दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ को उत्तरी नाका तिंकरमा नेपाल प्रहरीको टोली खटिएको छ । गत मङ्सिरयता तिंकरको छायालेकबाट तल झरेको प्रहरीलाई हेलिकोप्टरमार्फत तिंकर पठाइएको हो ।
नेपालतिर भएर तिंकर पुग्न सकिने अवस्था नरहेपछि हेलिकोप्टरमार्फत प्रहरी र खाद्य सामग्रीसहित तिंकर पठाइएको हो । तिंकरको छायालेकमा प्रहरी सई हर्क महताको नेतृत्वमा १३ जनाको टोली खटाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
नेपालको भूमि भएर तिंकर पुग्न पाँच दिन लाग्ने भएपछि सरकारले हेलिकोप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । हेलिकोप्टरमार्फत सुरक्षाकर्मी तिंकर पठाउन जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई आग्रह गरेको थियो । पैदल जान निकै कठिनाइ छ । खाद्यान्न, हातहतियार र बन्दोबस्तीको सामान लिएर जान सकिने अवस्था नभएपछि हेलिकोप्टरमार्फत पठाइएको डीएसपी भट्टले बताए । मङ्सिरमा छाङरु झरेको नेपाल प्रहरीको टोली माथि उक्लिन सकेको थिएन । स्थानीयवासी भने गत वैशाखमा तिंकर पुगेका थिए । ‘तर प्रहरीको रासन, हातहतियार र जनशक्ति पठाउन सम्भव थिएन,’ डीएसपी भट्टले भने ।
हेलिकोप्टरमार्फत प्रहरीका लागि ६ महीना पुग्ने खाद्यान्न, बन्दोबस्तीका सामान पठाइएको छ । ३ हजार ८०० मिटर उचाइमा रहेको छायालेक प्रहरी अब मङ्सिरमा मात्रै छाङरु झर्ने बताइएको छ । छायालेकबाट चार घण्टाको पैदल बाटोमा नेपाल चीन सीमा स्तम्भ पिलर नम्बर १ रहेको छ । छायालेक प्रहरीले तिंकर गाउँका साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ । रासस