकारी दिए । त्यस्तै संघका पूर्वअध्यक्ष राजु पौडेलले उनी आवद्ध अन्य संघसस्थाहरूले समाजसेवाको क्षेत्रमा गरिरहेका उल्लेखनीय कामहरूलाई संक्षिप्तमा प्रस्तुत गरे ।  सो क्रममा नारायणगढ जेसीजका आशिष ढकालले जेसीजले यो वर्ष ‘उद्यमशीलतामा युवाहरू’ भन्ने नाराका साथ सञ्चालन गरेको अभियानका बारेमा प्रष्ट पारे ।  जेसीजका अन्य गतिविधिहरूको बारेमा पनि संक्षेपमा मन्तव्य राखे । उनी ‘उद्यमशिलता विकास निर्देशक’को भूमिकामा नारायणगढ जेसीजमा आबद्ध छन् । कार्यक्रममा भारतका प्राध्यापक तथा व्यावसायहरूमा कन्सल्ट्यान्टको रूपमा कार्यरत प्रा.डा. मस्कुर जाफरले पनि व्यवसायको पृष्ठभूमि, अवस्था चुनौतीका बारेमा आफ्ना धारणा राखे ।  कार्यक्रममा समापन मन्तव्य राख्दै बोष्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बोष्टन कलेजले ‘सामाजिक उत्तरदायित्व’ बहनअन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । यो कार्यक्रममार्फत उद्योगी व्यावसायीलाई सकारात्मक ऊर्जा तथा ज्ञान दिने उनको भनाइ छ । उनले उद्योग क्षेत्र र शैक्षिक क्षेत्रबीचको सहकार्यको निरन्तर सहकार्यको अपेक्षा राखे । कार्यक्रममा चितवनका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

किन सुध्रिएन अर्थतन्त्र ?

शीर्ष नेतृत्वले आर्थिक क्रान्तिको युग शुरू भएको उद्घोष गर्न थालेकै २ दशक बित्न थाल्यो । यसबीचमा २ पटक संविधानसभामा र त्यति नै संख्यामा आवधिक चुनाव भए । २ तिहाई बहुमतको सरकारसमेत बन्यो । राजनीतिक व्यवस्था परिवर्तनलाई संस्थागत गरेपछि बनेको शक्तिशाली सरकारले जनताको अवस्था बदल्ने अपेक्षा भने पूरा गरेन । आफ्नै कलहमा सरकार ढल्यो । त्यस विग्रहविरुद्ध देशलाई आर्थिक, राजनीतिक र सामाजिक अग्रगमनतिर डोर्‍याउने प्रतिबद्धतासहित चुनावी मोर्चाबन्दीमा उत्रिएको राजनीतिको मौजुदा गति झनै निराशाजक देखिन्छ । आर्थिक मुद्दाले प्राथमिकता पाउने संकेतहरू अहिले पनि सुदूरसम्म प्रकट भएका छैनन् । अहिले सतहमा देखिएका अव्यवस्था तत्कालीन अक्षमताको उपजमात्र होइनन्, अर्थतन्त्रप्रति निरन्तर उदासीनताको उत्पादन हो । कुनै पनि समस्याको समाधानमा अपनाइने टालटुले पाराले नै अर्थतन्त्र यति परनिर्भर बन्न पुगेको हो भन्नेमा द्विविधा छैन । दलीय र पदीय स्वार्थमा रुमलिएको राजनीति आर्थिक विकासको अवरोधक बनेको छ । राजनीतिक स्थायित्व जसरी आर्थिक अग्रगतिको आधार हो, त्यसरी नै आर्थिक समृद्धि राजनीतिक स्थिरताको पनि आधार हो । नेतृत्व सत्ता निर्माण र भागबण्डाको एकल अभीष्टमा एकोहोरिएको छ । नीति निर्माणको तह नै पदीय संघर्षको घेराभित्र रुमलिएपछि आर्थिक विकासको उद्देश्य त ओझेलमा पर्ने नै भयो । राजनीति जति विकृत भए पनि आर्थिक विकासका लागि आवश्यक नीतिगत आधार राजनीतिबाटै बन्ने भएपछि आशावादी हुनुको विकल्प पनि रहँदैन । नेतृत्वले विकासलाई प्राथमिकतामा राखेको बताउन छोडेको छैन, त्यसको प्रत्याभूति हुन नसक्नु नै विरोधाभासको चुरो हो । जबसम्म समृद्धिको जग बलियो हुँदैन, जनता सुखी हुँदैनन् । सुखी र सम्पन्न जनता नै राजनीतिक स्थिरताका आधार हुन् । राजनीतिक स्थायित्व र समृद्धिका सरोकारहरू अन्तर्सम्बद्ध छन् । राजनीतिले यो सरल सत्यलाई बुझ्न चाहेको छैन । परिणाम, प्रत्येकजसो दशकको अन्तरमा हामीकहाँ राजनीतिक उथलपुथलको इतिहास छ । पछिल्लो चुनावी परिणामहरूले पनि राजनीतिप्रति बढ्दो असन्तोषलाई प्रकट गरेकै छन् । कोरोना महामारीयता विश्वकै अर्थतन्त्रको गति सुस्ताएको छ । ठूला भनिएका अर्थतन्त्रसमेत धर्मराउँदा त्यसबाट जोगिन अनेक रणनीतिक योजनाहरू ल्याएको देखियो । यतिसम्म कि, कोरोनाबाट अर्थतन्त्र मन्दीमा जाने जोखिम कम गर्न कतिपय देशमा त्यहाँका नागरिकलाई नगदै बाँडिएका समाचार सञ्चारमाध्यममा आएकै हुन् । आयातमा आधारित आपूर्ति व्यवस्थामा अडिएको हाम्रो अर्थतन्त्रमा वैश्विक विपत्तिको असर नपर्ने त कुरै भएन । कोरोना प्रभावित अर्थतन्त्रलाई टेको लगाउन ल्याइएका अधिकांश राहत योजना कर्मकाण्डजस्ता देखिए । अर्थतन्त्र जोगाउने उपाय त असफल भए नै महामारीबाट जनताको ज्यान जोगाउने उद्देश्यमा पनि भ्रष्टाचार नमूना बाहिर आए । अहिले उद्योग र व्यापार २५ प्रतिशतमा खुम्चिएको निजीक्षेत्रले बताइरहेको छ । उत्पादन र बजार खुम्चिँदा वित्तीय क्षेत्रमा भने ब्याजको दर अस्वाभाविक हिसाबले बढेको छ । पछिल्लो समय अर्थतन्त्रका सूचकहरूमा सुधारको संकेत देखिए पनि त्यसको प्रत्याभूति हुन पाएको छैन । कुनै बेला कुल गार्हस्थ्य उत्पादनमा १५ प्रतिशतसम्म योगदान पुर्‍याएको उत्पादन क्षेत्र खुम्चिएर ५ प्रतिशतको हाराहारीमा झरेको छ । एक समय नेपालबाट खाद्यान्न निकासी हुन्थ्यो । अहिले वर्षेनि ३ खर्ब रुपैयाँभन्दा बढीको त आधारभूत खाद्यान्नमात्रै आयात भएको तथ्यांक सरकारी निकायहरूमा छ । सरकारले आधारभूत खाद्यान्नमा आत्मनिर्भर हुने योजना बनाइरहँदा अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान भने वर्षेनि खस्किएर २४ प्रतिशतमा झरिसकेको छ । आत्मनिर्भर भनिएका सिमेन्ट, डन्डी, प्रशोधित तेल, पोल्ट्रीजस्ता क्षेत्रको लगानी धराशयी हुने अवस्थामा पुगेको छ । सिमेन्ट र फलामे डन्डीको उत्पादन क्षमता स्वदेशी बजारको मागभन्दा दोब्बर पुगेको छ । उत्पादकत्व घटेको छ । नियन्त्रणका उपाय अपनाएर पनि व्यापारमा वर्षेनि घाटाको दर बढेको बढ्यै छ । अर्थव्यवस्थालाई रेमिट्यान्सले धानेको छ । यसको आप्रवाहमा थोरैमात्र असन्तुलन आउनासाथ देखापर्न सक्ने संकटबारे चिन्ता छाइरहँदा यसलाई कसरी प्रभावकारी बनाउने भन्नेमा कुनै योजना देखिएको छैन । आयको दिगो उपायमा कुनै रणनीति देख्न पाइएको छैन । लगानीको वातावरण बनाएर स्वदेशमै रोजगारी सृजना हुने हो भने ऊर्जावान् जनशक्ति विदेशिनुपर्ने बाध्यता कम हुने थियो । ऊर्जा अभाव, अव्यावहारिक श्रम, आर्थिक नीतिमा स्वार्थको द्वन्द्वले लगानीकर्ता सशंकित देखिन्छन् । राजनीतिजस्तै आर्थिक नीतिमा पनि स्थायित्व छैन । मन्त्रालयमा मन्त्री फेरिएसँगै आर्थिक नीतिका प्राथमिकता फेरिने देशमा लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्दैनन् । यसले लगानीलाई आकर्षित गर्दैन । अर्थतन्त्र आयातमा अतिनिर्भर हुँदै छ । सरकारले हालै आयातमा लगाइएको प्रतिबन्ध किन हटायो ? अर्थतन्त्रमा सुधार आएर हो ? आर्थिक सूचकमा सुधारभन्दा पनि सरकारलाई चाहिने प्रशासनिक खर्चको ढुकुटीमा सुधार ल्याउन आयातमा लगाइएका नियन्त्रण हटाइएको आशंका छ । आयातमा आधारित राजस्व खस्किएपछि आयातका रोकावट हटे पनि व्यापारमा सुधार देखिएको छैन । अर्थतन्त्र लयमा फर्र्किएको भए त बजारमा त्यसको प्रत्याभूति हुनुपर्ने हो, त्यो देखिएको छैन । सरकार आन्तरिक उत्पादन र आयातबाट होइन, आयातबाट हुने राजस्वलाई आधार मानेर आयव्ययको खाका तयार गर्छ । अर्थतन्त्र उपभोगमा निर्भर हुँदै गएको छ । सरकार आयात व्यापारबाट राजस्व उठाएर प्रशासनिक खर्च चलाउने ध्याउन्न राख्दै व्यापार नियन्त्रण र उत्पादन अभिवृद्धिका कुरा गर्छ । उत्पादन अभिवृद्धि चाहेको हो भने आयात होइन, उत्पादन बढाउने हिसाबको योजना चाहिन्छ । सरकारी नीति नै विरोधाभासमा रुमलिएको भान हुन्छ । औद्योगिकीकरण र तुलनात्मक लाभका वस्तु सम्भाव्यताको आधार हो । खुला अर्थनीति अवलम्बनयता शुरू भएको द्वन्द्व र राजनीतिक अस्थिरता लगानीको अवरोध बनेको तथ्य छ । जलविद्युत्, कृषि, जडीबुटी, पर्यटनजस्ता आधार भएर पनि लगानी हुन सकेको छैन । सरकार वैदेशिक लगानी आह्वान गर्छ । तर, स्वदेशकै पूँजी उत्पादनमा आउन चाहेको देखिँदैन । कोरोना महामारीयता त लगानीकर्ता नाफा बढाउनभन्दा घाटा कम गर्न काम गरिरहेको देखिन्छ । सरकार र विकासका आधार मानिएको निजीक्षेत्रबीच अभाव विश्वासकै छ । यो अविश्वासको जगमा आर्थिक अग्रगति सम्भव हुँदैन । अर्थतन्त्रमा समस्याको सबैभन्दा ठूलो कारण राजनीतिक र आर्थिक नीतिमा अस्थिरता नै हो । राजनीतिक नेतृत्वले आर्थिक सामथ्र्य र व्यवस्थापनलाई राजनीतिक लाभहानिको जोडघटाउमा सीमित तुल्याएको छ । गरीबी र असमानताको समाधान अभीष्ट हो भने आर्थिक विकासका एजेन्डालाई मुख्य उद्देश्यमा राखेर साझा प्रतिबद्धता निर्माण गर्नुपर्छ । हामीकहाँ यसैको अभाव छ । सानादेखि ठूला पूर्वाधारमा आवश्यकताभन्दा नेताको रुचिको दबदबा छ । अहिले सतहमा देखिएको समग्र आर्थिक अव्यस्था राजनीतिक नेतृत्वको पद र पैसामुखी आचरणको प्रतिफल हो । सुशासन चाहने हो भने एक नेता सुध्रिए कर्मचारीतन्त्रले दायाँबायाँ गर्ने सामथ्र्य राख्दैन । हामी आज दैनिक उपभोग्य वस्तुमा समेत परनिर्भर बन्दै गएका छौं । विरोधाभासपूर्ण नीति र नियतको सामना अर्थतन्त्रले गरेको छ । परनिर्भरताको ग्राफ यसरी उकालो लाग्यो कि भारतले चिनी, गहुँ वा कुनै चिज निकासी रोक्ने भयो भन्ने हल्लाले मात्रै हामीकहाँ कोकोहोलो शुरू हुन्छ । बेलैमा आत्मनिर्भरताका उपायहरूलाई रणनीतिक रूपमै अगाडि बढाउन सकिएको भए आज सकसको यो सीमासम्म आइपुग्नु पर्ने थिएन । अहिले सतहका देखिएका अव्यवस्था तत्कालीन अक्षमताको उपजमात्र होइनन्, अर्थतन्त्रप्रति निरन्तर उदासीनताको उत्पादन हो । कुनै पनि समस्याको समाधान टालटुले पाराले खोज्दा नै अर्थतन्त्र यति परनिर्भर बन्न पुगेको हो भन्नेमा द्विविधा छैन ।

विप्रेषणमा आधारित अर्थतन्त्र दिगो हुन सक्ला ?

परापूर्वकालदेखि नेपालीहरूको जीविकोपार्जन कृषिबाट भएको तथ्य लुक्न सकेको देखिँदैन । सन् १९९० को दशकअगाडि नेपालको कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढी जनसंख्याको जीविकोपार्जन कृषिमा नै आधारित थियो । आज नेपालको जनसंख्याको ७० प्रतिशतको हातमुखको माध्यम कृषि नै रहेको छ । एकाइसांै शताब्दीको शुरूमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ४० प्रतिशतभन्दा बढी थियो । त्यसपछिका दिनहरूमा कृषिक्षेत्रको योगदान क्रमशः घट्दै गएको छ । सन् २००१–२००६ को अवधिमा कृषिक्षेत्रको योगदान ३४ दशमलव ४ प्रतिशत थियो । सोही अवधिमा विप्रेषणको अनुपात केवल ९ प्रतिशतमा सीमित थियो । सन् २०१३–२०२० को अवधिमा कृषिक्षेत्रको अनुपात घटेर २५ दशमलव ६ प्रतिशत हुन पुगेको छ, सोही अवधिमा विप्रेषणको अनुपात २९ दशमलव १ प्रतिशत रहेको छ । सन् २०२० मा कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान केवल २५ प्रतिशत मात्र रहेको छ भने सोही अवधिमा विप्रेषणको अनुपातले कृषिक्षेत्रलाई उछिनेर ३० दशमलव १ प्रतिशत पुगेको छ । यसले के पुष्टि गर्छ भने नेपालको अर्थतन्त्र कृषिक्षेत्रबाट विप्रेषणमा परिणत हुन पुगेको छ । दुईतीन दशकदेखि नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको छ । नेपालको अर्थतन्त्रमा यसका असरहरू धेरै छन् । नेपालको वैदेशिक मुद्राको मुख्य स्रोत विप्रेषण रहेको छ । विप्रेषणले सीमान्त र गरीब घरपरिवारको आम्दानीमा वृद्धि गराएको छ । यसले नेपालको गरीबी निवारण कार्यक्रममा सहयोग पुर्‍याएको छ । शुरूदेखि नै नेपालमा भित्रिएको विप्रेषणको उपयोग उत्पादक क्षेत्रमा हुन सकेको छैन । नेपालमा भित्रिएको विप्रेषणको ६५ प्रतिशत अंश ऊर्जा र उपभोग्य वस्तुको आयातमा खर्च हुने गरेको छ । परिवर्तित वा विकसित उपभोगले नेपालीहरूको जीवनस्तर उठाउन सहयोग गरिरहेको छ । गरीब र सीमान्त घरपरिवारको आयस्तरमा वृद्धि गराउन विप्रेषणले सहयोग पुर्‍याएको छ । उनीहरूको क्रयशक्तिमा वृद्धि गराएको छ । उनीहरूको रहनसहन र खानपिनमा परिवर्तन ल्याएको छ । परिणामस्वरूप गरीबीको संख्यामा केही ह्रास भएको छ । प्रतिव्यक्ति आयमा केही सुधार हुन पुगेको छ । हाल उपलब्ध तथ्यांकअनुसार नेपालमा भित्रिएको कुल विप्रेषणको ७९ प्रतिशत अंश उपभोग्य वस्तुमा खर्च हुने गर्छ । घरायसी ऋण तिर्नमा कुल विप्रेषणको ७ दशमलव १ प्रतिशत खर्च हुने गर्छ । ४ दशमलव ५ प्रतिशत विप्रेषणको अंश घरायसी सम्पत्तिजस्तै जग्गाजमीन, सुन, आदिमा खर्च हुने गरेको छ । त्यस्तैगरेर शिक्षामा केवल ३ दशमलव ५ प्रतिशत विप्रेषणको अंश खर्च हुने गरेको उपलब्ध तथ्यांकले देखाउँछ । नेपालमा भित्रिएको विप्रेषणको खर्चको प्रकृतिले बताइरहेको छ कि नेपाल आउँदा दिनहरूमा विप्रेषणको पासोमा बेरिने निश्चित छ । मन्दी अर्थतन्त्रको व्यापारिक चक्रमा घुमिफिरी आउने अवस्था हो । व्यापारिक चक्रको अवस्थामा फेरबदल भइरहन्छ, जसमा आर्थिक गतिविधिहरूमा अल्प र दीर्घकालीन दुवै समयमा उतारचढाब हुने गर्छ । यो आर्थिक उतारचढाव दीर्घकालीन आर्थिक वृद्धिदरको वरिपरि निरन्तर रूपले घुमिरहेको हुन्छ । आर्थिक उतारचढावमा उत्पादन र उत्पादकत्वमा वृद्धि भएको अवस्थालाई आर्थिक समृद्धिको अवस्था भनिन्छ । यो अवस्थामा उत्पादन, रोजगारी र आम्दानी सबैमा वृद्धि हुन्छ । यही व्यापार चक्रको अवस्थामा फेरबदल भई ह्रास हुन थाल्छ जहाँ आर्थिक गतिविधिहरू प्रायः शून्य हुन्छन् । उत्पादन, रोजगारी आम्दानी सबैमा ह्रास भई जनजीवन अस्तव्यस्त हुन्छ, जसलाई आर्थिक संकुचन वा मन्दी भनिन्छ । व्यापारिक चक्रको यो अवस्थामा आर्थिक नीति नियमहरूले काम गर्न छोड्छन् । फलस्वरूप आर्थिक संकटको सृजना हुन्छ । अल्प र दीर्घकाल दुवैमा यस प्रकारको उतारचढाव आर्थिक गतिविधिमा भइरहन्छ, जसलाई प्राकृतिक व्यापारिक चक्र भनिन्छ । व्यापारिक चक्रको मापन वास्तविक कुल गार्हस्थ्य उत्पादनको सहायताले गर्ने गरिन्छ । आर्थिक मन्दीको विषयमा एउटा पुरानो कहावत छ । बृहत् आर्थिक मन्दीको समयमा सबै मानिस बेरोजगार हुन्छन् । माथि उल्लेख गरे जस्तै मन्दीमा आर्थिक संकुचन हुन्छ । आर्थिक गतिविधिहरू प्रायः बन्द हुन्छन् । यो अवस्थाको सृजना त्यस बखत हुन्छ जब कुनै पनि अर्थव्यवस्थामा ९ महीनासम्म वास्तविक कुल गार्हस्थ्य उत्पादनमा ह्रास भइरहन्छ । अर्थात् अर्थव्यवस्थामा तीन त्रैमासिकसम्म लगातार वास्तविक कुल गार्हस्थ्य उत्पादनमा ह्रास हँुदा मन्दीको सृजना हुन्छ । त्यस्तैगरेर यसको मापनका निमित्त अन्तरराष्ट्रिय मुद्राकोषले पनि एउटा मापदण्ड बनाएको छ । यदि विश्व अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतभन्दा कम दरले वृद्धि भयो भने विश्व अर्थतन्त्रमा मन्दीको चपेटामा पर्छ । यही नियमअनुसार सन् २००८ मा संसारका धनाढ्य देशहरू जस्तै संयुक्त राज्य अमेरिका, बेलायतलगायत यूरोपेली संघका सबै देश, एशियाका केही देशहरू जस्तै जापानलगायत सबै आर्थिक मन्दीका शिकार बनेका थिए । आजभोलि विश्व अर्थतन्त्र एकअर्कामा आबद्ध भएको छ । विश्वव्यापीकरणका कारण एउटा देश अर्को देशसँग निर्भर रहेको छ । विश्वमा आर्थिक मन्दीको उत्पत्ति कहिले र कुन समयमा हुन्छ भनेर भविष्यवाणी गर्न सकिँदैन । विश्वका विकसित देशहरू जस्तै संयुक्त राज्य अमेरिका, बेलायतलगायत यूरोपेली संघका सबै देश, जापान, चीन र भारतलगायत देशमा आर्थिक मन्दीको सृजना भयो भने वैदेशिक रोजगारीमा निर्भर रहने देशहरूमा आर्थिक संकटको सृजना हुन्छ । विकसित देशहरूको अर्थतन्त्रमा मन्दीको सृजना हुँदा मध्यम आम्दानी हुने देशहरूको अर्थतन्त्रमा छिटै असर पर्छ । मध्यम आम्दानी हुने देशहरू अर्धविकसित देशहरूको जनशक्तिलाई रोजगार प्रदान गर्ने स्रोतका रूपमा रहेका छन् । नेपालका युवायुवती यिनै देशहरूमा कार्यरत छन् । वैदेशिक रोजगारको लागि नेपाली युवायुवती यी देशमा उडिरहेका छन् । यी देशको अर्थव्यवस्थामा आर्थिक मन्दी हँुदा अर्धविकसित देशका युवायुवतीको रोजगारी गुम्छ । नेपालको बढ्दो जनसंख्याको रोजगारीको थलो विदेश नै हो । दुवै विकसित र मध्यम आम्दानी हुने देशहरू (मध्यपूर्वका खाडी मुलुकहरू, दक्षिण र पूर्वी एशियाका मुलुकहरू, विकसित देशहरूजस्तै बेलायतलगायत यूरोपेली संघका मुलुकहरू, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका र क्यानाडा) मा नेपालीहरू कार्यरत छन् । यी देशमा हुने सम्भावित आर्थिक मन्दीको असर नेपालको वैदेशिक रोजगारमा पर्छ । नेपालका युवायुवतीले विदेशमा रोजगारी पाउँदैनन् । अझ भन्ने हो भने छिमेकी मुलुकहरू भारत र चीनमा यस प्रकारको आर्थिक मन्दी हुनासाथ नेपालको अर्थतन्त्र धराशयी हुन सक्छ जहाँबाट नेपाललाई आवश्यक हुने वस्तुहरूको आयात हुन्छ ।  दुईतीन दशकदेखि नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको छ । नेपालको अर्थतन्त्रमा यसका असर धेरै छन् । पहिलो, नेपालका बैंकहरूको धेरै लगानी घरजग्गा र सवारीका साधन किनबेचमा भइरहेको छ । यी दुवै क्षेत्रहरू अनुत्पादक हुन् । यी क्षेत्र त्यसबखत चलायमान हुन्छन् जब देशले उच्च आर्थिक वृद्धि दर निरन्तर रूपले प्राप्त गर्छ । दोस्रो, नेपालमा उद्योग व्यवसायहरूको विकास हुन सकेको छैन । त्यसकारण पनि बैंक तथा वित्तीय संस्थाहरूको लगानी अनुत्पादक क्षेत्रमा गइरहेको छ । आर्थिक मन्दीको समयमा विप्रेषणमा ह्रास हुन्छ र अर्थतन्त्रका अन्य क्षेत्रभन्दा यी क्षेत्र छिटो प्रभावित हुन्छन्, जसले बैंकिङ व्यवसायलाई नै धराशयी बनाउँछ । बेरोजगारीमा वृद्धि हुनुका साथै सम्पूर्ण आर्थिक गतिविधिहरू शिथिल हुन्छन् । तेस्रो, यदि नेपाली युवायुवतीले वैदेशिक रोजगार गुमाए भने नेपालमा गरीबीको संख्यामा अप्रत्याशित वृद्धि हुन्छ । विदेशमा रहेका सबै युवायुवती नेपालमा फर्कन बाध्य हुन्छन् । आर्थिक मन्दीको समयमा सबै देशले आआफ्ना नागरिकहरूको निमित्त विदेशीलाई रोजगार प्रदान गर्दैनन् । नेपालीहरूको पेशा असुरक्षित हुन्छ । नेपालका घरपरिवारको आम्दानीमा ह्रास हुन्छ । जीविकोपार्जनका लागि जीवन कष्टदायी हुन्छ । फलस्वरूप अझ बढी नेपालीहरू गरीबीमा रहन्छन् । अर्थात् गरीबीको संख्यामा वृद्धि हुन्छ । अस्थिर वैदेशिक रोजगारीका कारण सीमान्त र गरीब परिवारहरूको जीवन थप कष्टकर हुन्छ । अन्तिममा घरजगाको कारोबारमा थप इँटा थप्ने कार्य विप्रेषणले गरेको छ । घरजग्गाको कारोबार जुन उचाइमा पुगेको छ त्यसको श्रेय विप्रेषणलाई दिन सकिन्छ । विप्रेषण र वैदेशिक रोजगारीको सम्बन्ध सकारात्मक हुन्छ । अर्थात् विप्रेषणमा घटबढ हँुदा घरजग्गाको कारोबार पनि घटबढ हुने गर्छ । विगतको अनुभवले के बताउँछ भने विप्रेषणको मुख्य अंश यो क्षेत्रमा लगानी भएको छ । वैदेशिक रोजगारीमा अस्थिरता पैदा हुँदा घरजग्गा कारोबारमा पनि अस्थिरता आउँछ । लेखक अर्थशास्त्री हुन् ।

हाइड्रोजन कि विद्युतीय गाडी ?

खनिज ऊर्जाले जलवायु परिवर्तनमा भूमिका खेलेको र वातावरणीय क्षति ल्याएको देखिएपछि त्यसको विकल्पमा सबैजसो देशले नीति निर्माण गर्न र तिनलाई कार्यान्वयनमा लैजान थालिसकेका छन् । स्वच्छ ऊर्जा प्रयोग गरेर कार्बन उत्सर्जन शून्यमा झार्ने रणनीति तयार भइरहेको छ । नेपालमा व्यापारघाटा कम गर्न र वातावरण प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गरिएको छ । साथै, सरकारले नेपालमा हाइड्रोजन ऊर्जाबारे पनि चासो देखाएको छ । नेपालमा यस ऊर्जाबारे प्रारम्भिक बहस शुरू भए पनि अमेरिकालगायत केही देशमा यसबाट चल्ने कारको व्यावसायिक उत्पादन शुरू भइसकेको छ । साथै, हाइड्रोजन ऊर्जाको कारोबार पनि शुरू भइसकेको छ । नेपालमा नेपाल आयल निगमले काठमाडौं विश्वविद्यालयसँग मिलेर यसबारे अनुसन्धान गर्ने काम अघि बढाएको छ । नेपालमा हाइड्रोजन उत्पादन तत्कालै सम्भव त देखिँदैन तर विद्युतीय सवारीभन्दा हाइड्रोजन सवारीको विकल्पमा जानु नेपालका लागि बढी लाभदायी देखिन्छ । विश्वका ठूला कार उत्पादकहरूले विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि हाइड्रोजन फ्युल सेलमा समेत ठूलो लगानी र अनुसन्धान गरिरहेका छन् । नेपालमा विद्युतीय सवारीसाधनका लागि बिस्तारै आधार तय हुँदै छ । विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनिरहेका छन् । त्यस्तै सस्तादेखि निकै महँगा गाडीसम्म आयात भइरहेका छन् । गाडी विक्रीको पछिल्लो तथ्यांकले विद्युतीय सवारीको अंश निकै बढी रहेको देखाउँछ । तर, नेपालले विद्युतीय सवारीभन्दा हाइड्रोजनबाट चल्ने सवारीलाई प्राथमिकता दिनुपर्छ र यसका लागि लगानी गर्नु उपयुक्त हुन्छ भन्ने आवाज पनि राम्रैसँग उठेको छ । हाइड्रोजन आफैमा ऊर्जाको स्रोत होइन । यो ऊर्जा वाहक मात्र हो । मुख्यत: दुईओटा विधिमार्फत शुद्ध हाइड्रोजन उत्पादन गर्न सकिन्छ : पहिलो विधि हो स्टिम मिथेन रिफर्म विधि । यसमा खनिज इन्धनबाट उत्पादित बिजुली प्रयोग गरी स्टिम मिथेनलाई ७०० देखि १००० डिग्री सेल्सियस तापक्रममा प्रशोधन गरेर शुद्ध हाइड्रोजन उत्पादन गरिन्छ । हाइड्रोजन उत्पादनको दोस्रो विधि इलेक्ट्रोलाइसिस विधि हो । यस विधिमा पानी र बिजुलीको रसायनिक प्रक्रियामार्फत शुद्ध हाइड्रोजन उत्पादन हुन्छ । उत्पादन विधि र बिजुलीको स्रोतको आधारमा शुद्ध हाइड्रोजनलाई विभिन्न प्रकारमा विभाजन गरिएको पाइन्छ । यीमध्ये ग्रीन हाइड्रोजन इलेक्ट्रोलाइसिस विधिमार्फत नवीकरणीय ऊर्जाको स्रोत जलविद्युत्, सौर्य र वायुबाट उत्पादित स्वच्छ ऊर्जाको प्रयोगबाट प्राप्त हुन्छ । नेपालमा जलविद्युत्को ठूलो सम्भावना भएको र वर्षायाममा बिजुली खेर जान थालिसकेकाले यसको प्रयोग गरेर हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ । त्यसैले नेपालमा हरित हाइड्रोजन उत्पादन गर्दा अन्य देशमा भन्दा सस्तो पर्छ । सस्तो हाइड्रोजन निर्यात गर्न सकिन्छ । यस्तोमा विद्युतीय सवारीसाधनभन्दा हाइड्रोजन सवारीसाधनको विकल्प नेपालका लागि उपयुक्त देखिन्छ । विद्युतीय सवारी विश्वभरि नै प्राथमिकतामा परेर यसको प्रविधिमा नयाँनयाँ पक्ष थपिइरहेका छन् । यसको प्रयोग पनि विश्वभरि बढिरहेको छ । यसको दाँजोमा हाइड्रोजनबाट चल्ने गाडी निकै कम छन् । दुवै गाडीका बीच तुलना गर्दा दुवैका सकारात्मक र नकारात्पक्ष छन् । विद्युतीय सवारीमा ब्याट्री सजिलै राख्न, चार्ज गर्न र फेर्न सकिन्छ । तर, आयु पुगेको ब्याट्री कसरी डिस्पोज गर्ने भन्ने समस्यामा खासै चर्चा भएको पाइँदैन । ब्याट्री चार्ज गर्नभन्दा निकै छिटो हाइड्रोजन भर्न सकिन्छ । पेट्रोल भर्नभन्दा केही समयमात्रै बढी लाग्छ । तर, हाइड्रोजनको अत्यधिक प्रज्वलनशीलताका कारण यो कम सुरक्षित हुन्छ । अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०२१ मा विश्व बजारमा १२० मिलियन टन हाइड्रोजन उत्पादन भएको छ । उत्पादित हाइड्रोजनमध्ये ७६ प्रतिशत प्राकृतिक ग्यासमा आधारित ग्रे हाइड्रोजन छ । २३ प्रतिशत कोइलामा आधारित ब्ल्याक हाइड्रोजन छ । नवीकरणीय ऊर्जा प्रयोग गरी इलेक्ट्रोलाइसिस प्रविधिमार्फत उत्पादित ग्रीन हाइड्रोजन नगन्य छ जसको सम्भावना नेपालमा बढी छ । नेपालले हाइड्रोजन निर्यातसमेत गर्न सक्छ । विद्युत् निर्यात गर्न नसकिने देशमा समेत यो निर्यात गर्न सकिन्छ । वर्षा यामको बिजुलीबाट हाइड्रोजन उत्पादन गरेर भण्डारण गरी हिउँदमा प्रयोग गर्न पनि सकिन्छ । टोयोटा, होन्डा, हुन्डाईजस्ता कार निर्माता कम्पनीहरूले हाइड्रोजन कारको विकास गरेसँगै ढुवानीका लागि हाइड्रोजन ट्रकहरू पनि निर्माण हुन थालेका छन् । चीनले सयौंको संख्यामा हाइड्रोजन बसहरू सञ्चालनमा ल्याएको छ । उसले विद्युतीय र हाइड्रोजन दुवैमा लगानी गरिरहेको छ । पेट्रोल उत्पादक राष्ट्रहरूले समेत ग्रीन हाइड्रोजनको उत्पादन र व्यापारमा लगानी गरेका छन् ।   वार्षिक १ लाख ८७ हजार टन ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिन्छ । यो परिमाणको ग्रीन हाइड्रोजनबाट ७ लाख ५० हजार किलोलिटर पेट्रोलियम पदार्थ विस्थापित गर्न सकिन्छ । त्यस्तै यसबाट हजारौं टन मल उत्पादन गर्न सकिन्छ । विश्वका ठूला कार उत्पादकहरूले विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि हाइड्रोजन फ्युल सेलमा समेत ठूलो लगानी र अनुसन्धान गरिरहेका छन् । जर्मनीका अटोमोटिभ टेक्नोलोजी फर्म कन्टिनेन्टलका विज्ञ डा फेलिक्स ग्रेसले सन् २०३० पश्चात् विश्वमा इलेक्ट्रिक कारको विकल्पका रूपमा हाइड्रोजन कार अघि आउने बताएका हुन् । हाइड्रोजन कार अहिले अनुसन्धानकै चरणमा रहेको हुँदा यो तत्काल प्रयोगमा आउने सम्भावना न्यून भए पनि कालान्तरमा यसकै प्रयोग बढी हुने सम्भावना उच्च छ । इलेक्ट्रिक कारको तुलनामा हाइड्रोजन कारको ‘भ्यालु फर मनी’ उच्च हुने बताइन्छ । त्यसैले विश्व अटो बजार विद्युतीय सवारी निर्माणमा लागिरहेकै समयमा हाइड्रोजन फ्युल सेल कारको पनि तीव्र विकास भइरहेको छ । ब्याट्रीको मूल्य महँगो पर्छ । चार्ज गर्न धेरै समय लाग्छ । ड्राइभिङ रेन्ज पनि थोरै हुन्छ । त्यसैले विकल्पका रूपमा कार निर्माताहरूले हाइड्रोजनबाट चल्ने कारलाई समेत विकास गर्न थालेका छन् । हाइड्रोजनबाट चल्ने कार इन्धनबाट चल्नेभन्दा सजिला हुन्छन् र यसमा रेन्जको कुनै सीमा तोकिएको हुँदैन । अहिले विद्युतीय रोजकारको तुलनामा हाइड्रोजन कारको मूल्य चार गुणा महँगो पर्छ । र प्रदूषण कम गर्न भने विद्युतीय भन्दा हाइड्रोजन कार निकै प्रभावकारी मानिन्छ । तर, सुरक्षाका दृष्टिले विद्युतीय कार अब्बल मानिन्छ । नेपालको सन्दर्भमा विद्युतीय कारभन्दा हाइड्रोजन बढी उपयुक्त भए पनि विश्वमा आएको प्रवृत्ति नै पछ्याउनुपर्ने बाध्यता छ । तैपनि हाइड्रोजन ऊर्जाको अनुसन्धान र विकासमा ठूलै लगानी गर्नु भविष्यका दृष्टिले निकै महत्त्वपूर्ण सावित हुनेछ ।

लगानीको स्रोत (न)खोज्ने

सरकारले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकबाट ल्याएको बजेटमा जलस्रोत तथा केही पूर्वाधारमा लगानीका लागि केही सहज बनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले २०८५ सम्म जलविद्युत्मा लगानीका स्रोत नखोज्ने व्यवस्थालाई कायम राख्न माग गरेको थियो । यसमा सकारात्मक रहँदै सरकारले जलविद्युत्मा गरिएको लगानीलाई कर छूटको व्यवस्था गरिदिएको छ । यसले जलविद्युत्को विकासमा ठूलो पेवा पुग्ने देखिन्छ । कानूनी प्रक्रियाअनुसार वैध प्रमाणित गर्न नसकिएको  सम्पत्तिलाई जलविद्युत् वा त्यस्तै राष्ट्रिय महत्त्वका क्षेत्रमा केही शर्त तोकेर केही वर्षभित्र लगानी गर्न दिएमा समग्रमा देशलाई फाइदै हुन्छ । इप्पानले मात्र होइन, सम्पूर्ण निजीक्षेत्रले पूर्वाधार क्षेत्रमा हुने लगानीको स्रोत नखोजिदिन आग्रह गरिरहेको छ । तर, यस्तो व्यवस्था गर्न सरकार डराइरहेको छ । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बजेटमा यस्तो व्यवस्था गरिए पनि भूलवश परेको भनी त्यसलाई कार्यान्वयनमा ल्याइएन । यसरी सरकार पछि हट्नुको कारण सम्पत्ति शुद्धीकरणको विवाद हो । नेपालले सम्पत्ति शुद्धीकरण रोक्न पर्याप्त कानूनी र संरचनागत व्यवस्था गर्न नसकेको अवस्थामा यसरी सम्पत्तिको स्रोत नखुलाई लगानी गर्न दिँदा फाइनान्सियल एक्शन टास्क फोर्सलगायत सम्पत्ति शुद्धीकरण रोक्ने अभियानमा सक्रिय अन्तरराष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपाल पर्न सक्थ्यो । तर, अफसोर फाइनान्सियल सेन्टरहरूबाट आउने लगानीलाई त्यस्ता अन्तरराष्ट्रिय संस्थाहरूले रोकेका छैनन् भने देशभित्रैबाट आउने लगानीलाई उनीहरूले पनि अन्यथा भन्न पाउँदैनन् । नेपालमा आइरहेको वैदेशिक लगानीको महŒवपूर्ण स्रोतका रूपमा सेन्ट किट्स एन्ड नेभिस रहेको छ । त्यो अफसोर फाइनान्सियल सेन्टर हो र त्यहाँबाट आउने लगानीलाई पूर्णरूपमा शुद्ध पैसा मानिँदैन । यस्तो लगानीमा सम्पत्ति शुद्धीकरणको सम्भावना उच्च हुन्छ । नेपालीले नै अवैध रूपमा नेपालभित्रै वा अरू देशमा कमाएको आय सेन्ट किट्स एन्ड नेभिस पुगेको र त्यही पैसा लगानीका रूपमा नेपालमा भित्रको हुन सक्छ । तर, अवैध कमाइका पनि विभिन्न तह हुन्छन् । आतंककारी क्रियाकलाप, अवैध हतियारको कारोबार, लागूपदार्थ कारोबार, भ्रष्टाचार वा अन्य कुनै गैरकानूनी काम गरेर कमाएको सम्पत्ति एकातिर हुन्छ भने र कानूनी प्रक्रियाअनुसार वैध प्रमाणित गर्न नसकिएको सम्पत्ति एकातिर हुन्छ । दोस्रो किसिमको अवैध सम्पत्तिलाई जलविद्युत् वा त्यस्तै राष्ट्रिय महŒवका क्षेत्रमा केही शर्त तोकेर केही वर्षभित्र लगानी गर्न दिएमा समग्रमा देशलाई फाइदै हुन्छ । हो, स्रोत नखुलेको सम्पत्ति लगानी गर्न दिँदा थुप्रै नकारात्मक पक्ष पनि छन् । आपराधिक कर्मबाट कमाइएको सम्पत्ति शुद्धीकरण गर्न प्रयोग भयो भने त्यो निकै नराम्रो हुन्छ । साथै मुलुक नै कालोसूचीमा पर्न पनि सक्छ । त्यसैले स्पष्ट मापदण्ड र नीति बनाएर मात्रै यस्तो लगानी स्वीकार्नु उपयुक्त हुन्छ । नेपालको अर्थतन्त्रमा ४० प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्र भएको देखिएकाले यसलाई रोक्न पनि यस्तो व्यवस्था आवश्यक देखिन्छ । व्यवसायीहरूले कुनै आपराधिक कर्म वा भ्रष्टाचार नगरी पैसा कमाएका हुन सक्छन्, पुख्र्यौली सम्पत्ति विक्रीबाट आएको पनि हुन सक्छ । करबाट बच्न यस्तो आय लुकाउँदा त्यो पैसा त्यसै बसिरहेको हुन्छ । यस्तोमा सम्पत्तिको स्वघोषणा गर्न दिए त्यो औपचारिक प्रणालीमा आउँछ । यसका लागि निश्चित मापदण्डहरू भने बनाइनुपर्छ जसले सम्पत्ति शुद्धीकरणलाई रोकोस् । रेकर्ड भएको र नभएको पैसाको जुन अन्तर छ त्यो निश्चित क्षेत्रमा लगानी गर्दा सहुलियत दिँदा आपत्ति गर्नुपर्ने कारण देखिँदैन ।

पर्यटन क्षेत्रमा ‘सिल्भर लाइन’

सन् २०१९ मा पर्यटकको संख्या र आम्दानी राम्रो भएको थियो । करीब १२ लाख पर्यटक नेपाल आएका थिए र राम्रो आम्दानी पनि भएको थियो । नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर लगानी पनि बढेको थियो । तर, भ्रमण वर्षको शुरुआतमै कोरोना भाइरस (कोभिड–१९)ले नेपाललाई मात्रै नभई विश्वलाई नै समस्यामा पार्‍यो जुन अहिले पनि छ । आफू पनि बाँच्न र व्यवसायलाई पनि बचाउन अहिले व्यवसायीदेखि सामान्य मानिसहरू संघर्षरत छन् । हामी डेढ वर्षदेखि कोरोनासँगसँगै हिँडिरहेका छौं । शुरूमा यसले निकै त्रस्त पारेको थियो, तर अहिले योसँगै हिँड्ने र बच्दै अघि बढ्नुको विकल्प हामीसँग छैन । कालो बादलमा चाँदीको घेराजस्तै अहिले संकटका बीच अवसर खोज्ने र बाँच्ने बचाउने अवस्था हो । पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य टेको नै हो । यसले गर्दा यो क्षेत्रमा सुधार देखिनासाथ केन्द्रदेखि स्थानीय तहसम्म सकारात्मक प्रवाह जान्छ । नेपाल साहसिक पर्यटनका लागि प्रख्यात छ, यसका लागि पर्यटकहरू कोरोना विपद्कै बीच आएका पनि छन् । यसरी आएका पर्यटक र आन्तरिक पर्यटकका कारण पर्यटन क्षेत्रमा ‘सिल्भर लाइन’ देखिन्छ ।  सन् २०२० मा २ लाख ३० हजार मात्रै पर्यटक आए भने सन् २०२१ म पनि यही अंक हुने आकलन गरिएको छ । यद्यपि पर्यटकीय सिजन अक्टोबर, नोभेम्बरमा कति पर्यटक आउँछन् त्यसमा यो कुरा भर पर्छ । २०१९ मा आएका पर्यटकको तुलनामा यो वर्ष २५ प्रतिशत पनि पर्यटक ल्याउन सकिने अवस्था छैन । यसबाट अहिले पर्यटन उद्योग कहाँ छ र कत्तिको समस्यामा छ भन्ने चित्रण गर्छ । पर्यटन उद्योगमा काम गर्ने र लगानी गर्नेको अवस्था पनि यसैबाट स्पष्ट हुन्छ । पर्यटन व्यवसायीहरू १२ लाख पर्यटक आउँदा पनि २०१९ मै डगमगाएका थिए किनभने ‘पर्यटन वर्ष २०११’ ले पर्यटनमा फड्को मारेको थियो । २५ वर्षसम्म ५ लाख पर्यटक आएको मुलुकमा त्यस वर्ष ८ लाख पुगेको थियो ।  पर्यटक आगमनको संख्यामा वृद्धि भएको देखेपछि बैंकहरूदेखि लिएर लगानीकर्ता र नेतृत्वसम्मले पर्यटनलाई समृद्धिको मानक मान्न थालेका हुन् । त्यसमा लगानी बढाउन थालेका हुन् । कहिले पनि पर्यटन र पर्यटकतर्पm हेर्न नचाहनेहरूको दृष्टिमा पर्यटन क्षेत्र पर्न थालेको हो । नबुझेर नै लगानी गर्नेको लर्काे पनि लागेको थियो । त्यो लगानी भने व्यक्तिगत नभई बंैक तथा फाइनान्सबाट ऋण लिएर गरिएको थियो । भ्रमण वर्षको ८ वर्षमै नेपालमा पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भए पनि हामीहरू २०१९ मै डराएका थियौं । किनभने हस्पिटालिटी क्षेत्रमा मागभन्दा आपूर्ति बढी हुने देखियो ।  यही बेला कोरोना भाइरस (कोभिड–१९) ले पर्यटनलाई थला पार्‍यो । अब सन् २०१९ को अवस्थामा पुग्न हामीलाई ५ वर्ष कुर्नुपर्ने हुन्छ । अर्थात् पर्यटन क्षेत्र बाउन्स ब्याक हुन अझै ५ वर्ष कुर्नुपर्छ । सरोकारवाला क्षेत्रलाई लाग्यो होला, व्यवसायीहरूले सरकारसँग राहत लिन, सुविधा पाउन नराम्रो कुरा गरे । तर, अहिले पर्यटन व्यवसायको अवस्था ज्यादै नराम्रो छ र केही वर्ष कुनै पनि हालत उठ्न सक्ने देखिनन । सन् २०२५ मा पनि पर्यटन क्षेत्र लयमा फर्कन सक्छ, वा सक्दैन भन्ने स्पष्ट देखिएको छैन ।  हामीलाई थाहा थिएन, कोभिडले यसरी व्यापक र लामो समय प्रभाव पार्नेछ । यो अवस्था सरकार र व्यवसायी कसैले ल्याएको होइन । त्यसो भए अब के गर्ने भन्ने प्रश्न आउँछ । सरकार र व्यवसायी दुवै मिलेर समाधान खोज्नुपर्छ । २ वर्षदेखि हामी यही भाइरससँगै बाँचिरहेका छौं । यसको समाधान गर्ने पहिलो दायित्व त सरकारको नै हो । हामीले सधैं सही समयमा सरकारलाई प्रत्यक्ष रूपमा २५ प्रतिशत आयकर बुझाउने गरेका छौं । साबिकको समयमा मूल्यअभिवृद्धि कर (भ्याट), टीडीएस, स्थानीय करहरू बुझाउने गरेको छौं । अहिले हामी उठ्नै नसक्ने गरी अप्ठ्यारामा परेका छौं । त्यसैले सरकारबाट सहयोगको अपेक्षा राख्नु हाम्रो अधिकार हो । हामीले लगानी गरेका हुन्छौं । सरकारले कर लिन्छ र कमाउँछ । कर भनेको भनेको त हाम्रो इस्योरेन्स जस्तै हुनुपर्ने हो । खराब समयमा त सरकारले हेर्नुपर्छ । कमाउँदा हामीले सरकारलाई कर तिरेकै छांै । सरकारले हामीसँग आम्दानी छैन, व्यवसायीहरूलाई कसरी सहयोग गर्ने भन्दै आएको छ । यो समयमा हामी लगानीकर्ताले सरकारको भाषालाई कसरी बुझ्ने त ⁄ अहिलेको प्राथमिकता मानिसको दैनिकी सहज बनाउनु हो । एक गाँस जोहो गर्न नसक्नेलाई सहयोग गर्नु हो । अहिले अधिकारको कुराभन्दा पनि मानवीय व्यवहार देखाउनुपर्छ । अर्काेतर्पm राज्यसँग अहिले सहयोग गर्ने अवस्था कमजोर छ भन्दैमा सरकार हात बाँधेर बस्न पक्कै मिल्दैन । राज्यले केही नदिने, पर्यटकहरू पनि नआउने हो भने त पर्यटन व्यवसाय ध्वस्तै नहोला भन्न सकिँदैन । आम्दानी घटेपछि खर्च घटाउनेबाहेक विकल्प हामीसँग अरू छैन । त्यसकारण अहिले सरकारबाट एउटा सहयोग हामीलाई चाहिन्छ । यो निकै सरल पनि छ । सरकारले खर्च घटाउने बाटो दिनुपर्छ । होटेलहरूको अधिक खर्च श्रमिकहरूका लागि तलबभत्तामा हुन्छ । यसलाई कटौती गर्न सरकारले स्वीकृति दिनुपर्छ । दोस्रो भनेको बैंकको ऋण, विद्युत् महसुल, सम्पत्ति करजस्तै अन्य करहरू घटाउन सरकारले मद्दत गर्नुपर्छ । आम्दानी नभए पनि यी कर तथा राजस्वहरू तिर्न दबाब आएको हुन्छ । यसकारण यस्ता विषयहरू घटाउन सरकारले सहयोग गर्नुपर्छ ।  पर्यटनको पुनरुत्थान कसरी गर्ने त ? अहिलेको अहम् प्रश्न हो । यो नेपालले चाहेर मात्रै हुँदैन । अहिले पर्यटकलाई लागिरहेको छ नेपाल ‘रेड जोन’मा छ । कोरोनाको अवस्थाका आधारमा देशहरूलाई ४ जोनमा राखिएको छ । रेड, यल्लो, एम्बर र ग्रीन जोनमा हेरिएको छ । ग्रीन सीधै स्वागत गर्ने, एम्बर क्वारेन्टाइन बसेर भए पनि आउने, यल्लो र रेड भनेपछि नेपाल आउन नै बन्द गर्ने खालका पर्यटक छन् । बेलायती पर्यटक नेपाल आयो भने नेपाल रेड जोनमा भएका कारण घर फर्किंदा पनि उसले क्वारेन्टाइनमा बस्नुपर्छ । त्यसैले नेपालले ग्रीन जोनमा जानका लागि प्रयास गर्नुपर्छ । सबैले कोभिडविरुद्धको खोप लगाएपछि नेपाल ग्रीन जोनमा जान सक्ने अवस्था आउन सक्ला ।  पुनरुत्थानका लागि सबैभन्दा पहिला ग्रीन जोनमा जाने नै हो । हामीलाई हिजोसम्म पनि थाहा थिएन, अहिले त थाहा भयो नि । त्यसका लागि सबैले खोप लगाउनुप¥यो । त्यसको जिम्मा सरकारले लिनुपर्छ । तर, नेपालका लागि सिल्भर लाइन के छ, भने यहाँ आउने पर्यटकहरूको राम्रै हिस्सा साहसी पर्यटकहरूको छ । उनीहरू नडराउने खालका हुन्छन् । हाम्रो मुख्य पर्यटन बजार पनि त्यही हो । द्वन्द्वको समयमा नेपालीहरू डराएको अवस्थामा पनि पर्यटकहरू नडराई आएका थिए । बन्द हडतालको त्यस समयमा पनि २ लाख पर्यटकहरू नेपाल आएका थिए । नेपालमा आउने पर्यटकहरू साहसिक हुन्छन्, जोखिमसँग नडराउने खालका हुन्छन् । हामी रेड जोनमा पर्दापर्दै पनि कुनै मतलबै नगरी नेपाल आउनेछन् ।  पहिला नेपालमा धेरै पर्यटक एड्भेन्चर्सका लागि आउँथे । तर, अहिले तिनको हिस्सा ३५ प्रतिशत जति मात्रै छ । यी पर्यटकलाई लक्षित गरेर काम गर्नुपर्छ । नेपालमा कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डहरू कागजमा मात्रै सीमित छन् । अहिले भएका स्वास्थ्य मापदण्डहरूमा केही लचिलो बन्न सके केही सजिलो हुन्छ । यद्यपि सतर्क भने हुनैपर्छ । जोखिम लिन रुचाउने विदेशी पर्यटकहरू नै अहिलेको मार्केट हो । अब नेपालले उनीहरूलाई आउन दिने कि नदिने भन्ने विषयमा निर्णय गर्नुपर्छ ।  तत्कालीन ओली सरकारले रू. ५० अर्ब र रू. १ खर्बको सस्तो कर्जाको प्याकेज ल्याएको थियो । रू. ५० अर्बको प्याकेज पर्यटन व्यवसायीलाई आवश्यक छैन भनिएको थियो । सहयोग व्यवसायीलाई नदिई जागीरमा भएकालाई दिनुपर्छ भन्ने थियो । यही समय हो, असललाई प्र्रोत्साहित गर्ने । पहिलो सामाजिक सुरक्षा कोषमा भएकालाई राहत दिनुपर्छ भनियो र कोषमा पठाउनुपर्ने रकम सरकारले ब्यहोर्‍यो । यो राम्रो हो तर नेपालमा भएकामध्ये १० प्रतिशत होटेलमात्र कोषमा आबद्ध छन् । यो सहयोग ९० प्रतिशत होटेलले पाएनन् । त्यसैले सरकारले ल्याएको राहत प्याकेजले पर्यटन व्यवसायलाई खासै राहत दिएको छैन । अब पर्यटन व्यवसाय बचाउने हो भने साहसी पर्यटकहरू आउने वातावरण बनाउन आवश्यक छ । साथै, मुलुकको पर्यटन क्षेत्र बचाउन आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नुपर्छ । आन्तरिक पर्यटन बढाउन सरकारले पनि १० दिनको ‘पेड होलिडे’ कार्यान्वयन गर्ने भनेको छ । यो सकारात्मक छ । संसारका धेरै देशमा यस्तो व्यवस्था छ । काम गर्नेलाई पुनः ऊर्जा प्रदान गर्न र सम्पत्ति वितरणमा योगदान गर्न यस्तो अवधारणा कार्यान्वयनमा ल्याइन्छ । पर्यटनको राम्रो पक्ष भनेकै सम्पत्तिको वितरण हो । १ जना पर्यटक आउँदा धेरै पाटोमा रोजगारी सृजना गर्छ । पर्यटकले आर्थिक पाटोलाई नै चलायमान बनाउँछ र मुद्रालाई वितरण गर्न टेवा दिन्छ । पर्यटन बिदाका शीघ्र कार्यान्वयन भए यस व्यवसायलई थोरै भए पनि राहत मिल्छ । सरकारले जे कार्यक्रम ल्याए पनि कार्यान्वयनमा आशंका गर्नुपर्ने अवस्था छ । अहिले १० दिनको भ्रमण बिदामा पनि यस्तो आशंका देखिएको छ । सरकारले सम्बद्ध कार्यालयहरूबाट सिधै १० दिनेका काज बिदा नदिइ निश्चित प्रक्रिया पुर्‍याएर मात्रै दिनुपर्छ । सरकारले ‘पेड होलिडे’ नीति लिएको नै पर्यटन बचाउनका लागि हो । त्यसैले उक्त रकम दुरुपयोग भयो भने यो कार्यक्रम नै गलत साबित हुन्छ । बिदा दिएर मात्रै हुँदैन, यसका लागि प्रक्रिया पनि हुनुपर्छ । कर्मचारी पर्यटनलाई नै योगदान दिने गरी ‘पेड होलिडे’ मा जाओस् भन्ने खालले कार्यविधि बनाउनुपर्छ । सन् २०२५ सम्म नेपालको पर्यटन क्षेत्र ‘बाउन्स ब्याक’ हुँदैन । सन् २०१९ को अवस्था अर्थात् १२ लाख पर्यटक ल्याउन केही वर्ष लाग्छ । त्योभन्दा बढी पर्यटकलाई सेवा दिने गरी पूर्वाधार बनेको छ । यसलाई बचाउन आवश्यक छ । अहिले हामी बाँच्न र व्यवसाय बचाइराख्न संघर्षरत अवस्थामा छौं । तत्कालका लागि पर्यटन पुनरुत्थान गर्न आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नुको विकल्प छैन । २०२५ सम्म पर्ख र हेरको अवस्था छ । कोरोना कहिलेसम्म रहन्छ भन्ने विषय यकिन छैन । यसैले आर्थिक पुनरुत्थानमा पर्यटन क्षेत्रको योगदान बढाउने हो भने अहिले भएका मापदण्डहरूलाई लचिलो बनाउँदै एड्भेन्चरका लागि नेपाल आउने पर्यटकलाई खुला गर्नुपर्छ । आन्तरिक पर्यटक बढाउन र १० दिने काज बिदालाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउनुपर्छ । (कुराकानीमा आधारित)

सकारात्मक वृद्धिको संकेत

नेपालको निजी क्षेत्रले हरेक कालखण्डमा विभिन्न खाले चुनौती नभोगेको होइन । रोजगारदाता–श्रमिकको श्रम सम्बन्ध बिग्रेकोदेखि, भूकम्प, नाकाबन्दी र  १८ घन्टे लोडसेडिङसम्मका समस्याबाट निजी क्षेत्र गुज्रिएको छ । तथापि ९० को दशकमा निजीकरणको राम्रो अवधारणा देखेकै हौं । निजी क्षेत्रलाई सम्मानित गर्ने वातावरण पनि देखिएकै हो । त्यसबेला एयरलायन्स, इन्स्योरेन्स, बैंक, शिक्षा, स्वास्थ्यमा ठूलो लगानी भएको थियो ।  राजनीतिक परिर्वतनका साथै कुनै बेला श्रम सम्बन्ध अधिक बिग्रन पुग्यो । ऊर्जा अभावबाट निजी क्षेत्र गुज्रियो । त्यही बेला बैंकको ब्याजदर अत्यधिक बढेको थियो । तर, अहिलेको परिस्थिति अर्थात् गत २ वर्षदेखि कसैले पनि कल्पना नगरेको स्थितिमा हामी छौं । अहिले हामी कोरोना महामारीसँग जुधिरहेका छौं । कोरोनाको पहिरो लहरमा निजी क्षेत्र मात्रै होइन, सिंगो समाज भयभीत भएको अवस्था थियो । तर, अहिले हामी यससँग जुध्दै अघि बढेका छौं भने हाम्रै प्रयासले आर्थिक पुनरुत्थान तथा थलिएका क्षेत्रमा सकारात्मक संकेत देखा पर्न थालेका छन् । सामान्यतया हामी व्यवसायी जोखिम विश्लेषण गर्छौं । भूकम्प, आगलागी वा हडताल र कुनै समय विभिन्न कारणले नोक्सानी नै भयो भने बीमा उपलब्ध हुन्छ । तर, कुनै पनि व्यवसायीले सायदै यस्तो कल्पना गरेका थिएनन् होला, २ वर्षसम्म कोरोना संक्रमणको महामारीमा जान्छौं । यो नेपालमा मात्रै नभई विश्वमै कल्पना गरिएको थिएन । तथ्यांकगत रूपमा हेर्दा विश्वमा करोडौं मानिसले रोजगारी गुमाइसकेको अवस्था छ भने नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन ।  नेपालको स्थितिलाई मैले २ वटा पाटोबाट हेरेको छु । एउटा, अनौपचारिक क्षेत्र कोरोना महामारीबाट निकै प्रभावित भएको छ । खासगरी सडकमा काम गर्नेहरू, जुन सानोतिनो व्यवसाय गरेर दैनिकी गुजार्ने गर्छन् । तिनको संख्या अत्यन्त ठूलो छ । अर्थतन्त्रको ठूलो हिस्सा यसमै अडिएको छ । यिनबाट ठूलो रोजगारी सिर्जना पनि भएको छ । महामारीका कारण भएको निरन्तरको बन्द र निषेधाज्ञाले यस क्षेत्रका मानिस एकदमै प्रभावित भएका छन् ।  दोस्रो कुरा, हामीकहाँ अनौपचारिक क्षेत्रको तथ्यांक नै बुझ्ने तथा लिने गरिएको छैन । खासमा भन्ने हो भने उनीहरूले अर्थतन्त्रको ठूलो भाग ओगटेका हुन्छन्, तिनको दुःख कल्पनाभन्दा बाहिरको हुन्छ । हरेक पटक बन्दाबन्दी गर्दा त्यसको पीडा यस क्षेत्रकालाई बढी हुने गरेको छ । ठूला, मझौला व्यवसायीलाई बन्दाबन्दी हुँदा व्यापार कम होला तर साना व्यवसायीको जस्तो समस्या हुँदैन । औपचारिक क्षेत्रको व्यापार, व्यवसायको कुरा गर्दा पर्यटन, मनोरञ्जन र यातायातबाहेक अरू क्षेत्रमा सकारात्मक वृद्धि आउँछ भन्ने संकेत देखिएका छन् । पर्यटन र मनोरञ्जन क्षेत्र नेपालको भन्दा पनि बाह्य कारणले समस्यामा छन् । अहिले पनि नियमित उडान हुन सकेका छैनन् भने भ्रमणमा निस्कन त्यति सजिलो छैन । यसैले  पर्यटन अहिले एकदमै प्रभावित भएको क्षेत्रमा पर्छ ।  पर्यटन क्षेत्रमा यसको प्रभाव लामो समयसम्म देखिने स्पष्ट छ । खासगरी हामीले नेपाल भ्रमण वर्ष–२०२० मनाउने भन्दै गर्दा निजी क्षेत्रले ठूलो लगानी गरेको थियो । भिजिट नेपाल सुरु हुँदा नहुँदै हामी यस्तो महामारीमा फस्दा लगानी डुब्ने अवस्था आएको छ । पर्यटनमा लागेका धेरै व्यवसायी डुब्न लाग्यौं र ‘ब्यांकरप्ट’ भयौं भन्दै आउनुभएको छ । सरकारले पनि हाम्रो समस्या बुझिदिएन भन्ने गुनासो गर्नुभएको छ । सरकारले ब्याजदर पुनःसंरचनामा केही सहयोग गरे पनि उनीहरूका लागि यो स्थितिबाट बाहिर निस्कन गम्भीर ‘ह्यान्डहोल्डिङ’ को आवश्यकता छ ।  मनोरञ्जन उद्योग पनि अहिले ठप्प छ । झन्डै २ वर्षजति भयो, सिनेमा हलहरू नखुलेका । त्यसले उनीहरू पनि विचल्लीमा परेका छन् । हजारौं मानिसलाई रोजगारी दिएको यो क्षेत्र धराशयी उन्मुख भए पनि सरकारले कुनै सहयोग गर्न सकेको छैन । मौद्रिक नीति तथा बजेटबाट केही सुविधा दिइए पनि त्यो पर्याप्त होइन । हवाईदेखि सडक यातायातसम्म प्रभावित छन् ।  माथि उल्लिखितबाहेकका औपचारिक क्षेत्रलाई छाड्ने हो भने हामी धेरैजसो क्षेत्रमा सकारात्मक रूपमा पुनः आउँछौं भन्ने संकेतहरू छन् ।  एफएमसीजी, खाद्य उद्योग, निर्माण उद्योग र अटो क्षेत्र कुनै न कुनै हदसम्म तंग्रिएको तथ्यांक देखिएको छ । जस्तै, अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको प्रमुख क्षेत्र निर्माण उद्योग हो । सिमेन्ट, छडलगायत हार्डवेयर व्यापार, व्यवसाय सबै निर्माण उद्योगसँग जोडिएका क्षेत्र हुन् । अहिलेको तथ्यांक हेर्दा निर्माण उद्योग नेपालमा स्लो डाउन भएको छैन, अहिलेसम्म ग्रोथमै गएको छ । महामारीका बेला गरिएका बन्दाबन्दीमा केही समय बन्द भए पनि छिट्टै तंग्रिने उद्योगमा यो पर्छ ।  यस्तै, एफएमसीजीको कुरा गर्ने हो भने धेरै हदसम्म सुधारोन्मुख छ र पहिलाकै सामान्य अवस्थामा आउने क्रममा छौं । कपडा उद्योग प्रभावित क्षेत्र हो तर अहिले ५० प्रतिशतभन्दा कम क्षमतामै चलेको देखिन्छ । अटोमोटिभ क्षेत्र अहिलेसम्म लयमा आइनसके पनि ६० देखि ७० प्रतिशतसम्म सञ्चालनमा आएको तथ्यांक छ । नेपालको निजी क्षेत्रले पहिलाकै अवस्था भेट्न समय लाग्ने देखिए पनि अहिलेको अवस्था हेर्दा सकारात्मक संकेत देखिन्छन् । तर, समस्यै नभएको भने होइन ।  अहिले पनि हामीकहाँ दीर्घकालीन लगानीका लागि आत्मबल कमजोर भएको देखेको छु । यो महामारी कति समयसम्म रहने हो, के हुने हो भन्ने यकिन नभएकाले दीर्घकालीन लगानीलाई केही समय पर्ख र हेरको अवस्था अँगाल्ने हो कि भन्ने अवस्था लगानीकर्तामाझ छ । यो हाम्रा लागि निरुत्साहित हुने कुरा हो । अहिले पनि नेपालमा व्यापार घाटा असाध्यै ठूलो छ । व्यापार घाटा कम गर्न देशमा उत्पादन हुन जरुरी छ । उत्पादन हुन नसक्नुमा देशका आफ्नै चुनौती छन् । यी चुनौतीका विषयबारे हामीले बोलेका पनि छौं ।  अहिले महामारीले मनोवैज्ञानिक रूपमा पनि नयाँ चुनौती थपिएको छ । जब–जब स्थिति अलिकति अस्थिर र तरल रहन्छ, यस्तो बेला दीर्घकालीन लगानी हुँदैन । यसमा अर्थविज्ञहरूको धारणा समान पाइन्छ । नेपालको निजी क्षेत्र सक्षम छ र आफ्नो देशमा लगानी गर्ने वातावरण मिले स्रोतको कमी छैन । तर, हामीकहाँ समस्या भनेको ‘कस्ट अफ डुइङ बिजनेस’ हो । उद्योग तथा व्यवसायको लागत तुलनात्मक रूपमा बढी छ ।  मैले सधंै भन्ने गरेको छु, नेपालको निजी क्षेत्र अन्य देशको निजी क्षेत्रजस्तै नाफामूलक हुन्छ । हामी नाफाको विषय नसोच्ने हो भने रोजगारी सिर्जना गर्न सक्दैनौं र राज्यलाई कर तिर्न पनि सक्दैनौं । राज्यले राजस्व संकलन गर्न सक्दैन । अर्थतन्त्रलाई चलायमान बनाउन नाफा आवश्यक छ र यसका लागि लगानी पनि उत्तिकै जरुरी हुन्छ । हामीले नाफालाई नराम्रो दृष्टिले हेर्ने हो भने लगानी आउँदैन र लगानी नभए रोजगारी सिर्जना पनि हुँदैन । यस्तो भए हामी सीधै ट्रेडिङ इकोनमीतिर मात्रै जानेछौं ।  ‘सम्मानित निजी क्षेत्र, समृद्ध नेपाल’ महासंघले नारासहितको भिजन पेपर ल्याएको छ । भिजन पेपरमा कस्ट अफ डुइङ बिजनेस कसरी घटाउने, इज अफ डुइङ बिजनेस कसरी बढाउनेलगायत विषय समेटिएको छ । जे कुरा अघि आउँछ, त्यसलाई मात्रै सम्बोधन गर्दै जाने हो भने लक्ष्य भेटिँदैन, हामीहरू अगाडि पनि पुग्दैनौं । यसकारण विषयवस्तुमा केन्द्रित भएरै अघि बढ्नुपर्छ भन्ने मान्यताअनुसार भिजन पेपर तयार गरिएको हो ।  भिजन पेपरको मुख्य लक्ष्य भनेको सन् २०३० सम्म नेपालको अर्थतन्त्र कसरी १०० विलियन डलरको बनाउन सकिन्छ र हरेक वर्ष ४ लाख रोजगारी सिर्जना सकिन्छ भन्ने नै हो । यसका लागि उद्योग, कृषि, वाणिज्य र सेवा यी ४ क्षेत्रमा के–के परिर्वतन आवश्यक छ भन्ने विषय अध्ययन तथा विश्लेषण गरेर सुझाव तयार पारिएका छन् । स्टार्टअपमा राखिएका नयाँ सुधारका कार्यक्रम हाम्रै प्रयासमा भएका हुन् । उदाहरणका लागि सरकारले स्टार्टअपका निम्ति १ अर्ब रुपैयाँको च्यालेन्ज फण्ड ल्याएको छ ।  यसैगरी प्रोजेक्ट फाइनान्सिङ र बिनाधितो कर्जा दिने विषयलाई बलियो गरी उठाएका छौं । जबसम्म साना तथा मझौला उद्योग, व्यवसायलाई साँच्चै प्रोत्साहन गर्न सकिँदैन तबसम्म समृद्धिको सपना पूरा हुन सक्दैन । ठूला व्यवसायीले मात्रै देशलाई समृद्ध बनाउँछन् भन्ने मलाई लाग्दैन । त्यसैले साना तथा मझौला उद्योग व्यवसायीले लगानी गर्ने वातावरण बन्नुपर्छ ।  साना तथा मझौला उद्योग, व्यवसायीका मुख्य समस्या भनेको कर्जा प्राप्ति नै हो किनभने उनीहरूसँग धितोको समस्या हुन्छ । हामीले यदि ४० प्रतिशत कसैले लगानी गर्न सक्छ भने ६० प्रतिशतसम्म बिनाधितो कर्जा सरकारले दिनुपर्छ भनेर लबिइङ गर्दै आएका छौं । बैंकहरूको कुल ऋण लगानीको १० प्रतिशत बिनाधितो साना तथा मझौला उद्योग व्यवसायमा जानुपर्छ । बजार प्राप्तिलगायत विषयमा सहजीकरण गरेर अघि बढ्नुपर्छ ।  नेपालमा विभिन्न समय विभिन्न खाले चुनौती आए । यिनलाई पार गरिएको छ र अहिलेको महामारीबाट पनि सकारात्मक बाटो देखिनेछ । अहिले पनि हाम्रो अर्थतन्त्रले तंग्रिने क्षमता राख्छ । हामी गतिशील र उच्च वृद्धिमा जाने हो भने धेरै पक्षमा सुधार आवश्यक छ । अर्थतन्त्रका ठूला क्षेत्रहरू अहिले पनि समस्यामा छन् । यद्यपि बाँकी क्षेत्रमा सुधार देखिएका कारण आर्थिक पुनरुत्थानका लागि लगानी आवश्यक छ ।   जबसम्म निजी क्षेत्रलाई सम्मान गरिँदैन र उसले गर्ने नाफालाई राम्रो तरिकाले हेरिँदैन, तबसम्म यो देश समृद्ध हुन सक्दैन । हामीकहाँ निजी क्षेत्रलाई हेर्ने सबैको दृष्टिकोण नकारात्मक छ । निजी क्षेत्रको एक जना व्यक्ति मन्त्री बन्दा सबैले त्यसको विरोध गरेबाट यो पुष्टि हुन्छ । इन्जिनियर, डाक्टर आदि मन्त्री बन्न मिल्छ तर निजी क्षेत्रका व्यवसायी मन्त्री बन्न किन मिल्दैन ?  (कुराकानीमा आधारित)